देश लुछ्दै कालोबजारी र लुच्चा ठेकेदार

काठमाडौं : दसैँ, तिहार, छठ, इदलगायत चाडपर्वले नागरिकलाई प्रभावित–तरङ्गित गरिसकेको छ । यो अवसरमा उठबस, खरिदबिक्री र आर्थिक गतिविधि सधैँको भन्दा बढी हुने गर्दछ । परम्परा तथा संस्कारगत रूपले नागरिकका आफ्नै खालका रुचि र बाध्यता हुन्छन् । त्यस्तो अवस्थामा राज्य र जिम्मेवार संस्थाहरूले राहत उपलब्ध गराउनुपर्ने हो । तर यही मौका पारेर लोकतान्त्रिक गणतन्त्रनामक संसदीय व्यवस्था र कालोबजारियाहरूले ब्वाँसोले झैँ नागरिकलाई पृष्ठभागमा जिउँदै लुछिरहेका छन् ।

दसैँको समय पारेर खाद्य पदार्थमा व्यापक मूल्यवृद्धि भएको छ । कयौँ हिमाली क्षेत्रमा चामलको पनि अभाव छ । तर काठमाडौँको गोदाममा खाद्य पदार्थ सडिरहेको छ । बिरामी र बच्चाका लागि नभइनहुने दूधको मूल्यवृद्धिलगत्तै अन्य उपभोग्य वस्तुको पनि मूल्य आकासिएको छ । चाडको अवसर पारेर यातायातको भाडा बढाउने, उभ्याएर यात्रा गराउने, यात्रुवाहक सवारीलाई मालवाहक बनाएर यात्रुको ज्यान जोखिममा पार्न सरकारले नै यातायात व्यवसायीलाई छूट दिएको छ । यातायात व्यवसायीले अग्रीम बुकिङ रोकेर नाजायज माग गर्दा दण्डित गर्नुपर्नेमा सरकार निरीह बनेर उनीहरूका मागअगाडि झुकेको छ । यसबाट बुझ्न सकिन्छ, संसदीय व्यवस्था जनताको पक्षपाती व्यवस्था होइन । यो व्यवस्थाका सांसद, मन्त्री र नीति निर्माताहरूको नाभी कालोबजारिया, भ्रष्ट तत्वसँग जोडिएको छ र उनीहरूले जनताको होइन, भ्रष्ट र कालोबजारियाकै प्रतिनिधित्व गर्दछन् । गृह मन्त्रालयकै संरक्षणमा ८८ किलो सुनकाण्ड झन् रहस्यमय बन्दै गएको छ ।

नेपाल तस्करहरूको सुरक्षित आश्रयस्थल बन्दै गएको यथार्थ उक्त काण्डले पर्दाफास गरेको छ । आयल निगमको जग्गा खरिदकाण्डमा मन्त्री दीपक बोहोरा र आयल निगमका प्रमुख गोपाल खड्कामण्डलीको संलग्नता स्पष्ट भइरहेको छ । उनै खड्काका मतियार दीपक बोहोरालाई मन्त्री बनाएर भ्रष्टहरूलाई छाता ओढाउने धृष्टता प्रम देउवाले गरेका छन् । ५४ जना मन्त्रीहरू बनाएर विनियोजित बजेट अपुग हुने लज्जास्पद र राज्य ढुकुटीको नीतिगत डकैतीमा प्रम आफैँ लागेका छन् । २ नं. प्रदेशमा चुनावको वातावरण छ । खसीबोकाझैँ मान्छे किनिएका र बेचिएका छन् । रत्नपार्कको साँझको व्यापारभन्दा राजनीतिक वेश्यावृत्ति उत्कर्षमा छ । समग्रमा संसदीय व्यवस्थाले देश र जनतालाई गिद्धले लुछेझैँ लुछिरहेका छन् । यो अवस्था जनताले कति दिन सहिरहलान् वा निरीह भएर हेरिरहलान् ?

स्रोत : रातोखबर साप्ताहिक

२०७४ भदौ २९ गते ६ : २२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :