नेपालको राष्ट्रियता सर्वाधिक खतरामा छ : प्रमुख अतिथि कञ्चन / राष्ट्रियता, जनतन्त्र र नेपाली प्रेसविषयक विचारगोष्ठी जारी


काठमाडौंः नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले नेपालको राष्ट्रियता सर्वाधिक खतरामा रहेको बताउनु भएको छ । रातोखबर प्रकाशन गृहको आयोजनामा काठमाडौंमा आयोजित राष्ट्रियता, जनतन्त्र र नेपाली प्रेसविषयक विचारगोष्ठीका प्रमुख अतिथि कञ्चनले नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाका लागि देशभक्त नेपाली जनता र नेपालले सञ्चार माध्यम एक भएर लाग्नु पर्ने बताउनु भएको हो ।

यसअघि वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपालको राष्ट्रियताको रक्षाका लागि साना लगानीका सञ्चार माध्यम निरन्तर क्रियाशील हुनुपर्ने बताउनु भयो । नेपालको राष्ट्रियता रक्षा गर्न नेपाली नागरिक सधैं चनाखो रहेको र विगतमा देशभक्त राजादेखि पार्टी नेता र जनताको सजगताका कारण पनि नेपाल सिक्किम र भुटान जस्तो भारत अधीनस्थ नभएको धारणा उहाँले व्यक्त गर्नुभयो ।

रातोखबरका निर्देशक अनिल शर्माले प्रस्तुत गर्नु भएको अवधारणापत्रमाथि परराष्ट्रमामिला विज्ञ हिरण्यलाल श्रेष्ठले टिप्पणी गर्नुभएको थियो । उहाँले राष्ट्रियता, जनतन्त्र र रक्षाको लागि सञ्चार माध्यमले निरन्तर संघर्ष गरिरहँनु पर्ने बताउनु भयो । साम्राज्यवाद र विस्तारवादी अतिक्रमणको विरुद्ध जनपक्षीय सञ्चार माध्यम सधैं चनाखो रहनु पर्ने उहाँले बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले टिप्पणी गरिसक्नुभएको छ । आचार्यले बिग मिडियाहरु व्यापारीहरुले सञ्चालन गरेका कारण सर्वसाधारण जनताको आवाजको प्रतिनिधित्व हुन नसकेको बताउनुभयो । यसअघि प्रेस काउन्सिलका निवर्तमान अध्यक्ष बोर्णबहादुर कार्कीले टिप्पणी गर्नुभएको थियो । ‘राष्ट्रियता, जनतन्त्र र नेपाली प्रेस’ विषयक अवधारणापत्रमाथि क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष प्रभात चलाउनेले टिप्पणी गरिसक्नुभएको छ ।

कार्यक्रममा नेकपाका सल्लाकार समितिका अध्यक्ष असारे काका, सचिव चित्रबहादुर आले, सदस्य लव प्रधान, नेकपाका केन्द्रीय सदस्य खुमा सुवेदी, कृष्ण अधिकारी, धनबहादुर महर्जन, चिरन पुन लगायत उपस्थित हुनुहुन्छ ।

रातो खबर साप्ताहिकका प्रबन्ध निर्देशक भीम चापागाईंको अध्यक्षतामा जारी गोष्ठीमा सहभागी अतिथिहरुलाई रातोखबर सम्पादक अशोक सुवेदीले स्वागत गर्नुभयोे । रातोखबर प्रकाशन गृहका सदस्य अम्विका चन्दले कार्यक्रम सञ्चालन गर्नु भएको थियाे ।

२०७४ कात्तिक १० गते दिउँसो २ :२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :