तीन दलीय गठबन्धन क्रान्तिकारी कम्युनिस्टहरूको विरुद्धमा

काठमाडौं : एमाले, माओवादी केन्द्र र नयाँ शक्तिका बीचमा पार्टी एकताका लागि भएको सैद्धान्तिक सहमति बजारमा एकाएक चर्चाको विषय बन्यो । माओवादी केन्द्र र एमाले इतरका नेता–कार्यकर्ताहरूले यसलाई कम्युनिस्ट वामपन्थीहरूबीच एकता सुरुआत भनेर व्याख्या गरे । तर दसबर्से जनयुद्धको एउटा हिस्सा नेकपा तथा क्रान्तिकारी माओवादी र नेकपा मसालले उक्त गठबन्धन सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूको विरुद्धमा भएको बताएका छन् । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले तीन दलले चुनावी तालमेलसहित पार्टी एकताको पहल गर्ने विषयलाई व्यर्थको कचहरी भएको बताएका छन् ।

तीन पार्टी एकताका विषयमा बाबुरामले आवश्यकता र आकस्मिकताको परिणाम, प्रचण्डले निरन्तरताको क्रमभङ्ग र केपी ओलीले नेपाली जनताको चाहना र आवश्यकताको परिणाम भनेका थिए । तर नेकपाका महासचिव विप्लवले बाबुरामले भनेजस्तो आवश्यकता र आकस्मिकताको परिणाम नभई संयोग र अनिवार्यताको परिणाम भएको बताएका छन् । यस्तै शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाको माध्यमबाट समाजवादमा जाने कुरा प्रचण्डले बताइरहँदा विप्लवले भने बाबुराम– प्रचण्ड मालेमावाद, क्रान्ति र वैज्ञानिक समाजवाद छोडिसकेपछि स्वतः पुँजीवादी संसदीय व्यवस्थामा विलय भएको बताएका छन् । साथै विप्लवले प्रचण्डले भनेजस्तो निरन्तरताको क्रमभङ्ग नभई यो प्रतिगमन, पश्चगमन र पुँजीवादतिरको उल्टो क्रमभङ्ग भएको र माओवादी आन्दोलनलाई संशोधनवाद तथा समाजवादलाई पुँजीवादमा पतन गराउने क्रमभङ्ग भएको बताएका छन् । प्रचण्ड र बाबुराम आत्मसमर्पण गर्दै सुधारवाद, संशोधनवाद र संसद्वादमा फर्किन्छ भन्ने आफ्नो निष्कर्ष सही साबित भएको विप्लवको भनाइ छ । राजनीतिमा एउटै विचार भइसकेपछि फरक पार्टीका रूपमा लामो समय अस्तित्वमा रहन सम्भव नभएकाले एकको समाप्ति र एकको हावी हुने प्रक्रियाअनुसार एमालेमा माके विलय हुनु स्वाभाविक भएको पनि महासचिव विप्लवको निष्कर्ष छ । नेपालमा क्रान्तिमार्फत जनताको वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु नै जनता वास्तविक चाहना भएको पनि विप्लवको भनाइ छ ।

क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले कम्युनिस्ट वामपन्थी गठबन्धन भनेर प्रचार गरिएको भए पनि तीन पार्टीको गठबन्धनलाई दक्षिणपन्थी प्रतिक्रियावादी गठबन्धन भएको बताएका छन् । बुधबार विज्ञप्तिमार्फत किरणले क्रान्तिकारी विचारबाट पतन भएका दक्षिणपन्थी प्रतिक्रियावादीहरूको गठबन्धन भएकोले यसको भण्डाफोर गर्नुपर्ने, सच्चा देशभक्त,प्रगतिशीलका बीचमा व्यापक संयुक्त मोर्चा र कम्युनिस्ट क्रान्तिकारीहरूका बीचमा धु्रवीकरण हुने वातावरण सिर्जना भएको पनि किरणको भनाइ छ । यसैबीच नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले वामएकता समीकरणमा सामेल भएका भनिएका सबै पक्षहरू मालेमावादी सिद्धान्तबाट विचलित भई दक्षिणपन्थी बाटोमा गइसकेको बताएका छन् । साथै एउटै पथमा हिँडेकाहरूको एकीकरण हुनु स्वाभाविक भएको पनि सिहंले बताएका छन् ।

एकसाता पहिले एकाएक तीन पार्टीबीच चुनावी तालमेल र पार्टी एकता गर्ने सैद्धान्तिक सहमतिको बनेको थियो । एमाले माओवादीबीच देशभरिमा एमालेले ६० प्रतिशतमा र माओवादी केन्द्रले ४० प्रतिशत चुनावी तालमेल गर्ने र पार्टीएकता गर्नेसमेत सहमति भयो । अकस्मात् जस्तो देखिने तीन दलीय गठबन्धनमा चिनियाँ पक्षको हात रहेको पनि विश्लेषण गरिएको छ भने कतिपयले यस सहमतिलाई दिल्लीलाई सरप्राइज भएको पनि बताउने गरेका छन् ।

केही समयपहिले नेपालमा कम्युनिस्टको भविष्य छैन भनेका बाबुराम र काङ्ग्रेससँग दस वर्ष सरकार चलाउने उद्घोष गरेका प्रचण्ड र एमालेबीच एक्कासि पार्टी एकताको सैद्धान्तिक सहमति हुनुले नेकपालगायत कम्युनिस्ट नेताहरूले क्रान्तिकारी शक्तिहरूलाई फाइदा पुगेको समेत बताएका छन् । ती नेताहरूले प्रचण्डहरू दक्षिणपन्थी प्रतिक्रियावादी कित्तामा गइसकेपछि क्रान्ति चाहनेहरूबीच धु्रवीकरण हुने वातावरण बन्दै गएको पनि बताउएका छन् । उता सरकारको नेतृत्व गरेको दल नेपाली काङ्ग्रेसले पनि वाम गठबन्धनको विरुद्धमा तराईकेन्द्रित दलहरूलाई साथमा लिएर लोकतान्त्रिक गठबन्धन बनाउने पहल गरिसकेको छ ।

रातोखबर साप्तहिकबाट

२०७४ असोज २५ गते अपरान्ह ४ : ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :