नक्कली समाचारको विरुद्धमाः गौरी लङ्केश

(गौरीलाई २०१७ मा बैगलूरुस्थित उनकै निवासमा अखबारको कार्यालयबाट आउँदै गर्दा हत्या गरियो । सरकारी संरक्षण प्राप्त आरएसएसको अपराधी झुण्डले स्वतन्त्र पत्रकार लङ्केशको हत्या गरेको ठानिन्छ । झूठो र नक्कली समाचारका विरुद्ध उनले निरन्तर कलम चलाउँदै आएकी थिइन् । सोही विषयमा उनको अन्तिम सम्पादकीय ‘फेक न्युज के खिलाफ’ यहाँ प्रकाशित गरिएको छ ।)

मेरो मित्र डाक्टर वासुले यो साता गोयबल्स शैलीमा नक्कली समाचार बनाउने भारतीय कारखानाका विषयमा लेखेका छन् । यस्ता नक्कली समाचार बनाउने कारखाना निर्बाध सञ्चालन भैरहेका हुन्छन् । नक्कली समाचारले भैरहेको क्षतिका विषयमा म लेख्ने प्रयास गर्नेछु । अस्ति भर्खरै गणेश चतुर्थी थियो । त्यस दिन सामाजिक सञ्जालमा झूठो समाचार प्रसारण भयो । त्यो नक्कली समाचार प्रकाशित गर्ने ‘सङ्घ परिवार’ थियो ।

त्यो नक्कली समाचार के थियो ? कर्नाटक सरकार जहाँ भन्छ त्यहीँ गणेशको प्रतिमा स्थापित गर्छ, त्यसका लागि १० लाख रुपैयाँ जमानत गर्नुपर्छ । मूर्तिको उचाइ कति बनाउने भन्ने अनुमति सरकारसँग लिनुपर्छ । अर्को धर्मका व्यक्तिहरू रहेको बाटो हुँदै मूर्ति लग्न पाइनेछैन । पटका पड्काउन पाइनेछैन । सङ्घका मान्छेहरूले त्यो नक्कली समाचारको व्यापक प्रचार गरे । त्यो समाचार कति व्यापक भयो भने कर्नाटक प्रहरी प्रमुख आर.के. दत्तले पत्रकार सम्मेलन नै गर्नुप¥यो । उनले सरकारले त्यस्तो कुनै निर्णय नगरेको खुलासा गर्नुप¥यो । यो सबै नक्कली समाचार भएको स्पष्ट गर्नुप¥यो ।

त्यो नक्कली समाचारको स्रोत पछ्याउँदै जाँदा हामी ‘Postcard News’ वेबसाइडसम्म पुग्यौं । यो साइड पक्का हिन्दुस्तानीहरूको हो । नक्कली समाचार बनाएर प्रसार गर्नु त्यसको नियमित काम हो । ११ अगस्टमा ‘पोस्ट कार्ड न्युज’ मा एउटा शीर्षक थियो, ‘कर्नाटकमा तालिवान सरकार ।’ त्यो शीर्षक मार्फत राज्यमा कपोलकल्पित नक्कली समाचार फैलाइयो । सङ्घ परिवारका मान्छेहरूले एक स्तरको सफलता पनि प्राप्त गरे ।

सिद्धारमैया सरकारबाट असन्तुष्ट सबैले सो समाचारलाई हतियारका रूपमा प्रयोग गरे । आश्चर्य र खेदको कुरा के हो भने मान्छेहरूले त्यसलाई सोचविचार नगरी स्वीकार गरे । आफ्नो नाक, कान र दिमाग प्रयोग गरेनन् ।

गएको साता जब रामरहिम नामका पाखण्डी बाबालाई बलात्कारको मुद्दामा अदालतले दोषी ठहर ग¥यो तब भाजपाका थुप्रै नेताहरू र बाबाका संयुक्त फोटाहरू छ्यापछ्याप्ती भए । हरियानाका भाजपाका सांसद, मोदी र बाबाका फोटाहरू भाइरल भए जसबाट सङ्घ, परिवार र भाजपा अप्ठ्यारोमा परे । त्यसबाट जनताको ध्यान विषयान्तर गर्नका लागि उनीहरूले गुरमित बाबा र केरलाका भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादी, केरलाका मुख्यमन्त्री पिनराई विजयनसँगै बसेको फोटो सार्वजनिक गरे जुन नक्कली फोटो (फोटो कार्यशालामा नयाँ बनाइएको) थियो ।

यथार्थमा गुरमित बाबासँग काङ्ग्रेसका नेता ओमन चण्डी थिए । ओमनको शरीरमा विजयको टाउको हालियो । सङ्घ परिवारका मान्छेहरूले त्यसलाई भाइरल बनाए । तर सङ्घ परिवारको त्यो षड्यन्त्र प्रभावकारी भएन । किनकि कसैले वास्तविक फोटो सार्वजनिक गरिदियो र त्यो सामाजिक सञ्जालमा राखियो । वास्तवमा भन्ने हो भने गएको वर्षसम्म सङ्घ परिवारको ‘नक्कली समाचार युद्ध’ को प्रतिरोध गर्ने कोही थिएन । आजभोलि धेरै मान्छेहरू त्यसका विरुद्ध लड्न तयार भएका छन् । यो धेरै नै खुसीको विषय हो । पहिले नक्कली समाचार एकछत्र चल्थ्यो, अब नक्कली समाचारसहित वास्तविक समाचार पनि प्रवाह हुने गर्छ । दुईवटै समाचार एकसाथ पाठकसम्म पुग्छन् । उदाहरणका लागि १५ अगस्टको दिन जब लालकिल्लाबाट प्रम मोदीले सम्बोधन गरे त्यसको एउटा विश्लेषण १७ अगस्टमा सनसनीपूर्ण बन्न गयो । धुर्व राठीले त्यसको विश्लेषण गरेका थिए । क्याम्पसको सामान्य विद्यार्थीजस्ता लाग्ने राठीले गएको केही महिनादेखि मोदीको पोल खोलेर सामाजिक सञ्जालमा प्रचार गरिदिएका छन् ।

पहिले यस्ता श्रव्य–दृश्य हामीजस्ता सचेत मान्छेले मात्र हेर्थे । आम मान्छेको पहुँचमा पुग्दैनथे । तर १७ अगस्टको श्रव्य–दृश्य १ लाखभन्दा बढी मान्छेसम्म पुग्यो (मोदीले ओठ खोल्यो कि झूठो बोल्ने गरेको गौरीको धारणा छ ) । राज्यसभामा मोदीले ३३ लाख नयाँ करदाता थपिएको दाबी गरेका थिए । त्यसअगाडि नै अर्थमन्त्री जेटलीले ९१ लाख नयाँ करदाता थपिने आँकलन गरेका थिए । तर आर्थिक सर्वेक्षणमा ५ लाख ४० हजार मात्र करदाता थपिएको देखियो । यसमा सत्य तथ्याङ्क कुन हो त ? त्यो विषय धुर्व राठीले आफ्नो श्रव्य–दृश्यमा उठाएका छन् ।

आजका मूल प्रवाहका सञ्चारहरू केन्द्र सरकार र भाजपाका समाचार जस्ताको तस्तै वेद वाक्य जसरी प्रचार गरिरहन्छन् । सरकारको बोली उनीहरूका लागि वेद वाक्यसरह हुन्छ । त्यसमा पनि टेलिभिजन सञ्जालहरू दस पाइला अगाडि देखिन्छन् । उदाहरणका लागि जब रामनाथ कोविदले राष्ट्रपति पदको शपथ खाए तब १ घन्टामा ३० लाखले हेरेको हल्ला मच्चाए । घन्टा–घन्टामा ३० लाख, ३० लाख भनेर चिच्याउन थाले । उनीहरूका कति लाख अनुयायी थिए भन्ने प्रचार गर्नु थियो । आजभोलि धेरैजसो टेलिभिजनहरू राष्ट्रिय स्वयम्सेवक सङ्घको प्रचारटोली जस्ता भएका छन् । सङ्घकै काम गर्छन् । तर वास्तविकता के थियो भने प्रणव मुखर्जीको स्थानमा नयाँ राष्ट्रपति विराजमान भएका थिए । मुखर्जी राष्ट्रपति हुँदा पनि ३० लाखकै चर्चा थियो ।

आज राष्ट्रिय स्वयम्सेवक सङ्घद्वारा फैलाएका नक्कली समाचारका विरुद्ध धेरै मान्छेहरू प्रकट भएका छन् । धुर्व राठी श्रव्य–दृश्यमार्फत त्यो काम गरिरहेका छन् । प्रतीन सिन्हाले alt news नामक वेबसाइटमार्फत त्यो काम गरिरहेका छन् । होक्स स्लेयर, बुम र फैक्ट चेक नामका वेबसाइटहरू त्यही काम गरिरहेका छन् । त्यसको पछिपछि THEWIERE. IN, SCROLT, NEWSLAUNDRY.COM, THEQUINT.COM जस्ता वेबसाइटहरू छन् जसले हालसालै कैयौँ नक्कली समाचारको वास्तविकता उदाङ्गो पारेका छन् । महत्वपूर्ण कुरा त के भने यी संस्थाहरू पैसाका लागि काम गर्दैनन् । उनीहरूको उद्देश्य फासिस्ट मान्छेका नक्कली कारखाना उदाङ्गो पार्नु हो ।

केही साता अगाडि बैङलुरुमा भीषण वर्षा भएको थियो । त्यसै समयमा सङ्घ परिवारले एउटा फोटो सनसनीपूर्ण बनायो । त्यसमा नासाद्वारा मङ्गलग्रह यात्राको फोटो भनी लेखिएको थियो । बैङलुरु नगरपालिकाले त्यो फोटो मङ्गलग्रहको नभएको खुलासा ग¥यो । मङ्गलग्रहको फोटो भनेर बैङलुरु प्रशासनको खिल्ली उडाउने मनसायले उक्त कार्य गरिएको थियो । सरकारले केही काम गरेको छैन, बाटोघाटो जीर्ण छ भनेर जनआक्रोश पैदा गर्नु उनीहरूको उद्देश्य थियो । तर सङ्घ परिवारलाई चर्को मूल्य पर्न गयो किनकि त्यो फोटो बैङलुरुको नभएर महाराष्ट्रको थियो जहाँ भाजपाको सरकार छ ।

हालै पश्चिम बङ्गालको दार्जिलिङमा हिंसा भड्कियो । तब राष्ट्रिय स्वयम्सेवकका कार्यकर्ताले दुई प्रकारका पोस्टर टाँसे । एउटा पोस्टरमा बङ्गाल जलिरहेको छ लेखिएको थियो । सम्पत्ति जलिरहेको थियो । दोस्रोमा एकजना महिलाको साडी तानिरहेको दृश्य थियो । फोटोको तल हिन्दु महिलामाथि अत्याचार लेखिएको थियो । तर तुरुन्त त्यो फोटोको वास्तविकता सार्वजनिक भयो । पहिलो फोटो सन् २००२ को गुजरात दङ्गाको थियो । त्यतिबेला मुख्यमन्त्री मोदी नै सरकार प्रमुख थिए । दोस्रो फोटो एउटा भोजपुरी चलचित्रको थियो । राष्ट्रिय स्वयम्सेवक सङ्घ मात्र होइन, भाजपाका कैयौँ मन्त्री र नेता नै यस्ता नक्कली समाचारको खेती गर्छन् । उदाहरणका लागि केन्द्रीय मन्त्री नितिन गडकरीले एउटा फोटो सेयर गरे जसमा केही व्यक्तिहरूले भारतको झन्डा जलाइरहेको देखिन्थ्यो । फोटोको तल गणतन्त्र दिवसमा हैदराबादमा तिरङ्गा जलाइँदै लेखिएको थियो । हालसालै गुगलमा एउटा नयाँ प्रविधि समावेश छ जसमा गएर प्रचारित फोटो ‘कहाँको र कहिलेको हो’ जान्न सकिन्छ । प्रतीक सिन्हाले त्यही प्रविधि प्रयोग गरेर नागरिकलाई वास्तविक सूचना प्रवाह गरेका थिए । क्षणभरमै त्यो फोटो पाकिस्तानको एउटा कट्टरपन्थी समूहले भारतको विरोधमा तिरङ्गा जलाएको भन्ने सूचना सार्वजनिक भयो जसमा हैदराबादको कुनै साइनो थिएन ।

एउटा टेलिभिजन छलफलमा भाजपाका प्रवक्ता संवित पात्रले सिमानामा सेनालाई राष्ट्रिय झन्डा फहराउन कत्ति मुस्किल छ ? नेहरू विश्वविद्यालयमा के समस्या छ ? भनेका थिए । त्यसो भन्दै उनले एउटा फोटो देखाए जुन फोटो भारतीय सेनाको नभएर अमेरिकी सेनाको थियो । दोस्रो विश्वयुद्धमा जब अमेरिकाले जापानको एउटा सामुद्रिक टापु कब्जा ग¥यो तब अमेरिकी झन्डा फहराएको थियो । त्यही फोटो प्रयोग गरियो । उनको मान्छेलाई मूर्ख बनाउने धन्दा धेरै समय टिकेन । मान्छेले भाजपाका प्रवक्ताको खिल्ली उडाए ।

केन्द्रीय मन्त्री पियुष गोयलले हालै एउटा फोटो सार्वजनिक गरे । भारतका ५० हजार कि.मि. सडकमा सरकारले ३० लाख सडक बत्ती राखेको दाबी उनले गरे । त्यसलगतै सो फोटो छत्तीसगढको भएको दाबी त्यहाँका मन्त्री राजेश मूूनतले गरे । उनले सो काम भाजपाले गरेको फोटोसहित दाबी गरेका थिए । तर त्यो फोटो भारतको नभएर भियतनामको भएको रहस्योद्घाटन भयो ।
त्यस्तो नक्कली समाचारको खेती गर्नमा कर्नाटकका आरएसएस र भाजपाका नेता पनि कम छैनन् । मुसलमानले एक हिन्दु युवतीलाई छुरी प्रहार गरेको समाचार टाइम्स अफ इन्डियामा आएको प्रचार कर्नाटकका भाजपा सांसद प्रताप सिन्हाले गरे । नैतिकताको गीत गाउने सिन्हाले वास्तविकता बुझ्ने लेठो गरेनन् । यस्तो समाचार कसैले छापेको थिएन । तर प्रविधिको दुरुपयोग गरेर हिन्दु–मुस्लिम रङ प्रदान गरियो । त्यसका लागि टाइम्स अफ इन्डियाको नाम दुरुपयोग गरियो । हल्लखल्ला भएपछि सिन्हाले समाचार हटाए । तर माफीसम्म मागेनन् । साम्प्रदायिकता पैmलाउने कार्यप्रति नैतिक जिम्मा लिएनन् ।

मेरो साथी वासुले ख्याल नगरी नक्कली समाचार सेयर गरेको बताएका छन् । गएको आइतबार पटनाको जुलुसको मेरो फोटो लालु यादवले फोटो कार्यशाला (वर्कसप) मा लगेर सार्वजनिक गरे । केही बेरमै साथी शशिधरले त्यो फोटो नक्कली भएको बताए । मैले त्यो फोटो हटाएँ र माफी मागेँ । नक्कली र वास्तविक फोटो एकसाथ प्रकाशित गरियो जसको पछाडि साम्प्रदायिकता फैलाउने मनसाय थिएन । फासिवादका विरुद्ध जनता सङ्गठित भइरहेको सूचना प्रवाह गर्ने मेरो मनसाय थियो । निष्कर्षमा, जो नक्कली सूचना र समाचारका विरुद्ध लडिरहेका छन् उनीहरूलाई मेरो सलाम छ । म चाहन्छु उनीहरूको समूह अझै धेरै बढ्नुपर्छ । अनुवाद: अनिल शर्मा

२०७४ कात्तिक ३ गते अपरान्ह २ः३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :