क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भरतपुर महानगरपालिकाको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भरतपुर महानगरपालिकाको एकता अधिवेशन सम्पन्न

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवन जिल्ला अन्तरगत भरतपुर महानगरपालिकाको एकता अधिवेशन प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । अधिवेशनले संयाेजक कृष्ण बराल र सह–संयोजक रमेश पौडेल ‘नविन’ को संयाेजकत्वमा ७१ सदस्यीय महानगर समिति गठन गरेको छ । साथै एकता अधिवेशनले महानगर अन्तर्गत वडा संयोजक र जनवर्गीय सङ्गठनका संयोजक समेत तोकेको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला इन्चार्ज भिमबहादुर खड्का ‘ध्रुव’ ले पार्टी केन्द्रको योजना र प्रदेश समिति साथै जिल्ला पार्टीको योजना तर्जुमासहितको भाव सबैमा सम्प्रेषण गरेका थिए । उनले नेपाली समाजको वर्तमान समयमा दलालीकरण र तस्करीकरणले क्रान्तिको भविष्य सन्निकट बनेको बताए । यसैगरी विशेष अतिथि जिल्ला संयोजक विकासले जिल्ला पार्टीको आगामी कार्य योजनाको प्रशिक्षणमूलक मन्तव्य व्यक्त गरेका थिए । साथै महानगर समिति जुझारु ढङ्गले प्रस्तुत हुन आग्रहसमेत गरेका थिए । यस्तै जिल्ला सह-संयोजक दुर्गाप्रसाद सुवेदीले महानगर समितिका सदस्य सबै साथीहरू काँध मिलाएर हिड्ने विश्वास व्यक्त गरे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय सल्लाहकार भुमिश्वर कँडेलले नवनिर्वाचित महानगर समितिलाई सफल कार्यकालको बधाई तथा शुभ-कामना दिँदै क्रान्ति अपरिहार्य रहेको र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको अगुवाइमा नेपाली क्रान्तिको कार्यभार पूरा गर्न सबै कमरेडहरु तयार रहन निर्देशनसहित हार्दिक आभार प्रकट गरे । यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सल्लाहकार शम्भु कट्टेलले महानगर समिति युवाहरूमा जोश जाँगर र उत्साह देखेर खुशी लागेको बताउँदै आगामी दिनमा क्रान्तिकारी लाल झण्डा चितवन जिल्लामा फहराउन सफल हुने शुभ-कामना व्यक्त गरे ।

महानगर संयोजक कृष्ण बरालको अध्यक्षतामा कार्यक्रमको सञ्चालन सचिव रमेश पौडेल ‘नविन’ ले गरेका थिए । कार्यक्रममा केन्द्रीय सल्लाहकार बाबुराम प्यासी, दिवाकर न्यौपाने, शहिद परिवारका खड्गबहादुर कुँवर, जिल्ला पार्टी सल्लाहकार जगन्नाथ ढकाल लगायतका सम्पूर्ण भरतपुर महानगरका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :