गौरी लङ्केशको हत्या गरिए पनि उनको आवाज मर्ने छैन : तन्मोय इब्राहिम

सत्ता(विरोधी जुधारु पत्रकार तथा सामाजिक कार्यकर्ता गौरी लङ्केशको ५ सेप्टेम्बरको साँझ बेङ्लुर स्थित उनको घरअगाडि गोली हानी हत्या गरियो । उनलाई ताकेर सातओटा गोली हानिएको थियो, जसमा ३ ओटा गोली उनको छातीमा लागेर तत्कालै उनको मुत्यु भएको थियो । हत्याराले उनलाई एकदमै नजिकबाट गोली हानेको थियो र उनको हत्याको चरित्र वर्तमान फासिवादी हिन्दूवता विचारधाराको आलोचना गरेको विरोधमा अगस्त २०१३ देखि अगस्त २०१५ सम्म हत्या गरिएका नरेन्द्र दबोल्कर, गोविन्द पन्सारे, एम।एम कलबर्गीको हत्यासित मिल्दोजुल्दो थियो ।

गौरी लङ्केश सत्ताद्वारा पालिएका गुन्डाहरू, भरौटेहरू तथा सत्ताधारीहरूका मतियार सामाजिक सञ्जाल प्रयोग कर्ताको निसानामा थिइन् । मोदी सरकारका भक्तहरूले सत्ताको आलोचना गर्नेहरू जोसुकैमाथि लगाउने गरेका “राष्ट्र विरोधी”, “विदेशी एजेन्ट” “माओवादी” आदिआदि फत्तुरहरू उनीमाथि पनि लगाएका थिए । हिन्दूवादीहरूका आफू विरोधीहरूमाथि लगाउने हरेक किसिमका फत्तुर, विषवमन र लाञ्छनाले उनलाई गलाउन सकेन । गौरी लङ्केशले हरेक बाधाव्यवधानका विरुद्ध लड्दै आफ्नो ट्याबल्वायड पत्रिका ‘लङ्केश पत्रिके’ मार्फत भारतीय लोकतन्त्रको कुरूप अनुहार र साम्प्रदायिक फासिवादी सत्ताका करतुतहरूको भण्डाफोर गर्दै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाइरहिन् ।

गौरी लङ्केशले गत वर्ष नोभेम्बरमा कर्नाटकको भाजपा नेताको आर्थिक भ्रष्टाचारका विरूद्ध समाचार प्रकाशित गरेवापत भाजपा नेताद्वारा दायर मानहानीको मुद्दामा अदालतले उनलाई दोषी ठहर्याएको थियो, निडरताका साथ नामै किटेर भ्रष्टाचारको समाचार बाहिर ल्याउने उनी एक्ली पत्रकार थिइन् । अदालतले उनलाई दोषी प्रमाणित गर्न खोजे पनि उनी जमानतमा रिहा भएकी थिइन् र यसका विरुद्ध मुद्दा लड्ने निधो गरेकी थिइन । उनीहरूले जति अपमान र धम्की दिए पनि उनी अलिकति पनि निरास नभई निरन्तर आफ्नो अभियानमा लागिन् ।
पत्रकारिताको माध्यमबाट सत्य बोलेवापत बिनामुद्दा र सुनवाई एकतर्फी किसिमले दोषी प्रमाणित गर्ने अदालतको निर्णयले मोदी सरकारका लाउकेहरूलाई हर्षित तुल्यायो र हिन्दूवता क्याम्पका हर्ताकर्ता अमित मालवियले खुसी प्रकट गर्दै गौरी लङ्केशका विरुद्ध विष वमन गर्दै अदालतको निर्णयले अरूलाई पनि हिन्दूवताका विरोधका नाममा जथाभावी नलेख्न शिक्षा दिएको भनेर सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका थिए । मालवीय र उनको जत्था नाङ्गो किसिमले अगाडि आएको थियो । विजेपी संसद्ले पनि मानहानीको मुद्दामा गौरी लङ्केशलाई दोषी घोषित गर्ने निर्णयको स्वागत गर्दै सार्वजनिक रूपमा धम्की दिएका थिए ।

वायर पत्रिकासित कुरा गर्दै उनले भारतीय लोकतन्त्रमा फरक मतका लागि अलिकति पनि ठाउँ नभएको भनेर अशन्तुष्टि जाहेर गरेकी थिइन् । कतिपय अन्तर्वार्ता र लेखहरूमा उनले कसरी मोदी सत्तामा अभिव्यक्ति स्वतन्त्रता र धर्मनिरपेक्षतामाथि धावा बोलिएको छ भन्ने कुरा कर्नाटकका घटनाहरूले प्रस्ट पार्दछन् भनेर पनि खुलस्त पारेकी थिइन् ।

गत साल न्युजलन्ड्रीलाई दिएको एउटा अन्तर्वार्तामा गौरी लङ्केशले सरकार तथा ठूला विज्ञापन एजेन्सीबाट विज्ञापन नलिने आफनो सानो पत्रिकाबाट विजेपी र हिन्दूवादी क्याम्प आतङ्कित भएर आफ्नो मुख बन्द गर्न खोजे पनि आफू चुप लागेर नबस्ने भनेर चुनौतीपूर्ण अभिव्यक्ति दिएकी थिइन् स्

“वर्तमान कर्नाटकमा हामी यस्तो समयमा बाँचिरहेका छौँ, जसमा मोदी भक्तहरू र हिन्दूवादी ब्रिगेड, उनीहरूका फासिवादी विचार, उनीहरूको पार्टी र सुप्रिम कमान्ड नरेन्द्र मोदीको विरोध गर्ने मान्छेहरूको हत्यालाई शुभअवसर मानिरहेका छन् (जस्तो डाक्टर एम।एम कलबर्गीको सम्बन्धमा भयो )र मान्छे मारेर उनीहरू उत्सव मनाइरहेका छन् (जस्तो डाक्टर यु। आर।अनन्तमुर्तिका सम्बन्धमा भयो  )। म यस्ता मान्छेका नाम दिनसक्छु, र म तपाईलाई विश्वासका साथ भन्छु, के गरेर हुन्छ, उनीहरू मेरो हत्या गर्न खोजिरहेका छन् ।”

गौरी लङ्केशको नृशंस हत्याले खास विचारधाराप्रति आलोचनात्मक धारणा राख्नेहरूको मुख बन्द गराउन जेसुकै पनि गर्न तयार रहेको फासिवादी शक्ति मुलुकमा क्रियाशील छ भन्ने कुरा एकपल्ट फेरि प्रमाणित भएको छ । अचम्मको कुरा के छ भने यो हत्याको भत्र्सना गर्नेमा सबैभन्दा पहिले आरएसएस देखापर्यो , सम्भवतः उसले यो घटनामा आफ्नो हात छैन भन्दै भ्रम दिनका लागि यसो गरेको हुनसक्छ । तर सत्य प्रस्ट छ । प्रहरीले यो घटनाको छानबिन चलिरहेको भनेको छ र अघिअघिका कतिपय घटनाजस्तै यो मुद्दा पनि वर्षौसम्म मुल्तबीमा रहने छ, अथवा यसको समग्र सत्यतथ्यलाई सम्पतिसम्बन्धी विवादसित गाँसेर अर्कै रूप दिइनेछ ।

गत वर्ष कर्नाटक सरकारले दबोल्कर, पन्सारे र कलबर्गीको हत्याको प्रमाण पत्ता लाग्यो र हामी यो मुद्धाको तहकिकातको नजिकै पुगेका छौँ भनेर घोषणा गरेको थियो । परन्तु, कर्नाटक र विजेपी शासित महाराष्ट्रका यी हत्या घटनाहरूको छिनोफानो गर्न सरकारले अहिलेसम्म सकिरहेको छैन र घटनालाई अर्कै मोड दिन नयाँनयाँ कथाको जालो बुनिरहेको छ ।

गौरी लङ्केश नाम चलेकी पत्रकार थिइन् । अहिले काङ्ग्रेस शासित केही राज्यहरूमध्ये एउटा राज्य कर्नाटकको राज्य सरकारले हत्यारा पत्ता लगाउन भनेर केही समय गतिविधि देखाउला, तर उससबाट कुनै सही अनुसन्धान होला भनेर आशा गर्ने ठाउँ छैन । काङ्ग्रेस यो मुद्दा छिटै सल्टाउने स्थितिमा पनि छैन । किन भने राज्यसभाको निर्वाचन छिटे हुँदैछ र काङ्ग्रेस पनि उसका समर्थक हिन्दू मतदातालाई बिच्क्याउन चाहँदैन । यस अर्थमा फासिवादी हुल्लडबाजहरू ‘बजरङ्ग दल’ र ‘श्री राम सेने’ को निर्वाध प्रयास अघि बढिरहनेछ ।

वास्तवमा कर्नाटकको काङ्ग्रेस सरकारले राज्यमा हिन्दूवता क्याम्पलाई फस्टाउन वातावरण दिएको छ र प्रहरी फोर्सले ती छाडा गुन्डाहरूलाई मन परी गर्न छुट दिएको छ । भारतको पहिलो आइटी क्रान्तिको सहर भनेर गर्व गर्ने सहरमा मान्छेछेहरू, कन्नड र गैरकन्नड, धर्म, जात र सम्प्रदायमा विभाजित गरिएका छन् । यहाँ आइटी क्षेत्रमा भएको प्रगतिलाई सत्ताधारीहरू देशको प्रगतिसित जोडिरहेका छन्, तर बेङलुर, मैसुर, मङ्लोर जस्ता ठाउँहरूमा आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न केही शक्तिहरू साम्प्रदायिक विभाजनमार्फत मान्छेलाई भड्काए मुलुकलाई अन्धकार युगतर्फ धकेलिरहेका छन् ।

गौरी लङ्केशले दृढ इच्छाशक्ति र सामथ्र्यका साथ यो सत्यलाई अगाडि राखेर सत्ताधारीहरूको भण्डाफोर र आलोचना गरेपछि विरोधको आवाज सुन्न नचाहनेहरूले जनतालाई सत्यतथ्य बोध गराउनेहरूको आवाजलाई दबाउन कुनै पनि किसिमको हत्या गर्न सक्छन् भन्ने कुरा उनले बुझेकी थिइन् । वास्तवमा कुनै पनि बेला उनको हत्या हुन सक्छ भन्ने कुराप्रति उनी अनभिज्ञ थिइनन् । आफ्नो जीवन नै गुमाउनु पर्ने धम्की आउँदा पनि गौरी लङ्केश हतोत्साहित भएर आफ्नो विश्वास, सिद्धान्त र लक्षबाट विमुख भइनन् । पेस्तोलका तीनओटा गोलीले उनको मुटुलाई क्षतविक्षत पार्न र सास बन्द गर्न सक्लान्, तर सत्यसित सम्बद्ध गौरी लङ्केशको आवाज, उनका शब्दहरू बाँचिरहने छन्, झूठ र आतङ्कले तिनलाई ढाकछोप गर्न सक्ने छैनन् ।

सत्ताधारीहरूको आवज लैजाने, धनाढ्य मालिक र कर्पोरेटहरूको स्वार्थमा चल्ने र विरोधको स्वरलाई सेन्सरसिप गर्न गराउन वाध्य पारिने एक थरी पत्रकारहरू र पत्रिकारिताबीच गौरी लङ्केश जस्ती निर्भीक र जुधारु पत्रकार जनताको आवाज बनेर बाँच्नेछिन्, प्रेरणा र विश्वासको चम्किलो तारा बन्नेछिन् । ती जो अहिले पनि सत्ताको दमन र धाकधम्कीका सामु नझुकी सत्यतथ्य लेखिरहेका छन, तिनका लागि गौरी लङ्केस विश्वासको आधार बनेकी छन् । बाँचेको बेलामा पनि र मरेपछि पनि, आउँदा दिनहरूमा पनि गौरी लङ्केस लाखौँ इमानदार पत्रकारहरूका लागि प्रेरणाको स्रोत बनिरहनेछिन् ।

(पिपुल्स रिभ्युबाट , अनु : ऋषिराज बराल)

२०७४ असोज २० गते ११ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :