दोस्रो दिनको सञ्चार तालिम सम्पन्न

काठमाडौंः रातो खबर प्रकाशनगृहको आयोजनामा तीनदिने आधारभूत सञ्चार तालिमको दोस्रो दिनको कार्यक्रम आइतबार काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’को प्रमुख आतिथ्यमा दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको हो । ३० वर्ष अगाडि योजना साप्ताहिकका व्यवस्थापकसमेत रहनुभएका प्रमुख अतिथि असारे काकाले पत्रकारहरु इमानदार हुनुपर्ने बताउनुभयो ।

क्रान्तिकारी इमानदार पत्रकाहरुमाथि चुनौती रहे पनि पेशाको मर्यादा कायम राख्न विचलित नहुनुपर्ने उहाँले बताउनुभयो । गृहका निर्देशक अनिल शर्माले संयोजन गर्नु भएको कार्यक्रममा वरिष्ठ प्रशिक्षक शिव गाउँलेले ‘खोज पत्रकारिता’ विषयमा प्रशिक्षार्थीहरुलाई आधारभूत तालिम दिनुभयो । उक्त कार्यक्रममा दोस्रो प्रशिक्षकका रुपमा वरिष्ठ पत्रकार तीर्थ कोइरालाले ‘खोज पत्रकारिता र पत्रकारिताका आयाम’ विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा गृहका प्रबन्धनिर्देशक भीम चापागाईंले रातो खबर साप्ताहिकको व्यवस्थापनका विषयमा धारणा राख्नुभएको थियो ।

कार्यक्रममा रातो खबर साप्ताहिक सम्पादक अशोक सुवेदी पनि सहभागी हुनुभएको थियो । तालिमको अन्तिम दिन सोमबार वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवालले साहित्यिक पत्रकारिता र पत्रिकाका सम्पादक सुवेदीले भाषा, राष्ट्रियता र सञ्चार विषयमा प्रशिक्षण दिने कार्यक्रम छ । तालिममा विभिन्न जिल्लाका ३० जना प्रशिक्षार्थी र गृहका सदस्यहरुको सहभागिता छ ।

२०७४ कात्तिक १२ गते अपराह्न ४ : ५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :