राष्ट्रघाती एमसीसी परियोजनालाई कार्यान्वयन हुन दिदैनौँ : गौरव

‘एमसीसी परियोजना नेपालको हितमा छैन, क्रान्तिकारी कम्युनिस्ट पार्टीले कार्यान्वयन हुन दिदैन”

राष्ट्रघाती एमसीसी परियोजनालाई कार्यान्वयन हुन दिदैनौँ : गौरव

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एमसीसी विरुद्धको आन्दोलन जनतन्त्र र जनजीविका लगायत समसामयिक राजनीतिक विषयमा पत्रकारहरूसँग विशेष अन्तरक्रिया गरेको छ । क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार सङ्गठनको संयुक्त आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रमलाई पार्टीका वरिष्ठ कार्यालय सदस्य सिपी गजुरेल ‘गौरव’ र पार्टीका प्रवत्ता धर्मेन्द्र वास्तोला ‘कञ्चन’ ले एमसीसीलगायत समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा प्रस्तुत गरेका थिए ।

पार्टीका वरिष्ठ नेता सिपी गजुरेल ‘गौरव’ ले एमसीसी सम्झौता राष्ट्रघाती रहेको र यसको कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाउन खोजिएको पाइएकोले त्यसका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले सङ्घर्षको कार्यक्रम घोषणा गरेको जानकारी दिए । उनले भने, “एमसीसीका विरुद्ध हामीले सडक सङ्घर्ष गर्दै आएको कुरा सर्वविदितै छ । हाम्रो पार्टीलगायत देशभक्त क्रान्तिकारी शक्तिहरूले गरेको सङ्घर्षमाथि दमन गरियो र कथित १२ बुँदे व्याख्यात्मक घोषणाको नौटङ्की गरेर एमसीसी पास गरियो । अब यही भदौ १४ गतेबाट कार्यान्वयन गर्ने समाचारहरू आएका छन् । हामी यो राष्ट्रघाती एमसीसी परियोजनालाई कार्यान्वयन हुन दिदैनौँ । एमसीसीका विरोधी शक्तिहरूसँग सहकार्य गरी आन्दोलनको आँधिबेहरी उठाउँछौँ ।”

पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै भने, “अहिलेको संसदीय व्यवस्था अर्थात कथित लोकतान्त्रिक गणतन्त्र पूर्ण रूपमा असफल भइसकेको छ । हामीले १० वर्षको जनयुद्ध यो लोकतान्त्रिक गणतन्त्रको लागि होइन, जनगणतन्त्रको लागि थियो । यो लोकतान्त्रिक गणतन्त्र देश र जनताको हितमा छैन भन्दा जनताले पत्याएका थिएनन् तर आज आएर यो कुरा सानदार रूपमा यसरी पुष्टि हुनुमा मिडियाको पनि विशेष भूमिका रहेको भएको छ ।”

अनामनगरस्थित संवाद डबलीमा भएको कार्यक्रममा व्यवस्था बदलियो तर अवस्था बदलिएन भन्ने कुरा भ्रमपूर्ण रहेको भन्दै उनले जनताले चाहे अनुसार व्यवस्था नै नबदलिएको र व्यवस्था नबदलेसम्म जनताको अवस्था पनि नबदलिने स्पष्ट पारे ।

त्यसैगरी पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले राष्ट्रघाती एमसीसी सम्झौता कार्यान्वयन गर्न नदिने चेतावनी दिए । उनले पार्टी एकता प्रारम्भिक कमिटीसम्म नै सम्पन्न गरिसकेकोले अब सिङ्गो पार्टीलाई एमसीसीका विरुद्ध परिचालन गर्ने तयारी गरिएको पनि जानकारी दिए । उनले एमसीसी सम्झौता अमेरिकाको हिन्द प्रशान्त सैन्य रणनीतिको अभिन्न अङ्ग रहेको यो सम्झौताको कार्यान्वयन भयो भने देशको स्वाधीनतामा गम्भीर सङ्कट उत्पन्न हुने दाबीसमेत गरे ।

प्रवक्ता कञ्चनले भने, “अमेरिकाले एमसीसीको कार्यान्वयनमार्फत नेपालमा सैन्य क्याम्प खडा गर्ने, नेपालका कच्चा पदार्थमा एकाधिकार कायम गर्ने, चीनलाई अवरोध गर्ने र भारतलाई नियन्त्रण गर्ने उद्देश्य राखेको छ । नेपाली भूमि हाम्रा छिमेकी मुलुकका विरुद्ध प्रयोग भयो भने नेपालको स्वाधीनतामाथि पनि गम्भीर सङ्कट पैदा हुन सक्छ । तसर्थ, कुनै पनि हालतमा एमसीसीको कार्यान्वयन रोक्नु पर्दछ । यसलाई पूर्ण रूपले खारेज गरिनु पर्दछ ।” उनले अमेरिकाले नेपालमा अहिलेसम्म आफ्नो राजनीतिक रणनीतिक अभिष्ट पूरा गर्न लगानी गर्ने गरेको चर्चा गर्दै चीनको बिआरआई विशुद्ध आर्थिक विकास परियोजना रहेकोले त्यसको विरोध गर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पारे ।

कञ्चनले आन्दोलनबिना कुनै पनि परिवर्तन सम्भव नरहेको भन्दै वर्तमान संसदीय व्यवस्था नबदलेसम्म जतिसुकै भ्रष्टाचारीहरूलाई कारवाही गरे पनि नयाँनयाँ भ्रष्टाचारका काण्ड र प्रकरणहरू घटित भइरहने बताए । उनले भने, “यहाँ व्यक्तिको प्रश्न होइन, व्यवस्थाको प्रश्न हो । व्यवस्था नबदलेसम्म यही व्यवस्थामा जुनसुकै व्यक्ति फेरिए पनि संसदीय व्यवस्थाका व्यथिति र विकृतिमा कुनै सुधार आउँदैन । त्यसैले व्यवस्था बदल्नु पर्दछ । अब व्यवस्था बदल्न सबै क्रान्तिकारी माओवादी र सबै कम्युनिस्ट क्रान्तिकारीहरू एक ठाउँमा उभिनु पर्दछ । आन्दोलन वा सङ्घर्षको परिस्थिति विकसित हुँदै जाँदा सबै माओवादी तथा कम्युनिस्टहरू एकै ठाउँमा हुने स्थिति आउन सक्छ । हामी त्यही परिस्थिति विकास गर्नेमा प्रयत्नशील छौँ ।”

मूलधारका छापा, अनलाइन तथा इलेक्ट्रोनिक मिडियाका राजनीतिक बिट हेर्ने पत्रकारहरूको उपस्थिति रहेको सो अन्तरक्रिया कार्यक्रमको सहजीकरण क्रान्तिकारी पत्रकार सङ्गठनका अध्यक्ष कमल बुढाले गरेका थिए भने कार्यक्रमको अन्त्यमा उपस्थित पत्रकारहरूलाई धन्यवाद ज्ञापन क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायण पङ्गेनीले गरेका थिए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको आयोजनामा भोलि (बुधबार) दिउँसो १२ बजे एमसीसीका विरुद्ध रत्नपार्क शान्तिवाटिकामा विरोध जुलुससहितको विरोध प्रदर्शनको आयोजना गरिएको जानकारी पनि गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :