नेपालबाट अमेरिकी साम्राज्यवादलाई लखेट्नुपर्छ : गौरव

नेपालबाट अमेरिकी साम्राज्यवादलाई लखेट्नुपर्छ : गौरव

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अमेरिकी साम्राज्यवादले नेपालमा लागू गर्न लागेको एमसीसी परियोजना कुनै पनि हालतमा लागू हुन नदिने उद्घोष गर्नुका साथै जनताको साथ लिएर देशभरका एमसीसी कार्यालयमा आगो लगाइदिने चेतावनी दिएको छ ।

पार्टी केन्द्रीय कार्यालयद्वारा बुधबार काठमाडौँ शान्तिवाटिकामा आयोजित एमसीसीविरोधी सभामा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालय सदस्य सीपी गजुरेल ‘गौरव’ ले भने, ‘नेपालमा कुनै पनि हालतमा एमसीसी परियोजना लागू हुन दिनु हुँदैन । भदौ १४ गतेबाट लागू गर्ने भनिएको एमसीसी परियोजना जहाँजहाँ कार्यान्वयन गर्न खोजिन्छ, त्यहीँ प्रतिरोध गर्नेछौँ ।’

पार्टी नेता गौरवले श्रीलङ्कालगायत मुलुकले एमसीसी फिर्ता गरिदिएको उदाहरण प्रस्तुत गर्दै नेपाली जनताले पनि सरकारलाई एमसीसी लागू हुन नदिन निरन्तर सङ्घर्ष जारी राख्नुपर्ने धारणा राखे । ‘एमसीसी गो ब्याक, याङ्की इम्पेरियालिज्म गो ब्याक’, नेता गौरवले भने, ‘नेपाली जनताले एमसीसी लागू गर्न दिँदैनन् भन्ने सन्देश दिनुपर्छ र नेपाललाई युद्धभूमि हुनबाट रोक्नुपर्छ ।’

नेता गौरवले अमेरिकाले एमसीसी लागू गर्ने बहानामा ल्याएका सामान नेपालीले हेर्न पनि नपाउने रहस्य उद्घाटन गर्दै खम्पा विद्रोहका नाममा चीनविरोधी उपद्रव मच्चाएझैँ अमेरिकी साम्राज्यवादले चीनलाई घेर्न नेपालमा हातहतियार भित्र्याइरहेको सूचना आएको र त्यसलाई निस्तेज पारेर उसको षड्यन्त्र असफल पार्न देशभक्त, क्रान्तिकारी जनता आन्दोलित बन्नुपर्ने धारणा पनि राखे ।

कार्यक्रमको सञ्चालन पार्टी तीन नं. प्रदेश सह-संयोजक सुरेश श्रेष्ठले गरेका थिए । विरोधसभा हुनुअघि पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तकहरूसहितको विशाल र्यालीले एमसीसीविरुद्ध नारा लगाउँदै शान्तिवाटिका, भोटाहिटी, असन, जमल, घन्टाघर हुँदै रत्नपार्क परिक्रमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :