भ्रष्टहरू नेकपाको निशानामा

रोहित ढकाल/काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले भ्रष्ट, दलाल, जनविरोधी र माफियाहरूका विरुद्ध जनकारबाही तीव्र बनाएको छ । रातो खबर संवाददाताहरूले देशका विभिन्न क्षेत्रमा नेकपाले जनकारबाही गरेका समाचार सम्प्रेषण गरेका छन् ।

रामेछाप संवाददाताका अनुसार नेकपाले सोमबार मध्याह्न १२ः४५ मा रामेछाप जिल्ला विकास अधिकारी दिनेशराज पन्तलाई करोडौँ रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा कार्यकक्षमै कालोमोसो दलेको छ । जिल्लाका विभिन्न सडक निर्माण र विकास योजनामा प्राविधिक र इन्जिनियरसँग मिलेर ठेक्काका काम र स्थानीय उपभोक्ता समूहका फाइल अड्काएर करोडौँ रूपैयाँ घुस खाएको उजुरीका आधारमा मोसो लगाएर चेतावनीस्वरूप पार्टीले कारबाही गरेको जानकारी जिल्ला सेक्रेटरीले दिएका छन् । घटना हुँदा माकेका नेता रामबहादुर थापा ‘वादल’ र गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ ‘कुशल’ रामेछाप जिल्ला प्रशासन कार्यालयमा पार्टी प्रशिक्षणमा सहभागी थिए ।

काभ्रेबाट प्राप्त समाचारअनुसार जिल्लाको पनौती नपास्थित रोशी खोलामा अवैध ढङ्गले प्राकृतिक स्रोतसाधन कब्जा गरी ढुङ्गाखानी सञ्चालन गर्दै आएको डायमन्ड रोडाढुङ्गा खानीद्वारा सञ्चालित दुईवटा एस्काभेटरमाथि सोमबार आगो लगाइएको छ । व्यापक गुन्डागर्दीको आडमा प्राकृतिक स्रोतसाधनमाथि भइरहेको दोहन रोक्न र करोडौँको राजस्व छली गर्नेहरूमाथि यथाशीघ्र कारबाही गर्न जनदबाब आएपछि उक्त कारबाही गरिएको नेकपा काभ्रेले जनाएको छ । प्रशासनको आडमा मासिक करोडौँ राजस्व छली हुँदासमेत राज्यपक्ष मौन रहेको, पहाडहरूको प्राकृतिक संरचनाहरूको अस्तित्व नै नामेट हुने गरी ढुङ्गाखानी सञ्चालन भएको, हजारौँ जनता गाउँघर छाडी पलायन हुनुपर्ने अवस्था उत्पन्न भएको, खोलाको पानी प्रदूषित भई गाईबस्तुले खानसमेत नहुने भएको र प्राकृतिक पर्यावरणमा गम्भीर असर परेकाले कारबाही गर्नुपरेको नेकपाले जनाएको छ ।

जनपरिषद् रूपन्देहीले सोमबार सिद्धार्थनगर नगरपालिका भैरहवाका इन्जिनियर शैलेन्द्र श्रेष्ठलाई भ्रष्टाचार तथा अनियमितता गरेको आरोपमा उनकै कार्यकक्षमा कालोमोसो दलेको समाचा रूपन्देही संवाददाताले सम्प्रेषण गरेको समाचारमा उल्लेख छ ।

गुल्मी जनपरिषद्ले जिल्ला समन्वय समिति गुल्मीका लेखा अधिकृत प्रेम भण्डारीलाई सोमबार कार्यकक्षमै कालोमोसो दलेको जानकारी प्राप्त भएको छ । उपभोक्ता समिति र कर्मचारीबाट कमिसन लिएको, जिविसका कर्मचारीको सञ्चयकोष अपचलन गरेको, भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको, राजनीतिक आवरणमा जिविसमा दादागिरी गरेको र परिवारका नाममा ठेक्कापट्टाको लाइसेन्स लिएर कमिसन लिने गरेकाले जनकारबाही गरिएको जनसत्ताद्वारा प्रकाशित पर्चामा उल्लेख छ ।

नेकपा चितवनले आइतबार बिहान रत्ननगर नगरपालिकाका वरिष्ठ इन्जिनियर प्रकाश ढुङ्गानालाई कारबाही गरेको छ । नेकपाका कार्यकर्ताले ढुङ्गानालाई कार्यालय परिसरमै कालोमोसो र जुत्ताको माला लगाएका हुन् । प्रकाश ढुङ्गानालाई कारबाही गर्नुका कारणहरू खुलाउँदै उनीहरूले पर्चासमेत छरेका थिए । घटनास्थलमा नेकपाले छरेको पर्चामा उनलाई भ्रष्टाचारको आरोप लगाइएको उल्लेख छ ।

लमजुङ जनपरिषद्ले मध्यनेपाल नगरपालिका ४ (साबिक रम्घा ७) स्थित बगैँचास्थानमा लेखनाथ अधिकारीको जग्गा कब्जा गरेको छ । आइतबार प्रेसविज्ञप्तिमार्फत परिषद्ले उक्त खुलासा गरेको हो । लेखनाथ अधिकारीले तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य, जिल्ला पञ्चायत सभापति हुँदा शक्तिकोे चरम दुरूपयोग गरी त्यस क्षेत्रको करिब ४२ रोपनी जग्गाको स्वामित्व आफू र एकाघरका सदस्यहरूका नाममा अवैधानिक तवरबाट दर्ता कायम गरेको आरोप जनसत्ताले लगाएको बताइएको छ ।

कर फस्र्योट आयोगका पूर्वप्रमुख चूडामणि शर्माको निवास काठमाडौँ बूढानीलकण्ठस्थित घरमा आइतबार राति १२ः३५ बजे बम विस्फोट भएको छ । बम विस्फोटका कारण शर्माको निवासमा आगो लागेको र भवनमा सामान्य क्षति भएको छ । शर्मा केही समयअघि मात्र राजस्व छली तथा भ्रष्टाचारको आरोपमा अख्तियारको हिरासतबाट तारेखमा रिहा भएका थिए । घटनामा मानवीय क्षति भने भएको छैन ।

शुक्रबार नेकपा निकट अखिल (क्रान्तिकारी) नुवाकोटले दुप्चेश्वर गाउँपालिकास्थित इन्द्रेणी प्रावि घ्याङफेदी ६ सिसिपुका शिक्षक रामकृष्ण श्रेष्ठलाई कालोमोसो दलेको छ । विद्यालयमा नगई घरमै बसेर तलब तथा अन्य सुविधा खाएर राज्यकोषको दुरूपयोग गरेको र चेली बेचबिखनमा संलग्न रहेकाले चेतावनीस्वरूप कालोमोसो दलेको अखिल (क्रान्तिकारी) नुवाकोटका अध्यक्ष प्रपोजल शर्माद्वारा जारीे विज्ञप्तिमा उल्लेख छ ।

नवलपरासीबाट प्राप्त समाचारअनुसार नवलपरासी जनपरिषद्ले कावासोती मालपोत अधिकृत खगेन्द्रराज घिमिरेलाई बिहीबार कार्यकक्षमै गएर कालोमोसो दलेको छ । कारबाही स्थलमा उनीहरूले मालपोत अधिकृत घिमिरेलाई कारबाही गर्नुका कारणहरू खुलाउँदै पर्चासमेत छरेका छन् । स्थानीयको व्यापक मात्रामा गुनासो र उजुरी आएपछि कारबाही गरिएको जनपरिषद्द्वारा प्रकाशित पर्चामा उल्लेख छ ।

२०७४ असोज ५ गते बिहान  ५  : ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :