कम्युनिस्ट क्रान्तिकारीहरूबीच धु्रवीकरण जरुरी : नेताहरू

 

काठमाडौं :  मोहन वैद्य किरणले नेतृत्व गरेको (क्रान्तिकारी माओवादी) को पोखरामा आइतबार सुरु भएको राष्ट्रिय भेलामा सहभागी भएका कम्युनिस्ट नेताहरूले नेपालमा सच्चा कम्युिनस्ट क्रान्तिकारीहरूबीच एकता हुनुपर्ने कुरामा जोड दिएका छन् । भेलाको उद्घाटन गर्दै क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मशाल), ऋषि कट्टेल नेतृत्वको नेकपालगायत पार्टीहरूबीच एकताका लागि छलफल चलिरहेको बताएपछि भेलामा पार्टी एकताको विषयले बहस पाएको थियो ।

भेलामा शुभकामना दिन पुगेका नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले समय खेर नफालीकन सच्चा कम्युनिस्ट क्रान्तिकारीहरू एकताप्रक्रियामा अघि बढ्नुपर्ने कुरामा जोड दिए । साथै उनले क्रान्तिकारी माओवादीसँग ‘नयाँ जनवाद’ भन्ने पदावलीलगायत केही कार्यनीतिक विषयमा कुरा नमिलेको पनि खुलाए । माओवादी केन्द्रको एमालेमा विलयसँगै क्रान्तिका पक्षधर शक्तिहरूबीच एकता जरुरी भएको पनि नेता सुदर्शनको भनाइ थियो । यस्तैगरी नेकपाका अध्यक्ष ऋषि कट्टेलले क्रान्ति चाहने शक्तिहरूबीच एकता हुनुपर्ने आवश्यकता औँल्याउँदै अब ढिलो गर्न नहुने बताए । क्रान्तिकारी माओवादीको राष्ट्रिय भेलामा शुुभकामना सन्देश पठाउँदै नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले देशमा छरिएर रहेका सच्चा कम्युनिस्ट क्रान्तिकारी शक्तिहरूबीच एकताप्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।

विप्लव र किरणका नेताहरूबीच सौहार्दपूण छलफल र वार्ता चलिरहे पनि किरणमा रहेको कार्यदिशाको अलमल र अकर्मण्यताले अहिले नै पार्टी एकता भने सम्भव नरहेको नेताहरूले बताउने गरेका छन् । उनीहरूका अनुसार वार्ता र छलफल भने सकारात्मक हुने गरेका छन् । अर्कोतिर क्रान्तिकारी माओवादीभित्र किरणको दस्ताबेजमा रामसिंह श्रीसले ‘जनयुद्ध’ र ‘माओवाद’ शब्दमा फरक मत राख्नु र अर्का नेता परी थापाले मोहनविक्रम सिंहतिरै फर्कने मनस्थिति बनाउनुले पनि किरणलाई पार्टीभित्र अप्ठेरो परेको छ ।

किरणले भूमिगत पार्टी संरचना, चुनाव बहिष्कार र सशस्त्र विद्रोहतिर पार्टी लैजान चाहे पनि पार्टीमा उत्पन्न मतभेदको कारण यो सम्भावना नरहेको बताइन्छ । क्रान्तिकारी माओवादीका एक केन्द्रीय सदस्यका अनुसार पार्टी एकताका लागि दबाब सिर्जना गर्न युवाहरूको एउटा समूह नै लाग्ने योजनामा रहेको छ । तर किरणलाई यो विषयमा पार्टीभित्रको अर्को समूहबाट चर्को दबाब परेको ती नेताको भनाइ छ जसको कारण किरण असन्तुष्ट रहेको बताइन्छ । क्रान्तिकारी उपयोग भन्दै स्थानीय निकायको चुनावमा भाग लिएको क्रान्तिकारी माओवादीले फेरि पनि संसद् र प्रदेशसभाको चुनावमा भाग लिने निर्णय गरिसकेको छ । यो निर्णयमा भित्री अनिच्छा भए पनि सन्तुलन मिलाउनका लागि चुनाव उपयोगको निणर्यमा किरण पुगेको पनि बताइन्छ ।

यसैबीच क्रान्तिकारी माओवादीको राष्ट्रिय भेलामा अध्यक्ष किरणले प्रस्तुत गरेको दस्ताबेजमाथि सहभागीहरू ९ वटा समूहमा विभाजित भएर बहस गरेका छन् । सहभागीहरूबीच कम्युनिस्ट क्रान्तिकारीहरूबीच एकताको बहसले प्राथमिकता पाएको भेलाका एक सहभागीले बताएका छन् । बिहीबारसम्म चल्ने बताइएको उक्त सम्मेलनले दस्ताबेज पारितसँगै नयाँ केन्द्रीय समिति चयन गर्ने पनि बताइएको छ ।

२०७४ असोज २६ गते ११ :३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :