अक्टोबर क्रान्ति शतवार्षिकी मनाउँदै नागरिक समाज

रातोखबर सम्वाददाताः सोनाम साथी, शरद पौडेल, मुरारि अर्याल, रघु घिमिरेलगायत नागरिक समाजका सदस्यहरूको आयोजनामा अक्टोबर क्रान्ति शतवार्षिकी समारोह वार्षिक कार्यक्रमसहित मनाइने भएको छ । असोज ७ गते राजधानीमा भएको प्रबुद्ध व्यक्तिहरूको भेलाले असोज २८ गते प्रदर्शनीमार्गस्थित नेपाल कानुन क्याम्पसको सभाकक्षमा बृहत् भेला आयोजना गर्ने निर्णय गरेको थियो । उक्त भेलाले ‘अक्टोबर क्रान्ति शताब्दी वर्ष उत्सवको उपलक्ष्यमा अपिल’ शीर्षकको मस्यौदा प्रस्ताव पनि पारित गरेको छ । शरद पौडेल र मुरारि अर्यालले पालैपालो सहजीकरण गर्नुभएको उक्त भेलाले ८८ सदस्यीय मूल समारोह समिति र २५ सदस्यीय सचिवालय पनि गठन गरेको छ । दरबारमार्गस्थित महेन्द्रको सालिक आसपासमा बृहत् सांंस्कृतिक कार्यक्रम, कवितागोष्ठी, फोटो प्रदर्शनी, चलचित्र प्रदर्शनी, सडकमा एक हजारजनाले खिर खाने–खुवाउने, नाच्ने–गाउने, क्रान्तिकारी गाउँ सुखानी, पिस्कर, थबाङ, जुगेडीलगायतस्थानमा जनसभा गर्ने कार्यक्रम आयोजना गरी वर्षभरि अक्टोबर क्रान्ति शतवार्षिकी मनाइने जानकारी अभियन्ता शरद पौडेलले दिएका छन् । नागरिक अगुवाहरूले नेपालका सबै वामपन्थी तथा कम्युनिस्ट पार्टीहरूलाई अक्टोबर क्रान्ति शतवार्षिकी उपलक्ष्यमा संयुक्त प्रेसवक्तव्य जारी गर्न प्रस्ताव गर्दै मस्यौदा प्रस्तावसमेत तयार गरेका छन् । भेलामा वाचित अपिलको पूर्ण पाठ यसप्रकार रहेको छ—  

अक्टोबर क्रान्ति शताब्दी वर्ष उत्सवको उपलक्ष्यमा अपिल !
अक्टोबर क्रान्ति भन्नाले रुसका जनताले पेट्रोगाड (पछिको लेनिनग्राद) सहरमा सशस्त्र क्रान्तिमार्फत त्यहाँको प्रतिक्रियावादी राज्यसत्तालाई च्यूत गरी सत्ता दखल गरेको कम्युनिस्ट क्रान्तिलाई बुझिन्छ । त्यतिबेला चलेको क्यालेन्डरअनुसार सन् १९१७ को अक्टोबर २५ मा सम्पन्न यो कम्युनिस्ट क्रान्तिको मिति यतिबेलाको पात्रोअनुसार नोभेम्बर ७ मा पर्दछ ।

अक्टोबर क्रान्ति रुसका जनताले कम्युनिस्टहरूको बोल्सेबिक पार्टीको अगुवाइमा गरेका थिए । यो क्रान्तिले संसारमा सर्वप्रथम सर्वहारा वर्गको पूर्ण राज्यसत्ता स्थापना गरेको थियो । कम्युनिस्टलगायत क्रान्तिकारीहरूले ई. १८७१ मा विद्रोहमार्फत केही समयका लागि फ्रान्सको पेरिस सहरमा कम्युन पनि नबनाएका होइनन् तर अक्टोबर क्रान्ति स्तरको कम्युनिस्ट क्रान्ति भने संसारमा कतै भएको थिएन ।
रुसको सामन्ती जारशाही उत्पीडनमा आधारित राज्यसत्तालाई चकनाचुर पार्दै शोषितपीडित एवम् गरिखाने वर्गले कम्युनिस्ट क्रान्ति सम्पन्न गरेको सय वर्ष पुगेको छ । यस युगान्तकारी कदमको शतवार्षिकीका अवसरमा यतिखेर संसारभरिका कम्युनिस्ट मात्रै होइन, शासन, शोषण र उत्पीडनबाट मुक्ति चाहने सबै न्यायप्रेमी जनताहरूले अक्टोबर क्रान्तिको उपलब्धि, त्यसले मानवजीवन र सभ्यतामा पारेको प्रभाव, त्यसको महत्व र त्यसमा देखापरेका चुनौतीबारे गम्भीर विमर्शसहित विभिन्न कार्यक्रममा व्यस्त छन् ।

अक्टोबर क्रान्तिले ठगी खाने वर्गको वर्चस्व रहेको मानवद्वेषी समाज र उनीहरूको सत्ता चलेको संसारको राजनीति, आर्थिक वातावरण, सामाजिक परिस्थिति, पर्यावरण, सांस्कृतिक धरातल तथा सामरिक परिदृश्यमा नयाँ आयाम छ । यसले ठगिखाने वर्गको स्वर्गमा भूकम्प गएको, कम्युनिस्ट क्रान्तिको आतङ्क मच्चिएको छ । अक्टोबर क्रान्ति शताब्दी वर्षको स्मरणमा हामी नेपाली पनि कार्यक्रमको चाँजोपाँजो मिलाउने प्रयासमा छौँ ।

अक्टोबर क्रान्ति संसारको युगान्तकारी क्रान्ति हो, कम्युनिस्ट क्रान्ति हो । यस युगीन क्रान्तिको विरासतमा उत्तराधिकार भने कम्युनिस्टहरूको मात्र छैन । विगतको सय वर्षमा संसार र सभ्यताको दशा र दिशानिर्देश गर्ने सबैभन्दा महत्वपूर्ण स्थान ओगटेको यस क्रान्तिको दावानलले समाजको सम्पूर्ण वर्ग, संसारका सम्पूर्ण भूगोल, प्रत्येक कुनाको अर्थतन्त्रलाई प्रभावित पारेको छ । त्यति मात्रै होइन, यसले मानवसभ्यताले यस कालखण्डमा विकास गरेको कुनै पनि प्रविधि, सामाजिक सम्बन्ध यसरी प्रभावित पारेको छ कि शब्दमा वर्णन गर्नै नसकिने अवस्था छ । यस क्रान्तिको क्रममा निस्केका तोपका गोलाबारुदका छिर्का संसारभरि पुगेका छन् र तिनले प्रत्येकको मनमस्तिष्कलाई छोएका छन् । यसकै प्रभावस्वरूप आज पनि मानवद्वेषी समाज नचाहीकनै, अवचेतनमै भए पनि आफूलाई परिवर्तित गर्न बाध्य भएको छ ।

रुसका जनताले असाध्यै विषम परिस्थितिमा यो युगान्तकारी क्रान्ति सम्पन्न गरेका हुन् । यस युगान्तकारी क्षणमा रुसमा क्रियाशील सम्पूर्ण सोभियतहरू, सोभियतमा आबद्ध एवम् आमकिसान र मजदुर, साम्राज्यवादी युद्धबाट आजित रुसी सैनिकहरूको सक्रिय सहभागिता थियो । असाध्यै अविकसित भूदासहरूको मुलुकमा, चेतनाको कमीले पिछडिएका जनताहरूको देशमा, प्रथम विश्वयुद्धमा पराजित तथा छिमेकी मुलुकहरूसँगको युद्धले जर्जर भएको मुलुकमा, तत्कालीन साम्राज्यवादी शक्ति, सेना र पुँजीवादी युद्धपोतको नाकाबन्दीको बीच उनीहरूको कठपुतली सरकारविरुद्ध कम्युनिस्टहरूको नेतृत्वमा रुसका महान् जनताले यो क्रान्ति सम्पन्न गरेका हुन् । अदम्य क्रान्तिकारी साहस, दूरदृष्टि र आफ्नो वर्तमान र भविष्य आफैँले बदल्ने सङ्कल्पसहितको जुझारुपना र शौर्य प्रदर्शन गरी यो युगान्तकारी क्रान्ति सम्पन्न गरियो । यसले मानव जातिको दशा र दिशालाई पूर्ण रूपमा परिवर्तित गरी मानवसभ्यतालाई, सामरिक सन्तुलनलाई र सम्पूर्ण मानवजातिलाई आजको अवस्थामा पु¥याएको हो । मानवजातिले अक्टोबर क्रान्तिको युगान्तकारी उपलब्धिका निम्ति रुसी कम्युनिस्टहरूको ऋण कहिल्यै तिर्न सक्दैन । सय वर्षको अवधिमा मानवसभ्यतामा देखापरेको फड्को यसको प्रमाणका रूपमा उपस्थित छ ।

अक्टोबर क्रान्तिको बाटो कम्युनिस्ट क्रान्तिकारीहरूको बाटो हो । परम्परागत राज्यसत्ताको दमनकारी चरित्रको अन्त्य कम्युनिस्टहरूको उद्देश्य हो । वर्गविहीन समाजको स्थापनामार्फत राज्यसत्ताको समूल नष्ट कम्युनिस्टहरूको लक्ष्य हो । मान्छेले मान्छेलाई शोषण गर्ने परिपाटीको अन्त्यपछि सबैले आफ्नो क्षमताअनुरूप अर्थतन्त्र र मानव समाजको विकासमा योगदान गर्नु अनि सबैले आफ्नो आवश्यकताअनुरूप सामाजिक उत्पादनको उपभोग गर्नु कम्युनिस्टहरूको अभीष्ट हो । उत्पीडनकारी राज्यसत्तालाई माध्यम बनाउँदै, वर्ग, संस्कृति, जाति, नस्ल, लिङ्ग, रङ र वर्णका आधारमा मानिस–मानिसबीच कृत्रिम भेद खडा गरी द्वन्द्व उत्पन्न गरेर संसार विभाजित गर्ने परम्परागत सोचाइका विरुद्ध अन्तर्राष्ट्रिय वर्गीय बन्धुत्व हुँदै क्रमशः अन्तर्राष्ट्रिय मानवीय बन्धुत्वमार्फत विभाजित सीमाहरू र सोचाइलाई समूल नष्ट पार्नु कम्युनिस्ट क्रान्तिको गन्तव्य हो ।

साम्राज्यवाद तथा मानवद्वेषी विचारका संवाहकहरूले पश्चिमा संसारमा विकसित ५०० वर्षको पुँजीवादको अनुभवका आधारमा संसारलाई स्थायी रूपमा विभाजन गरी मानिसमानिसबीच पर्खाल निर्माण गर्ने प्रयास गरेका थिए । तर त्यसलाई चकनाचुर पार्दै रुसी कम्युनिस्टहरूले संसारका लागि रोटी र शान्ति, जनताका लागि रोजगार, साम्राज्यवादीका लागि युद्ध र कम्युनिस्टका लागि क्रान्तिको नारा बुलन्द गरे । त्यसैको फलस्वरूप रुसी जनता युद्ध होइन, क्रान्ति, जनताविरुद्ध होइन, शोषणविरुद्ध हतियार भन्दै कम्युनिस्ट क्रान्तिलाई युगान्तकारी विजयका रूपमा हेर्न समर्पित भएका थिए ।

आजको संसार यसै युगान्तकारी कम्युनिस्ट क्रान्तिको उपज हो । लैङ्गिक भेदभावबाट मुक्ति, श्रमिक अधिकार, बौद्धिक सम्पत्ति (ज्ञान, सूचना, सेवा), संस्कृतिको श्रीवृद्धि, अर्थतन्त्र र प्रविधिमा देखापरेको अद्भुत विकास तथा अन्याय, अत्याचार र असमानताप्रतिको सङ्गठित विद्रोहको चेत पनि यही क्रान्तिको उपज हो । अक्टोबर क्रान्तिले नै मान्छेलाई उसको प्रतिभा, गरिमा, अस्मिता र मर्यादाका लागि आजसम्म उद्वेलित गरिरहेको छ । आज संसारभरि नै माक्र्सवाद तथा द्वन्द्वात्मक भौतिकवादी राजनीतिक दर्शनका वाहकहरूको वर्चश्व पनि यही युगान्तकारी क्रान्तिको परिणाम हो । वर्गीय समाज स्थापनापछि र अक्टोबर क्रान्तिपछिको समयलाई यतिबेला संसारले दाँज्दैछ र अक्टोबर क्रान्तिको महत्तालाई जान्दैछ ।
महान् अक्टोबर क्रान्ति जिन्दावाद !

२०७४ कात्तिक २ गते अपरान्ह २ः१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :