प्राडा ताराकान्त पाण्डेयको निधन मार्क्सवादी सौन्दर्यशास्त्रका क्षेत्रमा अपूरणीय क्षति : अध्यक्ष किरण

प्राडा ताराकान्त पाण्डेयको निधन मार्क्सवादी सौन्दर्यशास्त्रका क्षेत्रमा अपूरणीय क्षति : अध्यक्ष किरण

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष तथा वरिष्ठ मार्क्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’ ले साहित्य, कला, संस्कृतिका क्षेत्रमा ठूलो विचलन र वैचारिक स्खलन रहेको र यो विचारधारात्मक सङ्घर्ष चलाउने क्षेत्रमा कमरेड ताराकान्त पाण्डेयको निधनले अपूरणीय क्षति पुगेको बताएका छन् ।

मार्क्सवादी समालोचक प्राडा ताराकान्त पाण्डेयको स्मृतिमा काठमाडौँमा आयोजित शोकसभामा पार्टी अध्यक्ष किरणले उक्त कुरा बताएका हुन् ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा यही माघ १३ गते शनिबार सम्पन्न शोकसभामा श्रद्धाञ्जली मन्तव्य राख्ने वक्ताहरुले ताराकान्त पाण्डेय ‘सञ्जय’ को बहुआयामिक व्यक्तित्वमाथि विशेष चर्चा गरे । वक्ताहरूले प्राडा ताराकान्त पाण्डेयको मार्क्सवादी समालोचक, प्राध्यापक, प्रगतिवादी सर्जक तथा सौन्दर्यचिन्तक, कुशल नेता, सङ्गठकलगायत बहुआयामिक व्यक्तित्वमाथि विशेष चर्चा गरेका हुन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष तथा वरिष्ठ मार्क्सवादी सौन्दर्यचिन्तक किरणले प्राडा ताराकान्त पाण्डेयको निधनले पुगेको अपूरणीय क्षति पूरा गर्ने दायित्व असली माक्र्सवादीहरूको रहेको पनि बताए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वरिष्ठ नेता एवम् मार्क्सवादी साहित्यकार सीपी गजुरेल ‘गौरव’ ले विचार, राजनीति, साहित्य र संस्कृतिका क्षेत्रमा देखापरेको विचलन चुनौतीपूर्ण रहेको चर्चा गर्दै त्यो विचलनका विरुद्ध सङ्घर्षको क्षेत्रमा प्राडा पाण्डेयले छोडेर गएको अधुरा कार्य पूरा गर्नु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गरे ।

क्रान्तिकारी म्युनिस्ट पार्टी नेपालका प्रवक्ता एवम् स्रष्टा धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले विचार, राजनीति, मार्क्सवादी कला र साहित्यका क्षेत्रमा प्राडा पाण्डेयले पुर्याएको योगदानको उच्च कदर गर्दै उनले देखाएको बाटोमा निरन्तर हिँड्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

अर्का मार्क्सवादी सौन्दर्यचिन्तक निनु चापागाईंले भने, ‘ताराकान्त पाण्डेय एकजना असल, प्रतिबद्ध, वैचारिक रूपमा सबल, रसरल व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ उत्तरआधुनिकतावादी चिन्तनका विरुद्ध दह्रो रूपमा उभिने व्यक्ति हुनुहुन्थ्यो ।’

प्राडा ताराकान्त पाण्डेयकी जीवनसंगिनी स्रष्टा शिला योगीले उनको व्यक्तित्वका विविध पक्ष उजागर हुने सहकार्यको संस्मरण गरेकी थिइन् ।

प्राडा ताराकान्त पाण्डेयकी छोरी तितिक्षा पाण्डेयले आफूले भोगेका आर्थिक सङ्घर्षका बारेमा बाबाले कहिल्यै पनि अनुभूति हुन नदिएको, स्वतन्त्रतापूर्वक आफ्नो निर्णय लिन र जुनसुकै परिस्थितिलाई पनि सहज रूपमा स्वीकारेर अगाडि बढ्न सिकाएको अनुभूति सुनाइन् ।

प्राध्यापक तक्मा केसीले प्राडा ताराकान्त पाण्डेयको असामयिक निधनले इच्छुक सांस्कृतिक प्रतिष्ठानलगायत सिङ्गो मार्क्सवादी साहित्य र सौन्दर्यचिन्तनका क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइन् ।

प्राडा रमेश भट्टराईले त्रिभुवन विश्वविद्यालयका पाठ्यक्रममा मार्क्सवादी शिक्षा र साहित्य समावेश गर्नमा ताराकान्त पाण्डेयको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै त्रिविलाई ज्ञानको थलो बनाउने विषयमा उनले धेरै ठूलो योगदान पुर्याएको बताए ।

प्राडा हेमनाथ पौडेलले विचारप्रतिको प्रतिबद्धताबाट कहिल्यै पनि बाहिर नजाने व्यक्तित्वका रूपमा प्राडा पाण्डेयको चर्चा गर्दै उनको सरल, सहज, मिलनसार गुण अनुकरणीय रहेको बताए ।

साहित्यकार अमर गिरीले प्राडा ताराकान्त पाण्डेयको प्राध्यापकीय, शोध निर्देशकीय व्यक्तित्वमाथि प्रकाश पार्दै माक्र्सवादी साहित्य तथा सौन्दर्य चिन्तनका विरुद्ध चौतर्फी रूपमा हमला भइरहेको बेला भएको उनको असामयिक निधनले यस क्षेत्रमा गम्भीर र अपूरणीय क्षति पुगेको बताए ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका साहित्यकार आहुतीले भने, ‘कमरेड ताराकान्त पाण्डेयले आफ्नो व्यक्तित्व र ज्ञानलाई कहिल्यै पनि बजारको साधन बनाउनुभएन । उहाँले कहिल्यै, कुनै पनि पदको माग गर्नुभएन । उहाँले यथार्थ आधारभूत मार्क्सवादी सौन्दर्य चिन्तनको विकासमा योगदान पुर्याउनुभयो ।’

शोकसभामा परिवारका तर्फबाट विदुर पुरीका साथै नाटककार खेम थपलियाले पनि श्रद्धाञ्जली मन्तव्य राखेका थिए । गीता त्रिपाठी, गौरी देवकोटा र विमला रानाले कवितामार्फत प्राडा ताराकान्त पाण्डेयप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

अखिल नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष समालोचक प्राडा जगदीशचन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न शोकसभाको सञ्चालन इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्य सचिव मित्रलाल पंज्ञानीले गरेका थिए अखिल नेपाल जनसांस्कृतिक महासङ्घका संयोजक हीरामणि दुःखीले स्वागत मन्तव्य राखेका थिए ।

शोकसभाको आरम्भ प्राडा ताराकान्त पाण्डेयप्रति एक मिनेट मौनधारण र श्रद्धाञ्जली प्रकट गरी भएको थियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीको स्कुल विभागका सदस्यसमेत रहेका प्राडा पाण्डेयको केन्द्रीय स्कुलिङ कार्यक्रम सकेर ७ नं. प्रदेशको धनगढीबाट फर्केर नेपालगन्जबाट पुस २७ गते शुक्रबार रात्रीबसमा काठमाडौँ फर्कंदै गर्दा दाङको भालुबाङमा बस दुर्घटनामा परी निधन भएको थियो । पाण्डेय इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष, जनसांस्कृतिक महासङ्घ र प्राध्यापक सङ्गठनका केन्द्रीय सदस्य पनि थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :