३५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रामेछापको एकता अधिवेशन सम्पन्न

क्रान्तिलाई अब कसैले छेक्न सक्तैन : चन्द्रहरि सुवेदी ‘अटल’

३५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रामेछापको एकता अधिवेशन सम्पन्न

सिर्जनानगर (रामेछाप) : नेकपा (बहुमत) रामेछाप र नेकपा (क्रान्तिकारी माओवादी) रामेछापको एकता अधिवेशन ३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । जिल्ला सदरमुकाम मन्थली १ सिर्जनानगरस्थित हित–जून सङ्ग्रहालय ललितकला कक्षमा सम्पन्न अधिवेशन, प्रशिक्षण तथा बैठकले सङ्गठन विस्तार अभियान र सङ्घर्षका कार्यक्रम पनि तय गरेको पार्टीले जनाएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य एवम् ३ नं प्रदेश संयोजक चन्द्रहरि सुवेदी ‘अटल’ ले क्रान्तिकारी पार्टीहरूबीचको एकता र ध्रुवीकरणपछि क्रान्ति कसैले रोक्न नसक्ने र सफल भएरै छोड्ने उद्घोष गरे । राजनीतिक र फौजी कार्यदिशाको शब्दावली एकता महाधिवेशनले तय गर्ने जानकारी गराउँदै संयुक्त अधिवेशन, प्रशिक्षण तथा बैठकका प्रमुख अतिथि अटलले नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै जनसङ्घर्ष, जनप्रतिरोध र जनविद्रोहका माध्यमबाट नेपालमा क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद स्थापना गरिने पनि प्रस्ट पारे ।

संसदीय व्यवस्था नै अवलम्बन गर्ने हो भने नेपाली काङ्ग्रेस नै पर्याप्त रहेको र त्यसका लागि कम्युनिस्ट नाउँका कुनै संसद्वादी पार्टी आवश्यक नरहेको भन्दै नेता अटलले राष्ट्रघाती एमसीसी, नागरिकता विधेयक पारित गरी कार्यान्वयनमा गएर सत्तासीन कम्युनिस्ट नामधारी पार्टीहरूले आफूहरू प्रतिक्रियावादी भएको साबित गरेको पनि प्रस्ट पारे ।

‘क्रान्ति सफल नपार्ने हो भने देशको भविष्य छैन’, देशको राजनीतिक, आर्थिक, सांस्कृतिक अवस्था डामाडोल बनाइएको प्रस्ट पार्दै उनले भने, ‘क्रान्तिका लागि वस्तुगत परिस्थिति तयार छ । अब आत्मगत परिस्थिति तयार पारेर क्रान्ति सम्पन्न गर्नुपर्छ ।’ प्रतिक्रियावादी सत्ता र अवसरवाद–संशोधनवादसँगको लडाइँ सँगसँगै हुने नेता अटलको भनाइ थियो ।

प्रचण्डको गद्दारीसँगै कम्युनिस्ट आन्दोलनमा घुँडाटेकुवा प्रवृत्ति हाबी भएको भन्दै संयोजक अटलले विचार, सिद्धान्त, राजनीति, दर्शन र आदर्श बचाएपछि मात्र क्रान्ति सम्पन्न गर्नसकिने प्रस्ट पारे । विप्लवको आत्मसमर्पणको चर्चा गर्दै उनले पहिल्यैदेखि प्रतिक्रियावादी सत्तामा साझेदारी खोजेका विप्लव अहिले कथित समाजवादी मोर्चाको फेर समातेर त्यही सत्तामै विलीन हुने प्रक्रियामा लागेर पतीत भएको धारणा पनि राखे । राजनीतिक, वैचारिक, सांस्कृतिक क्रान्तिमा रामेछापको गौरवशाली इतिहासको चर्चा गर्दै नेता अटलले भने, ‘यो क्रान्तिकारी चेतनाले संसद्वाद, संशोधनवाद र दलाल पुँजीवादबाट देश र जनतालाई मुक्त पार्न अग्रणी भूमिका निर्वाह गर्नेमा म विश्वस्त छु ।’

प्रदेश सहसंयोजक एवम् पार्टी सचिवालय सदस्य शरद रसाइलीले नेपालको क्रान्ति सम्पन्न गर्ने आवश्यकताले दुईवटा क्रान्तिकारी पार्टी एक भएको स्मरण गराउँदै आफूहरू कृष्णलाल, गङ्गालाल र पुष्पलालका उत्तराधिकारी भएकाले क्रान्ति सम्पन्न गर्ने अभिभारा आफूहरूमा आएको बताए । विप्लवको प्रतिक्रान्तिकारी ध्रुवीकरणपछि नेपाली जनतामा को क्रान्तिकारी हो र को आत्मसर्पणवादी हो भन्ने भ्रम सकिएको नेता रसाइलीले बताए । उनले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एक मात्र कम्युनिस्ट पार्टी रहेकाले चाँडोभन्दा चाँडो क्रान्ति सम्पन्न गरेर नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्ने दायित्व र भूमिका पनि यसैको रहेको स्पष्ट पारे ।

इतिहासमा कयौँपटक केही नेताहरूमा देखापरेको सामन्तवादी सोचाइ र व्यवहारका कारण पनि कम्युनिस्ट पार्टीमा विभाजन आएको उदाहरण दिँदै प्रदेश सहसंयोजक रसाइलीले २०६९ सालपछिका विभाजन, विद्रोह र क्रान्तिकारी ध्रवीकरणले क्रान्ति र विजयलाई सन्निकट ल्याउँदै गरेको अनभूति भएको प्रस्ट पारे ।

पार्टीको केन्द्रीय प्रचार मोर्चाका संयोजक अशोक सुवेदीले नेपालको वर्गसङ्घर्षमा रामेछापेली जनताको त्याग, शौर्य र बलिदानको स्मरण गराउँदै कृष्णलाल–गङ्गालाल–पुष्पलाल क्रान्तिकारी नेपाली जनताका आदर्श र प्रेरणाका स्रोत रहेको बताए । अन्तर्राष्ट्रिय, राष्ट्रिय र जिल्लाको अन्तरविरोधहरूको चर्चा गर्दै उनले हिजोदेखि आजसम्म दलाल पुँजीवादीहरू र श्रमजीवी जनताबीचको अन्तरविरोध धेरै पेचिलो रहेकाले जिल्ला क्रान्तिमा सदैव अग्रमोर्चामा रहेको पनि सपष्ट पारे । रामेछाप जिल्लाले प्रथम सांस्कृतिक सहिद कृष्णलाल अधिकारीदेखि एकीकृत जनक्रान्तिका सहिद कुमार पौडेल–रामकुमार श्रेष्ठसम्म जन्माएको र बेथान, दोरम्बा, सालु, चुचुरे गज्र्याङलगायत ऐतिहासिक मोर्चा र सामूहिक हत्याकाण्डले क्रान्तिका लागि इस्पात बनाएको धारणा पनि राखे ।

प्रतिक्रियावादी र संशोधनवादी शक्तिहरू अस्तित्वरक्षाका लागि अनैतिक गठबन्धन, झेली मोर्चा बनाएर अन्तिम त्राण धन्न प्रयासरत रहेको भन्दै उनले क्रान्तिकारीहरूबीचको एकता र ध्रुवीकरणले क्रान्तिलाई निकट बनाउँदै लगेको पनि प्रस्ट पारे ।

संयुक्त अधिवेशनले लाङ्घाली मगरलाई इन्चार्ज र कृष्ण सेवालाई संयोजक चयन गरेको छ । ३५ सदस्यीय जिल्ला समिति निर्माण गरेको अधिवेशनले विभिन्न जवस, मोर्चाहरूको जिम्मेवारी पनि तय गरेको छ । अधिवेशनकै समय पारेर निवर्तमान जिल्ला इन्चार्ज अग्रीम र निवर्तमान संयोजक उजिरलाई बिदाइ गरिएको थियो । अग्रीम र उजिरले भौगोलिक विकटता र अन्य प्रतिकूलता चिर्दै आफूहरूले क्रान्तिकारी पङ्क्तिलाई आन्दोलित बनाउन सक्दो प्रयास गरेको बताए ।

कार्यक्रमको अध्यक्षता र सञ्चालन संयोजक कृष्ण सेवाले, साङ्गठनिक प्रस्ताव इन्चार्ज लाङ्घालीले प्रस्तुत गरेका थिए भने रमेश बोहोराले अतिथिहरूको स्वागत र काजीबाबु खडठ्काले परिपत्र वाचन गरेका थिए । अधिवेशनमा पार्टी प्रदेश सल्लाहकार जानुका, प्रकाशन विभागका सदस्य झनक, जनयुद्धका सहिद सुवर्णा ओलीका भाइ ब्लाङ्की ओलीलगायत अतिथिका रूपमा उपस्थित थिए । पार्टीका प्रदेश ब्युरो सदस्य रहेका जिल्ला पार्टीका सीता गौतम र ध्यानबहादुर तामाङले अतिथिहरूलाई खादा लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :