लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको नक्सामा समेट्न चीनलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको आग्रह

राष्ट्रसङ्घसहित सम्बन्धित सबै देशलाई नेपालको नयाँ नक्सासम्बन्धी निर्णयको जानकारी दिई त्यसको कार्यान्वयन गराउन सरकारसँग जोडदार माग

लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको नक्सामा समेट्न चीनलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको आग्रह

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भदौ ११ गते चीन सरकारले प्रकाशित गरेको राजनीतिक नक्सामा नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालमा नसमेटिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी प्रवक्ता कञ्चनले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै चीन सरकारलाई उक्त नक्सा सच्याई नेपालको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मान गर्न हार्दिक अनुरोध गरेका छन् ।

प्रवक्ता कञ्चनले तत्कालीन केपी ओली सरकारले वास्तविक नक्सा जारी गरेको देखाएर नेपाली जनताका सामु देशभक्त भएको बहाना गर्ने र त्यसको आधिकारिक जानकारी नदिएर भारतीय शासक वर्गलाई नचिढ्याउने घोर राष्ट्रघाती र जनतालाई गुमराहमा पार्ने काम गरेको भन्दै उक्त घटनाको तीव्र विरोध गरेका छन् र कूटनीतिक माध्यममार्फत राष्ट्रसङ्घसहित सम्बन्धित सबै देशहरूलाई नयाँ नक्सासम्बन्धी निर्णयको जानकारी दिन र त्यसको कार्यान्वयन गराउन वर्तमान सरकारसँग जोडदार माग पनि गरेका छन् ।

प्रेस वक्तव्यको पूर्ण पाठ यसप्रकार रहेको छ :

हाम्रो पार्टी जनगणतन्त्र चीन सरकारलाई के स्मरण गराउन चाहन्छ भने सन् १९६२ मा भएको चीन–भारत युद्धको बेलादेखि भारत सरकारले केही समयका लागि उपयोग गर्ने सर्तमा नेपाल, भारत र चीनको त्रिदेशीय सिमानाको नजिक नेपालकोे कालापानीमा सैन्य अखडा खडा गरेको थियो । भारत सरकारले बर्सौंसम्म पनि कालापानीबाट सेना नहटाएको र पूरै लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा पक्की सडकलगायत स्थायी संरचना बनाएर नेपाली भूमि अतिक्रमण गरेको स्थितिमा २०७७ जेठ ५ गते नेपाली संसद्बाट पारित गराई नेपाल सरकारले जेठ ७ गते उक्त क्षेत्र समेटिएको नेपालको वास्तविक राजनीतिक नक्सा जारी गरेको थियो । परन्तु यही भदौ ११ गते चीन सरकारले प्रकाशित गरेको राजनीतिक नक्सामा नेपालको उक्त भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालमा नसमेटिएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यो स्थितिमा हाम्रो पार्टी चीन सरकारलाई उक्त नक्सा सच्याई नेपालको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मान गर्न हार्दिक अनुरोध गर्दछ ।

यस सम्बन्धमा उक्त राजनीतिक नक्सा जारी गरिसकेपछि संयुक्त राष्ट्रसङ्घलगायत सम्बन्धित देशहरूमा कूटनीतिक माध्यमबाट नेपाल सरकारले त्यसको जानकारी नदिएको हुनसक्ने भनी केही नेपाली सञ्चार माध्यमहरूले आशङ्का व्यक्त गरेका छन् । यो कुरा सही हो भने वास्तविक नक्सा जारी गरेको देखाएर नेपाली जनताका सामु देशभक्त भएको बहाना गर्ने र त्यसको आधिकारिक जानकारी नदिएर भारतीय शासक वर्गलाई नचिढ्याउने तत्कालीन ओली सरकारको घोर राष्ट्रघाती र जनतालाई गुमराहमा पार्ने काम हो । हाम्रो पार्टी यसको तीव्र विरोध गर्दछ र कूटनीतिक माध्यममार्फत राष्ट्रसङ्घसहित सम्बन्धित सबै देशहरूलाई नयाँ नक्सासम्बन्धी निर्णयको जानकारी दिन र त्यसको कार्यान्वयन गराउन वर्तमान नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :