सच्चा क्रान्तिकारीहरू एकताबद्ध हुन जरुरी छ – झपेन्द्रराज वैद्य

आजको विकसित तथा पेचिलो अवस्थामा कुनै पनि कम्युनिस्टको समूह सानो चुलो चौकोमा सिमित रहेर खोपिको देवता बन्न खोज्नु अभिधूतवादी धारणा हो । क्रान्तिको नाममा सिन्को नभाँच्नु, प्रतिक्रियावादीलाई सहयोग र समर्थन गरेको कुरा हो । अब इतिहासले कसैलाई पनि प्रतिक्षा गर्न सक्दैन । मानिसको छोटो जीवनमा क्रान्तिलाई एक शताब्दीपछि सार्नु संशोधनवाद हो माक्र्सवाद, लेलिनवादको भजन गाउनु र पाठ गर्नु हो । मानाँै पुनर्जीवनमा स्वर्गमा रमाएर बस्न पाइन्छ । यो अभिधूतवादी माक्र्सवादी पण्डितको कुरा हो । क्रान्तिकारीको होइन । अरुले क्रान्ति गरिदिए क्रान्ति हुने तर आफ्नो पहलमा क्रान्ति गर्न थरथरकाम्ने । अरुले क्रान्ति गरे त्यसको खुट्टा काट्ने प्रवृत्ति । अरुको नेतृत्व नसहने तर आफूले पनि गर्न नसक्ने । नसक्नेलाई सक्दैन भने पनि हुन्छ । संशोधनवादी ख्रुश्चेभ र गोर्वाचोभले अब क्रान्ति गर्न सकिदैन भनिदिएँ । त्यस्तै नेपालको सन्दर्भमा पनि एमाले समूहले क्रान्ति गर्न सकिदैन । संसदीय बाटो ठीक छ भनेको छ । राजतन्त्र समाप्त पार्ने कुरामा पनि बयलगाडामा चढेर अमेरिकाको यात्रा गर्न सकिदैन भनेको थियो । राजतन्त्र रूपमा त समाप्त भएको हो तर एउटा राजाको ठाउँमा तीनवटा राजा भए । बाँडीचुँडी खाने काममा तीनवटै पार्टीका नेता मिलेका हुन्छन् । माओवादी केन्द्रका नेता प्रचण्डले पनि अब क्रान्ति हुँदैन भनेर क्रान्तिको बाटो बन्द गरिदिएभने क्रान्ति गर्न सकिदैँन भने जनतालाई किन ढाँटने ? सक्दैन भन्नुपर्छ । अल्लमल्लमा पार्न भएन भन्ने हो ।

सन्दर्भ हो, जडसूत्रवाद र बिसर्जनवाद । कसैले पनि म जडसूत्रवादी र विसर्जनवादी हुँ भनेर भन्दैन । माकेको प्रचण्ड समूहले पनि आफूलाई विसर्जनवादी भनेका छैनन् । यो व्यबहार र क्रान्तिको गतिले थाहा पाउने कुरा हो । शोषक र भ्रष्टाचारीलाई कब्जा गरेर दण्ड सजाय दिनसक्नु अवश्यनै क्रान्ति हो । यो कुरा लाटाले पनि बुझ्दछ । २०७२ सालमा संविधानसभा बहिष्कार भयो भने त्यही संविधानसभाले तय गरेको निर्वाचनमा भाग लिने वा नलिने ? भाग लिने वा नलिने कुरा मात्र होइन २०७४ को निर्वाचन त कार्यान्वयन गर्ने पक्षसँग सम्बन्धित छ । त्यही संविधानलाई कालो भनेर जलाइन्छ फेरि एक वर्षपछि आफैले धुलोमा मिल्काएको संबिधानलाई टकटकाएर झोलामा राखिन्छ । हो, सधैभरि निरपेक्ष बहिष्कार गर्नु ठीक हुँदैन । ठोस परिस्थितिको ठोस मूल्याङ्कन गर्नुपर्छ । तर एउटै सन्दर्भमा एउटै बिषयमा लागू गर्ने प्रश्नमा त्यही संविधानलाई सहयोग र समर्थन गर्नु कहाँसम्म सही कुरा हो ? प्रतिपक्षले बहिष्कार ग¥यो । हामी उल्टो जानुपर्छ । उसले बहिष्कार गर्छ भने हामीले उपयोगको नाममा भाग लिनुपर्छ हाम्रो सुरक्षाको प्रश्न पनि छ भनेर च्यातचुत गरेर बाटामा फालेको संविधानको एक–एक टुक्रालाई टिपेर जोडिन्छ भने भाग लिनेको दोष हो वा बहिष्कार गर्नेको ? यस अवस्थामा भाग लिनु सोह्रैआना सरकार को सहयोग र समर्थन हो । ‘जो चोर उसैको ठूलो स्वर’ भनेको यही हो । जसले जोखिम मोलेको छ । जसका सयौं कार्यकर्ताहरू जेल जीवन बिताइरहेका छन् भने त्यो पार्टी क्रान्तिकारी हो कि प्रतिक्रान्तिकारी ? यो हाँस्यास्पद कुरा छ । ‘जुन गोरुको सिङ् छैन उसको नाम तिखे’ भनेको यही हो ।

मोहन वैद्य किरणको एउटा प्रसङ्ग — मैले भन्ने गर्छु क. किरण नेपालको सन्दर्भमा एउटा निष्ठावान कम्युनिस्ट इतिहासका धरोहर हुन् । उनी सर्वहारा वर्गीय इमानदार नेता हुन् । उनको स्वार्थ भनेको पार्टी र क्रान्ति हो । तर उनी अहिले वामपन्थी अवसरवादी भासमा परेको महशुस हुन्छ । यसबाट उम्केर उनले क्रान्तिलाई सहयोग र समर्थन गर्नुपर्छ । आफ्नो गौरवपूर्ण इतिहासलाई कायम राख्न नेपाली क्रान्तिको नेतृत्व गर्नुपर्छ । अन्यथा एकादेशको कथा हुने छ ।

कुनै पनि विषयको एउटा हद हुन्छ, सीमा हुन्छ । जहाँसम्म ने.क.पा. विप्लव माओवादीको (मालेमावादको आदर्श मानेकोले माओवादी) आठौँ अधिवेशनको कुरा छ त्यसको अहिले समीक्षा गर्न चाहँदैन मैले । मोहन वैद्य किरणले गरेको आलोचना हेर्दा एक दुई कुरा गर्न मन लागेर आयो । सर्व प्रथम उत्तर साम्राज्यवादको कुरा । यहाँ कला जनताको लागि नभएर अथवा भनौं कला रूपान्तरणको लागि नभएर कलाकलाको लागि भएको छ । आलोचना आलोचनाको लागि मात्र । मानौँ केही भन्नुनै पर्छ । बाङ्गो टिङ्गो पार्नु नै पर्छ । अन्यथा आफ्नो पार्टी समाप्त हुन्छ । आफ्नो पार्टीबाट रामबहादुरजीहरू गए । बिचबिचमा पहिरो गएको गएको गयै छ । पार्टीको रक्षाको लागि पनि खण्डन गर्नु नै पर्छ । मेरो बुझाइमा उत्तरसाम्राज्यवाद भन्नु साम्राज्यवाद सकियो भन्नु होइन । अझ बढेको छ भन्नु हो । साम्राज्यवादको एकाधिकार त छ तर सबै मिलेर एकाधिकार बनेको छ । पहिले एउटैले खान्थे अहिले तिमीले पनि अलिअलि खाऊ मैले बाँकी सबै खान्छु भन्ने हो । अहिले चेक एण्ड ब्यालेन्सको अवस्था छ । उत्तर कोरियाको वाक युद्धको सन्दर्भमा उत्तरकोरियालाई चीन र रुसले साथ र समर्थन दिएको अवस्था छ । यस्तै अमेरीकासँग जापान र फ्रान्स रहेका छन् । अहिले बिग सेभन राष्ट्र विभाजित अवस्थामा छन् । यसैले १०० बर्ष पहिलेको साम्राज्यवाद जस्तो अहिले छैन । अझ विकसित रूपमा छ भनेको हो । सही कुरालाई तोडमोड गरेर मेरो गोरुको बाह्रै टक्का भनेजस्तै गरिएको छ । माक्र्सवाद सिर्जनशील छ । जडसूत्र होइन । कैयौँ परिवर्तन भैरहेका हुन्छन् । तर यसो भन्दैमा आधारभूत माक्र्सवादी सिद्धान्तलाई छोडनु हँुदैन । त्यो हो वर्ग सङ्घर्ष, बल प्रयोग, तीन जादुगरी हतियार, दुईलाइन संघर्ष जुन पार्टीको आत्मा पनि हो । सम्मेलनले जनयुद्धको जगमा विद्रोह भन्ने पास गर्छ तर खै, त्यो कहाँ गयो ? संसदीय भासमा ? खै ! जनवादी केन्द्रीयता ? जनवादलाई छाडेर केन्द्रियता लाद्नु भनेको सम्मेलनमा सहभागीहरूलाई भेडा बाख्रा बनाउनु हो । साहित्यिक क्षेत्रमा पनि उत्तरआधुनिकतावाद भनिन्छ । यो आधुनिकताबाट विकसित भएको हो । यो आधुनिकताकै विस्तार र निरन्तरता हो । उत्तर आधुनिकवादलाई अस्थिरता र विनिर्माण –(भत्काइ) सँग सम्बद्ध संबृति भनिन्छ । यस्तै राजनैतिक क्षेत्रमा पनि उत्तर साम्राज्यवाद भनेको साम्राज्यवादको विकसित अवस्था हो । साम्राज्यवादको विलय होइन । उत्तरसाम्राज्यवाद अमेरिकी नेतृत्वमा हाबी भएको छ भन्नु कहीं राजनैतिक विचलन हुन्छ ? ‘कहीं नभएको जात्रा हाँडी गाउँमा’ हावीभएको छ नभनेर अरुको अधिनस्थ छ भनेर आत्मसमर्पण गर्ने कुरा त भएन नि ! समाजवादी राज्य छैनन् तर समाजवादी शक्ति छन् । समाजवादको लक्ष्य राखेर लड्ने राज्यहरू छन् । साम्राज्यवाद वा भनाँै उत्तरसाम्राज्यवादबीच अन्तरविरोध छ । उत्पीडित राज्य र उत्तरसाम्राज्यवाद बीचको अन्तरविरोध छ । दलाल पुँजीपति र जनताबीच अन्तरविरोध छ । वर्गीय समाजमा अन्तरविरोध नभएर वर्ग समन्वय हुँदैन । नेपालमा जमानाअनुसार पुँजिको विकास भैरहेको छ । यसले श्रमजीवीको हकअधिकार खोसिरहेको छ । तर मजदुर आन्दोलन बेला–बेलामा भए पनि यसले गति लिन सकेको छैन । विपरितहरूको एकत्वको सार्वभौम सिद्धान्त छ । यो प्रकृतिमा पनि देखिन्छ । इलेक्ट्रोन न्युट्रोन र अन्य नयाँ शुक्ष्म तत्वको एकत्वले नयाँ शक्ति उत्पन्न गर्छ । यी सबै तर्कको तर्कका लागि गरिएका कुरा हुन् । विप्लवले चुनावमा भाग लिएको भए अब विप्लव हारथाक भयो । संसदीय भासमा गयो। अब बिप्लव सत्ताको साझेदारीमा जान्छ भनिन्थ्यो होला । नखादै ……. खाएमा त बनबासै गरायो भन्ने हुन्थ्यो होला ।

यहाँ पंक्तिकारको चिन्ता क्रान्ति र परिवर्तन हो । कुनै पूर्वाग्रह होइन । यो र त्यो को नाममा क्रान्तिबाट पछि नहटौं भन्ने चिन्ता हो । अब सबै क्रान्तिकारी कम्युनिस्टहरूको पार्टी एकीकरण हुनु आवश्यक छ । देशभक्त, वामपन्थी र सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिले कार्यगत एकता गरेर हरेक कोणबाट क्रान्ति गर्नुपर्छ । मैले बुझेको एकीकृत जनक्रान्ति पनि यही हो ।

२०७४ असोज २२ गते अपरान्ह ४ :१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :