थारू समुदायले मनाए जितिया पर्व

काठमाडौंः खस समुदायको तीजजस्तै ठानिने पर्व जितिया बुधबार थारू र मिथिलालगायतका समुदायले उल्लासपूर्वक मनाएका छन् । जिमुतवाहन नामका पौराणिक राजाको पुजन गरिने यो पर्वका दिन महिलाहरू सन्तानको दीर्घायु, आरोग्य, सुख र परिवारको शान्तिका लागि ब्रत बस्छन् । तीजमा खस महिलाजस्तै यो समुदायका महिला महिना अघिदेखि आ–आफ्ना टोलमा साँझ झाम्टा पार्छन् । सबै उमेर समूहका नारीहरु सेतो पहिरन, हसुली लगाएर गोलाकारमा सामूहिक नृत्य गर्छन् । पर्वको दिन झाम्टा पार्दै टोलटोल घुम्छन् । घरमा उनीहरुलाई रकम, फलफूल, प्रसाद दिइन्छ । यो पुरानो परम्परा घट्दै गएको चितवन, झुवानीकी फूलमती महतो बताउँछिन् । जितिया पर्वको उदयका विभिन्न पौराणिक कथाहरु छन् । एउटा कथामा पार्वतीले एकदिन महादेवलाई ‘मान्छे नमर्ने कुनै उपाय छैन’ भनेर सोधिछन् । महादेवले ‘जितिया’ ब्रत गरे दीर्घायु हुने बताएपछि पार्वतीले जितिया ब्रतको चलन चलाएको किंवदन्ती छ । अर्को किंवदन्तीअनुसार, राजा जिमुतवाहन राज्यमा घुम्दै गर्दा गरुडले ८ छोरा खाइसकेको र ९ औं सन्तान पनि खाने त्रासले रोइरहेको थाहा पाए । ती नारीको ९ औं बच्चा जन्मनासाथ गरुड आएर लैजान खोज्दा राजा आएर बरु मलाई लग, यो नारीलाई पीडा नदेऊ भनेछन् । राजाको प्रजा प्रेम र बलिदानी भावनाबाट गरुड प्रभावित भएर ९ औं बच्चा छोडेर मात्र गएन पहिलेका ८ छोरालाई पनि ब्यूँताइदिएछ । तिनै प्रतापी राजाको सम्मान र सन्तानको दीर्घायुको लागि जितिया पर्व मनाउने गरिएको हो ।

२०७४ भदौ २9 गते अपरान्ह ४ः५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :