अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको एकता भेला सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको एकता भेला सम्पन्न

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको एकता भेला सम्पन्न भएको छ । भेलाले दिनेश शर्माको संयोजकत्वमा ९५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । महासङ्घको सहसंयोजकमा विनोद थापा, वसन्त बोगटी र ईश्वर तिमिल्सेना रहेका छन् । भेलापछि बसेको बैठकले ३० सदस्यीय सचिवालय र ५ सदस्यीय कार्यालय गठन गरेको छ ।

भेलामा सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले वर्तमान राज्यसत्ता पतनको दिशामा पुगेकाले यति बेला एउटा शक्ति आवश्यक भएको बताए । नवउदारवादलाई आधार बनाएर नेपालमा विकासको कुरा भइरहेको भन्दै नेपालमा क्रान्ति आवश्यक भएको र क्रान्तिकारीहरूबीचको एकता भनेको क्रान्तिको तयारी भएको बताए ।

भेलामा पार्टी सल्लाहकार समितिका अध्यक्ष असारे काकाले पार्टी एकताले क्रान्तिकारीहरूलाई उत्साह प्रदान गरेको भन्दै एकले अर्कोलाई निषेध होइन, सहयोग गर्दै अघि बढ्नुपर्ने आवश्यकता भएको बताए । यस्तै पार्टी केन्द्रीय कार्यालय सदस्य एवम् ३ नं. प्रदेश इन्चार्ज सुदर्शनले जनसङ्घर्ष, जनप्रतिरोध र सशस्त्र सङ्घर्षको बाटोबाट अघि बढेर नेपालमा समाजवाद स्थापना सम्भव हुने विश्वास व्यक्त गरे । क्रान्तिकारीहरूबीच एकताको प्रक्रिया सुरु भएको भन्दै सुदर्शनले मजदुर सङ्गठन शानदार तरिकाले अघि बढेको र यसले व्यापक रूपमा सङ्गठन निर्माण गर्दै अघि बढ्ने बताए ।

यस्तै सङ्गठनका संयोजक दिनेश शर्माले क्रान्तिकारीहरू गोलबन्द हुँदै गर्दा विश्वसाम्राज्यवाद र त्यसको जुठोपुरो खानेहरूले मजदुर आन्दोलनमा भ्रम उत्पन्न गर्न खोजेको बताए । उनले समस्याको समाधान गर्न क्रान्तिकारीहरू आफ्नो टाउकोमा आफैँले आगो लगाउन तयार हुनुपर्ने बताए । सहसंयोजक विनोद थापाले क्रान्तिकारीहरू हार्न नजान्ने बरु मृत्यु स्वीकार गर्ने भन्दै मजदुर सङ्गठनले देशव्यापी रूपमा सङ्गठन निर्माण गर्दै अघि बढ्नुपर्ने बताए । एकता आफैँमा कठिन कुरा भएको भन्दै थापाले क्रान्तिकारीहरूबीच विचार र दृष्टिकोण मिलेकाले एकता सम्भव भएको बताए ।

हालै काठमाडौँमा सम्पन्न भेलामा विनोद थापाले विधान र ईश्वर तिमिल्सेनाले प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलाको सञ्चालन वसन्त बोगटीले गरेका थिए भने स्वागत भाषण राजन तिमिल्सेनाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :