किम इल सुङ र किम जोङ इलको जन्मदिवस मनाउन राष्ट्रिय समिति घोषणा

किम इल सुङ र किम जोङ इलको जन्मदिवस मनाउन राष्ट्रिय समिति घोषणा

काठमाडौँ : जनगणतन्त्र कोरियाका पूर्वराष्ट्रपति र नेताहरू किम इल सुङ र किम जोङ इलको जन्मदिवस मनाउन नेपालमा क्रियाशील कोरियाका मित्र संस्थाहरूको बैठकले राष्ट्रिय समिति घोषणा गरेको छ ।

राष्ट्रिय समितिको संयोजक नेपाल–कोरिया मैत्री सङ्घका अध्यक्ष सीपी मैनाली र सदस्यसचिव सङ्घका महासचिव फणिन्द्रराज पन्त रहेका छन् भने सदस्यहरूमा जुछे विचार अध्ययन महिला समितिकी अध्यक्ष शशी श्रेष्ठ, नेपाल–कोरिया लेखक–पत्रकार मञ्चका अध्यक्ष अशोक सुवेदी, नेपाल–कोरिया मैत्री सङ्घका उपाध्यक्ष मञ्जुरत्न शाक्य, स्टडी फोरम फर सेल्फ रिलायन्सका अध्यक्ष सुवासकाजी श्रेष्ठ, नेपाल कमिटी टु प्रमोट रियुनिफिकेसन्स अफ कोरियाका उपाध्यक्ष विनोद अधिकारी, नेपाल एसोसिएसन फर सपोर्टिङ सङ्गुन पोलिसीका अध्यक्ष माणिक लामा, नेपाल स्टडी सेन्टर फर कोरियाज इन्डिपेन्डेन्ट पोलिसीका अध्यक्ष वसन्त श्रेष्ठ, प्रजातान्त्रिक पार्टीका केन्द्रीय सदस्य चिरागमान कुँवर, नेपाल सोसियालिस्ट जर्नालिस्ट फोरम टु जुछे आइडिायाका उपाध्यक्ष चेतन कुँवर, नेपाल लिटरेरी फोरम टु स्टडी सङ्गुन पोलिसीका अध्यक्ष शङ्कर भारती, पब्लिक इन्फर्मेसन ब्युरो अफ एपीआरसीपीआरकेका सदस्य राजन कार्कीलगायत रहेका छन् ।

राष्ट्रिय उत्सव तयारी समिति गठन गर्न आयोजित भेलामा संयोजक मैनालीले राष्ट्रपति किम इल सुङ र किम जोङ इलको जन्मजयन्ती, सूर्योदय र चम्किलो तारा दिवस मनाउन नेपाल राष्ट्रिय पूर्वतयारी समिति घोषणा गरेका थिए ।

समितिले यी ऐतिहासिक दिवसहरू मनाउन उत्सव समारोह, सेमिनार तथा गोष्ठीहरू आयोजना गर्ने भएको छ । कार्यक्रमहरूमा राष्ट्रपति किम इल सुङ र किम जोङ इलको जीवन र अमर उपलब्धिहरूलाई उजागर गरिने जनाइएको छ ।

फेब्रुअरी १६ मा कोरियाली जनताका चम्किला तारा किम जोङ इलको ८२ औँ जन्मजयन्ती हो भने अप्रिल १५ कोरियाली जनताका साथै विश्वभरका प्रगतिशील र शान्तिप्रेमी जनताका लागि अर्को ऐतिहासिक महत्वपूर्ण दिन हो । किम इल सुङको ११२ औँ जन्मदिवसलाई ‘सूर्य दिवस’ का रूपमा मनाइने भएको हो ।

कोरियाली जनताका नेता राष्ट्रपति किम इल सुङले करिब ७० वर्षसम्म कोरियाली क्रान्तिको नेतृत्व गर्दै स्वतन्त्रताको बाटोमा ठूला सामाजिक–आर्थिक परिवर्तनहरू गरेको र मानवजातिको मुक्ति सङ्घर्षको इतिहासमा एउटा चम्किलो अध्याय खोलिएको भेलापछि सदस्यसचिव पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरियाली क्रान्तिका नेता किम जोङ इल जापानविरोधी युद्धको ज्वालामा हुर्केका र राष्ट्रपति किम इल सुङसँग धेरै वर्षसम्म सहयोद्धाका रूपमा काम गरेको विज्ञप्तिमा उल्लेख छ । क्रान्ति र निर्माणलाई अगाडि बढाउनमा सबैभन्दा विश्वासी सहायक र जनगणतन्त्र कोरियाको गरिमा र सार्वभौमसत्ता सुरक्षित गर्नुका साथै जुछे विचार र सङ्गुन नीतिलाई अगाडि बढाउनमा किम जोङ इलको महत्वपूर्ण भूमिका रहेको थियो ।

कोरियाली जनताले यी दुई अवसरहरूलाई राष्ट्रको सबैभन्दा ठूलो चाडका रूपमा मनाउँछन् भने शान्ति, न्याय, समानता, स्वतन्त्रता, मर्यादा र लोकतन्त्रको वकालत गर्ने विश्वका मानिसहरू पनि यसलाई महान् अवसरका रूपमा मनाउँछन् ।

स्मरणीय छ, नेपालको दलाल पुँजीवादी सरकारले साम्राज्यवादी दबाबमा परेर यस वर्ष जनगणतन्त्र कोरियाको नेपालमा रहेको दूतावास फिर्ता जानबाट रोक्न सकेन । कोरियाली दूतावास फर्किएपछि हुन लागेका यी ऐतिहासिक महोत्सव, भेला र गोष्ठीहरू विगतमा भन्दा अझै अर्थपूर्ण रहेको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :