पहिचान पक्षधरले एक नम्बर प्रदेशमा जारी राखेको आन्दोलनप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीको ऐक्यबद्धता

पहिचान पक्षधरले एक नम्बर प्रदेशमा जारी राखेको आन्दोलनप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीको ऐक्यबद्धता

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्रदेश नं. १ को प्रदेशसभाले राखेको ‘कोसी’ नामकरणको विरोधमा त्यहाँका पहिचानप्रेमी जनताले लामो समयदेखि सञ्चालन गरेको सङ्घर्षको समर्थन गर्दै राज्यको दमनकारी नीतिको विरोध गरेको छ ।

पार्टी प्रवक्ता कञ्चनले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै पहिचानका निम्ति सङ्घर्ष गर्ने क्रममा आन्दोलनकारी जनतामाथि सरकारले गरेको प्रहरी बल प्रयोगबाट एक व्यक्तिको सहादत भएको र धेरैले कुटाइ खाई घाइतेसमेत भएको अवस्थामा पार्टीले प्रदेश नं. १ का जनताले गरेको उक्त सङ्घर्षलाई न्यायोचित ठानेको र समर्थनसमेत गरेको बताएका छन् । उनले प्रहरी ज्यादतीको घोर भत्र्सना पनि गरेका छन् ।

प्रवक्ता कञ्चनको वक्तव्यमा कथित लोकतान्त्रिक गणतन्त्रअन्तर्गत यो समस्याको हल नहुने कुरा व्यवहारतः पुष्टि भएको उल्लेख छ । वक्तव्यमा यो समस्याको हल गर्न उत्पीडित जातिको आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृतिसहित जातीय, क्षेत्रीय स्वायत्तता तथा उत्पीडित जातीय पहिचानसहितको सङ्घीय जनगणतन्त्रका पक्षमा सङ्घर्षलाई अघि बढाउन आफ्नो पार्टी दृढ रहेको र न्याय तथा पहिचान पक्षधर सम्पूर्ण जनतालाई सङ्घर्ष जारी राख्न आह्वान गरिएको छ ।

प्रेस वक्तव्यको पूर्ण पाठ यसप्रकार रहेको छ :

हाम्रो पार्टीले नेपालको संविधान (२०७२ साल) ले देशभित्र जुन सङ्घीय संरचना निर्माण गरेको छ, प्रदेशहरूको सीमाङ्कन गरेको छ र सरकारले तिनको जसरी नामाङ्कन गरेकोछ, त्यसबाट नेपालको वर्गीय तथा उत्पीडित जातिको पहिचानको समस्या हल हुन सक्तैन भनेर त्यसको निरन्तर विरोध गर्दै आएको जगजाहेर छ । यो समस्या हल गर्नका लागि उत्पीडित जातिको आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृतिसहित जातीय, क्षेत्रीय स्वयत्तता तथा उत्पीडित जातीय पहिचानसहितको सङ्घीय जनगणतन्त्र अनिवार्य छ । यसै सैद्धान्तिक मान्यताका आधारमा प्रदेश नं. १ को सीमाङ्कन र नामकरणले त्यहाँको जातीय उत्पीडन र उत्पीडित जातिको पहिचानको समस्या हल हुन नसक्ने प्रस्ट नै छ ।

प्रदेश नं. १ को प्रदेशसभाले राखेको ‘कोसी’ नामकरणको विरोधमा त्यहाँका पहिचानप्रेमी जनताले लामै समयदेखि सङ्घर्ष गर्दै आएका छन् । पहिचानका निम्ति सङ्घर्ष गर्ने क्रममा आन्दोलनकारी जनतामाथि सरकारले गरेको प्रहरी बल प्रयोगबाट एक व्यक्तिको सहादत भएको छ भने धेरैले कुटाइ खाएका छन् र घाइतेसमेत भएका छन् । हाम्रो पार्टी प्रदेश नं. १ का जनताले गरेको उक्त सङ्घर्षलाई न्यायोचित ठान्दछ, समर्थनसमेत गर्दछ र प्रहरी ज्यादतीको घोर भत्र्सना गर्दछ । कथित लोकतान्त्रिक गणतन्त्रअन्तर्गत यो समस्याको हल नहुने कुरा व्यवहारतः पुष्टि भएको छ । तसर्थ यो समस्याको हल गर्न उत्पीडित जातिको आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृतिसहित जातीय, क्षेत्रीय स्वायत्तता तथा उत्पीडित जातीय पहिचानसहितको सङ्घीय जनगणतन्त्रका पक्षमा सङ्घर्षलाई अघि बढाउन हाम्रो पार्टी दृढ छ र न्याय तथा पहिचान पक्षधर सम्पूर्ण जनतालाई आह्वान गर्दछ ।

बहुजातीय, बहुभाषी तथा विविध धर्म–संस्कृतिका अनुयायी जनताको बसोबास हुनु नेपालको विशेषता र सुन्दरता हो । हाम्रो पार्टी यो देशका सबै जाति, भाषा, धर्म–संस्कृतिले सहअस्तित्व, समानता र सम्मानजनक हैसियत पाउनु पर्दछ भन्ने मान्यता राख्दछ । धर्मनिरपेक्ष राज्यको मूल मर्म र भावनालाई दृढतापूर्वक पालना गर्ने सरकारको नीति र कानुन हुँदा मात्र यी कुरा सम्भव हुनेछ । तर नेपालको विद्यमान संविधानले ‘धर्मनिरपेक्ष’ लाई ‘प्रस्टीकरण’ दिएर ‘सनातनदेखि चलिआएको धर्मसंस्कृतिको संरक्षण’ का नाममा घुमाउरो पाराले हिन्दुराज्यको रक्षा गरेको छ र त्यसका लागि नेपाल सरकारले आजसम्म पनि पञ्चायती हिन्दु अधिराज्यको ऐन–कानुनलाई नै लागू गरेको स्थिति छ । राज्यले गरेको यसप्रकारको गलत नीति पक्रेर हिन्दु अतिवादीहरूले धार्मिक हिंसा, जातीय दङ्गा र छुवाछूतका नाममा अमानवीय कार्य गर्दै आएका छन् । यस्ता गतिविधिलाई विदेशी अतिवादी घुसपैठले ठूलो मद्दत पु¥याएको समाचार सार्वजनिक हुँदै आएको छ । यसैको परिणाम हो– हालै धरानमा गोरु काटेको बहानामा हिन्दु अतिवादीहरूले आदिवासी जनजातिका विरुद्ध हतियार प्रदर्शन गर्नु । राज्यले यसप्रकारको धार्मिक–साम्प्रदायिक हर्कतलाई समयमै नियन्त्रण गर्न नसके परिणाम भयावह हुने निश्चित छ । हाम्रो पार्टी यसप्रकारको अतिवादी गतिविधिलाई कडाइपूर्वक नियन्त्रण गरोस् भन्ने माग गर्दछ ।

सरकारलाई धर्मनिरपेक्ष राज्य कायम गराउनका लागि आजसम्म लागू हुँदै आएको पञ्चायती हिन्दु अधिराज्यका ऐन–कानुनलाई अविलम्ब खारेज गराउन र राज्यले सबै धर्मप्रति समान र समभावको व्यवहार गरिने ऐन–कानुन निर्माण गरी लागू गराउन न्यायप्रेमी नेपाली जनतासँग हाम्रो पार्टी जोडदार आह्वान गर्दछ ।

केही समययता मगर, तामाङलगायत सम्पूर्ण आदिवासी जनजातिहरू र मुस्लिम समुदाय सङ्घर्षमा उत्रिएका छन् । त्यसको कारण के थियो भने एकजना वकिल भगवती पाण्डे ‘शीतल’ ले प्राइमटाइम टीभीमा अन्तर्वार्ता दिने क्रममा ‘तामाङ, मगर र मुस्लिम समाजमा दाजु–बहिनी विवाह गर्दछन् र तिनबाट जन्मिने सन्तानहरू अपराधी मनस्थितिका हुन्छन्’ भनेकी थिइन् । ती वकिल भगवती पाण्डे ‘शीतल’ लाई कानुनी कारबाहीको माग राखेर सङ्घर्षमा उत्रिएका आदिवासी जनजातिहरूमाथि प्रहरीले लाठीचार्ज गरेको, पक्राउ गरेको र प्रहरी हिरासतमा पनि आन्दोलनकारी महिलाहरूमाथि अमानवीय ढङ्गले कुटपिट गरेको थियो तर पनि सङ्घर्ष जारी नै रहेको अवस्था छ ।

नेपालमा विविध धर्म–संस्कृति र परम्पराका अनुयायी जनता रहेका छन् । सबैले सबैको धर्म–संस्कृति र परम्पराहरूको सहअस्तित्वलाई स्वीकार्नु पर्दछ र सम्मान गर्नु पर्दछ । साथै कसैमा कुनै कमीकमजोरी देखिए सकारात्मक आलोचना गर्न वा सुझाव दिन सकिन्छ तर ती समाजमा हुँदै नभएको परम्परालाई अनावश्यक र अमर्यादित ढङ्गले उछालेर सामाजिक सद्भावलाई भड्काउने अभिव्यक्ति दिने भगवती पाण्डेलाई कारबाही नगरी न्याय माग्ने आदिवासी जनजातिहरूलाई कुटपिट गर्नु, थुनछेक गर्नु सामान्य मानवअधिकारको सिद्धान्तका विरुद्ध हो । हाम्रो पार्टी प्रहरी प्रशासनबाट गरिएको त्यसप्रकारको हर्कतको घोर भत्र्सना गर्दछ । साथै समाजको सहअस्तित्व र सद्भावलाई खलल पार्ने गरी अभिव्यक्ति दिने भगवती पाण्डेलाई कडा कारबाही गरियोस् भन्ने माग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :