राजनीतिक–सांस्कृतिक आन्दोलनका उपलब्धि स्थापित गर्न राज्यसत्ता र बन्दुक नै आवश्यक : मोहन वैद्य ‘किरण’

चार स्रष्टालाई इच्छुक स्मृति तथा प्रतिभा पुरस्कार वितरण

राजनीतिक–सांस्कृतिक आन्दोलनका उपलब्धि स्थापित गर्न राज्यसत्ता र बन्दुक नै आवश्यक : मोहन वैद्य ‘किरण’

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस महान् जनयुद्धको सांस्कृतिक–सामाजिक योगदान रहेको बताएका छन् । जनयुद्धमा सांस्कृतिक योद्धाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै माओवादी नेता किरणले नेपालको जनवादी आन्दोलन, सांस्कृतिक आन्दोलन र कम्युनिस्ट आन्दोलनको इतिहासमा जनयुद्धमा जति धेरै ठूलो वीरता, त्याग, बलिदान नभएको पनि प्रस्ट पारे ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा शनिबार काठमाडौँमा आयोजित २२ औँ इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवसका अवसरमा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा प्रतिष्ठानका संरक्षकसमेत रहेका किरणले प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै भने, ‘यो अद्वितीय परिघटना हो । हामीले यसलाई अद्वितीय परिघटनाका रूपमा ग्रहण गर्नुपर्छ । यद्यपि त्यत्रो त्याग, शौर्य र बलिदानपछि पनि हामीले चाहेको रूपान्तरण हुन सकेन । जनताले चाहेको रूपान्तरण हुन सकेन । जनयुद्धका सम्पूर्ण र सांस्कृतिक योद्धाहरूसमेतले धेरै रगत बगाउनुभयो । त्यसको मूल्य निकै ओजपूर्ण छ । महत्वपूर्ण छ । त्यसै जगमा टेकेर हामीले क्रान्तिको तयारी गर्नुपर्दछ ।’

 


माक्र्सवादी संस्कृति, सौन्दर्यशास्त्र, दर्शन र चिन्तनका क्षेत्रमा चैतन्यका नामले स्थापित पार्टी अध्यक्ष किरणले अगाडि भने, ‘हामीलाई यो दिनले विगतको संस्मरणका साथसाथै भविष्यको रूपरेखा कोर्नका निम्ति पनि निर्देशित र उत्प्रेरित गर्दछ भन्ने अर्थमा आजको दिनको मूल्य र महत्वलाई बुझ्नुपर्छ ।’
राजनीतिक, सांस्कृतिक आन्दोलनमा थुप्रै विचलन र भ्रष्टाचारका विषय ज्वलन्त बनेर आएको सन्दर्भ अघि सार्दै पार्टी अध्यक्ष किरणले भने, ‘राजनीतिक र सांस्कृतिक आन्दोलन साथसाथै चल्ने कुरा हुन् । सांस्कृतिक आन्दोलनको विचारधारात्मक पक्ष व्यापक खालको हो । राजनीतिक आन्दोलन मूर्त हुन्छ । यो देखिने गर्छ । सांस्कृतिक आन्दोलनलाई स्थापित गर्ने काममा राजनीतिक आन्दोलनले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।’
सांस्कृतिक आन्दोलन थुप्रै हुने तर त्यसलाई स्थापित गर्न राजनीतिक आन्दोलनको साथ आवश्यक रहेको नेता किरणको भनाइ थियो । उनले अगाडि भने, ‘सांस्कृतिक आन्दोलनले नै सांस्कृतिक आन्दोलनलाई स्थापित गर्न सक्तो रहेनछ । त्यसका उपलब्धिहरूलाई स्थापित गर्नका लागि राज्यसत्ता र बन्दुक नै आवश्यक पर्ने रहेछ ।’
सांस्कृतिक आन्दोलनमा थुप्रै काम भइराखे पनि त्यसलाई स्थायित्व दिन र स्थापित गर्न राजनीतिक क्रान्तिको महत्वपूर्ण भूमिका रहने प्रस्ट पार्दै अध्यक्ष किरणले भने, ‘राजनीतिक क्रान्तिले सांस्कृतिक क्रान्ति÷आन्दोलनका उपलब्धिहरूलाई स्थापित गर्न सक्छ । राजनीतिक क्रान्ति सफल भएको छैन । त्यसैले सांस्कृतिक आन्दोलनका उपलब्धिहरू स्थापित हुन सकेका छैनन् । हामीले साहित्यलाई पनि यही अर्थमा बुझ्नुपर्छ ।’
जनयुद्धका महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ र सांस्कृतिक क्षेत्रका अन्य सहिदहरूको त्याग, शौर्य र बलिदानको मूल्याङ्कन गर्दै पार्टी अध्यक्ष किरणले सहिदका सपनाहरू पूरा गर्न निरन्तर क्रान्तिमा जोड दिए ।
त्याग, शौर्य र बलिदानको स्थान पद, पैसा र लोभलालचले लिँदै गएकोतर्फ प्रस्ट सङ्केत गर्दै उनले भने, ‘कमरेड इच्छुकबाट सिक्नुपर्ने धेरै कुराहरू छन् । राजनीतिक आन्दोलनमा आउने जिम्मेवारी वा पदको कुरा पनि असाध्य महत्वपूर्ण हो । आज आएर हामीले सम्झिँदा एकताकेन्द्रको महाधिवेशनको कुरा हो । कृष्ण सेन ‘इच्छुक’ लाई केन्द्रीय समितिमा राख्ने कुरा आयो । म त्यही राप्ती–लुम्बिनी क्षेत्रमा काम गर्ने भएकाले उहाँलाई केन्द्रीय समितिमा ल्याउने जिम्मा मैले पाएको थिएँ । त्यसपछि मैले उहाँसँग जिम्मेवारीको कुरा गरेँ । उहाँले पटक्कै मान्दै मान्नुभएन । म अभैm केन्द्रीय सदस्यका लागि योग्य छैन भन्नुभयो । म पार्टी समितिमा बस्छु । ब्युरोमा बस्छु । काम गर्छु तर केन्द्रीय समितिमा बस्दिनँ भन्नुभयो । उहाँले त्यति बेला भनेका कुरा सोच्दाखेरि जनयुद्धआसपास र त्योभन्दा पुरानो इतिहास हेर्दा म केन्द्रीय समितिमा बस्छु भन्ने साथीहरू प्रायः हुँदैनथे । हुनत म कसैको अपमान गर्न खोजिरहेको छैन तर अहिले आएर हेर्दा त्यस्तो (इच्छुकजस्तो) मान्छे कोही पनि पाइँदैन । यो कुरा इच्छुकमा आएर अभिव्यक्त भयो । यद्यपि हामी पदमा बसेका छौँ । ‘तिमीहरू पदमा बसेका छौ, त्यसैले तिमीहरू किन भन्दैनौ त भन्नेजस्ता कुरा पनि आउन सक्छन् । भारी बोक्दाबोक्दै त्यत्तिकै छोडेर हिँड्ने कुरा पनि भएन ।’
क्रान्तिकारी आन्दोलन महान् सहिदहरूको सपना पूरा गर्ने दिशातर्फ अग्रसर भइरहेको अध्यक्ष किरणले बताए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले इच्छुक भविष्यद्रष्टा स्रष्टा रहेको बताए । इच्छुकसँग जेलमा सँगै बस्दाका अनुभूतिहरू राख्दै प्रवक्ता कञ्चनले विचार, त्याग, अध्ययन र साधना इच्छुकलाई स्थापित गर्ने तत्वहरू रहेको प्रस्ट पारे । इच्छुकले प्रचण्डलाई दिएको जबाफ स्मरण गर्दै प्रवक्ता कञ्चनले भने, ‘आफूले अझै धेरै परीक्षाहरू उत्तीर्ण गर्न बाँकी रहेको भन्दै इच्छुकले पार्टीको केन्द्रीय समितिको जिम्मेवारीसमेत अस्वीकार गर्नुभयो र त्यागको संस्कृति प्रस्तुत गर्नुभयो ।’ तर यतिबेला त्यसप्रकारको त्याग प्राप्त गर्न कठिनाइ हुँदै गएको उनको भनाइ थियो ।


प्रधानमन्त्री, प्रहरी महानिरीक्षक, उपप्रधानमन्त्री, गृहमन्त्री र उच्च प्रशासकहरूले नै आफ्नै देशका नागरिकलाई अर्काको देशको शरणार्थी बनाएर राष्ट्रघाती काम गरेको भन्दै प्रवक्ता कञ्चनले यो व्यक्तिको मात्र नभएर व्यवस्थाकै दोष रहेकाले यो व्यवस्था फ्यालेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्नेमा जोड दिए । उनले यो व्यवस्थाको फोहोर फ्याल्न आफ्नो पार्टी मात्र सक्षम रहेको र त्यसका लागि सशक्त राजनीतिक, सांस्कृतिक आन्दोलन आवश्यक रहेको पनि प्रस्ट पारे ।
माक्र्सवादी स्रष्टाहरूलाई उनले यो व्यवस्था र यसका खलपात्रहरूलाई नाङ्गेझार पार्ने सिर्जना पस्किन पनि आह्वान गरे । नागरिक बेच्नेहरूलाई लुटेरा, चोर, डाँका, पातकी, भाडाका टट्टुजस्ता शब्दले सम्बोधन गर्दै प्रवक्ता कञ्चले साम्राज्यवादले प्रयोग गरेका पात्रहरूबाट देश र जनताले यी समस्याबाट मुक्ति प्राप्त नसक्ने र त्यसका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा हतियारबद्ध क्रान्ति आवश्यक र अपरिहार्य रहेकोमा जोड दिए ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानकी सल्लाहकार प्राध्यापक तक्मा केसीले इच्छुकलगायत महान् सहिदका सपना पूरा गर्नका लागि जनतासम्म विचार, सिर्जना र अभियान लग्ने विषयमा भूमिका र क्रियाशीलता बढाउन प्रतिष्ठानलाई सुझाव दिइन् । विकल्प नदेखेर भौँतारिइरहेको नयाँ पिँढीलाई देशमा, क्रान्तिमा भविष्य देखाउन सहिदहरूको त्याग र बलिदान ऊर्जा बन्ने र त्यसको महत्ता स्थापित गर्न अझ मेहनत गर्नुपर्ने उनको भनाइ थियो । ‘अग्रगामी र हस्तक्षेपकारी ढङ्गले अघि बढ्नुपर्छ । पद, पैसा, प्रतिष्ठाका लागि सम्पूर्ण गौरवशाली इतिहास भुलेर दौडिरहेको समाजलाई सही ठाउँमा ल्याउनुपर्छ’, उनले भनिन् ।


प्रतिष्ठानका अध्यक्ष प्राडा ताराकान्त पाण्डेयले नेपालको साम्यवादी आन्दोलनमा इच्छुकले चारित्रिक उदात्तता, शब्द र कर्ममा एकत्व स्थापित गर्दै सिर्जना, त्याग, शौर्य, वीरता र बलिदानमा उदाहरण प्रस्तुत गरेको बताए । यसका लागि इच्छुकका साथै महान् जनयुद्धका २३६ भन्दा बढी सांस्कृतिक सहिदको भूमिका महत्वपूर्ण रहेको अध्यक्ष पाण्डेयको भनाइ थियो ।
इच्छुकलाई सपनाको बिम्ब, आस्थाको केन्द्र, भविष्यको सपना देख्ने स्रष्टाको उपमा दिँदै प्राडा पाण्डेयले भने, ‘सुन्दर बिम्बहरूको माध्यमबाट श्रमिक वर्गको मुक्तिको सुन्दर सपना देख्ने इच्छुकहरूका सपनाहरू मरेका छैनन् । सपनाहरूको औचित्य समाप्त भएको छैन । सपना घात गर्नेहरू, सपना कुल्चिनेहरूसँग, हत्याराहरूसँगै साँठगाँठ गर्न पुगेका स्वप्नहन्ताहरूका विरुद्ध सङ्घर्ष गर्नुछ । संशोधनवादी, अवसरवादी, छद्मभेषीहरूका विरुद्धको सङ्घर्ष ठूलो चुनौतीको विषय हो । त्यसका विरुद्ध भिडेर विजय प्राप्त गर्न र सपनाहरू साकार पार्न इच्छुकलगायत महान् सहिदहरूको त्याग, शौर्य र बलिदानले ऊर्जा प्रदान गर्नेछ ।’प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका प्रतिभा चयन समितिका संयोजक हीरामणि दुःखीले इच्छुक स्मृति र प्रतिभा पुरस्कार प्राप्त गर्ने चारजना स्रष्टाका बारेमा बोलेका थिए ।
प्रतिष्ठानका संरक्षक चैतन्यले इच्छुक स्मृति पुरस्कार प्राप्त गर्ने देवेन्द्र लम्साल र नेपालीभाषी भुटानी स्रष्टा तुम्बेहाङ लिम्बूलाई पचासपचास हजार, साहित्य र कलातर्फको इच्छुक प्रतिभा पुरस्कार प्राप्त गर्ने खगेश्वर भण्डारी र निर्मला घिसिङलाई पच्चीसपच्चीस हजार नगद, सम्मानपत्रसहित दोसल्ला प्रदान गरेका थिए ।
पुरस्कार र सम्मान प्राप्त गर्ने स्रष्टाहरूले आआफ्ना सिर्जना र अनुभूतिहरू प्रस्तुत गरेका थिए । बीचबीचमा सामना सांस्कृतिक परिवारका कलाकारहरूले गीत, सङ्गीत र नृत्य प्रस्तुत गरेको पुरस्कार तथा सम्मान वितरण कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्यसचिव मित्रलाल पंज्ञानीले गरेका थिए भने स्वागत गौरी दाहालले गरेकी थिइन् । सुनीता बुढाथोकी, निर्मला घिसिङलगायत स्रष्टाले इच्छुकका कविता र गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा क्रान्तकारी कम्युनिस्ट पार्टी नेपालका नेता सीपी गजुरेल ‘गौरव’ लगायत कार्यालय, सचिवालय, केन्द्रीय समिति, ब्युरो÷प्रदेश समिति, जवस मोर्चा, सञ्चारलगायत क्षेत्रमा काम गर्ने नेता–कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।
यसअघि पार्टी आबद्ध सांस्कृतिक र सञ्चार मोर्चाहरू शनिबार बिहान प्रभातफेरी र कविगोष्ठी गर्दै इच्छुक स्मृति तथ बलिदान दिवस मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :