संश्मरणात्मक लेख: इतिहासको पानाबाट

वि.स.२०३५/०३६को आन्दोलनबारे त्यस आन्दोलनका अग्रणाी विद्यार्थी नेताहरुमध्ये बलबहादुर के. सी. र टंक कार्कीका लेखहरू केही समय अघि सेतोपाटी डट कममा पढेपछि त्यसले अझ बढी पूर्णता पावोस र स्पष्टता होस भन्ने उद्येश्यले त्यसवारे केही थप अनुभूति राख्ने प्रयास यस लेखमार्फत गरिएको छ । त्यो आन्दोलनका सहयोगी तत्कालिन माले विद्यार्थी नेता टंक कार्कीजीले उहाँको लेखमा यस लेखका लेखकको नाम चौमको तर्फबाट संलग्न नेताको रूपले उल्लेख गरेको कारणले पनि त्यसवारे थप स्पष्ट होस र खासगरी २०३५/०३६को एतिहासिक आन्दोलनपछि जन्मेका र २०६२/०६३को आन्दोलनका लाखौ युवाहरूलाई यसवाट फाइदा पुग्न मद्त गर्ने छ भन्ने आशाका साथ यो संश्मरणात्मक लेखको पछाडिको उद्येश्य हो ।

नेतृत्व रहरले जन्मने, हुर्कने र सक्षम बन्ने कुरा होइन् रहेछ । यो इतिहासको अपरिहार्यता, वर्गसङ्घर्षको नियम, अन्तरसङघर्षको उपज र क्रान्तिको आवश्यकताले जन्मने विकास हुने र टिक्ने कुरा रहेछ । यो अनुभूती यस लेखका लेखकलार्ई २०३५/०३६को आन्दोलनको दौरानमा भएको थियो, जो अहिले पनि सत्य हो । भविश्यको लागि पनि सत्य नै ठहर्नेछ ।

टंक कार्कीजीले लेखेका लेखवारे केही तत्थ्यगत जानकारीहरु थप्नु आवश्यक ठानेर यो लेखिएको हो, जसले उहाँको भनाईलाई अझ थप सपष्टता र त्यसलाई पूर्णता दिन मद्त गर्ने छ भने बलबहादुरजीको लेख जो कम्युनिस्टप्रतिको उहाँमा विद्यमान पूर्वाग्राहीका रूपमा प्रस्तुती भएको अनुभूति हुन्छ । यो सही हो त्यसवेला नेपाली काँग्रेस र कम्युनिस्टहरूका बीचमा अघोषित कहिलेकाही त घोषित वर्गसंघर्षको रूप पनि लिन्थ्यो । चौथोमहाधिवेशन(चौम)भित्र मोहविक्रम सिंहको स्कुलिंगले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाललाई समेत उहाँले निरङकुस पञ्चायती व्यवस्थाका विरुद्ध नेपाली काँग्रेस र कम्युनिस्टहरूका बीचमा कार्यगत एकताका कुरा गर्दा उहाँलाई नेपाली काँग्रेसको पिछलग्गु (पुच्छर) र गददार समेत भन्ने गर्दथ्यो । त्यसैले पुष्पलाल समूह र चौमबीचमा एकले अर्कोलाई शत्रुजस्तै व्यवहार गर्दथे र अर्धाखांची जिल्लामा त यो अलि पेचिलो थियो । चौमका कार्यकर्ता र पुष्पलाल समूहका कार्यकर्ताबीचमा जिल्ला जिल्लामा हानाहान र संघर्ष पनि हुन्थे भने नेपाली काँग्रेस दलाल पुँजीपति वर्गको पार्टी भनेर वर्गीय शत्रुमा नै किटान गरिएकोले त्यो संगको कार्यगत एकता त सोंच्ने पनि कुरा थिएन् झन तत्कालिन माले त आफूलाई मात्रै क्रान्तिकारी सम्झने बाँकी सबै दक्षिणपन्थी संशोधनवादी भन्नेको के कुरा । तै पनि २०३५/०३६को आन्दोलनमा काठमान्डौमा आन्दोलनलाई अगाडि लैजान माले र चौमबीचका सहकार्य गरिएको थियो र त्यसको राजतन्त्र विरुद्धको आन्दोलनमा एउटा ऐतिहासिक महत्व रहेको छ ।

तत्कालिन माले जसको विद्यार्थी नेता टंककार्कीलाई पार्टीले वैधानिक कार्यका लागि खटाएको र पार्टीको तर्फबाट चौम समर्थक युवा विद्यार्थीका लागि संयोजन गर्ने जिम्मा काठमाण्डौमा यो लेखका लेखकलाई दिइएको थियो,। निर्मललामा उपत्यका विशेष व्यूरोको इनचार्ज हुनुहुनथ्यो र लेखक त्यही व्यूरोको एउटा युवा सदस्य थिए । पार्टीले वामपन्थी विद्यार्थीहरूबीचमा कार्यगत एकतागर्ने निर्णय गरे वमोजिम त्यसवेलाको एउटा सशक्त कम्युनिस्ट पार्टी चौम र मालेबीचमा गरिएको कार्यगत एकता अनुसार चौमको तर्फबाट लेखक स्वयम् र मालेबाट टंकजीको बीचमा गरिने गोप्य भेटघाट र छलफलमा कार्यक्रम गरिन्थ्यो तर आन्दोलनको सुरू सुरूमा कार्यक्रममा सधै मालेको उपस्थिति नगन्य रहन्थ्यो र चौमको नै बाहुल्यता रहन्थ्यो, खासगरी भक्तपुर र ठीमीको पार्टी किसानको सहभागिता काफी रहनथ्यो । मालेभित्र जनवर्गीय संगठको आवश्यकतालाई संशोधनवादको रूपमा लिने र सबै वैधानिक आन्दोलनलाई पनि नकार्ने सोच बलियो हुँदै आएकोले विद्यार्थी आन्दोलनमा यसको असर स्पष्ट देखिन्थ्यो ।

यसवारे टंकजीले उहाँको लेखमा घेरै कुरा उल्लेख गरी सक्नुभएको छ । त्यसवेला लेखक चौमको विद्यार्थी संगठनको उपत्यका इन्चार्ज थिए । पाकिस्तानका भूतपुर्व राष्ट्रपति जुल्फीकर अलि भुट्टोलाई २०३५ चैत्र २१ गते फासि दिइएको थियो र २०३६को जनमत संग्रह घोषणाका लागि राजालाई वाध्य पार्ने काम त्यसवेला कम्युनिस्ट विद्यार्थीको नै महत्वपूर्ण भूमिका थियो भन्ने वारे त बलबहादुरजीको लेखमा ने उहाँले नकारात्मक रूपले स्विकार गनुृ भएको छ । यो सही हो कि आन्दोलनको सुरूमा नेविसंघका नेता बलबहादुर के.सी., नेकपा(माक्र्सवादी)का शरणविक्रम मल्ल र विद्यार्थी फेडरेशनका कैलास कार्की त्यस आन्दोलनका अग्रणी देखिन्थे । जब उनीहरूले सरकारसंग आन्दोलनलाई बीचैमा सम्झौता गरेर धोका दिए, चौम र माले विद्यार्थीले त्यसलाई राजतन्त्र विरोधी आन्दोलनमा लैजाने उद्येश्यका साथ आन्दोलनलाई अगाडि बढाउने निर्णय वमोजिम बलबहादुरजीले भनेझै जेठ ६को समझौता धोका हो भन्दै आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय बमोजिम जेठ ७ र जेठ ८ गते आन्दोलनले उच्चता लिंदै गयो परिणाम जेठ ९ को घटना भएको हो जसवारे टंकजी र बलबहादुरजीले लेखेको लेखमा यो लखककोे पनि सहमति छ ।

चौम समर्थीत विदार्थीका तर्फबाट आन्दोलनमा बालकृष्ण पौडयाल र तारा न्यौपाने र, मालेका तर्फबाट बलराम समालआदिको भाषणले आन्दोलनमा उर्जा दिने काम गर्दथ्यो । चैत्र २२ गतेबाट सुुरू भएको आन्दोलनमा मालेको सहभागिता क्रमसः यसरी सशक्त रुपले बढदै गयो कि चौमवालाहरूको सुरूदेखिको संख्यात्मक सहभागितामा खासै थपघट भएन तर मालेको सहभागिताले उच्चता लियो र परिणाम जेठ ९ गतेको उत्कर्षको आन्दोलनमा चौमवालाहरूका सक्रिय उपस्थिति त थियो तर पनि गोरखापत्र र शानेवानीमाथिको आक्रमण र आगोलागिमा चौमवालाहरूका प्रत्यक्ष भूमिका थिएन । मालेका कार्यकर्ता बढता सशक्त रूपले लागेका थिए । त्यसवेला लेखक आन्दोलनको जो पिपलबोट वारीपरी न्युरोडमा केन्द्रीत थियो सक्रिया उपस्थिति थियो र लेखकनै अचम्म पर्ने गरी ती घटना भएका थिए र यो सबै कसरी सम्भव हुन गयो ? किनभने यो त घोषित योजनामा थिएन । तर जनता यसरी अगाडि आएका थिएकि गोरखापत्र र शानेवानीमाथिको आक्रमण र आगोलागिमा प्रत्यक्ष सहभागि बने । जे होस त्यही कारणले नेपालमा राजा बीरेन्द्रले ‘बहुदल र सुधारिएको पञ्चातका बीचमा जनमत संग्रह’ गर्ने घोषणा गर्न वाध्य भएका थिए ।

यो घोषणाको चौम र माले दुवैले धोका हो भनेर आन्दोलनलाई गणतन्त्रउन्मुख गराउने त भने तर तत्कालिन नेपाली काँग्रेसका नेता बीपीले जनमत संग्रह’ गर्ने घोषणालाई निशर्त स्विकार गरेका थिए र उनीहरू जनमतसंग्हमा जनताको बीचमा जाने भने भने चौम र मालेले चाही ‘पञ्चात बाघ हो भने बहुदल ब्वाँसो’ हो दुवैका विरूद्ध जाने कार्यक्रमको आवश्यकता भनियो तर यसले ती पार्टीभित्र चर्को विवाद लियो र अन्त्यमा आन्दोलन सिथिल वन्दै गयो । चौमले त २०३६सालको भदौतिर नै उसको माथि उल्लेखित ‘पञ्चात बाघ हो भने बहुदल ब्वाँसो’ हो दुवैका विरूद्ध जाने भन्ने भनाइलाई सच्चायो र बहुदलको पक्षमा प्रचार गर्ने निर्णय गर्यो भने मालेलाई अझ बढता समय लाग्यो ।

मालेका विद्यार्थी र चौमबीचमा अखिलको पांचौ अधिवेशन गर्ने कि छैटौ गर्ने भन्ने विवादले उच्चता लियो । लेखक अखिल छैटौको अधिवेशन आयोजक समितिमा पनि भएको र त्यसको तयारीमा थियो भने मालेवालाहरूले त्यसलाई हुन नदिने रणनीतिमा थिए । उनीहरू एकताको पाचौ गर्नैमा थिए । तर मालेका विद्यार्थी र चौमबीचको मतभेद बढदै गयो र ललितपुरको ठैवमा चौमले गर्न थालेको अखिल छैठौको अधिवेशन हुनवाट रोक्न लेखक र छैठौका अर्का नेता बखान सिं लामामाथि त्रिचन्द्र कलेज अगाडि राती ८ बजे वालपेन्टींग गरिरहेको समयमा आक्रमण गरे । लेखकलाई मालेका अराजक विदार्थीले हानेको चोटलाई बखान सिंहले रोके तर वार्ता गर्ने भन्दै अनि लेखक र बखान सिंहलाई अपहरण गरेर अस्कल कलेजमा लगे । त्यसको नेतृत्व मालेका अर्का विद्यार्थी नेता कन्दङवाले गरेका थिए, जो आन्दोलनका हरेक योजनामा टंकसंग आउने गर्दथे र खासमा त उनको डेरा जो दिल्लीवजार कालिकास्थान पछाडि थियो, त्यही हुन्थ्यो । उनीहरूले अपहरण गरेर कागज गराउने दवावदिएका थिए । त्यसमा विदार्थीको एउटै अधिवेशन—एकताको पाचौ र हुन गइरहेको छैठौको अधिवेशन स्थगनको वक्तव्यमा सहीगर्ने थियो । त्यसमा सहमती हुन सकेन र चौमको एउटा ठूलो शक्ति खोज्दै आएको थाहा पाएपछि उनीहरूले अपहरणबाट मुक्त गरेका थिए । यसवारे मालेका विद्यार्थीहरू पुरै अराजक थिए ।

पछि पार्टीले बहुदलको प्रचारमा जाने भने अनुसार लेखक आफ्नै जिल्ला प्यूठानमा गए । प्यूठान र दांङका लागि पार्टीले खगुलाल गुरूङ, बासुदेव गौतम, र लेखक सहीतको एउटा टोली बनाएको थियो ।

२०३६ सालको अखिल छैठौको महाधिवेशनको सफलता पछि, लेखक आफ्नो जन्म ठाँउ प्यूठानको जिम्मेवारी लिएर क. किरणको नेतृत्वमा काम गर्न प्यूठान गए । २०३५/०३६को अँन्दोलनको परिणाम देशमा जनमत सङग्रहको घोषणा गरिएको थियो । त्यसवेला नेपालमा पार्टीले पहिले ‘बहुदल निर्दल एकै हो’ भन्ने नारा दिएर जनमत सङग्रहको विरोध गरेको थियो तर लगतै पार्टीले त्यसमा परिवर्तन गरी जनमत सङग्रहमा भागलिने र बहुदलिय व्यवस्थाको पक्षमा मतदान गर्न आन्दोलन गर्ने निर्णय वमोजिम पार्टीको निर्देशनमा प्यूठानमा केही ठाँउहरूमा आम सभाहरू गर्ने निर्णय गर्यो । जनमत सङग्रहको घोषणा भएता पनि ३०वर्षसम्म पञ्चहरूको दवदवा भएकोले नेपाली काँग्रेसले पनि हामी भन्दा अगाडि प्यूठानमा आमसभागर्ने पहल गरिसकेको थिएन ।

प्यूठानमा पञ्चहरूले आफूलाई बलियो छौ भन्ने गर्दथिए र त्यसमा केही सत्यता पनि थियो । यो हुनुको पछाडिको अर्को कारण के पनि थियो भने २०३४ सालको देशब्यापी राजतन्त्र विरोधी पर्चा काण्डमा प्यूठानमा कम्युनिस्ट छाडेर पञ्चभएकाहरूले पर्चाकाण्डलाई यसरी अगाडि बढाए कि त्यसबेला आफूले काम गर्दा जे जति शिक्षकहरूलाई कम्युनिस्ट बनाएका थिए, कम्युनिस्टको रूपमा चिनेका थिए,। तिनीहरूलाई छानीछानी गिरफ्तार गर्ने र पञ्चायतलाई समर्थन गर्न दवाव दिएर त्यसमा केही सफलता पनि पाएका थिए । त्यसैले त्यहाँका कम्युनिस्टहरूमाथि ज्यादै दमन गरेका पनि थिए । उनीहरूको त्यो कामले प्यूठानमा कम्युनिस्ट संगठनलाई अस्तव्यस्त बनाएको थियो । त्यसको असर प्यूठानमा २०३५ को आन्दोलनमा र पछि जनमत संग्रहमा पनि परेको थियो ।

फेरि त्यसवेला नेपाली काँग्रेस पनि कम्युनिष्स्ट प्रति त्यति सकारात्मक थिएन, खासगरी चौमप्रति । जे होस प्यूठानमा पार्टीले आम सभागर्ने निर्णय गर्यौ । त्यसवेलासम्म पार्टी पुरै भूमिगत थियो । शिक्षकहरू पार्टीका मुख्य सहयोगि थिए तर भूमिगत रूपले । क.दिपक के.सि. र बेगमबादुर के.सि.जो पार्टीका सक्रिय सदस्य हुनुहुन्थ्यो, दुबै शिक्षक हुनुहुन्थ्यो । प्यूठानका शिक्षकहरू मध्ये उहाँहरू भूमिगत रूपले पार्टीमा सकृय हुनुहुन्थ्यो । क. सिद्धिमान के.सि. मरण्ठानाका एकजना पुराना कम्युनिष्ट नेता हुनुहुन्थ्यो, जसको सहयोग र सल्लाहमा मरण्ठानाका केहि स्थानहरूमा पार्टी क्लास लिने र संगठन विस्तार गर्ने काम गरिएको थियो ।

विजुवारका क. रामहरी श्रेष्ठ पनि अर्को एक जना स्थानिय नेता हुनुहुन्थ्यो जसको सहयोग पनि त्यसवेला अत्यन्त महत्वपूर्ण थियो । त्यसै गरी क. बिद्याधर थापा पनि पार्टीमा एक जना सक्रिय शिक्षक हुनुहुन्थ्यो । तै पनि पञ्चहरूको दवावका कारण जनता बहुदलबारे कुरा गर्न डराउदथिए । किनभने पञ्चहरूले जिल्लामा एक प्रकारको आतङक मच्चाएका थिए । चौमको आमसभामा नजान उनीहरूले सर्वसाधरण जनतालाई एक प्रकारको उर्दी जारी गरेका थिए । तै पनि पार्टीले आम सभागर्ने कम्मर कस्यौ । दाङबाट पार्टीले क. बासुदेव गौतमलाई, प्यूठानबाट लेखक स्वयम र एकजना पुराना कम्युनिष्ट नेता क. खगुलाल गुरूङलाई भूमिगत कामबाट बाहीर ल्याउने निर्णय गरेको थियो । साथै आम सभाको लागि भारतमा काम गर्ने तर अर्घाखाँचीका क. लिलानाथ कुसुमलाई खटाएको थियो । क.लिलानाथ कुसुम जसको २०६८ भाद्र८ गते ह्दयघातका कारण निधन भएको छ र उहाँको यो निधनको समाचारले व्यक्तिगत रूपमा ठूलो चोट लागेको महशुस भएको छ र उहाँको यो निधनले नेपालको कम्युनिस्ट आन्दोलनमा ठूलो क्षती पुर्याएको छ ।

त्यसवेला स्वयम् लेखक, क. कुसुम र गौतमजीले आम सभाको बक्ता र क. खगुलाल गुरूङलाई आमसभाको अध्यक्षता गर्ने निर्णय बमोजिमे पहिलो खुला आमसभा जो पञ्चायतको विरूद्ध थियो, आयोजना प्यूठानको मच्छिमा गरियो । त्यो आमसभा पञ्चायतको तीसवर्षको इतिहासमा तुलनात्मक रूपले भब्य त थियो नै साथै ज्यादै संगठित पनि थियो । आमसभामा सबै राजनीतिक पक्षकाहरू सहभागी थिए । तर धेरै जसो आमसभाको नजिक नबसेर अलि टाढा बसेर नेताका भनाइहरू सुन्ने गरेका थिए । किनभने आमसभामा उपस्थित प्रहरीहरूको आँखामा परिन्छ कि भन्ने डर उनीहरूमा थियो । यस लेखका लेखक भर्खरै २०३५/०३६ सालको विद्यार्थी अँन्दोलन र अखिल छैठौको महाधिवेशनको सफलता पछि आएको कारण त्यो उर्जा र जुझारूपनले गर्दा आमसभाले त्यसवेला प्यूठानको लागि बहुदलको पक्षमा चुनावी प्रचार मात्रै नभइ कम्युनिीट लागि पनि युवामा आकर्षण बन्न मद्दत गर्यो । आमसभा मच्छिपछि क्रमसः प्यूठानकै वागदुला, जुम्रीकाँढा र भालुबाङ र दाङको लालमटिया र घोराहीमा आयोजना गरेर समापन गरिएको थियो ।

प्यूठानमा गरिएका सबै आमसभाहरू प्रभावकारी रूपले सम्पन्न भएका थिए । दाङको घोराहीमा गरिएको आमसभामा नेपाली काँग्रेसका कार्यकर्ताले वाधा अवरोध पुर्याउने हल्ला थियो । त्यसैले त्यहाँका अन्य वक्ता कमरेडहरूले र स्वयम क. बासुदेब गौतमले पञ्चायतको भण्डाफोर सकेसम्मगर्ने तर नेपाली काँग्रेसको अलि कम भण्डाफोर गर्ने भने बमोजिम प्यूठानमा झै उनीहरूको व्यापक भण्डाफोर गर्न सकिएन । तर पनि क. कुसुम र लेखकले नेपाली काँग्रेसको राजनीतिक भण्डाफोरलाई प्युठानमा जस्तै निरन्तरता दिए ।

समग्रमा त्यसवेला पार्टीले गरेका ती आम सभाहरूबारे त्यसवेलाको पिढिमा खासगरी प्यूठानमा अहिले पनि केहि चर्चा परिचर्चा गरेको पाइन्छ । क. कुसुमको अग्लो र खाइलाग्दो शरीर र त्यसबाट निस्केका शब्दहरूले आमसभामा उर्जा दिएको थियो । वर्षाको समय थियो । प्यूठानका खेतका आली र कुलाहरू भएर हिंडदा क. कुसुमको भारीभरकमको शरीर कति ठाँउमा लडन परेका घटना सम्झदा अहिले पनि हाँसो लाग्दछ । खासगरी क. कुसुमको मृत्युपछि यस लेखका लेखकको मामानस पटलमा रहेका उहाँका सम्झना एक एक गरी आउने गर्छन् ।

प्यूठानमा पार्टीको आमसभा सफल भएपछि त्यहाँका पञ्चहरूलाई केही धक्का लाग्न गएकाले पञ्चहरूले पनि प्युठानमा आफ्नो पक्षको पञ्चभेला गर्ने निर्णय गरेका थिए । उनीहरूले त्यसको सुरूवात बाङगेमरौट (लेखककै) गाविसबाट गर्ने निर्णय गरे । त्यसमा जिल्लाका सबै नेताहरू र त्यस गाविसका स्थानिय नेताको जमघटबाट सुरू गर्ने भनेर त्यस गाविसको वार्ड नं ६ विडडाँडामा गर्ने ठेगान गरे । पार्टी सांगठनिक रूपले व्यवस्थित थिएन् । आजजस्तो फोनको सुविधा थिएन, त्यसैले नारीकोटमा क.खगुलालजीको घरमा बैठक बसि पार्टीको पञ्चहरूको भेलाप्रतिको रणनीति के हुने भन्नेबारे स्थानिय पार्टीको र त्यसक्षेत्रका युवाहरूको भेला डाकियो । १० जना जति युवा, क. खगुलालजी सँगकोे छलफल पर्छि नेता क.सर्वजित बुडालाई त्यसको जिम्मा दिइयो । करीब १० जना युवालाई छोटो तर सैद्धान्तिक तालिम दिइयो के गर्ने ? के नगर्ने? भनेर । त्यसवेला त्यो क्षेत्रमा पञ्चहरूमध्ये चिसावाङगका चिन्तामणि पोख्रेल कम्युनिस्ट र काँग्रेसप्रति अलि उग्र विरोधी थिए । उनले आफूलाई कट्टर राजावादी भन्ने गर्दथिए । कम्युनिस्टहरू खासगरी वामपन्थी शिक्षकहरू र कर्मचारिहरूमाथि मानसिक दवाव दिने गर्दथे र उनको स्वभावका अन्य केहि स्थानिय नेताहरू पनि थिए । कारवाहीको निसाना त्यस्तामाथि गर्र्ने तर कारवाही उनीहरूलाई तर्साउने र अव आइन्दा यसो नगरे भनेर वार्निङ् दिने खालको मात्रै गर्ने निर्णय गरिएको थियो । पार्टीसँग १० जना मात्रै युवा थिए, ती पनि नारीकोटबाट आएका । स्थानिय पार्टी सङगठन नभइसकेको र गोपनियतालाई पनि ख्याल गरेर त्यस गाविसका धेरैलाई त्यसवारे जानकारी दिइएको थिएन् । तर कारवाही वाङगेको विडडाडामा गर्न पर्ने अलि समस्या प¥यो । एकजना दाईलाई यसको लागि सहयोग गरिदिन अनुरोध गरियो । उहाँ त्यसवेला पार्टीको समर्थक मात्र हुनुहुन्थ्यो । पञ्चहरूको भेला हुने ठाँउमाथि एउटा जङगल थियो । त्यसको रणनैतिक उपयोग गर्नेे निर्णय गरियो । निर्णय बमोजिम अघिल्लो दिन नै नारीकोटको टोली क.सर्वजितको नेतृत्वमा आइपुगे । तिनको वस्ने व्यवस्था गरेर अर्कोदिनको कार्यक्रमबारे अन्तिम योजना बनाइयो । स्थानिय दाजुले घंगारू(काँडैकाँडा भएको रूखका १०वटा लौरा वनाउन मद्दत गर्नु भयो । पञ्चभेलामाथि आक्रमण गर्न पहिले दुई जना मात्रै लौरा र खुकुरी सहीत सिठ्ठि बजाउदै जाने र पहिले चिन्तामणि पोखरेलमाथि जाइलाग्ने । जाइलागेको लगत्तै सिठ्ठि बजाउने अनि थप २ जना जाने जादा अर्को दिशाबाट जाने । जङगलमा पनि सिठ्ठि बजाउने । त्यसो गर्दा उनीहरूमा जङगलमा धेरै जना छन् भन्ने भान पर्ने छ र भागाभाग गर्नेछन् भन्ने सोंचले साच्चै काम गर्यो । त्यहाँ पञ्चहरू ८० जनाजति जम्मा गरिएका थिए । तर जब जङगलको जताततै सिठ्ठि बज्न थाल्यो । उनीहरूको भागाभाग भयो । उनीहरू अस्तव्यस्त भए । पार्टीकोे योजना सफल भयो । केही पञ्च खासगरी चिन्तामणि र अन्य एकदुई जना सामान्य घाइते भए पार्टीे तर्फ कसैलाई केही भएन । जङगलको जताततै मसालै मसालका मनिस छन् भन्ने उनीहरूमा परेको भ्रम पछि थाहा भयो उनीहरू त्यहि गाविसको बौडा हुँदै अर्धाखाँचीको सिमाना लेडेमेला, ठूलाचौर हुँदै सदरमुकाम खलङगा गएका रहेछन् । उनीहरूले यसलाई प्यूठानमा दमनगर्ने योजना बनाउन सकेनन् किनभने यो योजना त्याहाँबाट नभै गुल्मी र अर्घाखाँचीबाट आएका चौमका मानिसले गरेको अनुमान गरियो । क.सर्वजितको र लेखककोे संलग्नतालाई पनि ज्यादै गोप्य राखिएको थियो । यसको गोप्यतालाई पछिसम्म कायम गरियो ।

यो कारवाहीले जिल्लामा केहि खुसी आयो । त्यसपछि पञ्चहरूले आमसभागर्ने योजना स्थगित गरे र घरधुरी भेटघाट र पैसामा मानिस किन्ने योजनामा लागे । यो कारबाहीको लागि त्यसवेलाका स्थानिय शिक्षकहरू रणबहादुर खडका र सिद्धिमान जि.सि.सँग पनि सामान्य सरसल्लाह गरिएको थियो । उहाँहरूको यसमा पूर्ण समर्थन थियो । जे होस त्यो प्युठानका पञ्चहरू विरूद्धको सफल कारवाही थियो र त्यो एकप्रकारको छापामार सैलीमा गरिएको पहिलो सफल कारवाही थियो । जे होस पञ्चहरूविरूद्धको यो कारवाहीलाई प्यूठानवासी खासगरी पञ्चहरूबाट पिडीत कर्मचारी र शिक्षकहरूले प्रशंसा गरेका थिए, खासगरी चिन्तामणि पोखरेलजस्तामाथिको कारवाहीलाई लिएर । किनभने उनीहरूको व्यक्तिगत व्यवहारका कारण ती ज्यादै पिडित थिए ।

यसरी मुर्झाएको प्युठानको कम्युनिस्ट आन्दोलनलाई अलिकति माथि उठाउन र गति दिन क. सर्वजित बुडाको नेतृत्वको यो कारवाहीले बलियो मद्त गर्यो । क. सर्वजित बुडा साच्चै जुझारू हुनुहुन्थ्यो । पछि उहाँ चौमको तर्फबाट नारीकोट गाविस अध्यक्षमा निर्वाचित हुनुभयो । यसरी २०३५/०३६को आन्दोलनले रोप्न खोजेको गणतन्त्रको प्राप्तीको महान लक्ष्यलाई २०६२/०६३को ऐतिहापसिक जनआन्दोलन र दशवर्षे महान जनयुद्धले पुरा गर्न सफल भयो । तर यो अझै देशमा वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् कार्यमा सफल भएको छैन् । संघीय लोकतानित्रक गणतन्त्रको स्थापना भएता पनि जनताका समस्या झनझन विकराल वन्दै गएका छन् र देशको राष्ट्रियता र सार्वभौमसत्ता झनझन कठिन मोडमा उभिएको छ । नेपाली जनता अब २०३५/०३६, २०४६/०४७ र २०६२/०६३ भन्दा अझ उच्चस्तरको राष्ट्रिय स्वाधिनताको आन्दोलनको आवश्यकता तर्फ औलाइरहेका छन् । संसद र संसदीय व्यवस्थाको विकल्पमा नयाँजनवादी गणतन्त्रको स्थापना व्दारा देशमा किसान मजदुरको एकतामा सर्वहारावर्गको नेतृत्वमा वैज्ञानिक समाजवादको स्थापनातर्फ अगाडिको मार्गका लागि क्रान्तिकारी, देशभक्त तथा प्रगतिशील शक्तिःहरुलाई एकतावद्ध गर्ने महान अभियानमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको झण्डामूनी गोलवन्ध हुने महान अभियानमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :