एमसीसी जहाँ आउँछ, त्यहीँ नष्ट गरिदिनुपर्छ : कञ्चन

एमसीसी जहाँ आउँछ, त्यहीँ नष्ट गरिदिनुपर्छ : कञ्चन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अमेरिकी साम्राज्यवादले नेपालमा लागू गर्न लागेको एमसीसी परियोजना कुनै पनि हालतमा लागू हुन नदिने उद्घोष गर्नुका साथै जनताको साथ लिएर देशभरका एमसीसी कार्यालयमा आगो लगाइदिने चेतावनी दिएको छ ।

पार्टी केन्द्रीय कार्यालयद्वारा बुधबार काठमाडौँ शान्तिवाटिकामा आयोजित एमसीसीविरोधी सभामा सम्बोधन गर्दै पार्टी कार्यालय सदस्य एवम् प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले एमसीसी कार्यान्वयन हुन दिनु नहुने, त्यसलाई खारेज गर्नुपर्ने र एमसीसीका देशभरका कार्यालयहरूमा जनताको साथ लिएर आगो लगाइदिनुपर्ने बताए ।

चीनविरुद्ध नेपालको भूमि दुरुपयोग गर्ने योजनामुताबिक एमसीसी लाद्न लागिएको भन्दै प्रवक्ता कञ्चनले नेपालमा जबर्जस्ती अमेरिकी सैन्य क्याम्प खडा गर्ने षड्यन्त्र ध्वस्त पारेर नेपालको राष्ट्रियता रक्षा गर्नुपर्ने भनाइ राखे । संसारभर अमेरिकाले एमसीसी लागू गरेको ठाउँमा युद्ध, अस्थिरता, बलात्कार, हत्या र अशान्ति मच्चिएको उदाहरण प्रस्तुत गर्दै प्रवक्ता कञ्चनले एमसीसी कार्यालयहरूमा आगो लगाएर मात्र नहुने, एमसीसी लागू गर्ने दलालहरूलाई पनि देशबाट लखेट्नुपर्ने धारणा राखे ।

अमेरिकी साम्राज्यवादी सेना नेपाल भित्र्याउने योजनाअनुसार नेपाली सेना विघटन गर्ने प्रस्ताव आइरहेको भन्दै प्रवक्ता कञ्चनले नेपाललाई युक्रेन हुनबाट बचाउन पनि एमसीसी खारेज गर्नैपर्ने धारणा राखे ।

कार्यक्रमको सञ्चालन पार्टी तीन नं. प्रदेश सहसंयोजक सुरेश श्रेष्ठले गरेका थिए ।

विरोधसभा हुनुअघि पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तकहरूसहितको विशाल र्यालीले एमसीसीविरुद्ध नारा लगाउँदै शान्तिवाटिका, भोटाहिटी, असन, जमल, घन्टाघर हुँदै रत्नपार्क परिक्रमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :