नेपाली साहित्य: विगत, वर्तमान र भविष्य (लक्ष्मीप्रसाद देवकोटाको तासकन्द सम्भाषण)

सन्दर्भः देवकोटा जयन्ती 

अति स्मरणीय तासकन्द सहरको यात्रा गर्ने आफ्नो चिरकल्पना साकार भएकोमा हामी आफूलाई अत्यन्त भाग्यमानी ठान्दछौँ । हामीले तपाईंहरूलाई नेपालका साहित्यकार र जनताको शुभेच्छा ल्याएका छौँ । तासकन्द निवासीहरू र सोभियत सङ्घका जनताप्रति हामी हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

हाम्रो यात्रा ज्यादै नै सुखद रहेको छ । समुद्रको सतहबाट २५ हजार फिटमाथि जुन बेला हामी उडिरहेका थियौँ त्यसबेला जस्तो सौन्दर्य मैले देखेँ त्यसबाट ज्यादै नै प्रभावित छु र हाम्रो बाटामा देखिएको सबै प्राकृतिक चमत्कारहरूका बारेमा एउटा काव्यकृति पनि रचना गर्न चाहन्छु ।

म यस्तो सम्मेलनसमक्ष बोल्ने सौभाग्य पाइरहेको छु जहाँ मानव जातिका उत्कृष्ट मगजहरूको समागम छ र साझा कार्यमा आफ्नो योगदान पुर्‍याउने सम्भावना पाइएकोमा म आफूलाई सौभाग्यशाली सम्झन्छु ।

दिल्लीमा नै अर्को सम्मेलनको आयोजना तासकन्दमा गर्ने प्रस्ताव ल्याउनुहुने श्रीमती जुल्फियाप्रति धन्यवाद ज्ञापन गर्ने मलाई अनुमति मिलोस् । यहाँ हाम्रो जुन प्रकारले सुमधुर आतिथ्य भयो त्यसका लागि हामी सोभियत सङ्घप्रति आभार व्यक्त गर्न चाहन्छौँ ।

हाम्रो यस सम्मेलनमा धेरै मुलुकहरूले भाग लिइरहेका छन् र सम्मेलनप्रति चाख दिनानुदिन बढ्दै गइरहेको म अनुभव गर्दछु । यस सम्मेलनले सबै देशहरू र जनताहरूलाई निकट तुल्याउनेछ । म यस सम्मेलनको यस्तो सुचरित्रको विशेष सन्तोषपूर्वक उल्लेख गर्न चाहन्छु । म तपाईंहरूलाई कुन कुरामा विश्वास दिलाउन चाहन्छु भने युद्धभन्दा शान्ति बलवती छ र शान्तिका शक्तिहरूले युद्धका भयङ्कर शक्तिहरूमाथि विजय पनि प्राप्त गर्नेछन् ।

फेरि एकपल्ट तपाईंहरूलाई मेरो देशाका लेखकहरू र जनताका तर्फबाट अभिवादन व्यक्त गर्ने र साहित्यबारे प्रतिवेदन सुरु गर्ने अनुमति दिनुहोस् । गगनचुम्बी हिमचुलीहरूको सियाँलमा हिमालय पर्वतद्वारा परिवेष्ठित शान्त र सुन्दर क्षेत्रमा अवस्थित नेपालले त्यस सौन्दर्यको गहिरो अनुभव गर्दछ जुन सगरमाथा एभरेस्टको भव्य शिखरदेखि लिएर तराईको फराकिलो फाँटसम्म नै व्याप्त छ । नेपाल यस्तो देश हो जहाँ विभिन्न अग्लाइमा सबै खालका जलवायुहरू पाइन्छन् । सबै किमिसका वनस्पति र जलजन्तुहरू भेट्टाइन्छन् । एक कोटी नरनारीहले बसोबास गरेको ५७ हजार वर्गमाइल क्षेत्रफलमा फैलिएको यो देश सौन्दर्यले भरिपूर्ण साना संसार नै हो ।

यहाँ एउटै आत्माले अनुभव गर्ने दुईटा भावनाजस्तै र एउटै परिवारका सदस्यहरूजस्तै आर्यहरू र मङ्गोलहरू अनि उनीहरूको संस्कृति र उनीहरूको सभ्यता सुमधुर सहअस्तित्वमा रहेका छन् । संसारमा सूर्यको प्रथम किरण सगरमाथाकै शिखरमा उत्रन्छ भन्नु कुनै अत्युक्ति हुनेछैन । शान्ति र अहिंसाका मूर्ति गौतम बुद्धले नेपालकै लुम्बिनी बगैँचामा संसारको दर्शन पाउनुभएको थियो । यसै देशको जनकपुरमा विद्वान् राजा जनकका दरबारमा हुने गरेका वादविवादले उपनिषद्का उत्कृष्टतम् दार्शनिक विचारहरूलाई जन्माएका थिए । नेपाली संस्कृति, नेपालको सम्पन्न कला र शिल्पको सुप्रभाव उत्तरतिर तिब्बत र चीनमा, दक्षिणतिर भारत र बर्मा अनि यी देशहरूमार्फत नै सायद एसिया र अप्र्रिmकाका अन्य देशहरूमा समेत फैलिएको थियो ।

नेपाली भाषा नेपालको राष्ट्रभाषा हो जसको उद्गम स्रोत प्राकृत र संस्कृतबाट सुरु हुन्छ अनि हिन्दी, बङ्गाली तथा गुजराती भाषाहरूसँग यस भाषाको साइनो छ । लेखनमा देवनागरी लिपि प्रयोग गरिन्छ । अनुकरणात्मक शब्दहरूको यस भाषामा प्राचुर्य छ र लचकपना नै यस भाषाको वैशिष्ट्य हो । अधिकांश शब्दहरू संस्कृत मूलका छन् । अन्दाजी एक हजार वर्षअघि पहिला ग्रन्थहरू देखापरेका थिए । शिलालेखहरू, सन्त साहित्य तथा ऋषिमुनीहरूका परम्परागत ग्रन्थबाट हाम्रा लिखित साहित्यको आरम्भ भयो । नेपाली भाषा भए तापनि प्रारम्भिक कालमा विद्वान्हरूले ग्रन्थरचनाका निम्ति संस्कृतको उपयोग गर्ने गरेका थिए । संस्कृत भाषाको युगौँ पुरानो परम्पराले हाम्रो भाषामा त्यतिकै स्वाभाविक किसिमबाट प्रवेश ग¥यो जति स्वाभाविक किसिमबाट नीलो प्रकाशले नेपालको क्षितिजबाट उज्ज्वल तुल्याउँछ, अहिलेसम्म नेपाली विद्वान्हरू संस्कृतका ग्रन्थहरू लेख्दै आएका छन् जसमध्ये श्री सोमनाथ सिग्देल, श्री कुलचन्द्र गौतम, श्री पूर्णप्रसाह ब्राह्मण र श्री माधवप्रसाद देवकोटाको नाम लिन सकिन्छ ।

नेपाली साहित्य सन्त साहित्यबाट अर्थात् ऋषिहरूका ग्रन्थबाट सुरु भयो । माथि भनिएझैँ यी ग्रन्थहरूको रचना हजार वर्ष पहिले भएको थियो । त्यसपछि अनुवादको सुरु भयो जुन बेला संस्कृतको शैली र परम्परागत लेखिएका कृतिहरू देखा परे । यस्ता कृतिहरूमा मुख्यतः धार्मिक र उपदेशात्मक भावनाको बाहुल्य रहन्थ्यो । त्यस अवधिमा कवि भानुभक्त आचार्यको ख्याती निकै फैलियो । नेपाली भाषामा अध्यात्म रामायणको उनको अनुवाद नै धार्मिक प्रचारकोे अति प्रभावकारी माध्यम बन्यो । …

सन् १९५० पछि हामीले प्रजातान्त्रिक अधिकार प्राप्त ग¥यौँ । राणा खलकका शासकहरूको जब्बर हातले पहिले बलपूर्वक दबाएर राखिएको जनभावनाको लहर उर्लिन थाल्यो । तर यो उर्लंदो लहर राजनीति र प्रचारद्वारा सन्त्रस्त थियो । विभिन्न धाराहरूको प्रादुर्भाव नयाँ युगको द्योतक थियो । कला कलाका लागि भन्ने सिद्धान्तबाट यथार्थवादतर्फ, रूपको क्षेत्रमा बन्धनबाट मुक्ततर्फ, परम्परागतबाट प्रयोगतर्फ र आत्मसन्तुष्टिबाट अन्वेषणतर्फको मोड नै यी सबै प्रवृत्तिहरूको मूल चरित्र हो । रोमाञ्चवादविरोधी धाराको स्पष्ट कार्यक्रम पनि छ । गरिब र उत्पीडितहरूप्रति व्यापक सहानुभूतिको भावनालाई प्रोत्साहित गरिन्छ । नयाँ युगमा नयाँ रूपहरू, ताजा विचारहरू, मौलिक बिम्बहरू तथा सुहाउँदा तुलनाहरूको अनुसन्धान सुरु गरिँदैछ । नयाँ पुस्ताका लेखकहरूमध्ये विजयबहादुर मल्ल, जनार्दन सम, मोहन कोइराला, टेकबहादुर नवीन, जगदीशशमशेर, श्यामदास वैष्णव, कुलमणि देवकोटाको नाम उल्लेख गर्नु आवश्यक छ ।

यस अवधिमा कैयौँ मौलिक कृतिहरू र लोकगीतसङ्ग्रहहरू प्रकाशनमा आएका थिए । यसमा कवि माधवप्रसाद घिमिरेको विशेष योगदान रहेको छ । कवि धर्मराज थापाको पनि उल्लेख गर्नुपर्दछ जो जनताका निम्ति लोकप्रिय गीतका रचनाकारका रूपमा प्रख्यात छन् । युवा कवि लक्ष्मण लोहनी पनि उनैको अनुसरण गर्दैछन् । यसका अतिरिक्त यस क्षेत्रमा अरू पनि केही युवाकविहरू कार्यरत छन् । अहिले लोकगीतहरूका विषयवस्तुमा ओपेरासमेत तयार पारिँदैछ ।

हाम्रा प्रतिनिधि समालोचकहरूमध्ये ईश्वर बराल, रामकृष्ण शर्मा, हृदयचन्द्रसिंह प्रधान, रत्नध्वज जोशी, गोविन्दप्रसाद लोहनी र हृदयराज शर्मा आदिको नाम उल्लेख गर्न सकिन्छ ।

साहित्यिक पत्रपत्रिकाहरू र अन्य आवधिक प्रकाशनहरूले नेपाली साहित्यको विकासमा ठूलो योगदान पु¥याएका थिए । प्रारम्भिक चरणमा बनारसबाट प्रकाशित सुन्दरी र माधवी नामका दुईवटा साहित्यिक पत्रिकाहरूले यो काम गरे । त्यसपछि काठमाडौँबाट शारदा, साहित्य स्रोत, प्रगति, कवितात्मक पत्रिका इन्द्रेणी, धरती प्रकाशमा आए । यी पत्रिकाहरूमध्ये प्रत्येकले आफ्नै किसिमबाट हाम्रो साहित्यको विकासमा योगदान पु¥याए । खासगरी भारत र दार्जिलिङबाट प्रकाशित भएका साहित्यिक पत्रिकाको योगदानबारे विशेष उल्लेख गर्नु जरुरी छ । यी सबै पत्रिकाहरूले सुचारु रूपमा काम गर्न सकेनन् । यी सब पत्रिकाहरूलाई सरकारका तर्फबाट प्रोत्साहन र आर्थिक सहायताको आवश्यकता थियो । फेरि छापाखाना नहुँदा तथा देश पनि गरिब भएको हुँदा ती छिनमै फुले, फले र ओइलाएर पनि गए । सुस्तसुस्त मृत्युको घाटतिर लागिरहेका केही पत्रिकाह चाहिँ फेरि जुर्मुराएर उठेका पनि देखिएका थिए ।

म धेरै समय लिन चाहन्नँ, त्यसैले नेपाली साहित्यको विकासमा अति महत्वपूर्ण प्रवृत्तिहरूको मात्र चर्चा गर्दछु । दुःखको कुरा के छ भने नेपाली लेखकहरू वर्तमान समयमा केवल साहित्यिक क्रियाकलापद्वारा मात्रै आफ्नो जीवनयापनका निम्ति चाहिने साधन जुटाउन असमर्थ छन् । शिक्षाको व्यापक प्रचार, राष्ट्रिय विश्वविद्यालयको स्थापना, विकासशील प्रजातन्त्रको अपरिहार्य माग हो र यी सबैले लेखकहरूसमक्ष नयाँ क्षितिज खोलिदिनेछन् ।

काठमाडौँमा र केही जिल्लाहरूमा समेत लेखक सङ्घहरू खोलिएका छन् । त्यसमध्ये सबभन्दा ठूलोचाहिँ काठमाडौँस्थित नेपाली लेखक सङ्घ नै हो । यी सबै सङ्घहरूले सरकारका तर्फबाट वित्तीय सहायता पाउने गरेका छैनन् । लेखकहरूप्रति ध्यान दिनु त परै जाओस्, आफ्ना आर्थिक कठिनाइहरूको भूमरीमा परेका छन् । साहित्यिक श्रमका निम्ति नगण्य पारिश्रमिक पाइने हुँदा स्वयम् लेखकहरूले चाहिँ जीवनयापनका निमित्त चाहिने रकम जुटाउन सक्तैनन् र ठूलो साधन लाग्ने थोरबहुत गम्भीर उद्योग व्यवसायहरूमा भाग लिन पनि असमर्थ छन् । तर असल प्रकाशक तथा प्रकाशनालयहरूको अभावले गर्दा उनीहरूको अवस्था जटिल हुन गएको छ । हालै नेपाल एकेडेमीले उत्कृष्ट साहित्यिक कृतिका निम्ति वार्षिक १० हजार रुपैयाँको पुरस्कार स्थापित गरेको छ । राम्रा वैज्ञानिक कृति र साहित्यिक रचनालाई प्रोत्साहित गर्न ५ हजार रुपैयाँको मदन पुरस्कार पनि स्थापना गरिएको छ । साँच्चै भन्ने हो भने अवस्था ज्यादै नाजुक छ र हामी लेखकहरू, शिक्षाको विकास, जनताको अभिरुचिकोे विकास र हामीप्रतिको नयाँ सम्बन्धमाथि पूर्णतः निर्भर छौँ । त्यसैगरी साहित्यप्रति पदाधिकारीहरूको दृष्टिकोणमा आमूल परिवर्तनमाथि पनि निर्भर छौँ ।

संक्षेपमा नेपाली साहित्यको इतिहास यस्तो छ । तथ्यहरूबाट के सिद्ध हुन्छ भने साहित्यकारहरूले स्थायी अति सङ्घर्षमय र अभावग्रस्त जीवन गुजार्नु परिरहेको छ । तर मैले अघि भनेझैँ लेखकहरूसमक्ष नयाँ क्षितिज खुलेको छ । उदासीनताको युग समाप्त हुँदैछ र बिस्तारबिस्तार कला र साहित्यका अमूल्य निधिहरूको उचित कदरको युग सुरु भइरहेको छ ।

सायद यस पृथ्वीमा जिन्दगीको आनन्दकै गाथा गाउन नै सम्पूर्ण साहित्य जन्मिएको हो जसले मानिसहरूलाई सुखानुभूति प्रदान गर्दछ । मानिसले जीवनको मनमोहक र शक्तिशाली पुकार सुन्यो र त्यसको आनन्दलाई युगयुगान्तरसम्म जीवित राख्ने प्रयास गर्‍यो । परन्तु साहित्यको इतिहासका प्रारम्भिक चरणहरूमा कृतित्व कम वा बेसी रूपमा आकस्मिक नियमहरूमाथि निर्भर रहन्थ्यो । देवताहरू र दानवहरूको सिर्जना गर्दै रणक्षेत्रका रक्तिम बीभत्सताको चित्रण गर्दै र त्यसका वीरहरूको गाथा गाउँदै, मानिसहरूसमक्ष ईश्वरीय नियमहरूको सहीपनाको पुष्टि गर्दैै लोकसाहित्य र परम्पराबाट इतिहास र वीरगाथाहरूबाट तथ्यहरू, किंवदन्तीहरू काल्पनिक कथाहरूबाट नैतिक नियमहरू खोतल्दै एकाङ्की ऋषिमुनीहरूले जीवनको निरीक्षण गरे र कल्पनाको प्रतीकात्मक रूपहरूमा त्यसप्रति आफ्नो धारणा अभिव्यक्त गरे । उनीहरूले आफ्ना ग्रन्थहरूमा यस्ता काल्पनिक प्रतीकहरूको माध्यमबाट जीवनको अति व्यापक व्याख्या प्रस्तुत गरे जसको पछाडि दार्शनिक नीति लुकेको हुन्थ्यो । महाभारतका रचयिता व्यास र रामायणका रचयिता वाल्मीकिले वास्तवमा यसै प्रकार लेखेका थिए । यी कविहरूले आफ्ना नायकको ठाउँ नलिईकनै र आफूले चित्रित गरेका घटनाहरू घटित ठाउँको पनि सङ्केत नदिईकनै आफ्नो कल्पनामा वास्तविकताको सिर्जना गरे । परन्तु वर्णातीत उत्कृष्टताको बाबजुद पनि यी कृतिहरू पण्डित–पुरोहितहरूका हातमा परेपछि सर्वसाधारण र अनपढ जनसमुदायको उत्पीडनका नयाँ साधन बन्न पुगेका थिए । पुरोहितहरूले काव्यलाई आराध्य वस्तुमा परिणत गरे तर आन्तरिक सारतत्वलाई नबुझीकनै त्यसको बाहिरी रूपतत्वलाई मात्र ग्रहण गरेका थिए । यसले गर्दा यी कृतिहरूको भद्दा आदर्र्शीकरण हुन गयो ।

प्रकृतितर्फ फर्कनका लागि लत र परम्पराको ह्रासोन्मुख असरका विरुद्ध लामो र अथक सङ्घर्षको आवश्यकता पर्दछ । पहिलेझैँ प्राचीन अभिव्यञ्जना मौजुद छ, पहिलेझैँ परम्परागत प्रतीकहरूको पनि उपयोग हुँदैछ जो ज्यादै नै थोत्रा बनिसकेका छन्, पुरानै ढर्राका वाक्यहरूको नै अन्धानुसरण गरिँदैछ । कुनै समयमा तिनले आफ्नो कल्पनालाई सम्पन्न र सम्भव तुल्याएका थिए तर यसका साथसाथै तिनले हाम्रो बौद्धिक क्षितिजलाई साँगुरो र सीमित पनि पारेका थिए । पुरानै नैतिक शिक्षाको पुनरावृत्ति, धार्मिक भावना र आस्था अनि कामवासना यो नैै लामो अवधिसम्म हाम्रो साहित्यको वास्तविक सार रहेको थियो । परन्तु रूप र सारको तानाशाही छिचोल्दै विद्रोहको भावना फुटेर बाहिर निस्कियो । मनुष्यको भावना आफ्नै पुरातन भ्रम र अभ्यस्त सङ्कीर्णताका विरुद्ध खडा भयो । प्रतीकवादका विरुद्ध सङ्घर्ष गर्नका लागि चिन्तन र अभिव्यक्तिका नयाँ रूपहरू खोज्नुपरेको थियो । यसै प्रक्रियाद्वारा साहित्यमा रोमाञ्चवादी धाराको प्रादुर्भाव हुन गयो । यसले सफलतापूर्वक अहिले अस्तित्वमा रहेका सबै धाराहरूलाई आत्मसात ग¥यो । यस धाराले सुरुमा पाश्चात्य साहित्यको गहकिलो प्रभावमा परेर विकास ग¥यो तर यो धारा पनि वर्तमान जीवनका वास्तविक मूल्यहरू र त्यसका समस्याहरूको व्याख्या गर्न असमर्थ छ भन्ने कुरो छिटो नै स्पष्ट भयो । निरन्तर मधुकणहरू मात्र चुसेर कल्पना नाप्न सकिँदैन । चराले जस्तै साहित्यले पनि सुरुमा पृथ्वीमा नै चारा नबटुलीकन आकाशमा उच्च उडान गर्न सक्दैन ।

जीवनप्रति रोमाञ्चवादी सम्बन्धले पुँजीवादी र सामन्तवादी समाजमा स्थान पाउँछ, जहाँ धनी मानिसहरू कविहरूलाई ऐसआराममा डुबाउन र भ्रष्ट पार्न समर्थ हुन्छन् । परन्तु आकर्षणको मिहिन जालले भोका, अभावग्रस्त र सङ्घर्षशील मानिसहरूलाई सन्तुष्टि प्रदान गर्न सकिँदैन । यसैकारण सर्वसाधरण मानिसहरू व्यक्तिवाद, अन्धराष्ट्रवाद, कूपमण्डुकता र विद्वेषलाई धनीमानीहरूको साहित्यिक खेलबाड र मनोरञ्जनका रूपमा विचार गर्दछन् ।

अहिले पनि हामीकहाँ प्राकृतिक सौन्दर्यका धनीमानीहरू तथा सामन्तहरूको उदारताको प्रशंसा गर्ने खालका अनेकौँ कृतिहरू लेखिन्छन् । परन्तु साहित्यका क्षेत्रमा पनि विज्ञान र जिज्ञासाका भावनाले प्रवेश गरिरहेको छ र अभिव्यञ्जनाका जराजीर्ण रूपहरू र माध्यमहरूप्रति असन्तोष पनि व्यक्त गरिँदैछ । व्यक्तिको चेतनामा परिवर्तन आएको छ र यो व्यापक पनि भएको छ । परन्तु सामाजिक आदतहरू र रीतिस्थितिहरूका कसिङ्गरहरूबाट त्यसलाई मुक्त तुल्याउन अझ पनि धेरै समय लाग्नेछ । अझ पनि वर्गीय स्वार्थहरूको बोलवाला छँदैछ र मानिसको सामाजिक स्थितिले ठूलो छाप पारेकै छ ।

अझै पनि चिन्तन र विचार केही हदसम्म आर्थिक स्थिति, राजनीतिक वातावरण र सामाजिक जीवनपद्धतिबाट प्रभावित रहेकै छन् । लेखकले पनि आफ्नो युगलाई त्यसरी नै प्रभावित पार्नुपरेको छ जसरी युगले लेखकको चरित्र निर्माणमा प्रभाव पार्दछ ।

सम्भवतः हामी नयाँ साहित्यिक युगको सङ्घारमा उभिएका छौँ । हामी कठिनाइपूर्वक प्राप्त गरिएको प्रजातन्त्रद्वारा पूर्ण रूपले सुसज्जित भएर त्यस युगमा पर्दापण गरिहेका छौँ । हामी पुराना भैसकेका विधिविधानलाई अस्वीकार गर्दछौँ । हामी नयाँ रूपको खोजी गर्दछौँ । हाम्रा साहित्यको वर्तमान प्रवृत्ति आदर्शवादबाट यथार्थवादतर्फ र कपोलकल्पनाबाट तथ्यतर्फ अभिमुख छ ।

यस्तो साहित्यको प्रादुर्भाव भइरहेको छ जसले व्यक्तिगत र सामाजिक घटनाहरूको मूल्याङ्कनमा उच्चस्तरीय मापदण्डको सहारा लिन्छ । लेखकहरूको विश्वदृष्टिकोण फराकिलो भइरहेको छ । उनीहरूको उपयोगिता र सौन्दर्यको सामञ्जस्यपूर्ण समन्वयमा विशेष ध्यान दिन थालेका छन् । लेखकहरू शान्तिको पुकार सुन्दछन् । विज्ञानको विवेकको आधारलाई हृदयङ्गम गर्दछन् । विश्वमा हुने घटनाहरूप्रति आफ्ना प्रतिक्रिया जनाउँछन् । जीवनका निम्ति र विनाशका विरुद्ध सहअस्तित्वका निमित्त र सैनिकका आक्रमणका विरुद्ध राष्ट्रिय स्वाधीनताको निमित्त, उपनिवेशवाद तथा साम्राज्यवादका विरुद्ध आधुनिक मानव जातिको महान् सङ्घर्षले जागरुक जनतामा शक्तिशाली समर्थन पाउन थालेको छ । यस अवस्थामा साहित्य कुनै एक वर्गको सोखको विषय बन्न सक्दैन । अब त यो एक शक्तिशाली सामाजिक र राष्ट्रिय हतियार भएको छ । साहित्यले अन्तर्राष्ट्रिय स्थितिमा लाभदायिक र मानवतावादी प्रभाव पारिरहेको छ । संसार यस्ता कृतिहरूद्वारा भरिपूर्ण छ जसमा इष्ट तथा अनिष्टको जोडदार चर्चा गरिन्छ । दृष्टिकोणमा परिवर्तन आइरहेको छ । जाति भेदभावको सङ्कटको भावना र नैतिक उत्तरदायित्वको भावनाले आफ्नो अभिव्यक्तिका नयाँनयाँ बाटाहरू पहिल्याउँदैछन् र साहित्यमा प्रवेश गर्दैछन् । बढी उच्चस्तरीय मापदण्डहरू, नवीनतम् बिम्बहरू ताजा रूपहरूको खोजी गरिँदैछ, नयाँनयाँ प्रयोगहरू हुँदैछन् । नेपालको जागृति व्यापक भइरहेको छ र एसियाको नवजागरणको लहरमा नेपालको कला र साहित्य पनि आधुनिक युगमा प्रवेश गरिरहेको छ ।

धैर्यको भावना बढ्दो छ । यसका साथसाथै धर्मान्धता, सङ्कीर्ण राष्ट्रवाद र सामाजिक बन्देजविरुद्ध अधैर्यको भावना पनि दरिलो हुँदै गइरहेको छ । आधुनिक लेखकले आफूलाई विश्वको एउटा जीवित र सबल अङ्गका रूपमा अनुभव गर्दैछ । संसार साँगुरिँदै गइरहेको छ र एउटा साझा घरमा परिणत भइरहेको छ । लेखकले पनि व्यापक अन्तर्राष्ट्रिय जगत्मा नयाँ संसारमा भाग लिनुपरेको छ भन्ने कुरा बुझ्दै गइरहेको छ । त्यो संसार मानवतावाद र पारस्परिक समझदारीका सिद्धान्तहरूमा आधारित हुनेछ । व्यष्टिमा समष्टिको खोजी, मानव जातिसँग निरन्तर सम्पर्क बढाउँदै लैजाने प्रयास र स्थानीयताको त्रिपाश्वमा विश्व ब्रह्माण्डकै भावनाको बोध गर्ने इच्छा यसैको परिणति हो ।

नेपाली साहित्यले नयाँ प्रजातान्त्रिक भावनाको विकासमा योगदान पु¥याएको छ । त्यसले जहानियाँ राणा शासन र सामन्तवादका विरुद्ध सङ्घर्षको सुरुआत गरेको थियो । यो सङ्घर्ष पूर्ण विजयी भएको छ । वर्तमान समयमा नेपाली साहित्यले मानवअधिकारको उत्तरोत्तर विस्तारका लागि आवाज उठाइरहेको छ र त्यसका विद्रोही र क्रान्तिकारी स्वरले युगानुयुगको जडता र रूढिबुढीका विरुद्ध युगौँ पुराना परिस्थितिका विरुद्ध, जातपात र धर्मका भेदभावका विरुद्ध, सामाजिक अन्यायका र असामजिक असमनताका विरुद्ध सङ्घर्ष गर्दछ र लाखौँलाख उत्पीडित मानिसहरूप्रति सहानुभूति जगाउँछ जसका हितहरूप्रति सदैव नै बेवास्ता गरिँदै आएकोे थियो । राणाशाहीका विरुद्ध क्रान्तिकारी नाराहरू र प्रचारहरूले तत्कालै आमजनताको चेतनामा जागृति ल्याएका थिए र जहानियाँ शासनको उन्मूलनमा योगदान पुग्न गएको थियो । जब जनताको ध्यान बढी उच्चस्तरीय मूल्यहरूतर्फ र बढी व्यापक क्षितिजतर्फ आकर्षित गर्नको निम्ति लेखकले बढी फलदायी ढङ्गबाट काम गर्नुपरेको छ जुन उसले जीवनका कठोर अवस्थाहरूमा आफूले बहन गर्नु परेको छ । लेखकले आफ्नो कामको पारिश्रमिक ज्यादै नै थोरै पाउँछ । परन्तु ऊ सच्चा लेखक हो भने उसले आफ्नो कार्य रोक्नु हुँदैन । उसले जनतामा भिज्नुपर्दछ, जनताबाट सिक्नुपर्दछ, समस्त मानवजातिको जीवनबोधका लागि र सबै वर्तमान समस्याहरू तथा घटनाहरूको अनुबोधका लागि जनताको आत्मा खोतल्नुपर्दछ ।

राणाखलकको शासनकालमा लेखकको आशा राख्न सक्ने सबभन्दा ठूलो कुरा कुनै थियो भने त्यो थियो बहुमूल्य जीवनशक्तिलाई साहित्यमा परिणत गर्नु । आजका लेखकले यस्तो उदासीनता र उत्पीडनको अनुभव गर्नु पर्दैन तापनि नयाँ सामाजिक अवस्थामा उसले अझै पनि समाजमा आफ्ना स्थितिका निम्ति र जनताका तर्फबाट सम्मानका निम्ति सङ्घर्ष गर्नुपर्ने हुन्छ । लेखकको स्वतन्त्रता लेखक बसेको समाजकै सामाजिक तथा आर्थिक नियमहरूमाथि निर्भर रहने हुँदा हामीले निकट भविष्यमा सामाजिक आर्थिक प्रणालीमा हेरफेर, दृष्टिकोणमा परिवर्तनमाथि ठूलो आशा राखेका छौँ ।

वर्तमान समयमा हामी नेपालमा साहित्यिक क्षेत्रमा निश्चित फल प्राप्त गर्दैछौँ । परन्तु यसको साथसाथै हामीले नयाँ प्रभावहरू र नयाँ प्रयासहरू भेट्टाएका छौँ । नवजागरणले हामीलाई जनताको हृदयसम्म पुग्ने बाटो पहिल्याउने सम्भावना दिएको छ । साथै विविधता, नवीनता र यथार्थ पनि प्रदान गरेको छ जुन उत्कृष्ट गुणहरू हुन् । परन्तु व्यापक अन्तर्राष्ट्रिय साहित्यिक क्षेत्रसँग हाम्रो सम्पर्क छैन । यस्तो सम्पर्क स्थापित गर्नमा सहायक हुने साहित्यिक अनुवादहरूको पनि हामीसित अभाव छ । अन्य मुलुकहरूमा देखा परेका र विकसित भएका नयाँ प्रवृत्ति र नवीन बिम्बहरूको छाप हाम्रो साहित्यमा पर्नुभन्दा पहिले धेरै समय बितिसक्छ । हामी के आशा राख्दछौँ भने नेपालको नयाँ त्रिभुवन विश्वविद्यालय, रोयल नेपाल एकेडेमी र यस्तै अन्य संस्थाहरूले यस अभावपूर्तिमा योगदान पु¥याउनेछन् । हाम्रो देशमा पनि जुर्मुराएर ब्युँझिएका छिमेकी देशहरूको पारस्परिक सम्पर्कको विश्वासिलो बाटोबाट एसियाली जागृतिको भावना फैलिँदै जानेछ र बन्धुत्वपूर्ण संस्कृतिहरूको आपसी सम्पन्नतामा मद्दत पुग्नेछ । हामी के आशा राख्दछौँ भने नेपाली साहित्यका निम्ति पनि तासकन्द सम्मेलन ज्यादै नै उपयोगी सिद्ध हुनेछ किनभने नेपालले पनि धेरै कुरा दिन सक्दछ र धेरै कुरा ग्रहण पनि गर्न सक्दछ ।

अनन्त हिउँको माझमा जन्मेको हाम्रो साहित्य कहिल्यै पनि एउटै पर्वत शृङ्खलाहरूको भुलभुलैयामा बिलाउनेछैन । हाम्रो साहित्य पनि एउटै प्रवाहमा सम्मिलित भएर एसिया तथा अफ्रिकालाई परिवेष्ठित गर्ने साहित्यको असीम महासागरमा मिल्न पुग्नेछ । यस महासागरद्वारा सिञ्चित त्यो साहित्य पहिलेभन्दा अझ बढी सुन्दर र सम्पन्न बनेर जलबिन्दुका रूपमा फेरि हाम्रा पहाडहरूमा नै बर्सनेछ ।

एकअर्कालाई राम्ररी बुझ्न, एकअर्काबाट राम्ररी परिचित हुन नै हामी यहाँ भेला भएका छौँ । यहाँ उपस्थित प्रत्येक देशले अरूलाई धेरै कुरा दिन सक्दछ । यहाँ हृदय–हृदयको मिलन भइरहेको छ र प्रत्येक व्यक्तिको आत्मा प्रतिध्वनि गुन्जिरहेको छ । हामी समुद्रको छालझैँ माथि उर्लंदैछौँ र आफ्नो स्वर उच्च तुल्याउँदैछौँ । हामी आफ्ना सन्ततिलाई आफ्नो साझा सन्देश पठाउँदैछौँ ।
विसं २०१४, तासकन्द, सोभियत सङ्घ

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :