गोरखामा रोचक भिडन्त

काठमाडौं : गोरखाको प्रतिनिधिसभामा ‘वाम गठबन्धन’ का तर्फबाट नारायणकाजी श्रेष्ठ र ‘लोकतान्त्रिक गठबन्धन’ का तर्फबाट पूर्वप्रम डा. बाबुराम भट्टराईले उम्मेदवारी दिएका छन् । नारायणकाजी श्रेष्ठको गोरखामा पुरानो आधार छैन । जनयुद्धको आधार गोरखाका स्थानीय माके कार्यकर्ताहरू नारायणकाजीलाई रुचाउँदैनन् । मतदानमा त्यसको प्रभाव पर्न सक्छ । उता डा. बाबुराम भट्टराई निर्वाचन क्षेत्रमा लोकप्रिय छन् । गोरखाम काङ्ग्रेसको राम्रो आधार पनि छ । तर कम्युनिस्ट पृष्ठभूमिका उम्मेदवारलाई काङ्ग्रेसका मतदाताले मत दिन्छन् कि दिँदैनन् भन्ने बहस पनि छ । भट्टराईलाई जसरी पनि जित्नु छ भने श्रेष्ठ अहिले नजितेप नि गृहजिल्लामा पकड बढ्ने भएकाले खुसी देखिन्छन् । सोमबार गोरखा बजारमा दुवै नेताले पत्रकार सम्मेलन गर्दै एकअर्कालाई घोचपेच सुरु गरेका छन् । श्रेष्ठले भट्टराईलाई अपवित्र गठबन्धन गरेको आरोप लगाएका छन् भने भट्टराईले अवसरवादी, सत्ता स्वार्थका लागि भएको आरोप लगाए । केही दिनअघि वाम गठबन्धनलाई फेरम अध्यक्ष उपेन्द्र यादवले ‘खाम–गठबन्धन’ भनेका थिए । काङ्ग्रेस–माके गठबन्धन पवित्र हुने काङ्ग्रेस–नयाँ शक्ति अपवित्र कसरी हुन्छ ? भट्टराईले कटाक्ष गर्दै भनेका थिए । डा. बाबुराम भट्टराई राजेश्वर देवकोटाको सिफारिसमा दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका हुन् । बेइजिङको रनमिन विश्वविद्यालय जसरी नै नेहरू विश्वविद्यालयलाई भारतीय स्वार्थमा ‘थिङ्कट्याङ्क’ उत्पादन गर्ने बौद्धिक अखडा मानिन्छ । संयोग नै भन्नुपर्छ मोहनविक्रम सिंहले शङ्कास्पद भनी कारबाही गरेका भट्टराईलाई जनयुद्धको समय र आजपर्यन्त भारतपरस्त ठानिन्छ । उता नारायणकाजी श्रेष्ठ काङ्ग्रेसी पृष्ठभूमिका नेता हुन् । २०३५ तिर सिद्धार्थ बनस्थली जागिर खाने भए कम्युनिस्ट बन भनेर निर्मल लामाले सर्त राखेपछि शिक्षक सङ्गठन र तत्कालीन नेकपा (चौम) को सदस्यता लिएका थिए । उनलाई घोर अवसरवादी, पदलोलुप, ढुलमूले, चाकरीबाज नेताका रूपमा माओवादी केन्द्रभित्रै हेरिन्छ । ‘हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हो’ भन्ने विज्ञापन सन्देशजस्तै अतीत र वर्तमान भएका दुई नेता गोरखामा चुनाव लड्नु संयोग र रोचक मानिएको छ ।

रातो खबर साप्ताहिकबाट
२०७४ कात्तिक १२ गते ८ : ५५ मा प्रकाशित

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :