आयो दसैँ बाजा बजाई, गयो दसैँ ऋण बोकाइ

चाडपर्वहरू तत्कालीन समाजको चेतना झल्काउने सांस्कृतिक अभिव्यक्तिहरू हुन् । नेपाली समाजमा दसैँ, तिहार, छठलगायत परम्परागत चाडपर्व नजिकिएका छन् । आमजनसमुदाय, चेतनास्तर कमजोर भएको वर्गमा यस किसिमका चाडपर्वले ठूलो प्रभाव पार्ने गर्छन् । त्यस किसिमको प्रभाव सकारात्मक कम र नकारात्मक बढी हुने गरेका छन् । अन्धविश्वासमा आधारित र रूढिमा जकडिएका यस किसिमका पर्वले समाजलाई अग्रगामीभन्दा पश्चगामी दिशातर्फ धकेल्न सहयोग पु¥याउँछन् ।

दार्शनिक कार्ल माक्र्सले धर्मलाई अफिमसँग तुलना गर्नुभएको छ । उहाँले कुनै पनि धर्म राज्य, समाज र वर्गबाट उत्पीडित श्रमिक वर्गको सुस्केरा भए पनि समाजका लागि अफिमजस्तै लट्ठ्याउने लागूपदार्थ रहेको व्याख्या र विश्लेषण गर्नुभएको हो । संसारकै असल कम्युनिस्टहरूले धर्मलाई अफिमका रूपमा लिने गरेका छन् । वास्तवमै आमूल परिवर्तनका पक्षधर, ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादलाई जीवनदर्शन बनाउने कम्युनिस्ट क्रान्तिकारीहरू यस किसिमका कुनै पनि अन्धविश्वासी र रूढिग्रस्त संस्कार, संस्कृतिमा आधारित चाडपर्वहरूबाट टाढा रहन्छन् ।

परम्परागत चाडपर्वहरूले समाजलाई अग्रगामी रूपान्तरणमा बाधाव्यवधान उत्पन्न गराउँछन् । वस्तुलाई हेर्ने दृष्टिकोण अद्वैतवादी, एकात्मक र एकपक्षीय हुनु भनेको गतिशीलताको बाधक बन्नु हो । समाजको चेतना बदलिने तर संस्कृति झल्काउने चाडपर्वहरू पुरानै हुनु सङ्गतिपूर्ण हुँदैन । संस्कृति सत्तासँग सम्बन्धित विषय हो । सत्ता जुन वर्ग, जुन चिन्तन र जुन धाराको हुन्छ संस्कृतिले पनि त्यही वर्गको रक्षा र सेवा गर्छ । संस्कृतिलाई वर्गसङ्घर्षले निर्धारण गर्छ ।

जनयुद्धको समयमा युद्धको बलले पुरानो सत्ता धराशायी हुँदै नयाँ सत्ता निर्माण हुँदै गएको थियो । नयाँ सत्ताको निर्माणसँगै नयाँ, वैज्ञानिक र जनसंस्कृति निर्माण हुँदै गएको थियो । संसारलाई हेर्ने, बुझ्ने र बदल्ने नयाँ दृष्टिकोणको विकास भएसँगै परम्परागत सत्ता, संस्कृति र त्यसमा आधारित पुरातन पर्वहरूको अस्तित्व समाप्त हुँदै गएको थियो । छुवाछूतको अन्त्य, दलित, महिला र श्रमिक वर्गलाई हेर्ने दृष्टिकोणमा परिवर्तन, आफ्नो वर्गको मुक्ति र स्वतन्त्रता, समानतामूलक समाजको निर्माणका लागि त्याग, शौर्य र बलिदानसम्म गर्न गौरव गर्ने उच्च र उदात्त संस्कृतिको निर्माण भएको थियो । समाजमा यस किसिमको नयाँ संस्कृति निर्माण भएसँगै नयाँ चाडपर्वहरूको निर्माण र विकास हुँदै गएको थियो । जनयुद्ध दिवस, सहिद सप्ताह, सांस्कृतिक प्रतिरोध दिवस, वीरता दिवसजस्ता वर्गसङ्घर्षले जन्माएका नयाँ पर्वहरूको आरम्भले जनतामा नयाँ उत्साहका साथै नयाँ र मौलिक संस्कार र संस्कृति अवलम्बन गर्ने जोस र जाँगर पनि बढ्दै गएको थियो । वर्गसङ्घर्ष उत्कर्षमा जाँदै गर्दा समाजको परम्परागत पर्वहरूप्रतिको मोह पनि घट्दै र त्यसप्रकारको प्रवृत्ति प्रतिस्थापित बन्दै गएको थियो ।

यतिबेला समाज राजनीतिक प्रतिक्रान्तिका कारण सांस्कृतिक प्रतिक्रान्तिसमेत झेल्न विवश छ । हिजो वर्गसङ्घर्षले विस्थापित गरेका परम्परागत चाडपर्वहरूले फेरि स्थान पाउन लागेका छन् । सामन्तवादी उत्पादनसम्बन्धमा आधारित र रूढिग्रस्त चिन्तनले ग्रसित यस्ता पर्वहरूले शिर उठाउनु भनेको हाम्रो चिन्तन क्रमशः कमजोर बन्दै गएको सङ्केत हो । अब यसलाई उल्ट्याउनुपर्छ ।

परम्परावादी संस्कार झल्काउने यस किसिमका चाडपर्वले आम श्रमजीवी जनसमुदायमा अनाहक आर्थिक व्ययभार बढाउँछ र कयौँ श्रमजीवी जनतालाई कङ्गाल बनाउँछ । समाजमा बढ्दो अस्वस्थ प्रतिस्पर्धा, बढ्दो महँगी र बेथितिका कारण जनसमुदायले सुस्केराकै रूपमा पनि यस किसिमका पर्वहरू मनाउन सक्ने अवस्था छैन । राज्यसत्ता श्रमजीवी जनताका विरुद्ध छ । भ्रष्टाचारले समाजलाई पूरै जेलेको छ । दलाल संसदीय व्यवस्थामा ठूलो माछाले सानो माछा खाने क्रम उत्कर्षमा पुगेको छ । श्रमजीवी वर्गका लागि दैनिकी टार्नसमेत धौधौ छ । समाजमा विद्यमान बेथिति–विसङ्गति अन्त्य गर्न र परम्परावादी, अन्धविश्वासी, रूढिवादी संस्कार–संस्कृति बोकेका पर्वहरूको विकल्पमा श्रमजीवी जनताको जीवन र समाजको नयाँ अवस्था झल्काउने गरी हिजो विकसित पर्वहरू ब्युँताउनुपर्ने आवश्यकता छ । जनतालाई ‘आयो दसैँ बाजा बजाई, गयो दसैँ ऋण बोकाई’ भनेजस्तो हुनु हुँदैन ।

२०७४ असोज ८ गते बिहान १० :४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :