युरोपमा बृहत् सम्मेलन

– एसबी छन्त्याल

पुँजीवादी मिडियाहरूले ख्रुस्चेभको उदय र सोभियत सङ्घको विघटनसँगै विश्वमा अक्टोबर क्रान्तिको औचित्य पनि सकिएको भन्दै गला फाटुन्जेल धुवाँधार प्रचार गरिरहेका छन् । तर सन् १९१७ को अक्टोबरमा सम्पन्न अक्टोबर क्रान्तिको जाज्वल्यमान इतिहास र आन्दोलनलाई पुँजीवादी खुफियाहरूले असफल पार्न हरतरहको विधि अपनाए पनि यसको महत्व झन् बढ्दै गएको छ ।

युरोपकै मुटुमा कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्स जन्मिए । युरोपबाटै समाजवादी आन्दोलनको विगुल विश्वभरि घन्कियो । सोभियत युनियनमा लेनिनले अक्टोबर क्रान्ति गरेपछि समाजवादी आन्दोलनको उचाइ झन् चुलियो । लेनिनले सोभियत युनियनमा समाजवादी व्यवस्था हाँकुन्जेल विश्वभरका पुँजीवादीहरूको निद्रा हरायो । सन् १९१७ को अक्टोबर क्रान्तिले ल्याएको समाजवादी लहरलाई रोक्न अनेकौँ घुसपैठहरू भए र सन् ९० को दशकतिर आइपुग्दा सोभियत युनियन छिन्नभिन्न पारिए पनि अहिले फेरि अक्टोबर क्रान्तिका पक्षमा युरोपका चर्चित सहरका सडक, गल्ली र चोकचोकमा जताततै घनीभूत छलफल र बहसहरू भैरहेका छन् । गगनभेदी नाराजुलुस, हडताल, सभासम्मेलन हरेक साताजसो भैरहेका समाचारहरू हेडलाइन बन्छन् । पुँजीवादले सर्लक्कै संसार निल्न खोजे पनि समाजवादी आन्दोलनको सिंहावलोकन गर्न विश्वभरबाट अक्टोबर क्रान्तिको महत्वलाई उजागर गर्दै र जुर्मुराउँदै अगाडि बढ्न थालेका छन् । गौरवशाली महत्व बोकेको अक्टोबर क्रान्तिले १०० वर्ष पार गरेको अवसरमा आईएलपीएस (इन्टरनेसनल लिग अफ पिपुल्स स्ट्रगल्स) ले नेदरल्यान्डको आम्सटर्रडाममा एक भव्य सम्मेलन आयोजना गरेको थियो । उक्त सम्मेलनमा विश्वका २२ देशबाट वैज्ञानिक समाजवादमा आबद्ध राजनीतिक पार्टीका नेताहरू, डाक्टर, प्राध्यापक, जोशिला युवा, जिज्ञासु महिला तथा पत्रकारहरूको जमघट रहेको थियो ।

सेप्टेम्बर महिनाको १६ र १७ मा बेल्जियमको वर्कर्स पार्र्टीले समुद्र किनारमा रहेको रमणीय सहरनजिकैको सहर ब्रेदेनमा समाजवादी विचार र आन्दोलनप्रति ऐक्यबद्धता जनाउन एक भव्य कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा १२ हजार जनसमुदायले सहभागिता जनाएका थिए । बेल्जियमका प्रायः सबै समाचारमाध्यमहरूले त्यो सचेत जमघटलाई प्रमुख स्थान दिएर महत्वका साथ प्रसारण गरेका थिए । हाम्रो मोर्चाले पनि उक्त कार्यक्रममा सहभागिता जनाएको थियो । त्यहाँ पनि युरोप, ल्याटिन अमेरिका, मध्यपूर्व, एसियालगायत सबैजसो महादेशका शुभेच्छुक, समर्थकहरूको सहभागिता थियो ।

सहभागीमध्ये फिलिपिन्स कम्युनिस्ट पार्र्टीका अग्रजहरूको टिम नै आएका थिए । उनीहरूले सेप्टेम्बर २३ र २४ मा आम्सटरडाममा आयोजना गरिएको सम्मेलनमा निम्ता गरेका थिए । हुनत आयोजक सङ्गठनले सम्बन्धित सबैलाई आधिकारिक पत्राचार पहिले नै गरिसकेको थियो । अग्रजहरूको टिमले आत्मीयताका साथ गरेको निम्ताले थप ऊर्जा थपियो र नेपाली जनप्रगतिशील मोर्चा, युरोपका तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष विष्णु भुजेल, उपाध्यक्ष वदन योङहाङ र मैले उक्त सम्मेलनमा भाग लियौँ । पहिलो दिन हामी पुग्दापुग्दा फिलिपिन्स कम्युनिस्ट पार्र्टीका संस्थापक अध्यक्ष जोसे मारिया सिसन र रसियन नेत्री इरिना मालेन्कोले किनोट स्पिचमाथि छलफल चलिरहेको थियो । एकदमै अनुशासित, व्यवस्थित, उत्सुक र शान्त वातावरणमा ध्यानपूर्वक प्रस्तुति सुन्दै थिए सहभागीहरू । हामी पनि छलफलमा सहभागी भयौँ ।

हलमा चिया, कफी, पिउनका लागि तातो र चिसो पानीलगायत फलफूल मिश्रित पानीको यथेष्ट व्यवस्थापन, मध्यान्तर र साँझ मेस (सामूहिक खानपिन) का लागि भेज र नन भेजको परिकार, असाध्यै हार्दिक र निकटता व्यक्त गर्ने सहयोगी र व्यवस्थापकहरू, त्यहाँको वातावरण हेर्दा अति व्यस्त दिनचर्याबाट ऊर्जाशील हुन विशेष स्थानमा पुगेजस्तो भान हुन्थ्यो । सम्मेलनको पहिलो दिन सिसन, इरिणा र माले दल जर्मनीका पूर्वअध्यक्ष स्टेफन एङेलको कनोट स्पिचमा आउँदा दिनमा पनि अक्टोबर क्रान्तिको जस्तै अर्को विश्वक्रान्तिमा छलाङ बन्न सक्छ कि सक्दैन ? विश्वमा यसको महत्व र चासो अझ व्यापक हुँदैछ कि छैन ? यो क्रान्तिको उपलब्धिलाई संरक्षण गर्दै नयाँ शिराबाट अगाडि बढ्न सकिन्छ कि सकिँदैन ? साम्राज्यवादीको चङ्गुलबाट उम्कन अक्टोबर क्रान्तिको उपादेयता के छ ? भन्ने प्रश्नहरूमा व्यापक छलफल, प्रश्नोत्तर र बहस भएका थिए ।

पहिलो दिन बहसको तेस्रो चरण ब्रेकलगत्तै हरेक देशका पार्र्टीको विशेष नारा भन्ने र सबैले ऐक्यबद्धता जनाउने कार्यक्रम थियो । सबै देशकाले आफ्नो देशका तर्फबाट नारा लगाउनुपर्ने नियम बनाए । हाम्रो पालोमा विष्णु भुजेलले नेपालमा क्रान्ति निरन्तर जारी छ, नयाँ तरिकाबाट क्रान्ति अगाडि बढ्दैछ । १० बर्से जनयुद्धले हासिल गरेका उपलब्धिहरूको रक्षा गर्दै पुनः क्रान्तिको उभार उर्लंदैछ । व्यापक रूपमा जनताको समर्थन र सहयोग जुटाउँदै क्रान्तिले गति लिँदैछ । यसको नेतृत्व क. विप्लवले गर्नुभएको छ । यसको राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्ति हो भन्दै एकीकृत जनक्रान्ति जिन्दावादलाई अथ्र्याउँदै साथ दिन अनुरोध गरेपछि सबैले मुठी उठाएर जोशका साथ एकीकृत जनक्रान्ति जिन्दावाद भन्दै नारा घन्काए । यो क्षण हाम्रा लागि गौरवमय अनुभूति रह्यो । पहिलो दिनको कार्यक्रमको अन्तिममा विभिन्न देशका सांस्कृतिक झलक प्रस्तुत गर्नुपर्ने थियो र हामीले माइला लामाको ‘खोज्दछन् मेरा यी आँखाहरू…’ स्लाइड देखाएका थियौँ । यो सहिदहरूको सम्मान र सम्झनामा निर्माण भएको भिडियो हो भनेर छोटो प्रस्तुति पछि देखाइएको उक्त भिडियोले हललाई स्तब्ध बनाएको थियो । करिब नब्बे वर्षको हाराहारीमा रहेका कमरेड सिसन बसिरहेको कुर्सीबाट उठेर भित्तामा आड लगाई उक्त भिडियो हेरेका थिए ।

सम्मेलनको दोस्रो दिन प्रोफेसर फ्रेड एङ्स्टले सुधारवादका विरुद्ध महान् सर्वहारा सांस्कृतिक क्रान्ति विषयमा कार्यपत्र पेस गरेका थिए । उनले चीनको अहिलेको आर्थिक अवस्था, विश्वमा यसको प्रभाव, राजनीतिक परिवर्तन र माओले चलाएको सांस्कृतिक क्रान्तिका बारेमा प्रस्ट पारेका थिए । रेड पार्टी नर्वेका पेर गुनार स्कोटानले हामी विश्वको सबैभन्दा धनी देशको नागरिक भए पनि पुँजीवादी राज्यव्यवस्थाले सबैलाई न्याय नदिएको र साम्राज्यवादी देश अमेरिकाको आर्थिक, सैनिक निगरानीले सिङ्गो युरोप हैरान भएको उल्लेख गरेका थिए । साम्राज्यवादी दादागिरीले सिङ्गो विश्वभरका जनता आक्रान्त भएका छन् । यस्तो समयमा अक्टोबर क्रान्तिको महत्व अझै बढेको राय व्यक्त गरेका थिए ।

नेपाल र नेपाली क्रान्तिको विषयले प्रवेश पाएपछि हलमा जोजति देशका प्रतिनिधिहरूसँग हामीले भेटघाट र छलफल ग¥यौँ ती सबैले प्रचण्ड र बाबुरामले क्रान्तिलाई धोका दिएको, हजारौँ सहिदको सपनामा कुठाराघात गरेको, महान् जनयुद्धको मर्मलाई संसदीय व्यवस्थामा लगेर व्यापार गरेको र क्रान्तिको धज्जी उडाएको तिक्त आक्रोश पोखेका थिए । त्यहाँ उपस्थित प्रतिनिधिहरूलाई नेपालको क्रान्तिले धोका खाएको, असफल भएको भन्ने टिप्पणीमा एकीकृत जनक्रान्तिले छिट्टै गुणात्मक फड्को मार्ने र तपाईंहरूको नेपाली क्रान्तिप्रतिको अन्तर्राष्ट्रिय प्रतिबद्धता, चासो, चिन्ताबारे पार्टीलाई जानकारी गराउने बाचा हामीले गरेका थियौँ । सोही अवसरमा विशेष अतिथिका तर्फवाट नेदरल्यान्ड्सस्थित भेनेजुयलाका राजदूत एल्भारो एनरिक सन्चेज कोर्डेरोले युरोपकै एक मुख्य सहरमा यति धेरै समाजवादी क्रान्तिमा प्रतिबद्ध कमरेडहरू जमघट हुनुहुन्छ भन्ने मैले सोचेकै थिइनँ । तपाईंहरूको यो उपस्थितिले म असाध्यै उत्साहित छु । भेनेजुयलाले अक्टोबर क्रान्तिको महत्वलाई बुझेर नै समाजवादी आन्दोलन जारी राखेको छ तर साम्राज्यवादी अमेरिका र पुँजीवादका ऐँजेरुले हरेक कोणबाट घेराबन्दी गरेकाले हामीले सोचेको सफलता पाइरहेका छैनौँ । क्रान्ति र समाजवादलाई लक्ष्यमा पु¥याउन खोज्ने जुनसुकै देश बहुआयामिक हुनुपर्दो रहेछ भन्ने बुझेका छौँ र तपाईंहरूमा पनि यो अनुभव बाँड्न चाहन्छु । विश्वभरबाट यसरी नै प्रतिबद्ध हात र साथहरू जुटिरहनुपर्छ, हामी सफल हुन्छौँ भनेका थिए ।

कार्यक्रममा छलफल सत्रको अन्तिम वक्ताका रूपमा मोर्चाका अध्यक्ष विष्णु भुजेलले मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा उनले अक्टोबर क्रान्तिको महत्वका बारेमा धेरै चर्चा भयो, राम्रो भयो तर वर्तमानमा त्यसबाट शिक्षा लिएर क्रान्ति अगाडि बढाउने कुरामा भने छलफल कम भएको हो कि ? भन्ने टिप्पणी गरे । उनले नेपालका बारेमा चर्चा गर्दै समाजवादी क्रान्ति कसरी विघटन हुन्छ भन्ने कुरा पछिल्लो समयमा नेपालको अवस्थालाई अध्ययन गरे पनि पुग्ने दाबी गरेका थिए । महासचिव विप्लवले नेतृत्व गरेको नेकपाले नेपालको वर्तमान अवस्था, विश्वसाम्राज्यवादले विकास गरेको चरित्र, पार्टीभित्रको अन्तरविरोधलाई हल गर्ने पद्धतिमा विकास, वैज्ञानिक समाजवादको रूपरेखा र नेपालमा नयाँ जनवादी क्रान्ति हुँदै समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर अगाडि बढेकाले यो विषयमा गहन अध्ययन, अनुसन्धान, समर्थन र ऐक्यबद्धता व्यक्त गर्न आग्रह गरेका थिए । मन्तव्यका क्रममा उनले नेकपाको अहिलेको राजनीतिक, साङ्गठनिक अवस्थाको पनि चर्चा गरेका थिए । नेपालमा पनि नेकपाको आयोजनामा हजारौँको सङ्ख्या उपस्थित भएर अक्टोबर क्रान्तिको एक शताब्दी धुमधामका साथ मनाउँदैछन् भनेर जानकारी गराएका थिए ।

यो दुईदिने भव्य पिपुल्स कन्फेरेन्सलाई आईएलपीएसका महासचिव म्याल्कोम गुयले सञ्चालन गरेका थिए । उनले कार्यक्रमको निमन्त्रणालाई स्वीकारेर आएका २२ देशका ८० प्रतिनिधिलाई धन्यवाद र आभार व्यक्त गर्दै अर्काे वर्षको ग्रीष्मकालीन सम्मेलनबारे जानकारी गराए । अन्त्यमा अन्तर्राष्ट्रिय गीत गाउँदै सामूहिक तस्बिर खिचायौँ र सन् २०१८ जुलाईमा मेक्सिको सिटीमा भेट्ने वाचाका साथ अविस्मरणीय अनुभव सँगालेर हामी बेल्जियम फर्कियौँ ।

२०७४ कात्तिक २ गते अपरान्ह २ः४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :