अखिल (क्रान्तिकारी) सर्लाहीको अध्यक्षमा श्याम सहनी

अखिल (क्रान्तिकारी) सर्लाहीको अध्यक्षमा श्याम सहनी

सर्लाही : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) सर्लाहीको प्रथम भेला सम्पन्न भएको छ । शुक्रबार अजयकुमार रामको अध्यक्ष्यतामा सर्लाहीको बरहथवामा सम्पन्न भेलाले श्याम सहनीको अध्यक्ष्यतामा १९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो । उक्त भेलाबाट समितिको उपाध्यक्षमा अजयकुमार राम र सचिवमा राहुल मण्डल निर्वाचित भएका छन् ।

भेलामा बोल्दै प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सर्लाही जिल्ला सल्लाहकार भोलाले निर्वाचित टिमलाई बधाई दिँदै सर्लाहीको विद्यार्थी आन्दोलनलाई उचाइमा पुर्याउन शुभ–कामना दिए ।

अखिल (क्रान्तिकारी) मधेस प्रदेश संयोजक पारस राहादी मगरले सङ्गठनको एकता, कार्यक्रमबारे प्रकाश पारेका थिए । “अबको निर्णायक विद्यार्थी आन्दोलनले मात्रै शिक्षा क्षेत्रमा रुपान्तरण सम्भव छ । त्यसको लागि स्पष्ट राजनीतिक कार्यक्रम तय गरेका छौँ । त्यसको लागि सङ्गठनलाई सुदृढ र मजबुत बनाउनु अनिवार्य भएको छ । निर्वाचित सबैलाई बधाई तथा शुभ–कामना व्यक्त गर्दछु ।” संयोजक राहादीले भने ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सर्लाही जिल्ला सह–संयोजक बिहानीले निर्वाचित टिमलाई बधाई दिँदै विद्यार्थीको अभिभावकत्व पार्टीले लिनेमा विश्वस्त हुन आग्रह गरे । विद्यार्थी पार्टीको महत्वपूर्ण अग्रमोर्चा रहेको बताउँदै उनले यसलाई थप सुदृढ गर्ने बताए । यस्तै अर्का सह–संयोजक ठगाहाले सहिद कुमार पौडेलको सपना पूरा गर्ने अग्रदस्ताको रुपमा क्रियाशील हुन आग्रह गर्दै निर्वाचित टिमलाई बधाई दिए ।

नवनिर्वाचित अध्यक्ष श्याम सहनीले आफूले प्राप्त गरेको जिम्मेवारी पूरा गर्न कुनै सर्त नराख्ने बताउँदै आम विद्यार्थीको मुद्दा दृढतापुर्वक उठान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :