काठमाडौँमा प्रभातफेरी र इच्छुक हत्यास्थलमा कविगोष्ठी गर्दै मनाइयो २२ औँ सांस्कृतिक बलिदान दिवस

काठमाडौँमा प्रभातफेरी र इच्छुक हत्यास्थलमा कविगोष्ठी गर्दै मनाइयो २२ औँ सांस्कृतिक बलिदान दिवस

काठमाडौँ : जनयुद्धका महान् सांस्कृतिक योद्धा तथा जनपत्रकार कृष्ण सेन ‘इच्छुक’ को बलिदान भएको २२ औँ स्मृति दिवस पारेर शनिबार काठमाडौँमा इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस मनाइएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका दुईवटा सांस्कृतिक र दुईवटा सञ्चार मोर्चाको संयुक्त आयोजनामा काठमाडौँमा २२ औँ इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवसका अवसरमा प्रभातफेरीका साथै कविगोष्ठी आयोजना गरिएको हो ।
रत्नपार्क शान्तिवाटिकाबाट सुरु भएको प्रभातफेरी बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै महेन्द्र पुलिस क्लबअगाडि पुगेर कोणसभा तथा कविगोष्ठीमा परिणत भएको थियो । प्रभातफेरीमा सहभागी सयभन्दा बढी नेता–कार्यकर्ता, संस्कृतिकर्मी, स्रष्टा र सञ्चारकर्मीले इच्छुकका हत्यारालाई कारबाही गर, सहिदको सपना साकार पारौँ, महान् सहिद लालसलाम ! लगायत नारा लेखिएका प्लेकार्ड छातीमा टाँसेका थिए ।
महेन्द्र पुलिस क्लबअगाडि आयोजित कोणसभामा सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य एवम् सहिद तथा बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष दिनेश शर्मा ‘सागर’ ले इच्छुकलगायत दस हजारभन्दा बढी सहिद र बेपत्ता योद्धाका सपना साकार नभएको र त्यसका लागि फेरि हतियारबद्ध आन्दोलन सुरु गर्नुपर्ने बाध्यता आएको बताए । नेपाली आमाका सत्र हजार सन्ततिको रगतमा गणतन्त्र स्थापना भए पनि नेपाल र नेपाली श्रमिक जनतालाई मुक्त पार्ने महान् सहिदका सपनामाथि कुठाराघात गरिएको भन्दै नेता शर्माले जनताको अर्को विद्रोहले नै दलाल पुँजीवादी संसदीय व्यवस्थाका झारपातहरू मिल्काएर वैज्ञानिक समाजवाद स्थापना गर्ने प्रस्ट पारे ।


माक्र्सवादी सांस्कृतिक आन्दोलनका अगुवा तथा लेखक रोशन जनकपुरीले इच्छुकका हत्यारालाई कारबाही गर्नुको साटो पुरस्कृत गरिएको भन्दै रोष प्रकट गरे । उनले इच्छुकको आदर्श मर्न नसक्ने भन्दै उक्त क्रान्तिकारी आदर्श र सपनालाई मालेमावादी क्रान्त्किारीहरूले क्रान्तिको माध्यमबाटै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । जनयुद्धबाटै आएका कतिपय पात्रहरू दलाल पुँजीवादी सत्ताका शासक बनेर महान् सहिदहरूको सपना र आदर्शमाथि कुठाराघात गरिरहेको भन्दै उनले क्रान्तिको भेलले सबै किसिमका प्रतिक्रान्तिकारी र संशोधनवादीलाई बगाउने धारणा व्यक्त गरे ।


अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्राडा जगदीशचन्द्र भण्डारीले स्वप्नहन्ताहरूको दलाली, गद्दारी, षड्यन्त्रविरुद्ध मालेमावादी विद्रोह र क्रान्तिको शक्तिशाली तुफान अघि बढिरहेको बताए ।

पार्टी निकट अर्को जनसांस्कृतिक महासङ्घका अध्यक्ष खेम थपलियाले इच्छुकका आदर्शहरूको रक्षा गर्न माक्र्सवादी संस्कृतिकर्मीहरू निरन्तर क्रियाशील हुनुपर्ने धारणा राखे ।


क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय सञ्चार मोर्चाका संयोजक एवम् माक्र्सवादी संस्कृतिकर्मी अशोक सुवेदीले इच्छुकलगायत अढाइ सयभन्दा बढी सांस्कृतिक सहिदका सपना निरन्तर क्रान्तिको मार्गबाट मात्र पूरा हुने बताउँदै सांस्कृतिक सहिद इच्छुकको बन्दी र चन्द्रागिरि काव्य वाचन गरेपछि कविगोष्ठी सुरु भएको थियो ।
गोष्ठीमा क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष नारायण पंगेनीले इच्छुकलगायत सहिदका हत्याराहरूमाथि कारबाही नभएसम्म उनका सपना पूरा गर्ने अभियान बन्द नहुने धारणा राखेका थिए ।


कार्यक्रममा हीरामणि दुःखी, मित्रलाल पंगेनी, ढुण्डीराज अधिकारी, अनिल श्रेष्ठ, रसुवाली कवि, वसन्त बोगटी, मोदनाथ मरहट्टा, गौरी देवकोटा, इन्दिरा अधिकारीलगायतले कविता वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन क्रान्तिकारी पत्रकार सङ्गठनका संयोजक कमल बुढाले गरेका थिए ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्यहरू चन्द्रहरि सुवेदी ‘अटल’, पवनमान श्रेष्ठ, प्रेम सुवेदी, केबी गुरुङ, बाबुराम गजमेरका साथै इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष प्राडा ताराकान्त पाण्डेयलगायतको सहभागिता थियो ।
२२ वर्षअघि जेठ १३ गतेकै दिन तत्कालीन शाही सरकारले इच्छुकलाई कायरतापूर्ण हत्या गरेको थियो । नेपालका माओवादी क्रान्तिकारीहरूले जेठ १३ गते इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस मनाउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :