म पसिना – बस्नेत

कविता

तिम्रो दरबारमा बसाउँछु म केवल
मेरो सरकार
गनाउँछु त केवल म
गाउँका प्लास्टिकका पालमुनि गनाउँछु

तिमीले पहिरिने पहिरनमा
मेरा अनेकन सुगन्धहरू छन्
हुन्छु त एक मात्रै दुर्गन्ध
हली, गोठाला र मजदुरहरूका
च्यातिएका थाङ्नाहरूमा

मेरा सपनाहरू बेचेर
रातो कार्पेटमा
मेरै छातीमा कुल्चेर
शान्तिका नारा लगाउँछौ अचेल
मेरो सरकार तिमी
म भने यता सडकतिर
निर्मम युद्धघोष गरिरहेछु
दुर्गन्धितहरूको आह्वानमा

युद्ध गर्दैछु त म
मेरो मूल्य माग्नका लागि गर्दैछु
मलाई कुल्चने ओ शासक !
पसिना हो, म पसिना
जब पसिना बन्दुक हुन बाध्य हुन्छन्
तिम्रो भ्रामक शान्ति
तिम्रा सुगन्धित दरबार छोडेर
प्लास्टिकका पालमुनि
क्रान्तिको आगो बनेर
साँचो अर्थको शान्ति बनेर पहिरिनेछन् ?

२०७४ असोज २७ गते मध्यान्न १२ :४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :