विद्यार्थीले थुने शिक्षामन्त्रीलाई

काठमाडौं : नेकपा निकट अखिल (क्रान्तिकारी)लगायत आठ विद्यार्थी सङ्गठनले शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कार्यकक्षमा एक घन्टा थुनेर मन्त्रालय परिसरमा नाराबाजी गरेका छन् । बिहीबार सम्पन्न आठ विद्यार्थी सङ्गठनको निर्णयअनुसार शिक्षामन्त्रीलाई शुक्रबार १२ बजेदेखि १ बजेसम्म शिक्षा मन्त्रालयमै थुनिएको हो ।

सीटीईभीटीबाट कलेजलाई सम्बन्धन दिने निर्णय बदनियतपूर्ण तरिकाले गराउने र नेपालको शिक्षा क्षेत्रलाई तहसनहस पारेको भन्दै शिक्षामन्त्री श्रेष्ठलाई संयुक्त विद्यार्थी सङ्गठनहरूले बहिष्कार गर्ने निर्णय गरेको जानकारी अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले दिए ।

विद्यार्थी सङ्गठनहरूले दसैँतिहारको मौका पारेर प्राविधिक शिक्षा सीटीईभीटीभित्र विभिन्न खालका चलखेल गरेको र केही कलेजलाई सम्बन्धन दिने भनी गरिएको निर्णय खारेज गर्न माग गरेका छन् । उनीहरूले विभिन्न शैक्षिक सुधारका माग राख्दै एमबीबीएसमा भर्ना हुने विद्यार्थी शुल्क सरकारले तोकेको मापदण्ड कार्यान्वयन गराउन र सरकारी मापदण्ड मिचेर महँगो शुल्क लिने कलेजहरूलाई कारबाही गर्न पनि माग गरेका छन् । शिक्षा ऐन नवौँ संशोधन विधेयकलाई कार्यान्वयनमा जान नदिन राष्ट्रपतिसमक्ष डेलिगेसन जाने निर्णय गरिएको जानकारी संयुक्त विद्यार्थी सङ्गठनका नेताहरूले दिएका छन् । विद्यार्थी सङ्गठनहरूले निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न दोषीलाई पत्ता लगाई कारबाही गर्न पनि माग गरेका छन् ।

२०७४ असोज २७ गते अपरान्ह  ४ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :