क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले २९ औँ जनयुद्ध दिवस विशेष रूपमा मनाउँदै

‘माघ मसान्तका दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले देशभर जनयुद्ध दिवसको अवसरमा दिपावली गर्ने’

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले २९ औँ जनयुद्ध दिवस विशेष रूपमा मनाउँदै

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले २९ औँ जनयुद्ध दिवस काठमाडौँ उपत्यका लगायत देशैभर विभिन्न कार्यक्रमका बीच भव्य रूपमा मनाउने तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालयले माघ मसान्तका दिन देशभर जनयुद्ध दिवसको अवसरमा दिपावली गर्न सर्कुलर गरेको छ । जनयुद्धको पूर्वसन्ध्यामा देशैभर क्रान्तिकारी कम्युनिस्ट पार्टीले दीपावली गर्ने र काठमाडौँ उपत्यकामा भने मशाल जुलुस गर्ने तयारी गरिएको छ ।

फागुन १ गते काठमाडौँ उपत्यकामा पार्टीको केन्द्रीय समितिको आयोजनामा विशेष कार्यक्रम हुँदैछ । पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ लगायत शीर्ष नेतृत्वहरूको उपस्थितिमा पार्टी कार्यालय कुपण्डोलमा दिनको १२ बजे उक्त समारोह सुरू गरिने पार्टी कार्यालयले जानकारी दिएको छ । त्यसैगरी उपत्यका बाहिर सात वटै प्रदेश र जिल्लाहरूमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा जनयुद्ध दिवस मनाउने कार्यक्रम रहेको छ । सबै पार्टी कमिटी र पार्टी सम्बद्ध जनवर्गीय तथा मोर्चा सङ्गठनहरूले पनि आ–आफ्नो सापेक्षतामा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउने तयारी गरिएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीले फागुन २ देखि १३ सम्म जनयुद्धकै सन्दर्भमा विभिन्न रचनात्मक कार्यक्रम गरी कार्यकर्ता तथा जनता परिचालन गर्ने– गोष्ठी, सभा, चियापान, सरसफाई आदि कार्यक्रमहरू गर्ने जनाएको छ, भने फागुन १४ देखि २१ सम्म सहिद सप्ताह, सहिद परिवार, बेपत्ता परिवार, घाइते अपाङ्गहरूसँगको भेटघाट, सम्मान, लगायत विविध कार्यक्रमहरू गर्ने गरी मनाउने समेत जनाएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीले सबै जिल्ला तथा प्रदेशहरूको समेत जनशक्ति केन्द्रित गरी चैत्र २४ गते काठमाडौँमा विशाल जनसभाको कार्यक्रम गर्दैछ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले दश वर्षसम्म सञ्चालित भएको जनयुद्धका कार्यभार मूलरूपमा बाँकी नै रहेकोले त्यो कार्यभार पूरा गर्न क्रान्तिको प्रक्रियालाई नयाँ ढङ्गले अघि बढाइरहेको छ । पार्टीको आगामी महाधिवेशनबाट नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको मार्गमा अगाडि बढ्ने गरी राजनीतिक तथा फौजी कार्यदिशाको विकास गर्ने तयारीमा समेत जुटेको छ । यो पार्टीले आफूलाई दशवर्षे जनयुद्ध र झापा विद्रोहको सच्चा उत्तराधिकारी दावी गर्दै निरन्तर क्रान्तिको झण्डा बोकेर अगाडि बढिरहेको छ । छरिएर रहेका क्रान्तिकारीहरू क्रमशः यही पार्टीको झण्डामुनि गोलबन्द हुँदैछन् । वर्तमान दलाल संसदीय व्यवस्थाको समूल अन्त्य गरी जनताको सङ्घीय जनगणतन्त्र स्थापना गर्ने स्पष्ट वैकल्पिक लक्ष्य र उद्देश्यसहित अगाडि बढेको यो पार्टीप्रति जनआकर्षण पनि बढ्दै गइरहेको छ ।

फेरियो सरकार, फेरिएन व्यवस्था

दशवर्ष लामो जनयुद्धमा १७ हजारभन्दा बढीको उच्च बलिदान भयो । हजारौँ अहिले पनि बेपत्ता अवस्थामा छन् । हजारौँ घाइते, अपाङ्ग भए । आधुनिक नेपालको इतिहासमा सबैभन्दा ठूलो धनजनको क्षति हुनेगरी भएको यस जनयुद्धको तागतले नेपालमा अढाई वर्षदेखि शासनसत्तामा रहेको राजतन्त्रलाई सत्ताच्यूत गर्यो तर, समग्र व्यवस्था बदल्न सकेन । तर त्यही सामन्ती राजतन्त्रात्मक व्यवस्थाले खडा गरेका व्यवस्थाका आधारस्तम्भहरू सेना, अदालत र कर्मचारी प्रशासन र उत्पादन सम्बन्धको संरचनात्मक परिवर्तन गर्न सकेन । आधार पुरानै रह्यो, उपरीसंरचना मात्रै फेरियो । घुमिफिरी उही संसदीय व्यवस्था पुनस्र्थापित भयो । परिणामतः सरकारका अनुहारहरू फेरिरहे तर व्यवस्था फेरिएन । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको डेढ दशकमा भएका मात्रात्मक परिवर्तनहरू पनि उल्टिने, उल्ट्याउने क्रम तीव्र बनेर गएको छ । आधार र उपरीसंरचनाबीचको अन्तरविरोध तीव्र बन्दै गएको छ ।

आधारले आफू अनुकुलको उपरीसंरचनाको माग गर्दा पुनरुत्थानवादीहरूले टाउको उठाउन थालेका छन् । उपरीसंरचनाले आधारलाई बदल्न नसकेपछि भएको मात्रात्मक परिवर्तनमाथि पनि मुठ्ठिभर दलाल पुँजीपतिवर्गले कब्जा जमाएको छ । र, कथित लोकतान्त्रिक गणतन्त्रले प्रतिगामी यात्रा सुरू गरेको छ । यसको पछिल्लो उदाहरण हो– जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने भनी कार्यपालिका (मन्त्रिपरिषद्) ले गरेको निर्णयलाई न्यायपालिका (सर्वोच्च अदालत) ले खारेज गरिदिनु । संविधानले नै जनयुद्धलाई मान्यता नदिएको भन्दै जनयुद्ध र यति ठूलो र महान् बलिदानको घोर अपमान गरिनु ।

सबैलाई राम्रोसँग थाहा छ– नेपालमा दशवर्ष लामो जनयुद्ध नभएको भए– देशमा गणतन्त्र आउने थिएन । जनयुद्धको बल (जग) मा भएको १९ दिने आन्दोलनको साझा उपलब्धि नै गणतन्त्र हो । जनयुद्धको मूल लक्ष्य त देशमा पुरानो राजतन्त्रात्मक संसदीय प्रणालीको समूल अन्त्य गरी देशमा नयाँ जनवादी व्यवस्थामा आधारित सङ्घीय जनगणतन्त्रको स्थापना गर्ने । मूल नेतृत्व (प्रचण्ड–बाबुराम) को गद्दारीका कारण बाटो मोडियो र लोकतान्त्रिक गणतन्त्रको यात्रा तय गरियो । मोडिएको यात्रा (लिकबाहिर गएको जनयुद्धको यात्रा) लाई सही दिशा दिन तत्कालीन माओवादीभित्र भीषण अन्तरसङ्घर्ष तथा दुई लाइन सङ्घर्ष भयो । तत्कालीन पार्टीमा लोकतान्त्रिक गणतन्त्र होइन पार्टीको मूल लाइन – सङ्घीय जनगणतन्त्र हो भन्ने पनि कायम गराइयो तर यसप्रति फेरि पनि प्रचण्ड–बाबुरामले पार्टीलाई धोका दिँदै बुर्जुवा लोकतान्त्रिक गणतन्त्रको लाइन समातेपछि पार्टीमा मोहन वैद्य ‘किरण’ को नेतृत्वमा बहुमत केन्द्रीय समितिले ऐतिहासिक विद्रोह गर्यो । नेकपा–माओवादी गठन गर्यो ।

यो पार्टी दक्षिणपन्थी र वामपन्थी अवसरवादीहरूसँग सङ्घर्ष गर्दै, टुट, फुट, विभाजन हुँदै फेरि विभिन्न ऐतिहासिक एकताको प्रक्रियाबाट अगाडि बढ्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको रूपमा अगाडि बढिरहेको छ । र, यो पार्टीले अहिले पनि जनयुद्धकै मूल लक्ष्य ‘सङ्घीय जनगणतन्त्र’ को राजनीतिक लाइन लिएर अगाडि बढिरहेको छ । यसर्थ, जनयुद्ध दिवस मनाउने नैतिक अधिकार यही पार्टीसँग रहेको छ । तर जनयुद्धको ‘ओरिजिनल’ शक्तिलाई अलगावमा पार्न केवल नाममा ‘माओवादी केन्द्र’ राखेर अहिले पनि आमूल परिवर्तनका पक्षधर जनपंक्ति र कार्यकर्ता पंक्तिलाई प्रचण्डहरूले भ्रमित तुल्याइरहेका छन् । नव प्रतिक्रियावादमा पतन भइसकेका, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका बुख्याँचा साबित भइसकेका उनीहरूले अहिले पनि ‘माओवादी’ र ‘क्रान्तिकारी’ जस्ता शब्दहरूको प्रयोग गरेर अनि मार्क्सवाद–लेनिनवाद–माओवादको खोल ओढेर जनता र कार्यकर्तालाई झुक्याइरहेका छन् । जनता सचेत हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :