लोकप्रिय भारतीय पत्रकारको हत्या

काठमाडौंः आफ्नो ज्यान असुरक्षित रहेको बताउँदै आएकी बैङ्लोर निवासी चर्चित पत्रकार गौरी लंकेशको गत मंगलबार राति उनकै निवासमा हत्या भएको छ । उनले हिन्दु अतिवाद र सत्ताको आलोचनामा लेख्दै आएकी थिइन् । उनको हत्यामा भाजपा नेतृत्वको सरकार संरक्षित आरएसएसको हात रहेको विश्वास गरिएको छ । तर उसले सबैभन्दा पहिले गौरी हत्यामा आफ्नो हात नभएको बताएको छ । हिन्दु साम्प्रदायिकता, भ्रष्टाचार, नक्कली समाचार र अभिव्यक्ति स्वतन्त्रताविरोधी सत्ता संरक्षित अतिवादका विरुद्ध उनले दृढतापूर्वक लेख्दै आएकी थिइन् । उनलाई भाजपाका समर्थकहरूले ‘राष्ट्रद्रोही, माओवादी, विदेशी दलाल’ जस्ता सबैजसो सत्ता आलोचकलाई थोपर्ने आरोप थोपरेको थियो । गत वर्ष गौरीले न्युजलन्ड्रीलाई दिएको अन्तर्वार्तामा भनेकी थिइन्, ‘वर्तमान कर्नाटकमा हामी यस्तो समयमा बाँचिरहेका छौं जसमा मोदीभक्तहरू र हिन्दुवादी ब्रिगेड उनीहरूका फासिवादी विचार, उनीहरूको पार्टी र सर्वोच्च नेता नरेन्द्र मोदीको विरोध गर्ने मान्छेहरूको हत्यालाई शुभअवसर मानिरहेका छन् । (जस्तो डाक्टर एम.एम. कलवर्गीका सम्बन्धमा भयो) र मान्छे मारेर उनीहरू उत्सव मनाइरहेका छन् । (जस्तो डाक्टर यू.आर. अनन्तमूर्तिका सम्बन्धमा भयो) । म यस्ता मान्छेका नाम दिन सक्छु र म तपाईंलाई विश्वासका साथ भन्छु, के गरेर हुन्छ, उनीहरू मेरो हत्या गर्न खोजिरहेका छन् ।’
गौरीलाई भाजपाका कार्यकर्ताले मोदीको विरोधमा नलेख्न, धर्मनिरपेक्षताको वकालत नगर्न र भाजपा नेताहरूको भ्रष्टाचारका विषयमा नलेख्न धम्की दिँदै आएका थिए । सामाजिक सञ्जालमा कट्टरपन्थीद्वारा छादिएको दुर्गन्ध र फोनमा आएका धम्कीका कारण उनलाई आपराधिक पृष्ठभूमिको भाजपाका अपराधी झुण्डले हत्या गर्न सक्छन् भन्ने महसुस भैरहेको थियो । आफ्नो हत्या षड्यन्त्र भैरहेको सार्वजनिक गरेको एक वर्षभित्रै अघिल्लो मंगलबार राति आफ्नो साप्ताहिक अखबारको कार्यालयबाट फर्केर घरको ढोका खोल्दै गर्दा दक्षिण भारतीय राज्य कर्नाटकको बैंगलुरुस्थित निवासमा भट्भटेमा आएको अपराधी समूहले गोली हानी उनको हत्या गरेको छ । स्थानीय कन्नड भाषामा निस्कने साप्ताहिक ‘गौरी लंकेश पत्रीके’ की उनी सम्पादक थिइन् । उनका पी लंकेश पिताले सो अखबार स्थापना गरेका थिए । पिताको देहान्तपछि गौरीले त्यसलाई निरन्तरता दिएकी थिइन् । उनलाई भाकपा (माओवादी) प्रति सहानुभूति राख्ने पत्रकारका रुपमा पनि चिनिन्थ्यो । यद्यपि उनी माओवादी थिइनन् भन्ने स्पष्टै थियो । सत्ता आलोचक डा. नरेन्द्र दभोल्कर, गोविन्द पसारे, एमएम कल्बुर्गीको हत्याकै सिलसिलामा गौरी हत्यालाई हेरिएको छ । भारतमा भाजपा सत्तारुढ भएपछि सत्ता आलोचक बुद्धिजीवीहरू मारिने क्रम तीव्र भएको छ । बिहार निवासी दिल्ली कार्यक्षेत्र भएका विद्यार्थी नेता कन्हैया कुमारको आवाजलाई उनले प्राथमिकतासाथ स्थान दिने गरेकी थिइन् ।

गौरीको अन्तिम सम्पादकीय ‘फेक न्युज के खिलाफ’ थियो । त्यसमा गौरीले मनगढन्ते समाचार र ‘फोटो सप’ प्रविधिलाई दुरुपयोग गरेर भाजपाका पेसेवार अपराधीहरूले कसरी साम्प्रदायिक हिंसा भड्काउने गरेका छन् भन्ने विषय उदाङ्गो पारेकी थिइन् । हेरौं एउटा अंश– ‘हालै पश्चिम बंगालमा जब दङ्गा भयो तब आर.एस.एस.का मान्छेहरूले दुईवटा पोस्टर टाँसे । एउटा पोस्टरमा बङ्गाल जलिरहेको उल्लेख थियो । जसमा राज्यको सम्पत्ति जलिरहेको देखाइएको थियो । एकजना महिलाको सारी तानिरहेको देखाइएको थियो जसमा बङ्गालमा हिन्दु नारीमाथि अत्याचार भैरहेको भनिएको थियो । तुरुन्तै त्यो फोटोको यथार्थ सार्वजनिक भयो । पहिलो फोटो गुजरात दङ्गाको थियो, दोस्रो फोटो कुनै भोजपुरी चलचित्रको थियो । आरएसएसका कार्यकर्ता मात्र होइन, भाजपाका केन्द्रीय मन्त्री नै यस्तो नक्कली समाचार सार्वजनिक गर्छन् ।’

यसरी गौरीले भाजपा र अपराधी गिरोहको धज्जी उडाउने गरेकी थिइन् । गौरीको हत्यापछि भारतमा अभिव्यक्ति स्वतन्त्रताका लागि सबै मिलेर लड्नुपर्ने आवाज उठ्न थालेको छ ।

२०७४ भदौ २८ गते अपरान्ह ६ः४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :