सर्लाहीमा गोली चल्यो

 

रातोखबर संवाददाता : सोमबार साँझ सर्लाहीको आकाशमाथि एकाएक सैनिक हेलिकप्टरले गस्ती गर्दा सर्लाही र आसपासका मानिसहरूले धेरै खालका अड्कलबाजी गरिरहे । सोही समयमा आफ्नै निजी सवारी साधन लिएर हरिऔन पुगेका स्थानीय व्यापारीले भने– ‘अगाडी पछाडि सुरक्षाकर्मीका गाडी तैनाथ थिए । मतपेटिका बोकेको एउटा टयाक्टरमा बम विस्फोट भएको रहेछ । मतपेटिका यत्रतत्र छरिएका थिए । गाडीको टायर २० देखि २५ मिटर टाढासम्म उछिट्टिएको थियो । सडकमा निकै ठूलो खाल्डो परेको थियो । सेना–प्रहरीले लगातार हवाई फायरिङ गरिरहे । त्यसको केही समयपछि आकासमा सैनिक हेलिकप्टरले गस्ती शुरु गर्‍यो । निकै त्रासपूर्ण चिच्चाहट मच्चिएका थियो । स्थानीयहरू कोही घरभित्र पसेका थिए भने कोही लुकेर हेर्दै थिए ।’ हरिऔन नगरपालिका विलन्दी प्रा.वि.मा रहेको मतदान केन्द्रको मतपेटिका बोकेको सवारी साधनमा बम विस्फोट भएपछि एकजना प्रत्यक्षदर्शीको बयान हो यो । बिलन्दी प्रा.वि.को मतदान केन्द्रबाट मतपेटिका बोकेर नगरपालिकाको कार्यालयतर्फ जाँदै गरेको गाडीमा उक्त विष्फोट भएको हो । विष्फोटको कारण गाडी क्षतिग्रस्त भएको छ । विस्फोटपछि प्रहरीले निकैबेर फायरिङ गरेको थियो भने घटनास्थलमा व्यापक प्रहरी परिचालन गरेको थियो । सोमबार साँझ भएको उक्त बम विस्फोटपछि नेपाली सेनाको हेलिकप्टरले हवाई गस्तीसमेत गरेको थियो । केही व्यक्ति घाइते भएको बताइए पनि अन्य मानवीय क्षति नभएको सर्लाही प्रजिअले बताएका छन् । बम विस्फोटको जिम्मा कसैले लिएको छैन । तर प्रहरी स्रोत भन्छ– ‘नेकपाका कार्यकर्ताहरू चुनाव खारेजी अभियानमा रहेकोले यस्ता प्रकृतिका विस्फोटनमा उनीहरूको कुनै न कुनै भूमिका हुन सक्छ ।’ हरिऔन तनावग्रस्त भएपछि त्यहाँ रोचक प्रसङ्ग के थियो भने नेपाली सेना र प्रहरीले जमिनमा छरिएका मतपेटिका संकलन गरेर बोक्न मानेनन् । पछि स्थानीयहरूलाई घरघरबाट बोलाएर मतपेटिका बोक्न लगाइयो । उक्त मटपेटिका सुरक्षाको लागि मतगणना केन्द्र पुर्‍याउने बेलासम्म सेना र प्रहरीले भित्री र बाहिरी घेरा बनाए भने आकाशमा सैनिक हेलिकप्टरको गस्ती जारी राखियो ।

२०७४ असोज ३ गते साँझ ९ :३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :