अवसरवादी गठबन्धन

‘कसैलाई के धन्धा, कसैलाई खानको धन्दा’ भनेझैँ नेपाली जनता गाँस, बास र कपासको अनिश्चिततामा भौँतारिइरहेको अवस्थामा नेपालका केही संशोधनवादी, पलायनवादी, वर्गघाती, जनघाती समूहहरूले अवसरवादी गठबन्धन गरेर कथित ‘ वाम एकता’ को स्यालहुइँया मच्चाएका छन् । किसानलाई आकाशतिर चिल उडेको देखाएर चल्ला चोर्ने स्यालको कथाझैँ एमाले र माकेले पार्टीएकता संयोजन समिति निर्माण गर्ने निर्णयसहित जरा गाडिन नपाउँदै धर्मराइरहेको दलाल संसदीय व्यवस्था टिकाउनेउद्देश्यले दृश्यअदृश्य शक्तिहरूको इसारा र सहारामा कथित वाम गठबन्धन निर्माण गर्ने सहमति गरेको बुझ्न कुनै कठिनाइ पर्दैन ।

नेपालको राजनीतिक परिदृश्यमा एमाले र माके जनताबाट अपरिचित कुनै देशभक्त, जनवादी शक्ति होइनन् । एमाले नामको समूह २०२८ सालको झापा विद्रोहको जगमा स्थापित तर तीसको दशकको उत्तराद्र्धमा झापा विद्रोहबारे प्रायश्चित गरी निर्माण भएको संसद्वादी समूह हो । नेकपा (माओवादी) को नेतृत्वमा २०५२ साल फागुन १ गतेबाट आरम्भ भएको महान् जनयुद्धको समयमा एमालेले तत्कालीन काङ्ग्रेस–दरबार सत्ताका पक्षमा लागेर माओवादी र जनयुद्ध दबाउन आतङ्ककारी विधेयक ल्याउनेदेखि माओवादी नेता, कार्यकर्ता मार्ने–मराउने र मार्न उक्साउने तत्व हो । यसको त्यही वर्गचरित्रका कारण जनयुद्धकालीन नेकपा माओवादीले एमालेलाई प्रतिक्रियावादी शक्ति घोषणा गरेको थियो । जनयुद्ध त टाढैको कुरा, अमेरिका पुगेर कम्युनिस्ट झन्डा टे«ड मार्क मात्र हो भन्ने र अमेरिकी राजदूत पार्टी कार्यालयमा आउँदा माक्र्स–लेनिनको तस्बिर झिकेर फाल्ने समूहलाई कम्युनिस्ट वा नेपालको सन्दर्भमा वामपन्थी भन्नु पनि नसुहाउने कुरा हो । राजतन्त्रको पक्षपाती यो समूहलाई बुर्जुवा गणतन्त्रसमेत स्वीकार्न धौधौ परेको थियो । ज्ञानेन्द्र शाहलाई राजा बनाउने, दाम चढाउने, राजतन्त्र टिकाउने, ज्ञानेन्द्रको सत्तामा टाँसिने हर्कत गर्दै आएको यो समूह अस्थिर चरित्रको यथास्थितिवादी शक्ति हो । दाम चढाउँदाचढाउँदै पनि ज्ञानेन्द्र शाहले जेलमा कोचेका नेता–कार्यकर्ता माओवादी जनयुद्धको बलमा मुक्त भएपछि त्राण पाएको यो समूहले कहिल्यै कम्युनिस्ट त के वाम चरित्र पनि ग्रहण गरेन । राष्ट्रियता, जनतन्त्र र जनजीविका सबै क्षेत्रमा बारम्बार धोका दिँदै आयो र नाममा कम्युनिस्ट पार्टी राखे पनि चरित्र सधैँ राप्रपा वा काङ्ग्रेसको जस्तै प्रतिक्रियावादी नै लिइरह्यो । कुनै दिन राजतन्त्र ढालेर जनगणतन्त्र स्थापना गर्ने उद्देश्यबोकेको आन्दोलनलाई ठेलागाढा चढेर अमेरिका जाने दुस्साहसको संज्ञा दिने केपी ओली यस समूहको नेतृत्व गरिरहेका छन् ।

माके नेपालको राजनीतिमा दलाली, गद्दारी र पतनको पराकाष्टा परिचय बोकेको समूह हो । दलाल संसद्वाद ढालेर जनगणतन्त्र, समाजवाद र साम्यवाद स्थापना गर्ने जनयुद्ध कुनै पनि मूल्यमा सम्झौतामा समाप्त पार्नु देश, जनता र वर्गका लागि भयङ्कर धोका र गद्दारी हुनेछ भन्ने निर्णय गरी जनयुद्ध सञ्चालन गरेर पनि नेपाल आमाका दसौँ हजार सुन्दर छोराछोरीको बलिदानपछि जित्दाजित्दैको जनयुद्धछाडेर दुस्मन वर्गसँग घाँटी जोड्न पुगेका प्रचण्डहरू र कहिल्यै पनि सत्तासँग खतरा नमोलीकन प्रचण्डहरूको ताबेदारी गरेकै भरमा माकेको उच्च तह हडप्न सफल नारायणकाजी श्रेष्ठहरूको कब्जामा रहेको माके दलाल संसद्वाद जोगाउन तयार पारिएको नयाँ बुख्याँचा हो । चुनावबाट पनि पतीत हुँदै गएपछि अस्तित्व धान्न त्राण खोजिरहेको यो समूह केपी ओलीले ‘प्राणदान’ दिएपछि त्यो समूहसँग बिनासर्त चुनावीमोर्चा र पार्टीएकतासम्म गर्न तयार भएको छ । ढल्न लागेको संसदीय व्यवस्था जोगाउन विभिन्न शक्तिकेन्द्रहरूले निरन्तर प्रयोग गर्दै आएको यो समूह हिजो माले समूहले झापा विद्रोहमा प्रायश्चित गरेर दलाल सत्तामा त्वम्शरणम् गरेजस्तै जनयुद्धप्रति प्रायश्चित गर्ने र सहिद, बेपत्ता परिवार, घाइते अपाङ्ग योद्धा तथा परिवर्तनकारी जनताबाट भाग्ने गुरुयोजनामा लागेको देखिन्छ । हिजो आफैँले प्रतिक्रियावादी घोषणा गरेको एमालेसँग चुनावी तालमेल मात्र नभएर पार्टीएकताकै लागि तयार हुनु भनेको उसले सम्पूर्ण रूपमा मालेमा त्यागेको घोषणा गर्नु हो । नारायणकाजीजस्ता हिजो महान् जनयुद्धलाई सामाजिक फासिवाद र फासिवादी आतङ्क भनेर हियाउने, प्रतिक्रियावादी सत्ताको लोलीमा बोली मिलाउने तत्वहरूत हिजै पनि संशोधनवादी, मध्यपन्थी र अवसरवादी थिए, एमाले नै थिए र आज पनि त्यही छन्, उनीहरूलाई एमाले बन्नु कुनै लाजमर्दो वा चिन्तालाग्दो विषय होइन ।

जनयुद्ध समाप्त पार्न दिल्ली सम्झौता गराएको भन्दै गर्व गरिरहेका विभिन्न किसिमका काजीहरूका लागि कुनै पनि एमाले, संशोधनवादी वा अवसरवादी गठबन्धन गर्वकै विषय हुनसक्छ तर हिजो साम्यवादी सपना देखाएर जनयुद्धमा होमिएका र नसा, रगत वा धुकधुकीमा अलिकति पनि मालेमावादको गन्ध बोकेकाहरूआज कसरी हाकाहाकी एमाले बन्न कार्यकर्ताहरूलाई निर्देशन दिइरहेका होलान्, यो दृश्य हिजो पुष्पकमल दाहालले आफ्नी एउटी छोरीलाई मेयर बनाउने सपना पूरा गर्न काङ्ग्रेसलाई भोट मागिदिएको घिनलाग्दो दृश्यभन्दा कुनै पनि अर्थमा कम छैन । कम्युनिस्ट आदर्श नै परित्याग गरेर माक्र्सवादलाई लात हान्दै कथित नयाँ शक्ति बनाएका बाबुराम भट्टराई नाम गरेका पात्रलाई फेरि कथित वाम गठबन्धन बनाउन कुन शक्तिले उत्प्रेरित र प्रयोग ग¥यो, यो बुझ्न भने केही समय कुर्नैपर्ने देखिन्छ ।

जे होस्, दलाल संसद्वादको धुकधुकी जोगाउन नेपालमा फेरि एकपटक ‘वाम’ र ‘लोकतान्त्रिक’ का नाममा विभिन्न बुख्याँचा गठबन्धनहरूनिर्माण गर्न थालिएको छ । नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टी र जनताका लागि दुस्मन र मित्र छुट्ट्याउने यो एउटा राम्रो अवसर पनि हो । गठबन्धनहरू बनाइदिने ‘प्रभु’ हरूको इच्छा पूरा नहुँदै नेपाली जनताले दलाल संसद्वादका जरा काट्न र जनसत्ता स्थापना गर्न एकपटक फेरि चुनौती भने मोल्नैपर्ने भएको छ ।

सम्पादकीय
२०७४ असोज २६ गते ३ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :