पोखरामा नेकपाको बैठक सम्पन्न / भ्रष्टाचारीमाथि तत्काल कारबाही सुरु गर्ने निर्णय

पोखरा : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक पोखरा, लुम्लेमा नयाँ निर्णयसहित सम्पन्न भएको छ । पार्टी महासचिव विप्लवद्वारा प्रस्तुत ‘संसदीय चुनाव खारेज गरौँ, क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पारौँ’ शीर्षकको आठ पृष्ठ लामो राजनीतिक प्रस्ताव पारित गर्दै पोखरा बैठक सम्पन्न भएको पोखरा संवाददाताले जनाएका छन् ।

बैठकमा महासचिव विप्लवले एमाले–माके र नयाँ शक्ति गठबन्धनलाई दक्षिणपन्थी, अवसरवादी, प्रतिक्रान्तिकारी गठबन्धन भन्दै संसदीय व्यवस्थाको सङ्कटको परिणति भन्नुभएको छ । बैठकले महेन्द्रीय राष्ट्रवाद र संसदीय राष्ट्रवादले देशलाई स्वाधीन बनाउन नसक्ने निष्कर्ष निकालेको बताइएको छ । नेकपाले कात्तिक ७ गते अर्थात् अक्टोबर क्रान्तिको शतवार्षिकी काठमाडौँमा विशाल जनप्रदर्शन र सभासहित सम्पन्न गर्ने भएको छ । उक्त सभालाई महासचिव विप्लवले नै सम्बोधन गर्ने समाचारमा जनाइएको छ । 

नेकपाले सरकारद्वारा घोषित राज्यसभा र संसद्को चुनाव खारेज गर्ने औपचारिक निर्णय पनि गरेको छ । नेकपाले राष्ट्रिय स्तरका भ्रष्टाचारीको घर घेर्ने र ती भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्न दबाब दिने लोकप्रिय एवम् जनअपेक्षित कार्यक्रमसमेत घोषणा गरेको छ । उसले नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपाल खड्का, कर फस्र्र्योट आयोगका निलम्बित प्रमुख चूडामणि शर्मा, व्यापारी अजय सुमार्गी, जनमैत्री अस्पताल, चन्द्रागिरि केबुलकारका मालिक चन्द्र ढकाललगायत छन् । 

असोज २१ देखि २३ गतेसम्म चलेको उक्त बैठकले कात्तिक १ गतेदेखि राजनीतिक अभियान सुरु गर्ने निर्णय पनि गरेको छ । 

२०७४ असोज २४ गते  बिहान१० : ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :