२ नम्बर प्रदेश तनावग्रस्त

काठकाडौंः चुनावको मिति नजिकिँदै गर्दा २ नम्बर प्रदेश अन्तर्गतका विभिन्न ठाउँहरुमा बुधबार राती बम विस्फोटका घटनाहरु भएका छन् । विस्फोटका कारण त्यसक्षेत्रको सुरक्षा व्यवस्थामा चुनौती थपिएको छ । यसैबीच सिरहा, लाहानको दुई स्थानमा बम विस्फोट भएको छ । विस्फोटनको आवाज टाढा–टाढासम्म पनि सुनिएको स्थानीयले बताएका छन् । यस्तै महोत्तरी, बर्दिवासमा व्यापारी प्रदिप खड्काको क्रसर उद्योगमा आक्रमण भएको छ । विस्फोटका कारण उद्योग रहेको भवनमा क्षति हुनुका साथै एउटा डोजर र लोडरमा आगजनी भएको छ । व्यापारी खड्काले विगतदेखि नै करछली गरेको, रातु खोलामा अवैध ढङ्गले गिटी–बालुवा भारततिर निकासी तथा तस्करी गरेको र चर्को मूल्यमा उपभोक्ताहरुलाई बिक्री गरेको आरोप लगाइएको छ । आक्रमणबाट खड्काको उद्योगमा करोडौंको क्षति भएको छ । रौतहटको चन्द्रपुर नपा भोलनटार र बारा, निजगढ नपा सिंगोल सिमाक्षेत्रमा नेकपाले मशाल जुलुस गरेको छ । जुलुसमा सहभागिहरुले नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! कथित स्थानीय निकायको चुनाव खारेज गरौं ! दलाल सरकार मूर्दावाद ! जनसत्ता सुदृढ गरौं ! नारा लगाएका थिए । यस्तै पर्साको विरगञ्ज महानगरपालिका १९ विन्दवासिनीमा रहेको बुथकेन्द्र र विश्रामपुर बुथकेन्द्रमा पनि बम विस्फोट भएको छ । विस्फोटबाट भवनमा क्षति पुगेको छ । सप्तरीको सप्तकोशी नगरपालिका खप्तेश्वर बजारस्थित गोवर्धन माविमा रहेको मतदान केन्द्रमा पनि बम विस्फोट भएको छ । विस्फोटबाट भवनमा केही क्षति पुगेको बताइएको छ । यस्तै बाराको गढिमाई नगरपालिका ४ दैयारमा पनि बम विस्फोट भएको छ । विस्फोट माकेका स्थानीय नेता वीरबहादुर स्याङ्तानको घरमा भएको हो । स्याङ्तानलाई सुराकी, तस्कर र भ्रष्ट भएको आरोप लगाइएको छ । यस्तै माकेका वडा सदस्यका उम्मेदवार सुकमान वाइवाको घरमा बम विस्फोट भएको छ । यसरी दर्जन ठाँउहरुमा भएका विस्फोटनहरुको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

२०७४ भदौ २९ गते १२ः०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :