महान् जनयुद्ध जिन्दावाद !

महान् जनयुद्ध जिन्दावाद !

आज सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, श्रमिक वर्ग र क्रान्तिकारी मालेमावादी शक्तिहरू २९ औँ जनयुद्ध दिवस मनाइरहेका छन् । नेपालको जनयुद्ध नेपाली जनताले मालेमावादी दर्शनमा आधारित रहेर आफ्नो वर्गको मुक्तिका लागि लडेको महान् वर्गयुद्ध हो । जनयुद्धको उद्देश्य पूरा नहोउन्जेल अर्थात् नेपालबाट सामन्तवादका अवशेषहरू, दलाल पुँजीवादी संसद्‌वाद, साम्राज्यवाद, सबैखाले प्रतिक्रियावाद, अवसरवाद, संशोधनवाद, अकर्मण्यतावाद, गोलचक्करवादलगायत क्रान्तिविरोधी शक्तिहरूको पराजय नहुँदासम्म र नेपाली जनताले मुक्तिको सास फेर्ने वैज्ञानिक समाजवाद स्थापना नहोउन्जेलसम्म यो जारी छ, जारी रहनेछ । महान् जनयु्द्धमा बलिदान गर्ने महान् सहिदका परिवारजनहरू, बेपत्ता योद्धाका परिवार तथा घाइते योद्धाहरू, जनयुद्धमा लामबद्ध शक्ति, समर्थक, शुभचिन्तक सबैमा हामी २९ औँ महान् जनयुद्ध दिवसको हार्दिक शुभकामना प्रकट गर्दछौँ । महान् जनयुद्ध हाम्रो मुक्तिको प्रेरणाको स्रोत हो । यो दिवसले सम्पूर्ण मालेमावादी, क्रान्तिकारीहरूमा वर्गमित्रप्रति असीम माया, श्रद्धा र समर्पणभाव जगाउँछ भने वर्गदुस्मनप्रति थुकथुकी र घृणा उत्पन्न गराउँछ । त्यसैले वर्गशत्रुका विरुद्ध दार्शनिक, वैचारिक, राजनीतिक, साङ्गठनिक ऊर्जा प्रदान गर्ने यो दिवस असी प्रतिशत भूभागमा जनसत्ता सञ्चालन गरेका र बाँकी बीस प्रतिशत भूभागका श्रमिक जनताको आशाको धुकधुकी हो । यो आशाको केन्द्र, यो विश्वासको ऊर्जा र धुकधुकी बचाइराख्नुपर्छ ।

पुँजी र उत्पादनका साधन तथा स्रोतहरू अर्थात् राज्यसत्तामा श्रमिक वर्गको आधिपत्य वा अधिनायकत्व नभईकन वैज्ञानिक समाजवाद स्थापना हुन सक्तैन । वैज्ञानिक समाजवाद सामन्तवादको अन्त्य, पुँजीवादको अन्त्य, दलाल पुँजीवादको अन्त्य, साम्राज्यवादको अन्त्य नभई स्थापना हुन सक्तैन । हजारौँ वर्षदेखि स्थापित सामन्तवादको अन्त्य पनि पुँजीवादले हतियारबद्ध युद्धहरूबाटै गरेको हो । पुँजीवाद र दलाल पुँजीवाद यतिबेला साम्राज्यवादको इसारा, निर्देशन र योजनामा सञ्चालित छन् । नेपालमा पनि जहानिया एकतन्त्रीय सामन्तवादी, हुकुमी राणाशासन तथा सामन्ती राजतन्त्र हतियारकै बलमा स्थापित भएका र टिकेका थिए भने सामन्तवादको अन्त्य पनि हतियारबद्ध युद्ध– जनयुद्धबाटै सम्भव भएको हो र त्यो युद्धमा उत्पीडित नेपाली जनताको भविष्य जोडिएको थियो । नेपालमा राष्ट्रिय पुँजीको विकास र दलाल पुँजीको अन्त्य भई जनवादी गणतन्त्र हुँदै वैज्ञानिक समाजवाद स्थापनाका लागि कम्युनिस्ट पार्टीको स्थापना भएदेखि निरन्तर सञ्चालित आन्दोलन, सङ्घर्ष, विद्रोह, क्रान्ति, जनयुद्धका माध्यमबाटै सक्रिय सामन्तवाद अर्थात् राणशासन एवम् राजतन्त्रको अन्त्य भएको हो तर विडम्बना नयाँ जनवादी क्रान्ति सम्पन्न नहुँदै दलाल पुँजीवादले शासनसत्ता हत्यायो र जनतन्त्रको घाँटी निमोठ्यो । विडम्बनाको कुरा भनौँ– महान् जनयुद्धको मुख्य नेतृत्वकर्ता भनिएकाहरू नै जनतन्त्र, जनयुद्धको घाँटी निमोठेर साम्राज्यवादद्वारा सञ्चालित दलाल पुँजीवादसँग सम्झौता गर्दै त्यही व्यवस्थामा पतन भए । फलतः आज मुलुकमा दलाल पुँजीवादले शासन गरिरहेको र क्रान्तिकारी शक्ति रक्षात्मकजस्ता देखिएका छन् तर यो अस्थायी अवस्था हो ।

महान् जनयुद्ध नेपाली जनताले समग्र उत्पीडनबाट मुक्तिका लागि दस वर्षसम्म लडेको महान् युद्ध हो, समग्र युद्ध हो । यतिबेला जनयुद्धका नायक भनिएका प्रचण्ड–बाबुरामहरू जनयुद्धलाई धोका दिँदै र जनयुद्धलाई दलाल पुँजीवादी संसदीय व्यवस्थाको सीमित स्वार्थसँग साट्दै उक्त बाटो अर्थात् मालेमावादी, बल प्रयोगको सिद्धान्तबाट पलायन भइसकेका छन् । महान् जनयुद्धले नेपाली जनतालाई सामन्ती शोषण, दमनका साथै साम्राज्यवादी–पुँजीवादी उत्पीडनबाट मुक्त बनाउँदै थियो । मुलुकको असी प्रतिशत भूभागबाट सामन्ती तथा साम्राज्यवादी व्यवस्थाका दलालहरू भागेर जनसत्ता सञ्चालन भइरहेको थियो । दसौँ हजार योद्धाहरूको त्याग, शौर्य र बलिदानबाट जनसत्ता, जनसेना, जनन्यायालय, जनशिक्षा, जनसंस्कृति, जनसञ्चार, जनअर्थतन्त्र, जनउद्योग निर्माण भइरहेको थियो र देश छिट्टै नै मुक्त हुने अवस्थामा पुगेको थियो तर विडम्बना ! जनयुद्धको मूल नेतृत्व सर्वहारा वर्गबाट नभई मध्यम र निम्नमध्यम वर्गबाट आएकाले उसले नेपाली जनताको त्याग, शौर्य, वीरता र बलिदानबाट स्थापित जनसत्तालाई जोगाउन सकेन, जोगाउनतिर लागेन, आत्मरक्षाको कायरतापूर्ण बाटो समाती पलायन भयो र सम्पूर्ण उपलब्धिहरू दलाल पुँजीपति वर्ग र साम्राज्यवादलाई सुम्पिएर आत्मसमर्पण गर्यो । फलतः नयाँ जनवादी राज्यसत्ता हुँदै वैज्ञानिक समाजवाद स्थापना गरेर मुलुकलाई साम्यवादको बाटोमा लग्ने नेपाली सर्वहारा वर्गको इच्छा, तत्परता र आवश्यकतामाथि तुसारापात भयो । मूल नेतृत्वको आत्मसमर्पण र पलायनपछि यति बेला मुलुकमा फेरि राजनीतिक, सामाजिक, सांस्कृतिक प्रतिक्रान्ति भएको छ र जनवादी–समाजवादी राज्यसत्ता सञ्चालन हुनुपर्ने ठाउँमा दलाल पुँजीवादी राज्यसत्ताले नेपाली श्रमिक वर्गमाथि ढलिमली गरिरहेको छ । राष्ट्रघात र जनघातले सीमा नाघेको छ । सत्तामा बसेका दलाल पुँजीवादका एजेन्टहरू नौजवानहरूलाई विदेशमा बेचेर दलाल पुँजीवादी सत्ताको धुकधुकी बचाइरहेका छन् तर यो अस्थायी अवस्था हो । हरेक श्रमिक नेपाली जनताले आमूल परिवर्तन चाहेको छ र यो दलाल पुँजीवादी सत्ताबाट मुक्ति चाहेको छ । जनयुद्धले सम्पूर्ण श्रमिक जनताको मुक्तिको सपना बोकेको थियो तर आज त्यसमा गम्भीर धोका भएको छ । सतहमा नदेखिए पनि बालुवामुनि बगेको पानीझैँ प्रकारान्तरले जनयुद्ध÷जनक्रान्ति जारी छ । प्रत्येक श्रमिक नेपाली जनता निर्णायक क्रान्ति र मुक्तियुद्धको शङ्खघोषको तीव्र प्रतीक्षा र तयारी गरिरहेका छन् । आजको मितिसम्म क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल एक मात्र आमूल परिवर्तन पक्षधर शक्ति हो र यसले मात्र जनयुद्धका अधुरा सपनाहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेर त्यो बाटोमा अघि बढिरहेको छ । अरू सबै खुला वा छद्म रूपमा दलाल पुँजीवादका मतियार बनिसकेका छन् । नेपाली जनताले जनयुद्ध जारी छ र यो अर्को उचाइको उडानको तीव्र तयारीमा छ भन्ने सन्देश दिन पनि जनयुद्ध दिवस उल्लासका साथ मनाउनु र अर्को निर्णायक जनयुद्ध वा क्रान्तिको तयारी गर्नु, क्रान्ति आरम्भ गर्नु र यसलाई वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुर्याउनु अत्यावश्यक भइसकेको छ । जनयुद्ध दिवस मनाउनु भनेको इतिहासको ब्याज खानु होइन, अर्को निर्णायक जनयुद्धको बाटोमा अग्रसर हुनु हो । त्यसैले जनयुद्ध जारी रहेको सन्देश दिन, जनताको मुक्तिको सपना साकार पार्ने प्रतिबद्धता गर्न, जनयुद्धको मूल नेतृत्वको आत्मसमर्पणले निराशामा धकेलिएको श्रमिक वर्गलाई मुक्तिको आशा जाग्रत गराइराख्न र जनयुद्धको निर्णायक तयारी गर्न पनि जनयुद्ध दिवस मनाउनुपर्छ र अझ विशेष तयारीका साथ मनाउनुपर्छ । यसमा सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते–अपाङ्गका परिवार, जनयुद्धमा सामेल, समर्थक, शुभचिन्तक लाखौँ–करोडौँ जनताका सहभागिता अत्यावश्यक छ । नेपालमा मनाइने जनयुद्ध दिवसले नेपालका मात्र होइन, संसारकै उत्पीडित वर्गमा मुक्तिको आशा र तत्परता जीवित राख्नेछ र अझ अघि बढाउनेछ । त्यसैले नेपालभित्र मात्र होइन, संसारभर छरिएका मुक्तिप्रेमी नेपाली जनताले, संसारकै श्रमिक सर्वहारा वर्गले जनयुद्ध दिवसलाई उत्साहका साथ, नयाँ जोस, जाँगर र प्रतिबद्धताका साथ मनाउनु आवश्यक छ । २९ औँ जनयुद्ध दिवस जिन्दावाद ! सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :