क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय समिति बैठक सुरु

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक काठमाडौँमा सुरु भएको छ । काठमाडौंको घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा मंगलबार (असोज १६) बाट सुरु भएको बैठक २० गतेसम्म चल्ने बताइएको छ । 

बैठकमा पार्टी अध्यक्ष मोहन वैद्य किरणले संगठन, संघर्ष, पार्टीको आगामी महाधिवेशन र तात्कालिक राजनीतिक कार्यनीतिको विषयमा केन्द्रित रहेर एजेण्डासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । बैठकमा अध्यक्ष किरणले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि कार्यालय सदस्य, सचिवालय सदस्य र महाधिवेशन आयोजक समितिका सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ । प्रतिवेदनमाथि नेताहरुले धारणा राखिसकेपछि अध्यक्ष किरणले स्पष्टीकरण दिने र प्रस्तुत एजेण्डामाथि आवश्यक छलफलसहित ठोस निर्णय गरी बैठक सम्पन्न हुने सम्बद्ध पार्टी कार्यालयले जानकारी दिएको छ ।

राजनीतिक प्रतिवेदनले पार्टी एकतालाई माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा सुदृढ तुल्याउँदै राष्ट्रिय एकता अधिवेशनको तयारीमा जुट्नुपर्ने आवश्यकतामाथि जोड दिएको छ । प्रतिवेदनमा राष्ट्रिय एकता महाधिवेशन २०८१ सालको जेठ महिनाभित्र गर्ने प्रस्ताव गरिएको छ । प्रतिवेदनमा अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिको ठोस विश्लेषण गर्दै तात्कालिक राजनीतिक कार्यनीतिक श्रृङ्खलाको विकासमा पनि जोड दिइएको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी धारको नेतृत्व गर्दै आएको यो पार्टीले नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने लक्ष्य उद्देश्य राखेको छ । र, आफ्नो सापेक्षतामा क्रान्तिको तयारीमा जुटिरहेको छ । छरिएर रहेका कम्युनिस्ट क्रान्तिकारीहरु, अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरुले मात्र होइन देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले समेत क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको यो एकता महाधिवेशन तयारी बैठक र यसले गर्ने निर्णयलाई नजिकबाट हेरिरहेका छन् ।

नेपाली कम्युनिस्ट आन्दोलनको यो क्रान्तिकारी धारलाई कमजोर वा समाप्त पार्न पुराना र नव प्रतिक्रियावादी शक्ति, संशोधनवादी, नवसंशोधनवादी र दक्षिणपन्थी/वामपन्थी अवसरवादी शक्ति/व्यक्तिहरु मरिहत्ते गरेर लागिपरिरहेका छन् । र, घेराबन्दी गरिरहेका छन् । पार्टी र क्रान्तिका विरुद्ध भए गरिएका ती सबै घेराबन्दी र षड्यन्त्रलाई चिर्दै र निस्तेज पार्दै अघि बढ्ने कार्ययोजना र कार्यक्रमसहित बैठक सम्पन्न हुने विश्वास र अपेक्षा आम नेपाली श्रमजीवि शोषित उत्पीडित वर्ग र समुदायले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :