परम्परागत संस्कार, संस्कृति र आदतको सत्ताविरुद्ध

– अशोक सुवेदी

भर्खरै हिन्दु धर्मावलम्बीहरूको परम्परागत सांस्कृतिक–धार्मिक पर्व दसैँ सकियो । अब अर्को सांस्कृतिक पर्व तिहार संस्कृतिसँगै अन्धविश्वास र आदतको सत्ता मुखरित गराउन मुखैमा आएको छ र छठ पनि । त्यसैगरी नेपाल संवत् पनि सँघारमै आएको छ । केही दिनअघि यसैगरी तीज पनि आयो र गयो । सामन्तवादी समाजका सांस्कृतिक उत्पादन रहेका यसप्रकारका चाडपर्वहरूले संस्कार र संस्कृति मात्र होइन, धर्म पनि सँगसँगै थोपर्ने गरेका छन् । हिन्दु धर्मको मात्र कुरा होइन, क्रिस्चियन, मुस्लिम र अरू समुदायले मनाउने अनेक परम्परावादी पर्वहरूले संस्कार, संस्कृति र पर्वहरूका नाममा आआफ्नो समुदायका धर्महरू लाद्ने र त्यस्तै अन्धविश्वासमा आधारित आदतको सत्ता लाद्ने गरेका छन् । यी र यस्ता परम्परागत पर्वहरूले नेपाली समाजलाई निकै नै प्रभावित पार्ने गरेका छन्, सांस्कृतिक, धार्मिक र आर्थिक रूपले पनि । यी पर्वहरूले समाजलाई निरन्तर बहसमा पनि धकेल्ने गरेका छन् ।

संस्कृति राजनीतिक सत्ता र समाजको उत्पादनप्रणालीसँग निर्भर हुने हुनाले यसले वर्गसमाजको पनि प्रतिनिधित्व गर्ने गर्छ । नेपाली समाज सामन्ती सत्ताबाट अघि बढ्न कठोर जनयुद्धको माध्यमबाट लड्दालड्दै दलाल संसद्वादीहरूसँगको सम्झौतामा जकडिएकाले थला परिसकेका परम्परागत संस्कार, संस्कृति र चाडपर्वहरू पनि ब्युँतिएर दलाल सत्ताकै पक्षपोषण गर्ने गरेका छन् । हिन्दु समुदायको तीज पर्वमा आएको भड्किलोपनाले नै यसको राम्रो उदाहरण दिन्छ । सामन्ती र अर्धसामन्ती समाजमा जकडिएका महिलाहरूलाई क्षमता प्रदर्शन गर्न भन्दै बजारमा लगेको कथित सुन्दरी प्रतियोगिताले अङ्गप्रदर्शन तथा पुँजीवादीहरूको माल बिकाउने व्यापारको दलाल संस्कृति निर्माण गर्दै लगेको छ । यसले महिलालाई एउटा बिक्रीको मालमा रूपान्तरण गरिदिएर दलाल पुँजीवादको नग्न र भद्दा नमुना प्रदर्शन गरिदिएको छ ।

संस्कार÷संस्कृति मानिसले चेतनाको तहमुताबिक आफ्नो आवश्यकताअनुसार निर्माण गर्छ । यसले मानिसको चेतनास्तरलाई नै सम्बोधन गर्छ । अन्धविश्वास र रूढिमा आधारित संस्कार, संस्कृति र पर्वहरूले मानवचेतनालाई कैद गर्छन् र प्रगतिमार्गबाट वञ्चित गर्छन् । कुनै समयमा मानिसले आफ्ना लागि निर्माण गरेको धर्म, संस्कार र संस्कृतिले आज मानिस आफैँलाई परम्परावादी, अन्धविश्वासी, रूढ, जड र दास बनाएको छ । म यो धर्म, संस्कार र संस्कृति किन मान्दैछु, कसका लागि मान्दैछु, यसले मेरो जीवनमा के सकारात्मक प्रभाव पार्दैछ भन्ने विषयमा एक पल पनि नसोचीकन मानिसले परम्परालाई ग्वाम्लाङ्ग अँगालो हाल्दा यसले खराब आदतको सत्ता बसालेको छ र त्यो खराब विरासतले मस्तिष्कको विकासमा अवरोध ल्याएको छ । मस्तिष्क नै नचल्ने संस्कार, संस्कृति र धर्मले मानिसलाई अन्धो बनाएको छ । त्यसैले महान् दार्शनिक कार्ल माक्र्सले धर्मलाई अफिमजस्तै निरन्तर लट्ठ्याउने लागूपदार्थसँग तुलना गर्नुभयो । वास्तवमै परम्परावादी, रूढ र जड चेतना भएका अन्धविश्वासीहरू धर्मको लागूपदार्थ खाएर बेहोस भएका पेसेवर दुव्र्यसनीहरू हुन् । उनीहरूको रूडि, अन्धविश्वास र परम्परावादबाट निर्देशत खराब आदतको सत्ता भत्काएर द्वन्द्ववादी र ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादका पक्षधर (माक्र्सवादी) बनाउन कम्युनिस्ट क्रान्तिकारीहरूले सचेतन पहल गर्नैपर्छ ।

परम्परामा जकडिएको समाजको आदतको सत्ता अभिव्यक्त गर्ने कृष्णप्रसाद पराजुलीको एउटा कवितांश यहाँ सान्दर्भिक र मार्मिक लाग्न सक्छ:
मान्छेले कति के ग¥यो, पिइसक्यो ब्रह्माण्ड नै तन्तनी
हाम्रा ब्राह्मण मक्ख छन् भिरी अझै टुप्पी, जनै, कन्दनी !

टुपी, जनै र कन्दनीले हिन्दु परम्परावादीहरूको प्रतिनिधित्व गरे पनि यसको सार र सन्देश हाम्रो समाजका सबै अन्धविश्वासी र परम्परावादी÷पाखण्डीहरूतर्फ लक्षित छ । बाइबल लिएर प्रवेश गरेकाहरूले बाइबल हातमा थमाइदिएर सत्ता कब्जा जमाएको सन्दर्भ होस् वा संस्कार र संस्कृतिका नाममा महिलालाई बुर्काभित्र कैद राखिएको सन्दर्भ होस्, यही टुप्पी, जनै र कन्दनी भिरेर परम्परा भज्ने कुसंस्कारका उपजहरू हुन् । यसको अन्त्य आवश्यक छ र त्यसका लागि सचेतन पहल अत्यावश्यक छ ।

महान् विचारक कार्ल माक्र्सले भन्नुभएको छ, ‘मानिसले धर्म सिर्जना गर्छ, धर्मले मानिसको सृष्टि गर्दैन ।’ उहाँले उत्पीडित मानिसहरूका लागि धर्म सहारा बनिरहेको पनि बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘धर्म उत्पीडित प्राणीको सुस्केरा हो । हृदयहीन संसारको हृदय हो । त्यसरी नै आत्माहीन विश्वको आत्मा हो । यो जनताका लागि अफिम हो । धर्मको उन्मूलन गर्नुको अर्थ जनताको भ्रमपूर्ण खुसीको सट्टा उनीहरूको वास्तविक खुसीको माग गर्नु हो । अस्तित्ववान् राज्यको मामलासम्बन्धी भ्रमहरू परित्याग गर्ने माग गर्नु भनेको भ्रमहरूको आवश्यकता पर्ने राज्यकै परित्याग गर्नु हो ।’ (माक्र्स, हेगेलको कानुन दर्शनको आलोचनामाथि योगदान, सन् १८४४) ।

माक्र्सले मात्र होइन, लेनिनले पनि विश्वदृष्टिकोणले नै सबै कुराको निर्धारण गर्ने बताउनुभयो । उहाँले वर्गसमाजमा सबै कुरा वर्गदृष्टिकोणअनुसार निर्धारित हुने पनि बताउनुभयो । सर्वहारा वर्गसँग सत्ता प्राप्त गर्ने सङ्घर्षमा सङ्गठनसिवाय कुनै अर्को हतियार छैन ।’ (एक पाइला अगाडि, दुई पाइला पछाडि) । ‘सर्वहारा वर्गले राज्यसत्तामा अधिकार जमाएर नै राज्यका रूपमा राज्यको उन्मूलन गरिदिन्छ…राज्य भनेको दमनको निम्ति चाहिने विशेष शक्ति हो ।’ (राज्य र क्रान्ति) । ‘क्रान्तिद्वारा मात्र पुँजीवादी राज्यको उन्मूलन गर्न सकिन्छ…त्यसको स्थान सर्वहारा राज्य (सर्वहारा अधिनायकत्व) ले विलोपको मार्गबाट ग्रहण गर्न सक्तैन, बरु आमनियमका रूपमा केवल सशस्त्र क्रान्तिद्वारा मात्र ग्रहण गर्न सक्छ । सशक्त क्रान्तिको यस्तो, बिल्कुलै यस्तो दृष्टिकोणमा जनसमुदायहरूलाई नियमित रूपले अनुशासित गर्नुपर्ने आवश्यकता नै माक्र्स–एङ्गेल्सको सम्पूर्ण शिक्षाको सार हो ।’ (राज्य र क्रान्ति) लेनिनले दमनकारी राज्यसत्ता र तिनका अवयवका रूपमा रहेका सबै संयन्त्रहरूलाई क्रान्तिको बलले मात्र समाप्त पार्ने बताउनुभयो ।

सर्वहारा वर्गका महान् नेता माओ त्सेतुङले त पुरातन संस्कार, संस्कृति र आदतहरू समाप्त पार्न महान् सर्वहारा सांस्कृतिक क्रान्ति नै सञ्चालन गर्नुभयो । सर्वहारा सांस्कृतिक क्रान्ति सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको विज्ञान थियो । मानिसका पुराना आदतका सत्ताहरू भत्काएर नयाँ सत्ता, नयाँ संस्कृति स्थापना गर्न, टिकाइराख्न र विकास गर्न अझ सांस्कृतिक क्रान्ति निरन्तर सञ्चालन गरिरहनुपर्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, ‘राजनीतिक सत्ताभन्दा आदतको सत्ता ढाल्न कठिन हुन्छ । विश्वदृष्टिकोणको समस्या समाधान गर्न माओले सांस्कृतिक क्रान्ति आरम्भ गर्नुभएको थियो । सांस्कृतिक क्रान्ति केवल सांस्कृतिक रूपान्तरणका लागि थिएन, यो त निरन्तर दार्शनिक क्रान्ति पनि थियो । उहाँले भन्नुभयो, ‘औपनिवेशिक, अर्धऔपनिवेशिक र अर्धसामन्ती स्वरूपको समाजलाई एउटा स्वाधीन जनवादी समाजमा फेर्नु क्रान्तिको पहिलो पाइला हो । अनि क्रान्तिलाई अघि बढाएर समाजवादी सत्ताको निर्माण गर्नुचाहिँ यसको दोस्रो पाइला हो ।’

महान् जनयुद्धले खराब आदतको सत्ता भत्काएर मानिसमा वैज्ञानिक चेतना भर्न ठूलो सहयोग पु¥याएको हो । जनयुद्धकै जगमा निर्माण भएका हुन् त्याग, शौर्य र बलिदानमा सौन्दर्य देख्ने नयाँ संस्कार, संस्कृतिका चाडपर्वहरू । वास्तवमा जनयुद्धका मुख्य नेतृत्वकर्ताहरू नै आफ्नो आदतका पुराना सत्ताहरूतिरै मोहित भए र भैँसी पूजा गर्नतिर लागे । कोही बाउआमालाई मठमन्दिर घुमाउने बहानामा मन्दिरमा छिरेर पूजापाठ गर्नतिर लागे । कोही श्रीमतीको खुसीको बहानामा मन्दिरमा लाम लाग्न पुगे भने कोही सहिदका नाममा निर्मित सांस्कृतिक प्रतिष्ठानहरूको रकम भ्रष्टाचार गरी आफ्नो महल ठड्याएर त्याग, शौर्य र बलिदानको जगमा निर्मित संस्कृतिका ठाउँमा भ्रष्टाचार र दुराचारको संस्कृतिलाई प्रोत्साहन गर्नतिर लागे । भ्रष्टाचार संस्कृतिका अगुवाहरूलाई जोगाउनेहरू नै यतिबेला माक्र्सवादी सौन्दर्यशास्त्रका एक नम्बरका पण्डित कहलाइएका छन् ।

जे होस्, रूढि, अन्धविश्वास र परम्परावाद क्रान्तिका बाधक तत्व हुन् । जुनसुकै बहानामा भए पनि तिनलाई प्रोत्साहन गर्ने र क्रान्तिमार्गलाई बाधा हाल्ने काम कसैबाट हुनु हुँदैन, झनै कम्युनिस्ट क्रान्तिकारी हौँ भन्नेहरूबाट त हुँदै हुँदैन । वैकल्पिक जनवादी संस्कार र संस्कृति निर्माण गर्नुको सट्टा संस्कार जोगाउने नाममा क्रान्तिका अगुवाहरू नै परम्परागत संस्कार र संस्कृतिमा निर्लिप्त हुने हो भने क्रान्ति तलबाट होइन, माथिबाटै आरम्भ गर्नुपर्ने हुन्छ । जनता, कार्यकर्ता र तल्लो वर्गका नेता नयाँ संस्कार र संस्कृति निर्माण गर्न अहोरात्र खटेर परम्रावादी समाजसँग लडिरहने अनि नेतृत्व वर्गचाहिँ भैँसीपूजा, सर्पपूजा र कुकुरपूजामा लहसिइरहने हो भने घाउ जहाँ छ मलम त्यहीँ लगाउनुपर्ने हुन्छ । सबैलाई चेतना भया ।

२०७४ कात्तिक ५ गते अपरान्ह १ः३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :