एक थोपा रगत छउन्जेल सीमारक्षाका लागि लडिरहन्छु : देवनारायण यादव, सीमा बचाउ अभियान, सप्तरी

(२०१४ सालमा सप्तरी जिल्ला, तिलाठी कोइलाठी १ मा जन्मिएका देवनारायण यादवले बिहारको दरभङ्गाबाट २०३५/०३६ मा प्रवेशिका परीक्षा स्तरको पढाइ पूरा गरेका हुन् । २०६२÷०६३ को जनआन्दोलनमा एकपटक १२ दिन र अर्कोपटक १ महिना राजविराज प्रहरी हिरासतमा बसेका थिए । गत वर्ष नेपाल–भारत सिमानामा नेपाली बस्ती डुबाउने गरी भारतीय पक्षले बाँध बनाउँदा भएको झडपमा उनी भारतीय पक्षको आक्रमणमा घाइते भएका थिए । नेपाली पक्षले भारतीयलाई लखेटेर बाँध भत्काए । त्यो महान् देशभक्तिपूर्ण प्रतिरोधको नेतृत्व गरेपछि एकजना गुमनाम गाउँले देवनारायण एकाएक चर्चाको शिखरमा पुगे । उनलाई केही दिनअघि झूठो आरोपमा पक्राउ गरेपछि उनी फेरि चर्चामा छन् । सीमा बचाउ अभियानमा प्रमुखसमेत रहेका उनै यादवसँग रातो खबर साप्ताहिकको कार्यालय बागबजारमा झनक श्रेष्ठ र भीमप्रसाद चापागाईंले गर्नुभएको वार्ताको सम्पादित अंश)

देवनारायणजी, रातो खबर साप्ताहिकका तर्पmबाट यहाँलाई स्वागत र देशभक्तिका लागि धन्यवाद छ । आजभोलि यहाँको दिन कसरी बित्दैछ ? बताइदिनुस् न ।

म किसान पेसामा छु । खेतीपाती गर्छु । समय बचाएर सामाजिक काम गर्छु । गिरफ्तारीबाट छुटेपछि भेटघाट बढेको छ । घरव्यवहारको काम र सामाजिक कामले गर्दा व्यस्तता बढेको छ ।

हालै भारतीय प्रहरीले तपाईंलाई पक्राउ गरेर भूmठा मुद्दा लगाएको छ । त्यसको कारण के हो ?

मेरो गिरफ्तारी कुनै आकस्मिक घटना होइन । धेरै पहिलेदेखि भारतले दागा धरिरहेको थियो । सिमाना भारत र नेपाल दुवैतिर सडक छ । २० वर्षयता भारतले सिमा क्षेत्रमा उच्च सडक र बाँध निर्माण गरिरहेको छ । त्यो काम हरेक वर्ष अगाडि बढाइरहेको छ । त्यसले पानीको स्वाभाविक बहावलाई अवरुद्ध गरेर नेपालतर्पm पानी जमेको छ । नेपाली भूभाग डुबानमा परेको छ । खिलराज रेग्मीको कार्यकालमा तत्कालीन सिँचाइमन्त्री उमाकान्त झाले तिलाठीको भ्रमण गर्नुभएको थियो । काम रोक्ने सहमति भयो । तर भारतीयले फेरि बाँध बनाउन सुरु भयो । मन्त्रीले निवेदन माग गर्नुभएको थियो । त्यो निवेदन काठमाडौँस्थित भारतीय दूतावासमार्पmत दिल्ली पठाएपछि निर्माणकार्य बन्द भएको थियो । बिहार सरकारका प्रमुख इन्जिनियर र नेपालको जलउत्पन्न प्रकोपका जनकपुर प्रतिनिधिले स्थलगत भ्रमण गरेका थिए । साथमा जिल्ला इन्जिनियर रत्नेशलाल कर्ण पनि थिए । नेपालको जमिनको सतहभन्दा ८ मिटर अग्लो बाँध र सडक थियो । त्यो रोक्न आदेश भयो । बाँध बनाउने नै भए सतहभन्दा एक मिटर तल बनाउने संयुक्त आदेश भयो । तर भारतीयहरूले रातिराति फेरि बाँध बनाउन थाले । इन्दिरा गान्धी स्वरोजगारको लगानीमा दरभङ्गा, कुनौली गाउँका मुखियाको नेतृत्वमा त्यो काम भएको रहेछ । भारत, बिहारका प्रमुख इन्जिनियरले त्यो काम रोक्न आदेश गरे । थुपारेको माटो सम्याउन पनि नपाउने अदेश भयो । त्यहाँ खाँडो र जिता नामका नदी छन् । ती नदीले भारततर्पm बर्सात्मा कटान गरे । त्यसपछि भारतीय पक्षले फेरि बाँध बनाउन थाले । नेपालतर्पm डुबान बढ्दै गयो ।
नेपालको सशस्त्र प्रहरीका निरीक्षक डम्बर राना गएर बाँधमा सुतेर भने— मलाई यहीँ पुरेर बाँध बनाऊ । त्यसपछि बाँध बनाउने कार्य रोकियो । गत वर्ष असार १३ गते खाँडो नदीमा बाढी आयो । बाढीले बाँध भत्कायो । त्यसपछि फेरि बाँध बनाउन थाले । बाँध जङ्गे पिलरभन्दा पनि अग्लो थियो र नेपालतिरबाट रोक्ने, उनीहरूले बनाउन खोज्ने हुँदा झडप भयो । मैले सञ्चारकर्मीहरूलाई खबर गरेँ । मेरो कुरा सार्वजनिक भएपछि प्रभावित १० गाउँका जनता विवादित स्थलतिर आए । अपराह्न २ बजे मैले प्रहरी, सेना, सशस्त्र, प्रजिअ सबैको बीचमा बाँधको बाँस उखेलेर फालिदिएँ । कुनौली थानाको दरोगाले पेस्तोल ताक्दै आयो तर दुवैतर्पmबाट संयमित भए ।

झडप कसरी भयो त ?

हामी नेपालतर्पm गुरुप्प भएर बसेका थियौँ । एकजना केटा भारततर्पm थियो । म उसलाई बोलाउन दसगजामा गएँ । त्यही बेला उनीहरू ठूलो समूहले मलाई घिसार्दै भारततर्पm लग्न खोज्यो । ‘यो नै हो नाइके, यसलाई काटेर गड्डामा फालेपछि मात्र ठीक हुन्छ’ भन्दै थिए । मेरै गाउँको अरुण राईले मलाई नेपालतर्पm तान्न थाल्यो । मलाई बाँसको कप्टेराले टाउको, ढाड जताततै पिटे । रगत बग्यो । मलाई नेपालीहरूले राजविराज अस्पताल लगे । त्यसपछि हाम्रा गाउँलेहरूले भारतीयविरुद्ध ठूलो लडाइँ लडे । उनीहरूलाई लखेट्दै, पिट्दै धेरै परसम्म पु¥याए । नेपालीहरू फर्किंदा भारतीयले बनाएको बाँध सबै भत्काइदिए । त्यसपछि दरोगा रिभल्भर लिएर नेपालतर्पm आयो । त्यसको रिभल्भर नेपालको सशस्त्र प्रहरीले खोस्यो । मैले त्यो हतियार लगेर कुनौली थानाका प्रभारी विनोद यादवलाई दिएँ । त्यो पेस्तोल मैले नै खोसेको भन्ने विनोद यादवलाई परेको रहेछ । त्यही कारण व्यक्तिगत रूपमा पनि थाना इन्चार्जले प्रतिशोध साधेको हुनसक्छ ।

गिरफ्तारीको कारण के हो ?

दशमीको भोलिपल्ट मेरो कान्छो छोरा नाटक हेर्न कुनौली गएछ । साथीहरूबीचमा सामान्य झगडा भएछ । ९ जनालाई थानामा लगेछ । नेपालीसँग चारचार हजार दिएर र भारतीयलाई त्यसै छोड्यो । छोरालाई छुटाउन गएको मलाई पनि समात्यो । मसँग ५० हजार मागेको थियो । मैले पैसा दिन्नँ भनेपछि अपहरणको मुद्दा लगाएर जेल चलान गरियो । त्यसबेला दरोगा र मेरोबीचमा भनाभन भएको थियो । मेरो ससुराली (बिहार) र घरतिरबाट गरेर सयौँ समर्थक थानामा आए । ससुरालीतिरबाट आउनेहरूले बन्दुक पनि बोकेका थिए ।

तपाईंलाई केकस्तो यातना दिइयो ? छोरा अजयलाई नि ?

दरोगाले भनाभन हुने क्रममा आँखाका डिलमा निलडाम अभैm छ । फोहोरी गाली, धम्की दिए । अपमानित गरे । पिटेका पनि थिए । तर म पनि झुक्ने, डराउने मान्छे थिइनँ । छोरा अजयलाई पनि यातना र धम्की दिएछन् । म गएपछि भने उसलाई केही गरेनन् ।

भारतीय स्वार्थमा काम गर्न लोभ–लालच र धम्की दिएनन् ?

म लोभमा काम गर्दिनँ भन्ने उनीहरूले बुझेका थिए । त्यसैले त्यता लागेनन् । बरु विनोद यादव (प्रभारी) ले ‘देवनारायणजी, आप मकान जाना है तो ५० हजार रुपैयाँ देना होगा’ भनेका थिए । मैले ठाडै अस्वीकार गरिदिएँ । मेरो ठेगाना, हुलिया केही मिलेको थिएन । ‘नझुक्नुस्, यिनीहरूको केही लाग्दैन’ भनेर मेरा कानुनी सल्लाहकारहरूले भनेका थिए ।

तपाईंलाई बिहार, वीरपुर अदालतले दिउँसो नै रिहाइको आदेश गरेको रहेछ । प्रहरीले राति ८ बजे मात्र छोड्नुको कारण के होला ?

अदालतले १२ बजे बेल (जमानतमा रिहा) भयो भने तुरुन्त रिहा गर्नुपर्ने हो । तर प्रहरीले तत्काल छोडेन । साँझ ७ बजेसम्म राख्यो । मलाई स्वागत गर्न भारत र नेपाल दुवैतर्पmका थुप्रै आफन्तहरू अदालत परिसरमा जम्मा भएका थिए । एक सयभन्दा बढीको सङ्ख्यामा थिए । मेरो समर्थनमा नारा, जुलुस होला, अपराधी भनेर थुनेको मान्छे छुट्दा यत्रो समर्थन ! भनेर जनतामा प्रभाव पर्ला भनेर रात पारेर छोडेको पनि हुनुपर्छ ।

एक सातासम्म जेल, हिरासत, धम्की, अपमान सहनुभयो । अब त भारतीय ज्यादतीका विरुद्ध लड्नुहुन्न होला नि ?

मेरो घर सिमानाको नजिकै छ । म नेपाली हुँ । त्यसमा कुनै शङ्का छैन । म भारतीय होइन, नेपाली नागरिक हुँ । नेपाली भएकोमा म गर्व गर्छु । नेपालको सिमाना मिच्ने, नेपालको बर्बादी गर्ने काम कसैले गर्छ भने म एक्लै भए पनि लड्छु । मेरो पछाडि मधेसी, पहाडी सबै दाजुभाइ छन् । सञ्चार र नेताहरू छन् ।

तपाईंलाई सुरक्षाको चिन्ता लागेको छैन ? तपाईंलाई त मार्नुपर्छ भन्दा रहेछन् ?

मरण कसैले चाहेर हुँदैन, संयोगको कुरा हो । भारतीय दूतावास र उसको थाना वा भारतका अपराधी समूहले गर्ने षड्यन्त्रबाट विचलित हुन्नँ । नेपाली जनताले मलाई ठूलो सम्मान दिएका छन् । त्यसलाई बचाएर राख्छु ।

सीमा क्षेत्रका बासिन्दाले भारतबाट फाइदा लिएको चर्चा हुन्छ । रोटी–बेटीको कुरा हुन्छ । तपाईं त उनीहरूसँग लडिरहनुभएको छ । यहाँको भोगाइमा वास्तविकता के हो ?

मेरो ससुराली भारत हो । मेरी बहिनीको ससुराली (घर) पनि उतै छ । मेरो दाजुको ससुराली पनि उतै छ । हामी मिथिला जातिका हौँ । मिथिला जाति धेरै भारतमा भएकाले हाम्रो विवाह उता हुने गर्छ । काम गर्न, व्यापार गर्न हामी पारितिर जान्छौँ । उनीहरू यतातिर आउँछन् । यसलाई रोटी–बेटी सम्बन्ध भन्ने गरिन्छ । आपसी सम्बन्ध पनि राम्रो छ । अर्को कुरा भारत ठूलो देश छ । त्यसो भनेर हेप्न, दमन गर्न पाइँदैन नि ! म मान्छे हो, हल्लामा होइन आफ्नो खोपडीले सोचेर चल्छु । मेरो जमिन मिचेपछि, डुबानमा पारेपछि मन दुख्छ नि ! जबसम्म मेरो शरीरमा एक थोपा रगत रहन्छ, देशका लागि म लडिरहन्छु ।

सिमानामा समस्या तिलाठीमा मात्र हो कि अन्यत्र पनि छ ?

झापामा एउटा राजवंशी टोल भारतले कब्जा गरिसकेको छ । रूपडिहा नजिकको नेपाली जङ्गल भारतले अतिक्रमण गरेको छ । सुस्ताको हजारौँ बिघा जमिन भारतले कब्जा गरेको छ । म तपाईंको सञ्चारमार्फत् भन्छु— काठमाडौँको मान्छे गएर सीमाको रक्षा हुँदैन, गर्दैनन् । हामी सीमा क्षेत्रकै मान्छे लड्नुपर्छ । अरू देशभरिको नेपालीले हामीलाई सहयोग गर्नुपर्छ ।

भारतको अदालतमा भूmठो मुद्दाको तारेख धाउँदै गर्नुभएको होला नि ?

मुद्दा तारेखको दिशामा गएकै छैन । एकदुईपटक जानुपर्ने हुनसक्छ । मेरो वकिलले केही गर्न सक्दैन, चाँडै सकिन्छ भनेको छ । मुद्दा चलाउने कुनै आधार उनीहरूसँग छैन ।

यहाँलाई थप केही भन्न मन लागेको छ कि ?

तपाईंलाई यो टेबुलमा बसेर हेर्दा मेरो कुरा सत्य नलाग्न पनि सक्छ । एकपटक तिलाठी गएर अाफैँले हेर्नुभयो भने थाहा हुन्छ, भारतको हेपाइ कस्तो छ । दलका नेताहरू, सरकारका जिम्मेवार मान्छेहरू एकाएक तिलाठी पुग्नुपर्छ । मेची–महाकाली सबै समस्या भएको स्थानमा देशको माया भएका व्यक्तिहरू पुग्नुपर्छ । अलिअलि गर्दै नेपालको जमिन धकेल्दै उनीहरू नेपालतिर घ्रुसिरहेका छन् । हामी लडिरहेका छौँ । सरकार, सञ्चार र नेताहरू सबैले हामीलाई सघाउनुपर्छ ।

२०७४ कात्तिक ३ गते अपरान्ह २ः०० मा प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :