प्रदेश नम्बर २ मा कहाँ के भयो ?

अम्बिका चन्द / काठमाडौं  :  नम्बर प्रदेश अन्तर्गत चुनाव खारेज अभियानमा रहेको नेकपाले बम विस्फोटनका घटनाहरूको जिम्मा त लिएको छैन तर उसले चुनाव खारेज अभियानमा आफ्ना कार्यकर्ता र जनताहरू व्यापक रूपमा सहभागी भएको जनाएको छ । नेकपाको चुनाव खारेज अभियान कस्तो रह्यो त ? नेकपाका जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल भन्छन् –‘सरकारी निकायले जस्तोसुकै विवरणहरू सार्वजनिक गरेपनि कैयौ ठाउँमा मतदाताहरूले चुनाव बहिष्कार गरेका छन् र भाग लिएका छैनन् । हाम्रो प्रस्तावमा जनता सहमत हुनु भनेको हाम्रो योजनाको प्रभावकारी कार्यान्वयन नै हो ।’ राज्यका सबै शक्तिहरूको परिचालनसहित चुनाव सम्पन्न गरिएको भनिएको दुई नम्बर प्रदेश हप्तादिन अघिदेखि नै निकै तनावग्रस्त अवस्थामा रह्यो । साना ठूला गरी सयौँ कार्वाहीहरू प्रदेश अन्तर्गतका जिल्लाहरूमा भएका छन् । बहालवाला राज्यमन्त्री शम्भुलाल श्रेष्ठको क्रसर उद्योगदेखि पूर्व पञ्चायती मण्डले हेमबहादुर मल्लकी बुहारी प्रेक्षा मल्लको घरमा बम विस्फोट भएको छ भने सिरहाको मेयरपदका उम्मेदवार मुन्नि शाहको घरदेखि माके उम्मेदवार सुकमान वाइवाको घरमासमेत बम विस्फोट भएको छ । यस्तै पर्साको विरगन्ज महानगरपालिका १९ विन्दवासिनी बुथकेन्द्रलगायत सप्तरीको सप्तकोशी नगरपालिका खप्तेश्वर बजारस्थित गोवर्धन माविमा रहेको मतदान केन्द्रमा भएका विस्फोटनहरू प्रतिनिधिमूलक घटना हुन् । यस्तै रौतहट, चन्द्रपुरमा राज्यलाई कर नतिर्दा एनसेलको टावरमाथि गरिएको आक्रमणबाट ५ करोड भन्दा बढीको क्षति भएको बताइएको छ । यस्तै कांग्रेस उम्मेदवार हरिनारायण सिहं र विनोद खनालले भारतीय नम्बरको गाडी चुनावी प्रचारमा प्रयोग गर्दा चुनाव खारेजीवालाको निशानामा परेका छन् ।

चुनावी मितिको पूर्व सन्ध्यामा दुई नम्वर प्रदेश अनर्तगतका ८ वटा जिल्लाहरू पर्ने पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीमा व्यापक रूपमा मशाल जुलुस र सयौं विस्फोटनहरू भएका छन् । अर्कोतिर अहिलेसम्म नेकपाका २ दर्जनभन्दा बढी नेता कार्यकर्ताहरू गिरफ्तार गरिएका छन् । नेकपाका केन्द्रीय सदस्य देवनारायण साह, जनकपुर ब्युरो कार्यालय सचिव राजु कार्की, सिरहा इन्चार्ज लक्ष्मण पौडेल, धनुषाका सेक्रेटरी पवन महतोसहित २७ जना नेकपाका नेता–कार्यकर्ताहरू पक्राउ परेका छन् । यस्तै चुनाव खारेजी अभियानको समाचार संकलन गर्न विरगन्ज पुगेका पत्रकार सुदर्शन पाण्डे र निर्वाचन अुनगमन पर्यवेक्षक अनुमति लिएर हिडेका मानवअधिकारकर्मी होमप्रसाद गौतमसमेत प्रशासनको निशानामा परेका छन् । आफ्ना नेता तथा कार्यकर्ता पक्राउको विषयलाई लिएर नेकपाका पूर्वी कमाण्ड इन्चार्ज सुदर्शनले विनाशर्त आफ्ना पक्राउ गरिएका नेता कार्यकर्ताहरूलाई नछोडिए जवाफी कावाही गर्ने बताएका छन् । दुई नम्बर प्रदेशमा भएका सम्पूर्ण विष्फोटन र कार्वाहीहरूको जिम्मा त लिदैनन् तर नेकपाका नेता पौडेल थप भन्छन्– ‘चुनाव खारेज हाम्रो राजनैतिक अभियान हो तर हामीमाथि दमन र धरपकट गरिएपछि हाम्रो अभियान शसस्त्र नभई शसक्त प्रतिरोधात्मक बनेको हो ।’ साथै दलाल संसदीय व्यवस्थाको चुनाव नाटकीय रूपमा सम्पन्न भएको र चुनाव समस्याको समाधान होइन भनेर राजनैतिक भण्डाफोर तथा जनभेटघाट अभियान चलाइरहेका, घरमा सुतिरहेका र बसिरहेका आफ्ना नेता कार्यकर्ताहरूलाई पक्राउ गरिएको छ नेता पौडेलको भनाइ छ ।

स्रोत : रातो खबर साप्ताहिक

२०७४ असोज ४ गते बेलुका ८ ५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :