धु्रवीकृत नेपाली राजनीति – रणवीर

नेपाली राजनीतिमा कथित स्थानीय चुनावको सम्पन्नता र समीक्षाको पृष्ठभूमिमा आगामी चुनावकेन्द्रित राजनीतिक ध्रुवीकरण भएको छ र हँुदैछ । नयाँ गठबन्धन बनेका छन् । यो गठबन्धन र ध्रुवीकरणले आगामी दिनमा देश र जनतालाई के देला र कस्तो परिणाम ल्याउला ? यसले क्रान्तिलाई कस्तो असर गर्ला र क्रान्तिकारीहरूले कस्तो रणनीति अपनाउनु पर्ला ? यी प्रश्नहरूबारे सबैको चासो स्वाभाविक छ । त्यसैले यी विषयमा सङ्क्षिप्त रूपमा चर्चा गर्न आवश्यक छ ।

१) गठबन्धन र ध्रुवीकृत राजनीतिका दुई पाटा अहिले चुनावकेन्द्रित राजनीतिक गठबन्धन र ध्रुवीकरण अगाडि बढिरहेको छ र यसले संविधान कार्यान्वयन सहज भई देशमा स्थायित्व, शान्ति र समृद्धि ल्याउने दाबी गरिएको छ । अवश्य पनि यो देश र जनताको आवश्यकता र माग पनि हो तर यो देश र जनताको आवश्यकता र माग कहिल्यै पूरा भएन र हुने पनि छैन किनभने अहिलेका राजनीतिक पार्टी र नेताहरू एकाएक कहीँबाट टप्केका नभई यही नेपाली समाज र राजनीतिका उपज हुन् र वास्तवमा यिनीहरू आजसम्म राष्ट्र र जनताका आवश्यकता र मागहरू पूरा गर्न असफल छन् किनकि यी नेताहरू सधैँ आफूलाई धुरीमा राखेर सोच्दछन्, पारिवारिक घेरा नै तोड्न सक्दैनन्, आफ्नो वैभवशाली जीवनको सपना बुन्दछन् र त्यसका लागि शक्ति र सत्तालाई प्राथमिकतामा राखेर चल्दछन् । त्यसैले यी नेताहरू सत्ताको कुर्सी र व्यक्तिगत स्वार्थका भोका, लोभी, पापी र भ्रष्ट हुन्छन् र यो आफ्नो उद्देश्य ससाना धेरै पार्टीमा विभक्त भएर अनि नौनौ महिनामा सरकार परिवर्तन गरेर भन्दा सीमित ठूला गठबन्धनमा सङ्गठित भएर पूरा समयावधि सरकार चलाएर प्रभावकारी ढङ्गले पूरा गर्न सक्दछन् । त्यसका लागि बहुमत, दुईतिहाइ बहुमत, संविधान संशोधन र कानुनी क्रान्तिको नारा दिइन्छ । मूलतः अहिलेका गठबन्धन र ध्रुवीकृत राजनीतिको एउटा पाटो यही हो । यसको दोस्रो पाटो भनेको जनताको लामो सङ्घर्ष र प्रतीक्षापछि जारी नयाँ संविधान र त्यसअन्तर्गतको चुनावले पनि पुरानो राज्यसत्ताको सङ्कटको हल गरेन, बरु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नयाँ आवरणमा पुरानै संसदीय दलाल पुँजीवादी राज्य स्थापना भयो । परिणामतः देशको परनिर्भरता र औपनिवेशीकरण, दलालीकरण, भ्रष्टाचार, बेरोजगारी र चौतर्फी जनताको असन्तुष्टि झन् बढ्दै गयो । यही पृष्ठभूमिमा नेपाल कम्युनिस्ट पार्टीले यी सबै समस्याको समाधान नयाँ वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको स्थापनाद्वारा दिनुपर्ने विकल्पसहित चुनावलाई अस्वीकार गर्दै नयाँ वैकल्पिक राजनीतिक धारलाई सशक्त रूपमा अगाडि बढायो । यसरी देश राष्ट्रिय स्वतन्त्रता र आत्मसमपैण, क्रान्ति र प्रतिक्रान्तिको दुई ध्रुवमा विभाजित हुँदै गएपछि पहिलो राष्ट्रिय स्वतन्त्रताको क्रान्तिकारी धु्रवलाई निषेध गर्न र राष्ट्रिय आत्मसमपर्णवादी प्रतिक्रान्तिकारी ध्रुवलाई सशक्त बनाई पुरानो सत्ताको सङ्कटको सापेक्षिक सामाधान गर्दै त्यसको सुदृढीकरण गर्न गठबन्धन र ध्रुवीकरणको राजनीति अगाडि आएको हो ।

२) कुन राज्यव्यवस्थाअन्तर्गतको गठबन्धन र ध्रुवीकरण ? हामी केमा स्पष्ट हुनुपर्दछ भने अहिलेको राजनीतिक गठबन्धन र ध्रुवीकरणले कुनै राज्यव्यवस्थाको परिवर्तनको प्रतिनिधित्व गर्दैन, बरु पुरानो राज्यसत्ताको सङ्कटग्रस्त सारलाई लुकाउन, बदनाम स्वरूपमा परिवर्तन भएको भ्रम दिन, जनतालाई गुमराहमा राखेर आफ्नो लूटको स्वर्गलाई जोगाउने षड्यन्त्रस्वरूप यो गठबन्धन र ध्रुवीकरणको राजनीति अगाडि सारिएको छ किनभने नेताहरू यति धेरै स्वार्थी देखिनु, राष्ट्र र जनताको न्यूनतम आवश्यकता र माग पनि पूरा गर्न नसक्नुमा व्यक्तिगत रूपमा नेताहरूभन्दा पनि उनीहरूले अवलम्बन गर्दै आएको राजनीतिक विचार र प्रणाली जिम्मेवार छ । नेपालमा पछिल्लो संविधानले पनि निर्दिष्ट गरेको राजनीतिक विचार र प्रणाली भनेको संसदीय दलाल पुँजीवादी हो । यो संसदीय दलाल पुँजीवादी राज्यले देशलाई कङ्गाल बनाउँछ र सीमित नेताहरूलाई दलाल पुँजीको मालिक बनाई देशको परनिर्भरता झन् बढाउँछ । यसले देशलाई विश्व वित्तीय पुँजीको सुगम बजार बनाउँछ र बेरोजगारीको वृद्धि गराउँछ । परिणामतः युवा शक्ति पलायन हुन बाध्य हुन्छ । यसले विश्व व्यापार सङ्गठन र विश्व बैङ्कका मान्यता र नियमहरूलाई पालना गर्नुपर्छ, छिमेकीसँगका असमान सन्धिसम्झौताको निरन्तरतामा बिप्पा लागू गर्नुपर्छ । राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयमा आफैँले निर्णय गर्न पाउने स्वतन्त्रता गुमाउनुपर्छ । यो अर्थनीति र सुरक्षानीतिमा आधारित संसदीय राजनीतिमा ससाना निर्णय गर्न पनि विदेशीको सहयोग लिनुपर्छ– जहाँ लोकतन्त्रका नाममा आवधिक निर्वाचनमार्फत दलाल तथा नोकरशाही पुँजीपति वर्गका प्रतिनिधिलाई निश्चित समयसम्म देश र जनतालाई लुट्ने अनुमति दिइन्छ, त्यसका लागि चुनावको नौटङ्की गरिन्छ । अन्तिम कुरा निजी पुँजी नेपालको सन्दर्भमा दलाल निजी पुँजी र संसद्वादको सर्वोकृष्टता र पवित्रताको राजनीतिक विचार र प्रणाली कायमै राखेर गठबन्धन र ध्रुवीकरण मात्रै हैन, महागठबन्धन र ध्रुवीकरण भए पनि देश र जनताको उन्नति र प्रगति सम्भवै छैन र हुँदैन तर यो वास्तविकतालाई लुकाएर गठबन्धनमा अमूकअमूक नेता र पार्टीहरूको हुने पृथकता र समावेशी अनि चुनावमा हुने प्रतिस्पर्धालाई चर्काउने गरिन्छ । जस्तो कि बाबुरामको निर्णय र काजीसँगको प्रतिस्पर्धा ।

३) राजनीतिक गठबन्धन र ध्रुवीकरणमा विदेशी भूमिका कथित वाम गठबन्धन बनेपछि सदाझैँ विदेशी शक्तिको भूमिकाको प्रश्न उठ्यो । यसमा रअ र चीनको भूमिकाको चर्चा चल्यो र चल्नु स्वाभाविक पनि थियो किनभने १२ बुँदे समझदारीले तय गरेको राजनीतिक कोर्स पूरा भएपछि त्यसको समीक्षासहित त्यहाँ रहेका वा भएका कमीकमजोरीलाई सच्याउँदै नयाँ कोर्स विकास गर्न जरुरी थियो । यद्यपि यो नयाँ कोर्स एकदमै नयाँ नभएर पुरानैको निरन्तरता हो अथवा पुरानो कोर्सले स्थापित गरेको राज्यसत्ताको सुदृढीकरणको कोर्स हो । १२ बँुदे पुरानो राजनीतिक कोर्समा मध्यस्थकर्ताकै रूपमा भए पनि अन्तर्राष्ट्रिय शक्तिको भूमिका हाबी भएको र त्यसको नकारात्मक प्रभाव परेकाले अहिलेको नयाँ कोर्समा राष्ट्रिय भूमिका हाबी गर्ने, अन्तर्राष्ट्रिय र राष्ट्रिय रूपमा छुटेका शक्ति चीन र दरबारलाई सहभागी गराएर नयाँ राजनीतिक कोर्स तयार पार्ने प्रयासअन्तर्गत नयाँ गठबन्धन र ध्रुवीकरण अगाडि बढाइएको छ । यसरी १२ बुँदे समझदारीले तय गरेको राजनीतिक कोर्समा देशभित्र र बाहिरका शक्तिहरूको समान स्वार्थ भएझैँ अहिलेको नयाँ कोर्समा पनि रहेको तथ्य बुझ्न त्यति कठिन छैन तर यहाँ नेकपाको नेतृत्वको वैकल्पिक राजनीतिक शक्तिलाई कि हिसाब नै गरिएको छैन र न्यूनीकरण गरिएको छ, कि त उग्रवादी वा आतङ्कवादी कित्तामा राखी दमन गर्ने षड्यन्त्र गरिएको छ । यसो गर्नुमा प्रचण्डको प्रमुख भूमिका रहेको छ । यसरी नयाँ राजनीतिक कोर्सले नयाँ द्वन्द्वको बिउ रोपिदिएको छ ।

४) दुईवटा गठबन्धनबारे नेपाली काङ्ग्रेसको नेतृत्वमा बनेको वा बन्ने कथित लोकतान्त्रिक गठबन्धन– जसले आफूलाई लोकतान्त्रिक गठबन्धनका रूपमा स्थापित गराउन चाहान्छ तर यो लोकतान्त्रिक गठबन्धन नै हैन, यसले त ६५ प्रतिशत कम्युनिस्ट जनमत भएको देशमा समाजवाद र साम्यवादको कुरै गर्न नदिने घोषणा गरेको छ । यसले क्रान्तिकारीहरूलाई छोडेर एउटै नीति– संविधान र विधि– चुनाव मान्ने पार्टीहरूबाट अधिनायकवादको खतरा देखेको छ र साम्यवादी खतरा रोक्न जुनसुकै पनि कदम चाल्ने कसम खाएको छ । वास्तवमा देशभित्र र बाहिरका कट्टर प्रतिगामी र प्रतिक्रियावादी शक्तिको यो गठबन्धनको नेतृत्व घोर प्रतिक्रान्तिकारी दलाल प्रवृत्तिले गरेको छ । त्यसैले यो गठबन्धन चरम निरङ्कुशतावादी फासिवादी र दलाल पुँजीवादी तथा नवउपनिवेशवादी गठबन्धन हो । अर्को एमालेको नेतृत्वमा माकेसहितको कथित वाम गठबन्धन–जसले आफूलाई वाम गठबन्धनका रूपमा स्थापित गर्न चाहेको छ तर यो पनि वास्तविक वाम गठबन्धन नै होइन । यो त दक्षिणपन्थी यथास्थितिवादी, आत्मसमपर्णवादी, सुधारवादी र प्रतिक्रान्तिकारी गठबन्धन हो । यसमा देशभित्र र बाहिरका उदारवादी र यथास्थितिवादी तत्वहरू छन्, वास्तवका यो गठबन्धनको नेतृत्व कम्युनिस्ट विचार, समाजवाद, साम्यवाद, क्रान्ति र सहिदको व्यापार गरी खाने व्यापारिक प्रवृत्तिले गरेको छ । अन्ततः यो गठबन्धन पनि कथित लोकतान्त्रिक गठबन्धनलाई पछ्याउँदै संसदीय फासिवाद, दलाल पुँजीवाद र नवउपनिवेशवादमै पतन हुनेछ । यी दुवै गठबन्धनले दरबारिया शक्ति विशेषतः पूर्वराजालाई आफूतिर तान्न प्रतिस्पर्धा गरेर कथित लोकतन्त्रको अभ्यास गर्नेछन् ।

५) गठबन्धन र ध्रुवीकृत राजनीतिको अन्तिम परिणाम उपरोक्त विश्लेषणबाट के निष्कर्ष निकाल्न सकिन्छ भने चुनावकेन्द्रित गठबन्धन र ध्रुवीकृत नेपाली राजनीतिले स्थायित्व, शान्ति र समृद्धि हैन, नयाँ द्वन्द्व, निरङ्कुशता, संसदीय फासिवाद र सङ्कट लिएर आउनेछ तर त्यसलाई छोप्न देश र जनताका पक्षमा देखिने केही सुधारात्मक कार्यक्रम अगाडि सार्नेछ र सम्भव भएसम्म लागू पनि गर्नेछ । यसले नेता र कार्यकर्ताहरूको स्वेच्छाचारितामा वृद्धि गर्नेछ, बेलगाम भ्रष्टाचार संस्थागत गर्नेछ, युवाहरूको पलायन वा व्यापार झन् बढाउनेछ, देशको परनिर्भरता र नेताहरूको दलालीकरण झन् बढाउनेछ, विश्व निगम तथा वित्तीय पुँजीसँगै अतिवादी विचारको आयात गर्नेछ र द्वन्द्वलाई झन् बढाउनेछ । यसरी लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्नेछ वा दलाल गणतन्त्र भएको साबित गर्नेछ । अन्ततः यसरी कि देशमा संसदीय फासिवादको अभ्यास हुनेछ, कि त देश अन्त्यहीन द्वन्द्वमा फसेर असफल राष्ट्रमा परिणत हुनेछ र सम्पूर्ण रूपले नवउपनिवेशवाद आउनेछ ।

६) क्रान्तिकारी रणनीति क्रान्तिकारीहरूको पहिलो नीति भनेको यो लोकतान्त्रिक सङ्घीय गणतन्त्रको नयाँ स्वरूपमा स्थापित जनविरोधी र राष्ट्रविरोधी पुरानै सार बोकेको राज्यसत्तालाई अस्वीकार गर्नु, यसको भण्डाफोर गर्नु, यसले आफूलाई सुदृढ गर्न प्रायोजित चुनावलाई खारेज गर्नु हुनेछ । क्रान्तिकारीको दोस्रो नीति वर्तमान देशको समस्याको मूल कारण क्रान्ति अधुरो रहनु, देश नवउपनिवेश बन्नु र राज्यसत्तामा आमूल परिवर्तन नहुनु भएकाले अधुरो क्रान्ति पूरा गरेर देशलाई स्वतन्त्र बनाई नयाँ राज्यव्यवस्था वैज्ञानिक समाजवाद स्थापनाको अनिवार्यताबारे जनतालाई निरन्तर प्रशिक्षित गर्नु हुनेछ । तेस्रो नीति विगतका क्रान्तिका असफलताबाट शिक्षा लिएर क्रान्तिको रणनीतिमा विकास गर्नु, त्यसका लागि एकीकृत जनक्रान्तिको रणनीतिलाई स्थापित गर्नु र लागू गर्नुहुनेछ । चौथो, विचारधारात्मक सङ्घर्षमा कथित वाम गठबन्धन र वर्गसङ्घर्षमा कथित लोकतान्त्रिक गठबन्धनलाई अगाडि राखेर भण्डाफोर गर्नु र सबैतिर भएका सच्चा देशभक्त, लोकतान्त्रिक र कम्युनिस्टहरूलाई एकीकृत गर्न पहल गर्नु हुनेछ । पाँचौँ, नीति यी नीतिलाई सकेसम्म शान्तिपूर्ण रूपमा अगाडि बढाउनु नभए जुनसुकै परिस्थितिका लागि सामना गर्न आफैँ र जनतालाई तयार राख्नु हुनेछ । अन्त्यमा, अहिले देखिएको गठबन्धन र ध्रुवीकरणको राजनीति क्रान्तिको विकल्प हैन, बरु यसले क्रान्तिलाई निषेध गरेको छ । त्यसका लागि चुनावमार्फत जनपरिचालन गरेको छ भने हामीले चुनावलाई अस्वीकार गरेर क्रान्तिको रक्षा र विकासका लागि जनतालाई आकर्षित गर्नुपरेको छ । अन्ततः यो संसदीय दलाल राजनीतिको ध्रुवीकरणले आफ्नो विकास क्रममा अनिवार्यतः फौजी रूप ग्रहण गर्नेछ र नवउपनिवेशीकरणलाई तीव्रता दिनेछ जो निर ङ्कुशता, संसदीय फासिवाद र नवउपनिवेशवादमा व्यक्त हुनेछ तर यो अस्थायी हुनेछ । त्यसैले यसलाई चिर्दै नयाँ क्रान्ति अगाडि आउनेछ । त्यो नयाँ एकीकृत जनक्रान्ति हुनेछ जो नयाँ शान्त र समृद्ध देशको भविष्य हो । यसका लागि क्रान्तिकारीहरूले चौतर्फी पहलकदमी लिन कठिन चुनौतीको सामना गर्ने नयाँ सङ्कल्प गर्नु आजको आवश्यकता हो ।

रातो खबर साप्तहिकबाट

२०७४ कात्तिक १४ गते दिउसो १ : ०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :