सादा जीवन र कठोर सङ्घर्षमा दृढ रहौँ र जनसमूहसँग घनिष्ट सम्बन्ध कायम राखौँ

(सुविधा र पदका लागि कतिपय स्वार्थ र लम्पट कार्यकर्ताले कसरी नौटङ्की पार्दै आँसु बगाउँछन् भन्ने विषयमा कमरेड माओको मार्मिक निबन्ध)

सादा जीवन र कठोर सङ्घर्षमा दृढ रहौँ र जनसमूहसँग घनिष्ट सम्बन्ध कायम राखौँ

३ मार्च १९५७

हाम्रो पार्टीले शुद्धीकरण आन्दोलनको ढोका खोल्न लागेको छ । यो पार्टीभित्र आलोचना र आत्मालोचनामार्फत अन्तरविरोधहरूलाई हल गर्ने तरिका हो र साथै पार्टी र जनताबीचका अन्तरविरोधहरू हल गर्ने तरिका पनि हो । यसपटक यो आन्दोलनको निशाना नोकरशाही सङ्कीर्णतावाद, मनोगतवादजस्ता तीनवटा खराब शैलीहरू हुनेछन् । हामीले शुद्धीकरणमार्फत सादा जीवन र कठोर सङ्घर्षको हाम्रो पार्टी परम्परालाई अघि बढाउने भगीरथ प्रयास गर्नैपर्छ । हामीले क्रान्तिमा विजय प्राप्त गरेदेखि यता हाम्रा कतिपय कमरेडहरूको क्रान्तिकारी सङ्कल्प ओइलाउँदै आएको छ । तिनको क्रान्तिकारी उत्साह मर्दै आएको छ । दिलोज्यानले जनताको सेवा गर्ने तिनको भावनामा सुस्ती आइरहेको छ र त्यसैगरी शत्रुविरुद्धको लडाइँमा मृत्युलाई हाँक दिन तिनले प्रदर्शन गरेको भावनामा पनि सुस्ती आइरहेको छ । त्यसका साथसाथै उनीहरू पद र चर्चाका निमित्त मरिमेट्न थालेका छन् । आफ्नो लगाइ–खवाइमा विशेष बन्न थालेका छन् । तलबका निमित्त होडबाजी गर्न र ख्याती तथा लाभका निमित्त हुरुक्क हुन थालेका छन् । यी सारा मनोवृत्तिहरू हुर्किरहेका छन् ।
गत वर्ष काडरहरूको स्तर वृद्धि गर्ने क्रममा कतिपय काडरहरू डाँको छाडेर रोए र तिनले अद्भुत गाईजात्रा देखाए रे भन्ने मैले सुनेको छु । मानिसहरूका दुईवटा आँखा छन्, छैनन् र ? ती आँखामा उर्लिएर आउने पानीलाई आँसु भन्ने गरिन्छ । तिनले चिताएजस्तो गरी स्तर वृद्धि नभएपछि तिनका गालाबाट आँसुका धारा बग्न थाल्छन् । दमनकालमा तिनले कहिल्यै एक थोपो आँसु पनि झारेनन्, न त समाजवादको निर्माणकालमा नै तिनले आँसु झारे तर तिनका निजी हितहरूमाथि असर पर्नासाथै तिनका आँखाबाट आँसुका नदी नै बग्न थाले । कसैले त तीन दिनसम्म खाना खानै मानेनन् रे भन्ने कुरासमेत पनि मैले सुनेको छु । म त के भन्छु भने कोही एकजनाले तीन दिनसम्म खान मानेन भने त्यो केही कुरा होइन तर त्यो क्रम एक सातासम्म चल्यो भनेचाहिँ बडो खतरनाक हुन्छ । छोटकरीमा भन्ने हो भने ख्याती र पदका निम्ति प्रतिस्पर्धा गर्ने, तलब, खान्की, लुगा र सोखसयल दाँजेर हेर्ने मनोवृत्ति पैदा भएको छ । आफ्ना निजी हितहरूका निमित्त भोक हड्ताल गर्ने र आँसु झार्ने कुरालाई जनताबीचको एक प्रकारको अन्तर्विरोध मान्न सकिन्छ । ‘लिन चडले राती सुइँकुच्चा ठोक्छ’ भन्ने ओपेराको एउटा दृश्यको एक पङ्क्ति यस्तो छ ः ‘मुटु चिरा नपरी लोग्नेमानिसले सजिलै आँसु झार्दैन ।’ हाम्रा केही कमरेडहरू लोग्नेमानिस छन्, सके स्वास्नीमानिस पनि होलान् जसका बारेमा के भन्न सकिन्छ भने स्तर वृद्धिको कुरा आइलागुन्जेलसम्म उनीहरूले सजिलै आँसु झार्दैनन् । यस्तो व्यवहारलाई पनि सुधार्नु पर्छ, पर्दैन त ? सजिलै आँसु नझार्नु ठीक कुरा हो तर मुटु चिरा पर्नेचाहिँ कहिले हो नि ? त्यो बेला जब मजदुर वर्ग र श्रमिक जनसमूहको भाग्य खतरामा पर्छ, त्यस्तो बेलामा मानिसले केही थोपा आँसु झारे हुन्छ । तपाईंलाई जस्तोसुकै दर्जा दिइए पनि र तपाईंको स्तर निर्धारण गराइ गलत भए पनि तपाईंले त्यो दर्जा स्वीकार गर्नैपर्छ र तपाईंले आफ्ना आँसुलाई झर्न नदिई भित्रै राख्नुपर्छ । यस संसारमा पक्षपातपूर्ण कुरा धेरै छन् र तपाईंको स्तर निर्धारण अनुचित भएको पनि हुनसक्छ तर त्यसो भएछ नै भने पनि त्यसबारेमा हल्लाखल्ला मच्चाउनुपर्ने कुनै कारण छैन किनभने त्यसो गर्नु बेकार छ र पेटभरि खान पाउन्जेलसम्म तपाईंले चित्त बुझाएर बस्नुपर्छ । जे भए पनि हाम्रो पार्टी एक क्रान्तिकारी पार्टी हो । त्यसकारण कसैलाई पनि भोकै मर्न नदिने कुरालाई हामीले आफ्नो सिद्धान्तका रूपमा अँगाल्नु पर्दछ । भोकले नमरुन्जेलसम्म जोकोहीले पनि क्रान्तिकारी काम गर्नुपर्दछ र दत्तचित्त भएर गर्नुपर्दछ । आजभन्दा दस हजार वर्षपछि पनि मानिसहरूले मेहनतसाथ काम गर्नैपर्छ । कम्युनिस्टले त आधा चित्तले वा दुईतिहाइ चित्तले नभई पूरापूर दत्तचित्त भई मेहनत साथ काम गरेर जनताको सेवा गर्नुपर्दछ । जसको क्रान्तिकारी सङ्कल्प ओइलाउँदै गएको छ उनीहरूको भावनालाई शुद्धीकरणद्वारा पुनर्जीवित तुल्याउनैपर्छ ।

हामीले क्रान्तिकारी युद्धहरूका वर्षहरूमा देखाएको जस्तै लागत, त्यस्तै किसिमको क्रान्तिकारी उत्साह र मृत्युलाई हाँक दिने त्यस्तै किसिमको भावना कायम राख्नुपर्छ र क्रान्तिकारी काम आखिरीसम्म चलाउनुपर्छ । मृत्युलाई हाँक दिने भनेको के हो ? जल किनारा भन्ने उपन्यासमा मृत्युलाई हाँक दिने साइँलो भाइ सी स्यु भन्ने एउटा पात्र छ । यहाँ हामीले ठ्याक्कै उसको जस्तो भावनालाई मनमा राखेका छौँ । हामीले यही भावनाको सहाराले विगत कालमा क्रान्ति गर्न सकेका हाँै । मानिसले एक बारको जुनी मात्र पाउँछ र यस जुनीमा ऊ त्यस्तै साठी, सत्तरी, असी वा नब्बे वर्षसम्म बाँच्नसक्छ । यो कुरा हेरीहेरी हुन्छ । आफूले सकुन्जेलसम्म तपाईंले केही न केही काम गर्नुपर्छ । अनि तपाईंले यो काम उत्साह र मृत्युलाई हॉक दिने भावनासाथ गर्नुपर्दछ । केही कामरेडहरूमा यस्तो उत्साह र भावनाको कमी हुँदै गएको छ र उनीहरूले प्रगति गर्न छाडेका छन् । यो स्वस्थ किसिमको घटना प्रवाह होइन । त्यसकारण उनीहरूमाझ शिक्षा दिने कार्य सञ्चालन गर्नुपर्दछ । सिङ्गो पार्टीले राजनीतिक र विचारधारात्मक कामलाई सुदृढ तुल्याउनु पर्दछ ।
आजको सम्मेलनमा उपस्थित थुप्रै कमरेडहरू सेनामा कार्यरत हुनुहुन्छ । हैन, सेना फाँटको स्थिति के–कस्तो छ नि ? के शान्ति कालको राजनीतिक काम र युद्ध कालको राजनीतिक कामका बीचमा केही न केही भिन्नता छैन र ? युद्धकालमा जनसमूहहरूसँग घनिष्ट सम्बन्ध राख्नैपर्छ । अफिसरहरूले जवानहरूसँग र सेनाले चाहिँ जनतासँग एकीकृत हुनैपर्छ । यस्ता बखतमा हामीमा केही कमजोरीहरू भए पनि जनताले हामीलाई माफी दिन्छन् । अहिले त शान्ति काल हो । अहिले हामीले युद्ध लड्नु परेको छैन र हामीले गर्नुपर्ने जम्मा कामै तालिम लिनु नै हो । जनसमूहहरूसँग घनिष्ट सम्बन्ध कायम राख्ने कुरामा हामी दृढतासाथ लागिपरेनौँ भने हाम्रा कमजोरीहरूलाई माफी दिन उनीहरूलाई स्वभावतः गाह्रो पर्नेछ । सैनिक दर्जाहरूको प्रणाली र अन्य प्रणालीहरूको निर्माण गरिएको भए तापनि उच्च दर्जाका सैनिकहरूले आफ्नो मातहतमा रहेका सैनिकहरूसँग र काडरहरूले सिपाहीहरूसँग नङमासुसरह एक हुनैपर्छ अनि मातहतका सैनिकहरूलाई उपल्ला दर्जाका सैनिकहरूको आलोचना गर्न र सिपाहीहरूलाई काडरहरूको आलोचना गर्न दिइरहनुपर्छ । उदाहरणका लागि आलोचना गर्ने अवसर प्रदान गर्न पार्टी सम्मेलनको आयोजना गर्न सकिन्छ । ‘तीन खराबीहरू’ विरुद्धको आन्दोलनताका कामरेड चेन ईले यो कुरा एकदम सही ढङ्गले यसरी भन्नुभएको थियो, ‘यतिका वर्ष हामीले आदेश जारी गर्दा ठिकै भयो । अब हाम्रो मातहतका सैनिकहरूलाई केही समयसम्म भनौँ न, एक सातासम्म हाम्रो आलोचना गर्न दिनु ठीक नहोला र ?’ यसो गर्नु ठीक हो भन्ने उहाँको आशय थियो । उहाँसँग मेरो सहमति छ । हाम्रो मातहतमा रहेका मानिसहरूले एक सातासम्म हाम्रो आलोचना गरून् । यस्ता आलोचना सुरु हुनुभन्दा अघि केही तयारी गर्नोस् । त्यसपछि कुनै न कुनै प्रकारको प्रतिवेदन प्रस्तुत गर्नोस् र तपाईंका आफ्नै कमजोरीहरूबारे यसो केही कुरा भन्नोस् । त्यसमा सम्भवतः एक, दुई, तीन वा चार बुँदाभन्दा बढी हुने छैनन् । त्यसपछि कमरेडहरूलाई बोल्न, केही बुँदा थपथाप गर्न र आलोचना गर्न दिनोस् । जनसमूहहरूमा निष्पक्ष भावना हुन्छ । उनीहरूले हाम्रो अभिलेखलाई उपेक्षा गर्ने छैनन् । कम्पनी र प्लाटुन कमान्डरहरूले पनि आफू मातहतका सैनिक जवानहरूलाई आलोचनाहरू गर्न दिनुपर्छ र वर्षको एकपटक निकै दिनसम्म लगातार चल्ने गरी आलोचना बैठकहरूको आयोजना गर्नु सबभन्दा राम्रो हुनेछ । विगतमा हामीले सेनामा यसप्रकारको जनवादको अभ्यास गरेका थियौँ र त्यसबाट सुपरिणामहरू निस्केका थिए ।
सैनिक दर्जाहरूको प्रणाली र अन्य प्रणालीहरू अँगाल्नाको परिणामस्वरूप माथिल्ला र तल्ला तहबीचका अफिसरहरू र जवानहरूबीचका, सेना र जनताबीचका तथा सैन्य शक्तिहरू र स्थानीय अधिकारीहरूबीचका घनिष्ट सम्बन्धहरूमा क्षति पुग्न नदिनोस् । के कुरा भनिरहनु नपर्ला भने माथिल्ला तहहरूले तल्ला तहहरूसँग घनिष्ट सम्बन्ध कायम राख्नुपर्दछ र यो सम्बन्ध कमरेडी खालको हुनुपर्छ । काडरहरूले सिपाहीहरूसँग घनिष्ट सम्बन्धको विकास गरी उनीहरूसँग एकीकृत हुनुपर्छ । त्यसैगरी सशस्त्र सेनाहरूले जनतासँग र स्थानीय पार्टी र सरकारी सङ्गठनहरूसँग धनिष्ट सम्बन्ध कायम राख्नुपर्दछ ।
हाम्रा कमरेडहरूले यस कुरालाई मनमा राख्नुपर्छ ः आफ्नो कार्यालयको शक्ति, आफ्नो उच्च दर्जा वा वरिष्ठताको सहाराले गुजारा चलाउने नगर्नोस् । वरिष्ठताका सन्दर्भमा, हामी निकै वर्षदेखि काम गर्दै आएका छौँ र हाम्रो यस अभिलेखनको महत्व त रहन्छ नै, तैपनि हामीले यसैको सहाराले गुजारा चलाउने गर्नु भने हुँदैन ।
के कुरा साँचो हो भने तपाईंहरू अनेकौँ दशकदेखि काम गरिआउनुभएका जड़ी कार्यकर्ताहरू हुनुहुन्छ । यो सब हुँदाहुँदै पनि तपाईंहरूले कुनै उल्लू काम वा वाहियात कुरा गर्नुभयो भने जनताले माफी दिने छैनन् । विगतमा तपाईंले जतिसुकै सुकर्महरू गरेको भए पनि र तपाईंको पद जतिसुकै उपल्लो भए पनि आज तपाईं राम्ररी काम गरिरहनुभएको छैन, सही ढङ्गले समस्याहरूको हल गरिरहनुभएको छैन र यसप्रकार जनहितलाई नोक्सान पु¥याइरहनुभएको छ भने जनताले तपाईंलाई माफी दिने छैनन् । त्यसकारण हाम्रा कमरेडहरूले आफ्नो वरिष्ठतामाथि नभई सही ढङ्गले समस्याहरू हल गर्ने आफ्नो क्षमतामाथि भर पर्नु पर्दछ । यहाँनिर महत्वपूर्ण कुरा वरिष्ठता नभएर सहीपना नै हो । आफ्नो वरिष्ठतामाथि निर्भर रहन नसक्ने भएकाले यसबारे तपाईंले बिर्सिदिए पनि हुन्छ । मानौँ तपाईं कहिल्यै अफिसर हुनुभएकै होइन । भनाइको तात्पर्य के हो भने ठालू वा नोकरशाहको धाकरबाफ देखाउन छाड्नैपर्छ । आफ्नो धाकरबाफलाई एकातिर पन्छाएर तपाईंले जनताका बीचमा तथा तपाईंका सहायकहरूका बीचमा जानैपर्छ । यो हाम्रा काडरहरूले र खास गरेर हाम्रा पाका काडरहरूले मनमा राख्नैपर्ने कुरा हो । साधारणतया नयाँ काडरहरूमाथि उति ठूलो बोझ रहँदैन । उनीहरूको बोझ अलि हलुँगो हुन्छ । पाका काडरहरूले नयाँ काडरहरूसँग समान हैसियतबाट व्यवहार गर्नुपर्छ । पाका काडरहरू निकै कुरामा नयाँ काडरहरू जति असल हुँदैनन्, त्यसकारण तिनले उनीहरूबाट सिक्नु पर्दछ ।
टिपोटहरू
– लिन चुङले राती सुइँकुच्चा ठोक्छ भन्ने दृश्य मिठ राजवंशको पालामा रचिएको तरबारको कथा भने कुन चु ओपेराको हो । कुन चु ओपेराको थालनी क्याइसको कुनशानमा भएको हो ।
– २ सैनिक दर्जा प्रणाली १९५५ को सेप्टेम्बर महिनामा लागू गरिएको थियो र १९६५ मा यसलाई उन्मूलन गरियो ।

स्रोत : माओ, कम्युनिस्ट जीवनशैली र कार्यपद्धतिबारे

(पहिलो खण्ड १९५७ को मार्च १८ तारिखका दिन सिनानमा आयोजित पार्टी काडरहरूको सम्मेलनमा अध्यक्ष माओले दिएको भाषणको अंश हो र दोस्रो खण्डचाहिँ सोही वर्षको मार्च १९ तारिखका दिन नानकिङमा आयोजित पार्टी काडरहरूको सम्मेलनमा दिइएको भाषणको अंश हो ।) (आन्दोलनहरूमा र कतिपय अवस्थामा आफ्नो कार्यदक्षता नहुँदानहुँदै पनि पार्टी जिम्मेवारी थप्नका लागि पार्टीभित्रै घुर्की लगाउने, असहयोग गर्ने, पार्टीकाम माखो नमार्ने, बढुवा हुन नपाउँदा बैरागिएर पलायन हुनेसम्मका सोचाइ बनाउने, वर्गसङ्घर्षमा कुलेलम ठोक्ने र अन्तरसङ्घर्षमा रमाउने अवसरवादी चिन्तन र व्यवहारहरू प्रकट हुने गर्छन् । त्यसप्रकारका गैरमाक्र्सवादी चिन्तन र व्यवहारबाट मुक्त हुन र निरन्तर माक्र्सवादी बन्न माओको यो लेख सामयसान्दर्भिक हुने ठानेर प्रकाशित गरिएको हो– सम्पादक ।)

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :