ऊ को हो ?

– अनिल शर्मा

पुर्खाको गौरवगाथा साँचेर
आज भने अनुहारभरि
बिफरले डसेको छ्याके अनुहारमा
‘रेफ सिटी’ को दुर्गन्ध पोतेर
मन नलागी–नलागी घिस्रिरहेकी
विरहिनी यमुनाजस्तै
सबैभन्दा अपहेलित
यो यमुना खण्डमा/देहाती खण्डमा
जनकपुर–जयनगर बूढो रेलको धुवाँजस्तै
कुइरीमण्डल भान्छाघरको थाप्लोमा
एकातिर परेवा घुरिरहेका छन्
अर्कोतिर ऊ घोरिइरहेको छ
यतातिर टहल्दा
पुलुक्क उसलाई हेर्छु
हेर्नुभन्दा धेरै घोरिन्छु
र कैदी वरपीपललाई सोध्छु —
ऊ को हो ?
चर्मचक्षुहरू थरीथरी देख्छन्
कोही महर्षि भन्छन्/कोही साधु/कोही सन्त
निराकार देखिन्छ ऊ
तर उसको ललाटमा चन्दन–लेप देखिन्न
खरानी–अक्षता पनि छैन
अगोचरणीय ऊ को हो ?
वरपीपलको जीर्ण वृक्षपछाडि
नमाजगृहमा
‘अल्लाह हो अकबर’ गुन्जिरहेको बेला
मेरा जिज्ञासु आँखा
उसको च्यापुहुँदो लामो दाह्री खोज्छन्
तर उसको मुखाकृतिमा
केवल हो ची मिन्हको झल्को आउँछ
त्यो निराकार को हो ?
उसको गलामा म
जिसस क्राइस्टको लोगो खोज्छु
तर नास्तिकतामा विश्वास गर्छ ऊ
कहिले हाँस्छ/कहिले घोरिन्छ/कहिले गर्जिन्छ
मान्छेभन्दा पृथक छैन ऊ
जीर्ण पुस्तकका पानाहरूमा
रविन्सन क्रुसोझैं एक्लो यात्रा गरिरहन्छ
कलम रगडिरहन्छ
केही खोजिरहन्छ/सपना उमारिरहन्छ
त्यो कैदी को हो ?
सपना रोपिरहने ऊ को हो ?

(लोकेन्द्र बिस्ट ‘अभ्यास’ २०६१ सालमा भारत, पटनामा गिरफ्तार भएपछि बेऊर जेलमा राखिएको समयमा शान्त स्थान खोज्दै भान्छाघरको छतको कुनामा भीडमा एक्लै दिनभरि अध्ययन–लेखन गरिरहन्थे । दर्शकहरू अनेक टिप्पणी गर्थे । सोही क्रममा २०६२ मङ्सिर १७ मा लेखिएको कविता यहाँ प्रकाशित गरिएको छ ।)

२०७४ कात्तिक ३ गते अपरान्ह ३ः३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :