भारतीय लोकतन्त्रको असली अनुहार ‘दाना’

समालोचना

– शोभा दुलाल
कसैले पहाडको छाती चिरेर
बिरामी जहानको समयमै
उपचार गर्न नसकेपछि
विवश भएर
चुचुरोबाटै गोरेटो बनायो
त्यो उही दशरथ माझी थियो ।
अर्कोले
जहानको सबै ऋण चुक्ता ग¥यो
के थाहा कति टाढाबाट
काँधमा उसको लास उठायो
दाना माझी
कैयौँ कोस पैदलै हिँड्यो ।
यो समाजमा सधैँ
पत्नीधर्मको मात्र कुरा हुन्छ
पुरुषप्रधान यो समाजमा
पतिधर्म निर्वाह गर्ने
दशरथ र दाना पनि त हुन्छन् ।
माक्र्सवादी स्रष्टा खेम थपलियाद्वारा लिखित नाटक ‘दाना’ भित्र निकै महत्वका साथ प्रस्तुत गरिएको कवितांश हो यो । यसमा पतिधर्मको मात्र कुरा गर्ने समाजलाई पत्नीधर्मको ऐना देखाउने कोसिस गरिएको छ । दाना माझी र दशरथ माझीसित सम्बन्धित दुवै घटनालाई संसारका करोडौं पतिधर्मी नारीको तुलनामा शायद अपवादमै लिन सकिन्छ । जसले आफ्ना मृतपत्नीहरूको विषयमा सोचेर एउटाले अरूका पत्नी त्यस्तै उपचार नपाएर नमरून् भनेर पहाड पन्छाउँदै बाटो बनायो भने अर्कोले आफ्नै काँधमा पत्नीको मृत शरीरलाई बोकेर १२ किलोमिटरको दुरी पार ग¥यो । यहाँ पत्नीको ऋण चुक्ता ग¥यो भनिएको छ, सायद यो कुरा सही नै हुन सक्छ । जब उनकी श्रीमती अमाङ देई जिउँदो थिइन्, तब दानाले सम्झन्थे होलान्, अमाङप्रति उनले ऋण लगाइरहेका छन्, जब अमाङ लास भइन् तब दानाले आफूले ऋण चुक्ता गरेको सम्झे ।

पहिलो दृश्यमा लेखकले दाना माझी र उनकी श्रीमती अमाङ देईलाई एउटा मजदुरको रूपमा देखाएका छन् । जहाँ टन्टलापुर घाममा काम गर्दैगर्दा अमाङ देईको औंलामा चोट लाग्न पुग्छ । तत्पश्चात् दानाले उनलाई मायाले काम नगर, घर जाऊ, फुटेको औंलाले कसरी काम गर्छौ भनेर सम्झाउँछन् । मालिकसँग श्रीमतीलाई घर पठाउन हात जोडेर अनुरोध गर्दछन् तर उनको कुरा नसुनेरै मालिकले काम छोडेर नजान आदेश दिन्छन् । श्रीमतीको छुट्टी मागेको दानालाई लतार्दै काम छोडेर गएमा कामको पैसा नदिने र भोलिबाट काममा नआउन आदेश दिने मालिकका कारण अमाङ देई घाइते अवस्थामै काम गर्न बाध्य हुन्छिन् । यहाँ गरिब मजदुरको अवस्थाको राम्रो चित्रण गरिएको छ ।

दृश्य दुईमा लेखकले दाना माझीको घर–परिवारको दृश्यलाई देखाएका छन्, जसमा दानाका छोरीहरू चौला, सोनाई र पामेलासमेत हुन्छन् । उनकी पत्नी अमाङ देई भने निरन्तर खोकिरहन्छिन् । त्यो दानाका लागि निकै पीडादायक हुन्छ, जसले गर्दा उनी आफ्नी श्रीमतीलाई आज नै अस्पताल जानुपर्छ भन्छन् तर अमाङ देई आजै जाने र ? भनी प्रश्न गर्छिन् । दानाले अहँ हुन्न, एकपटक राम्ररी जँचाएर औषधी खानुपर्छ भनेपछि अमाङ देई त्यो कुरामा सहमत हुँदै पछ्यौरा, अस्पतालको कागज सबै बोकेर छोरी चौलालाई लिएर पाँच प्रतिशत ब्याज तिरेर साहुकहाँबाट निकालेको दुईहजार लिएर उनीहरू अस्पताल पुग्छन् । यो दृश्यमा दानाको पारिवारिक जीवनको फुटेज प्रस्तुत गरिएको छ ।

दृश्य तीनमा उनीहरू अस्पताल परिसरमा पुगेको कुरा देखाइएको छ । अमाङ देईलाई डाक्टरले एक्सरे गर्न भन्छन् । त्यसको रिपोर्ट देखेर डाक्टरले ‘इट्स ड्यामेज …’ भन्छन् । सोही समयमा अमाङ देईलाई रोगले च्याप्छ । डाक्टरले उनलाई आकस्मिक कक्षमा भर्ना गरेर उपचार गर्छन् । दाना र उनकी छोरी छटपटाइरहेका हुन्छन् । त्यतिखेर चट्याङका साथै, डरलाग्दोगरी पानी पनि परिरहेको हुन्छ । अन्धकार रातमा बिजुली चम्किरहन्छ । वातावरण सन्नाटामय हुन्छ । त्यसैबेला डाक्टरले भन्छन्, “हामीले तपाईंको बिरामी बचाउन सकेनौँ, अवस्था धेरै गम्भीर भइसकेको रहेछ ।” छोरी चौला रुन थाल्छिन् । लासलाई पोस्टमार्टम गर्न निकालिन्छ र दानालाई सही गर्न लगाइन्छ अनि भनिन्छ– लासलाई तुरुन्त लिएर जानोस् । दाना अत्तालिंदै कसरी लास लिएर जाने भनेर अस्पताल प्रमुख बी ब्रह्मा र प्रशासनका मान्छेहरूसित हारगुहार, अनुनय–विनय गर्छन् तर उनको कुरा कसैले सुन्दैनन् । अझ अस्पताल प्रमुख बी ब्रह्माले त “तिम्रो मान्छेको लास छिटो यहाँबाट निकाल” भनेर धम्की नै दिन्छन् । शववाहनका लागि पैसा तिर्न भन्छन् तर दानासित तिर्न पुग्ने पैसा हुँदैन । पैसा नभएपछि जति हारगुहार र दौडधुप गरे पनि उनले शववाहन पाउन सक्तैनन् । उनी कठोर निर्णय लिन्छन् र आफ्नी पत्नीको लासलाई काँधमा बोकेर अस्पतालबाट निस्कन्छन् । छोरीलाई झोला बोक्न भन्छन् । आँसु पुछ्दै छोरी चौला झोला बोकेर पछि पछि लाग्छिन्, श्रीमतीको लास बोकेर दाना अघि अघि हिँड्छन् । यो दृश्यमा गरिब जनताको अवस्था र राज्यका संवेदनशील निकायको अवस्थाबारे चित्रण गरिएको छ । यहाँ देखिएको शून्य–मानवीयताले सबैलाई स्तब्ध बनाएको छ ।

दृश्य चार मध्यान्हको चर्को घामबाट सुरु भएको देखाइएको छ । दाना श्रीमतीको लास बोकेर आगो जस्तो तातो न तातो सडकमा आफ्नो खाली पैताला पोल्दै दौडन्छन् । बुबाको काँधमाथि आफ्नी मृत आमाको भारी देखेर रुमालले मुख छोपेर रुँदै गरेकी छोरी चौलाका हृदयविदारक दृश्य हेर्न यो संसार विवश हुन्छ । दाना लास बिसाएर छोरीसित एकछिन् कुरा पनि गर्दछन् । साठी किलोमिटर टाढा गाउँबाट अस्पतालमा आएका उनीहरू सोही बाटो फर्किरहेका छन् पैदलपैदल लास बोकेर । दाना भन्छन्, “बिरामी बोक्न जस्तो हुने रहेनछ लास बोक्न ।” यसले उनले बेला–बेलामा बिरामीलाई बोकेरै अस्पताल पु¥याएका रहेछन् भन्ने कुरा बुझ्न सकिन्छ । दाना श्रीमतीसितका पुराना कुराहरू सम्झँदै लासलाई बोकेर हिँडिरहेका हुन्छन् । यो दृश्यमा अथाह पीडाका साथ श्रीमान–श्रीमती, पारिवारिक स्नेह आदिको चर्चा गरिएको छ ।

दृश्य पाँचमा हकरहरूले पैसा नभएका कारण भारतको उडिसा राज्यका एक गरिब मानिस आफ्नी श्रीमतीको लास बोकेर १२ किलोमिटर हिँड्न बाध्य, भारतका लागि लाजमर्दो कुरा, मोदी के गर्दैछन् ?, मोदी कता हराए ? अस्पतालको चरम लापरबाही भन्दै अखबार बिक्री गरिरहेको दृश्यबाट प्रारम्भ हुन्छ । यहाँ उक्त खबर पढेर बहराइनका पीएम खालिफा बिन सलमान अल खालिफाले चित्त दुखाएको, भारतले छिमेकी देशलाई शववाहन बाँडेको, अस्ती भर्खर नेपाललाई पनि केही शववाहन दिएको, अरू छिमेकी देशहरूलाई पनि दिइरहेको समाचार आएको, तर भारतले आफ्नै देशका नागरिकको शव उठाउन शववाहनको व्यवस्था नगरेको आदि कुराहरूको दृश्याङ्कन गरेर भारतीय लोकतन्त्रको पर्दा उतार्ने काम भएको छ ।

दृश्य छमा काठमाडौंमा रहेको ए अनलाइन कार्यालयमा यस विषयमा बहस, छलफल भइरहेको कुरा देखाइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालका युवाहरूले एउटा सशक्त र भावपूर्ण ध्यानाकर्षण–पत्र लेखेर पठाइएको दृश्यलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । यो दृश्यमा भारतीय भूमिमा भएको उक्त घटनाले नेपाल र यहाँका युवाहरूलाई पनि राम्ररी नै छोएको कुरा देखाएको छ ।

दृश्यमा सातमा मध्यान्हमा भारतको नयाँ दिल्लीमा बहराइनका प्रधानमन्त्रीले दानालाई आर्थिक सहयोग गरेकोप्रति युवाहरूले खुसी व्यक्त गरेको कुराहरू देखाइएको छ । सामन्तवादी व्यवस्थामा महिलाहरूको यस्तै अवस्था हुन्छ । यो घटनाले भारतको शासकीय व्यवस्था परिवर्तन गर्नुपर्दछ भन्ने कुराको सङ्केत गर्दछ भन्दै गम्भीर ढङ्गबाट छलफल गरिएको कुरा प्रस्तुत गरिएको छ । यो दृश्यले भारतका मोदी सरकार, उसले भन्दै आएको लोकतन्त्रबारे विश्वभरमा नै प्रश्न उठेको कुृरा देखाइएको छ ।

दृश्य आठमा सडक छेउमा दाना, चौला र अन्य हुन्छन् । दानाले लगभग १२ लिोमिटरको दुरी पार गरिसकेका हुन्छन् । लासलाई सडकको एकछेउमा बिसाएर दाना आफ बस्छन् र चौलालाई पनि बस्न भन्छन् । सडकमा मान्छेहरू ओहोर–दोहोर गरिरहेका हुन्छन् । त्यहाँँ कसैको कसैलाई मतलव हुँदैन । एक पागलले “ठिक्क भो, मलाई यो समाजले पागल भनेर खेद्यो । अब तिम्रो पालो आएछ हा हा हा, अब यहाँ पागलहरूको राज्य चल्छ” भन्छ । त्यहाँ एकोहोरो रूपमा पागल कराइरहन्छ । यहाँ पागलको प्रसङ्गले समाजको मनोदशा केलाउने प्रयत्न गरिएको छ । त्यहाँबाट पनि दाना आफ्नी प्यारी श्रीमतीको लास बोकेर आफ्नो बाटो लाग्छन् । बाटोमा कुकुरहरू भुकिरहेका हुन्छन् । लखेट्न थाल्छन् । चौला तिनीहरूलाई धपाउँछिन् । नाटकमा पागल र कुकुरहरू बिम्ब बनेर उभिएका छन् । यो दृश्यमा चर्चित माक्र्सवादी कवि निभा शाहको ‘मनसरा’ र ‘दैया’ कवितांश पनि समेटिएको छ । यसले नाटकलाई परिपाकमा पु¥याउन निकै मद्दत पु¥याएको छ ।

नवौं दृश्यमा उडिसा राज्यका कालाहाँडी गाउँ दानाको घरमा स्थानीय जनता, राजनीतिक दलका नेता तथा कार्यकर्ता र उनका आफन्तजनका बीचमा शोकसभा हुन्छ । सबैले दानाको श्रीमती अमाङ देई बिसेक हुन सक्ने रोग टीबीका कारण असमायिक निधन भएकोमा दुःख व्यक्त गर्दछन् र उनीहरूले आ–आफ्ना शोक–मन्तव्यसमेत राखेर शोकसभा सकिन्छ । यो दृश्यमा आखिर दाना र दानहरूको राज्य कहाँ छ ? यो विश्वभरका दानहरूको विद्रोह हो कि होइन ? आखिर दानाहरूलाई विद्रोही बनाउने को हो ? भन्ने चोटिलो प्रश्नका साथ ‘दाना’ नाटकको अन्तिम पर्दा खस्छ ।

विश्वभरि गरिबहरू छन् तर उनीहरू उचित खानपान नपाएर सामान्यदेखि असामान्य रोगको सिकार भइरहेका हुन्छन् र छन् पनि । त्यसपछि समयमा उपचार नपाएर उनीहरूको अल्पायुमा नै मृत्यु हुन पुग्छ । जिउँदो हुँदा कठोर परिश्रम गर्दासमेत पेटभरि खान नपाउने गरिब जनता मरेपछि शववाहनमा चढाउने पैसा मृतकका आफन्तसित नहुँदा आफ्नालाई रुवाउँदै काँधमा चढेर हिँडाइन बाध्य पारिन्छन् । यो संसारभरिकै गरिबको कथा हो । यसमा लेखकले गरिब र महिलाका दुःखसम्बन्धी कविताको संयोजन गरेर नाटकलाई झनै रोचक र संवेदनायुक्त बनाएका छन् । समग्रमा खेम थपलियाले प्रस्तुत ‘दाना’ नाटकका माध्यमबाट गरिबहरूको विद्रोह अति थिचोमिचो र असह्य पीडाबाट जन्मन्छ भन्ने कुरा दर्शाएका छन् ।

अन्तमा नाटककार थपलियाले सामाजिक सञ्जालमा पोस्ट भएका कार्टुन–तस्बिरहरू राखेर विषयलाई अझ स्पष्टताका साथ रोचक बनाएका छन् । जस्तै, नाटकको पुस्तकको आबरणमा राखिएको कार्टुन जो सिङ्गो भारतका नक्सालाई लासको रूपमा बुझाउँछ । यो नाटक पेचिलो र रोचक दुवै छ । त्यसैगरी, अस्पताल परिसरमा राखिएका शववाहनहरूलाई माला लगाएर सजाएर राखिएको र त्यहीँ मृत्यु भएकी आफ्नी आमाको लासलाई काँधमा बोकेर हिँडिरेहका बाबुको पछि पछि हिँडिरहेकी चौलाका तस्बिरहरूले धेरै नै संवेदना बोलेका छन् । आकर्षक आबरण, छरितो आयातनसहित नौ दृश्यमा संरचित प्रस्तुत नाटकमा कताकतै शुद्धाशुद्धीको सीमा एवम् कतिपय ठाउँमा दृश्य र पृष्ठभूमिलाई अनावश्यक रूपमा तन्काउँदा दृश्यहरू लामा भए जस्तो लाग्छ तर पनि नाटकले हुँदा खानेको पीडालाई घामजत्तिकै छर्लङ्ग पार्न भने ‘दाना’ नाटक सफल भएको छ । नेपालको माक्र्सवादी नाट्य–साहित्यिक भण्डारमा नवीन प्राप्तिको रूपमा रहेको प्रस्तुत ‘दाना’ नाटक भारतीय लोकतन्त्रको असली अनुहार हो । यसका निम्ति नाटककार खेम थपलिया विशेष धन्यवादका पात्र बनेका छन् ।

२०७४ असोज ३० गते ११ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :