मौलाउँदो भ्रष्टाचारः अस्थिर राजनीतिको परिणति

– कलाधर आचार्य

‘पहिले आफू जवान हुँदा नेता बन्ने रहर थियो
अलि पछि देशभरका नेता गन्ने रहर थियो
हुँदाहुँदै आसै म¥यो त्यो पनि खै के हुने हो
एउटा सद्दे मान्छेलाई नेता भन्ने रहर थियो ।’

यो अभिव्यक्ति कवि तीर्थराज अधिकारीको हो । संविधान आएर पनि के गर्नु, समाधान त्यत्तिमा मात्र देखिँदैन, प्रयोगकर्ता नै बाँदर भएपछि कहाँ गएर शान्ति खोज्नु ?

२०७४ आश्विन १७ गते पुनः नेपालको इतिहासमा पुरानो माछा मार्ने जाल थोत्रो भएको र नयाँ जालको खोजी गर्दै कालो दिनको सुरुआत भयो । एकातिर ‘वामएकता’ र अर्कोतिर ‘प्रजातान्त्रिक गठबन्धन’ । चटकेले खेल देखाएझैँ क्षणिक समयका लागि भए पनि केवल चुनावबाट विजय प्राप्त गरी सत्तामा पुग्न र त्यहाँ पुगिसकेपछि भ्रष्टाचार गर्न यो नाटक रचिएको हो । पटकपटक टुटेफुटेका आफँै सत्तामा छँदाछँदै सरकार छाड्ने र सरकारमा रहँदारहँदै पनि विपक्षीसँग तालमेल गर्ने यस्ता अवसरवादीको कसरी विश्वास गर्ने ? आगामी प्रदेश र केन्द्रको चुनावसम्म मात्र तालमेल हुन्छ नै, त्यसपछि आफूले जिते, स्वार्थ पूरा भए ठीक, नत्र बेठीक । सम्पूर्ण पार्टीहरूको तालमेल सोम शर्मा ब्राह्मणको सातुको घैँटो फुटेझैँ फुट्दछ र राजनीतिले अर्कै रूप लिन्छ । यो सही, सत्य हो, भविष्यले अवश्य बताउने नै छ । मुखले बोलेझैँ गरी व्यवहार गरे भएमा त राम्रै भयो । शान्ति र सुरक्षाको अनुभूति हुने नै थियो होला । खै कसरी विश्वास गर्नु, कुकुरले फोहोर कुरा पाए खाँदैन भनेर । बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरूको घर पनि बनाउन दिँदैन, भत्काइदिन्छ । आजसम्म यसरी नै यही नियति दोहोरिँदै भोग्दै आइरहेको यथार्थ छर्लङ्ग देखिन्छ ।

२०७४ असोज १७ गते एउटा टेलिभिजनमा नेपालका कम्युनिस्ट विश्लेषक मानिने एक व्यक्तिको अभिव्यक्तिबाट यिनीहरूको सम्पूर्ण राजनीतिक चरित्रको पर्दाफास भैसकेको छ । उनले भनेका थिए– यिनीहरू यति निच र घृणित स्वभाव र चरित्रका छन्, भन्न र लेख्न पनि लाजमर्दो छ । तर सञ्चारमाध्यममा आइसकेको कुरा पङ्क्तिकारलाई लेखमार्फत प्रस्तुत हुन केको लाज । प्रधानमन्त्री बन्न पाइन्छ भने काठमाडौँ सहर र प्रत्येक गल्लीगल्लीमा समेत नाङ्गै हिँडी जो प्रस्तुत हुन्छ त्यही व्यक्ति नै देशको प्रधानमन्त्री बन्न पाउँछ भने पनि यिनीहरू पद, सत्ता र पैसाका लागि पछि हट्दैनन् । आजसम्मको क्रियाकलाप र इतिहास स्मरण गरी आचरण सुधार गरेमा र वाम एकता भएमा त देशका लागि हित हुने नै थियो । पशुहरू पनि एकपटक खाल्टोमा परेपछि पुनः त्यो बाटो जाँदैनन्, सतर्क हुन्छन् तर यिनीहरू पटकपटक मात्र नभई धेरैपटक खाल्टोमा पर्दा पनि होस नखुलेको कारण विश्वास गरिहाल्ने स्थिति देखिन्न ।

देशमा विद्यमान शान्तिसुरक्षाको कुरा गर्दा सर्पले मात्र सर्पको खुट्टा देख्छ भन्ने कुराको भेद यसरी खुल्यो । २०७४ असोज २५ गते एबीसी टेलिभिजनमा र न्युज २४ तथा सगरमाथा टेलिभिजनमा पटकपटक समय र मितिमा पूर्वडीआईजी केशव अधिकारीबाट प्रस्तुत भएको अभिव्यक्तिलाई सुन्दा तथा ध्यान दिँदा अचम्म लाग्यो । काठमाडौँजस्तो शान्तिसुरक्षाले बलियो र सुरक्षित मानिने ठाउँ, दिनदहाडै नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्या किन, कसरी, कहाँबाट हुन पुग्यो ? योजनाकार मनोज पुनले फोनबाट प्रहरी अधिकृतलाई धम्की दिने अनि व्यवसायी सङ्घका अरू व्यक्तिहरूलाई समेत धम्क्याउने र हामी नै योजनाकार हौँ भनी प्रस्तुत हुँदाहुँदै पनि छाता ओढाई सुरक्षित तवरले राखी अपराधीहरूलाई कारबाहीको दायरामा ल्याउनको सट्टा राजनीति संरक्षणमा राख्नुको तात्पर्य के हो त ? ‘…भनेर नरुनू काल पल्क्यो भनेर रुनु’ भनेजस्तै हो । आफैँले पालेको कुकुरले आफूलाई नै टोक्छ । कारबाही गरौँ त आफ्नै ज्यान खतरामा पुग्छ, सम्पूर्ण पोलहरू खुल्छन् । कारबाही नगरौँ त जनदबाब छ । यसरी ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार’ यस्तो स्थिति पैदा भएको देखिन्छ । पाठकहरूलाई जिज्ञासा उत्पन्न भैरहेको होला, के हो त वास्तविकता ? उहाँकै भनाइअनुसार प्रहरी डिपार्टमेन्टलाई कानुनभित्र रही स्वतन्त्र रूपमा काम गर्न नदिनु, हाम्रो हात बाँध्नु, अपराधी गिरोहहरूलाई हतकडी लगाउने हातमा नै अप्रत्यक्ष रूपबाट हतकडी लगाउनु, काम गर्न खोज्दा रोक्नु, सक्षम व्यक्ति सही स्थानमा नहुनु, यसै कारणले यस्तो दुर्दशा हुँदै आइरहेको छ । दलाल, पुँजीपति, गुन्डा, तस्कर, चोर, डाँकाको इशारामा चल्ने र संरक्षण गर्ने प्रवृत्तिको अन्त्य नभएसम्म प्रहरी जतिसुकै चनाखो र सशक्त भए पनि यस्तै बेहाल भैरहन्छ । लाजमर्ने कुरा त तिनै गुन्डा तथा तस्करसँग फुर्सदको समयमा काँधमा काँध मिलाई हिँड्ने अनि कार्यालय समयमा आफ्नो पद र कुर्चीमा बस्ने । के त्यस्ताहरूले कारबाही गर्न सक्छन् त ? अनि तिनै अपराधीहरूले सँगै बसी खाइखेलेका भनाउँदाहरूलाई टेर्छन् त ? हो प्रहरी प्रशासनभित्र पनि यस्तैको वर्चस्व छ । सबैलाई भन्न पनि मिल्दैन र छैनन् पनि । तर प्रायः प्रहरी अधिकृतहरूले दोहोरो भूमिका निर्वाह गर्दै आएका छन् । पानी मुहानमा नै सफा भए पो तलतिर सफा बग्दै आउँछ तर विडम्बना मुहान नै फोहोर छ । छाता ओढाइदिने र संरक्षण गर्नेले संरक्षण गरेपछि र छाता ओढाइदिएपछि कसको के लाग्छ ? उहाँको लगभग ३० वर्षको कार्यकालमा काठमाडौँ अपराध अनुसन्धान महाशाखाको प्रमुखमा १ वर्ष र सीमावर्ती क्षेत्रहरूमा समेत व्यतित गर्नुभएको अनुभव र वास्तविक कुरा रहेछ ।

संसद्, संसदीय सुनुवाइ समिति र मन्त्रिपरिषद्बाट समेत भ्रष्टाचार गरेको ठहर भई अख्तियारमा उजुरी दर्ता भएर निलम्बनमा परेका गोपालबहादुर खड्काको मुद्दामा सर्वोच्च अदालतबाट सुनुवाइ हुँदा निजलाई पदमुक्त नगर्नू भनी पुनः आफ्नो पदमा फर्काइदियो । कस्तो बिडम्बना, अचम्म र घिनलाग्दो फैसला हो यो । अख्तियारले त दस, बीस हजार घूस लिएका सानातिना कर्मचारीहरूउपर मात्र निगरानी राख्छ र कारबाही गर्दछ तर ठूलाठूला मुद्दाहरूमा अर्बौंको मुठाले हिर्काइदिएपछि ढल्न पुग्छ र दिवास्वप्न देख्छ । के गर्नु खै, धनदेखि महादेवका पनि तीन नेत्र भनेझैँ छ ।

सही र वास्तविक सहिदहरूका सालिक तोडेर फालेर अपराधीहरूलाई सहिद घोषणा गरी त्यस्तैहरूका सालिक राख्ने प्रयास गरिन्छ । यस्ता मानवको नाउँमा कलङ्क, दानवरूपी स्वभाव र व्यवहार भएकाहरूलाई एकै चिहान बनाउँदा मानव अधिकारको सवाल आउला । तर दानवलाई कारबाही गरिँदा केको मानवअधिकार ?

२०७४ कात्तिक ५ गते विहान ११ः२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :