स्रष्टा चन्द्रा थानीको तेस्रो स्मृति दिवसमा कविगोष्ठी

स्रष्टा चन्द्रा थानीको तेस्रो स्मृति दिवसमा कविगोष्ठी

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले माक्र्सवादी स्रष्टाहरूले श्रमिक जनता, वर्गसङ्घर्ष, देश र क्रान्तिका विषयलाई सरल, सरस शैली र लयमा सिर्जनामा उतार्नुपर्ने बताएका छन् ।

प्रगतिशील कवि, लेखक, राजनीतिकर्मी तथा संस्कृतिकर्मी चन्द्रा थानीको तेस्रो स्मृति दिवसका अवसरमा चन्द्रा थानी स्मृति प्रतिष्ठान र अखिल नेपाल लेखक सङ्घले इच्छुक सांस्कृतिक प्रतिष्ठानमा बिहीबार आयोजना गरेको विचारगोष्ठी एवम् कविता वाचन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै पार्टी प्रवक्ता कञ्चनले माक्र्सवादी कविहरूद्वारा कार्यक्रममा प्रस्तुत कविताले समयको सम्बोधन गर्ने क्षमता बोकेको पनि प्रस्ट पारे ।

प्रवक्ता कञ्चनले भने, ‘चन्द्रा सच्चा हृदयबाट आन्दोलित व्यक्तित्व हुनुहुन्थ्यो । सङ्घर्षका बीचबाट आएको योद्धा भएकाले उहाँले इमानदारीपूर्ण आफ्नो जीवन सङ्घर्षमा व्यतित गर्नुभएको थियो ।’ कञ्चनले माक्र्सवादी स्रष्टाहरूले चन्द्राका सिर्जनाबाट सरलता सिक्नुपर्ने पनि बताए । ‘हाम्रा जराहरू माटोमुनि चट्टान छेड्दै तलतलसम्म पुग्नुपर्छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको विचार, सिद्धान्त, राजनीति र कार्यक्रम तलसम्म पुग्ने, दलाल संसद्वादको अन्त्य गर्ने र वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्यमा केन्द्रित छ’, प्रवक्ता कञ्चनले भने ।

कार्यक्रममा विशिष्ट अतिथि इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा. ताराकान्त पाण्डेयले नेपालको सामाजिक रूपान्तरणको महाअभियानमा चन्द्राले बाँचुन्जेल सक्रियतापूर्वक, निःस्वार्थ र उदात्त ढङ्गले आफूलाई उभ्याएको बताए । क्रान्तिका ठूल्ठूला कुरा लेख्ने तर विद्यमान सत्ताकै प्राप्ति र रक्षाका लागि दौडधूप गरिरहेका विद्रूपताहरूका बीचमा चन्द्राको इमानदारी, त्याग र निष्ठा लोभलाग्दो रहेको प्रस्ट पार्दै प्राडा पाण्डेयले बजारले स्रष्टाहरूलाई पनि गाँजिरहेको अवस्थामा सतिसाल मात्र जस्तोसुकै आँधीहुरीलाई थेगेर ठिङ्ग उभिन सकेझैँ चन्द्राले आफूलाई क्रान्तिपथमा निर्भीकतापूर्वक अघि बढाएको सन्दर्भ उल्लेख गरे ।

चन्द्राका कविताका प्रवृत्तिहरूको चर्चा गर्दै डा. पाण्डेयले लोकलय, नारीचेतना र छन्दमा श्रमिक वर्ग र देशका कविता लेखेर स्थापित बनेकी चन्द्रा सरलताकी उदाहरणीय व्यक्तित्व रहेको प्रस्ट पारे ।

चन्द्रा थानी स्मृति प्रतिष्ठानका अध्यक्ष रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सचिवालय सदस्य चक्रपाणि शर्माले चन्द्राले विद्यार्थी, महिला, सांस्कृतिक र राजनीतिक आन्दोलनका माध्यमबाट इमानदारीसाथ आफ्नो भूमिका निर्वाह गरेको र आफूलाई पनि क्रान्तिकारी राजनीतिमा निरन्तर लागेर त्याग गर्न सिकाएको बताए ।

स्रष्टा चन्द्राका जीवनसाथीसमेत रहेका शर्माले चन्द्राले कहिल्यै पद, प्रतिष्ठा, सुख, सुविधाको लोभ नगरेको र जनताका पक्षमा कलम चलाएकाले आफूलाई प्रतिष्ठान निर्माण गरेर उनका सिर्जनालाई चिरस्थायी राख्न प्रेरित गरेको पनि बताए ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्यसचिव मित्रलाल पंज्ञानीले अतिथि र स्रष्टालाई शब्द र कविताका माध्यमबाट स्वागत अभिवादन गर्दै चन्द्रामा रहेको सिर्जनक्षमता, व्यवहारकुशलता, सदैव विद्रोह र रूपान्तरणकारी धारालाई साथ दिने प्रवृत्ति अनुकरणीय रहेको बताए ।

प्रचण्डहरूको वैचारिक पलायनका विरुद्ध आफूले सांस्कृतिक मोर्चामा रहेर संशोधनवादविरुद्ध गरेको विद्रोहमा चन्द्रा थानीले काँध थापेर साथ दिएको स्मरण गर्दै कवि अशोक सुवेदीले हिजो क्रान्तिकारी विचारमा लागेको आरोप लगाएर कारबाही गर्ने र संशोधनवादको सती जान खोज्ने पात्र र प्रवृत्तिहरू आज महमा अरिङ्गाल भन्किएझैँ क्रान्तिकारी आन्दोलनवरिपरि भन्किनु आन्दोलनका लागि हानिकारक रहेको बताए । उनले हरेक माक्र्सवादी स्रष्टामा चन्द्रमा जस्तै वैचारिक निष्ठा, व्यावहारिक कुशलता र दृढता न्यूनतम गुण हुनुपर्ने बताए ।

जनकलाकार ढुण्डीराज अधिकारीले चन्द्रा थानीको स्मृति र सम्मानमा उनका सांस्कृतिक सहकर्मी अशोकले लेखेको गीतमा सङ्गीत भरेर गाएका थिए ।

कार्यक्रममा चन्द्रा थानीको सम्मान र सम्झनामा कविहरू प्रा.डा. जगदीशचन्द्र भण्डारी, नन्दीश अधिकारी (कुमार दिङ्लाली), अग्निराज पौडेल ‘अराप’, बसन्त बोगटी, प्रभात सापकोटा, शोभा दुलाल, छायादत्त न्यौपाने, बलराम तिमल्सिना, दीक्षा पाण्डे, आस्था घिमिरे, पञ्चकुमारी परियार, विष्णु न्यौपाने, इन्दिरा अधिकारी, प्रनिशा बोगटी, मञ्जिल बोगटी, पुन्य आचार्य, सुनीता बुढाथोकीलगायतले क्रान्तिकारी कविता प्रस्तुत गरेका थिए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कृष्ण धमलालगायत नेता र स्रष्टाको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा चन्द्रको स्मृतिमा गाइएको गीतका शब्द यसप्रकार रहेका छन् :

तिमीबिना तिम्रो निवास शून्य–शून्य लाग्छ
तिमीबिना तिम्रो निवास शून्य–शून्य लाग्छ
आइद्यौ न कमरेड तिमी यो नियास्रो भाग्छ !

नम्र बोली, मीठो मिजास, शान्त–शान्त तिमी
यी आँखाकी रातीगेडी, पत्यारिली तिमी !

अवसरवादी, ब्वाँसाहरू लुक्दै लुछ्न आउँथे
तिम्रो सरल व्यवहारले पानी–पानी हुन्थे !

विचार र आस्थाकी त्यो सतिसाल तिमी
वर्गप्रति प्रतिबद्ध, निष्ठावान तिमी !

दृढता र सङ्कल्पकी प्रतिमूर्ति चन्द्रा
कहिले आउँछ्यौ फर्की तिमी भनिदेऊ न चन्द्रा !
साथीभाइ सोधिराख्छन्, जनताको छ माया
नौनीजस्तै स्वभाव तिम्रो, अटल तिम्रो ‘काया’ !

निर्भीक र साहसकी प्रतिमूर्ति तिमी
तिम्रै अटल सुमार्गमा अविचल छौँ हामी !

विश्वास गर्न सहज छैन छैनौ तिमी भन्ने
क्रान्ति–सन्देश दिइराख धैर्य राख्छौँ सुन्ने !

तिम्रो निवास सुनसान छ, छैनौ तिमी कतै
क्रान्ति–गीत गुनगुनाउँदै आइराख यतै !

कोठाभरि तिम्रा तस्बिर, चारैतिर आभा
फर्किआऊ चन्द्रा तिमी, ओकलिदेऊ लाभा !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :