भ्रष्टाचारी अरुण चौधरीको रिहाइविरुद्ध सिङ्गो देश आन्दोलित

युवा सङ्गठनका संयोजक भट्ट, अखिल क्रान्तिकारीका संयोजक राईलगायत ३१ जनालाई अविलम्ब रिहा गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको आग्रह

भ्रष्टाचारी अरुण चौधरीको रिहाइविरुद्ध सिङ्गो देश आन्दोलित

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई काठमाडौँ जिल्ला अदालतको थुनामुक्त गर्ने फैसलाका विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेका क्रान्तिकारी युवा सङ्गठन नेपालका केन्द्रीय संयोजक हरिश भट्टलगायत १४ जना युवा र काठमाडौँ जिल्ला अदालतको गेटमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईसहित १७ जना विद्यार्थीसहित ३१ जनालाई अविलम्ब रिहा गर्न आग्रह गरेका छन् ।

पार्टी प्रवक्ता कञ्चनले भ्रष्टाचारीजस्तो जघन्य अपराधीलाई थुनामा राखी कारबाहीको माग गर्ने युवा तथा विद्यार्थीहरूमाथि अन्धाधुन्ध बल प्रयोग गरी प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले गरेको गिरफ्तारीको आफ्नो पार्टीले तीव्र विरोध गरेको पनि वक्तव्यमार्फत जनाएका छन् ।

कञ्चनद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘बाँसबारी जग्गा घोटाला प्रकरणमा गिरफ्तार भएका अरुण चौधरीलाई काठमाडौँ जिल्ला अदालतको थुनामुक्त गर्ने फैसलाका विरुद्ध अदालतको गेटमा शान्तिपूर्ण ढङ्गले विरोध प्रदर्शन गरिरहेका अखिल (क्रान्तिकारी) का १७ जना विद्यार्थीलाई अन्धाधुन्ध बल प्रयोग गरी प्रहरी प्रशासनले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राई, सहसंयोजक वीरेन्द्र शाह, कार्यालय सचिव रूपा बुढामगरलगायत उषाकिरण आजाद, रामबहादुर तिरुवा, गोविन्द बिष्ट, शोभा सेन्चुरी, लक्ष्मी शाह, राजन साउद, लक्ष्मण विक, नरबहादुर कुमाल, लक्ष्मी पाण्डे, हस्त विक, छत्र विक, वजीर सिंह, दिनेश नेपाली, समीर वि.क. हुनुहुन्छ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘त्यसैगरी सोही प्रकरणमा काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका क्रान्तिकारी युवा सङ्गठन नेपालका केन्द्रीय संयोजक हरिश भट्टलगायत १४ जना युवालाई प्रहरी प्रशासनले बल प्रयोग गरी गिरफ्तार गरेको छ । गिरफ्तार हुने अन्य युवाहरूमा अभिनास कुँवर, प्रमोद सिंह, विचारमान तामाङ, लोकेन्द्र राई, प्रकाश शर्मा, विकल्प तामाङ, बिलबहादुर तामाङ, पदम हमाल, सूर्य परियार, आकाश कार्की, अर्जुन ओली, राजु तिमल्सिना र वसन्त वाग्ले हुनुहुन्छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारीजस्तो जघन्य अपराधीलाई थुनामा राखी कारबाहीको माग गर्ने युवा तथा विद्यार्थीहरूमाथि अन्धाधुन्ध बल प्रयोग गरी प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले गरेको गिरफ्तारीको हाम्रो पार्टी तीव्र विरोध गर्दछ र गिरफ्तारीमा पर्नुभएका सम्पूर्ण युवा तथा विद्यार्थीहरूलाई बिनासर्त तत्काल रिहाइको माग गर्दछ ।’

स्मरणीय छ, नेपाली काङ्ग्रेसका सांसदसमेत रहेका विवादास्पद उद्योगपति विनोद चौधरीका भाइ अरुण चौधरी बाँसबारी छालाजुत्ता कारखानाको दसौँ रोपनी जग्गा घोटाला गरेको काण्डमा पक्राउ परे पनि काठमाडौँ जिल्ला अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि सिङ्गो देशको भ्रष्टाचार र घोटालाविरोधी जनमत आन्दोलित छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :