नेकपा (बहुमत) को पाँचौँ पूर्ण बैठक सम्पन्न

नेकपा (बहुमत) को पाँचौँ पूर्ण बैठक सम्पन्न

काठमाडौँ :नेकपा (बहुमत) केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकले सोमबार काठमाडौँ खुलामञ्चमा हुने दुई पार्टीको घोषणासभा भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
पार्टी संयोजक कञ्चनको अध्यक्षतामा शुक्रबार काठमाडौँमा सम्पन्न बैठकले मे दिवसका दिन वैशाख १८ गते नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच हुने पार्टी एकता घोषणा सभा भव्य बनाउने निर्णय गरेको हो ।
बैठकमा पार्टी संयोजक कञ्चनले नेपालमा क्रान्ति सम्पन्न गर्न मौलिक कार्यदिशा निर्माण भएको र दुई पार्टीबीचको एकतापछि निर्माण हुने कार्ययोजना र कार्यक्रमले क्रान्ति सम्पन्न हुने विश्वास व्यक्त गरे ।


लेनिनको क्रान्तिकारी सिद्धान्तबिना क्रान्ति सम्भव छैन भन्ने भनाइ उद्धृत गर्दै नेता कञ्चनले पुष्पलालले निर्माण गरेको नयाँ जनवादी क्रान्तिको कार्यदिशा प्रचण्डले प्रयोगमा ल्याएको तर क्रान्ति सम्पन्न नगरी आत्मसमर्पण गरेकाले क्रान्तिकारी पार्टीबीचको एकतापछि नयाँ कार्यदिशाले क्रान्ति सम्पन्न गर्ने विश्वास व्यक्त गरे । जनयुद्धमा ढाडमा टेकेर टाउकोमा हान्नेसम्मको कार्यनीति बनाएर कार्यान्वयनमा अघि बढेको भए पनि क्रान्ति असफल भएर दलाल पुँजीवादी वर्गको हातमा सत्ता पुगेपछि त्यही वर्गले क्रान्तिकारीको ढाडमा टेकेर टाउकामा हानिरहेको संश्लेषण उनले गरे ।
हिजो पार्टीहरूमा अन्योल रहँदा विभाजन भएको र आज पार्टीहरू एकआपसमा प्रस्ट भएपछि एकता भएको संयोजक कञ्चनको भनाइ थियो ।
बैठकमा पार्टी प्रवक्ता सुदर्शनले आफूहरूले संसदीय संशोधनवादसँग विद्रोह गरेर र क्रान्तिकारी मालेमावादी पार्टीबीच एकता गरेर गरेपछि हुँदो रहेछ र गर्नैपर्छ भन्ने प्रमाणित गरेको बताए । संशोधनवादीहरूले मौलिकताका नाममा माक्र्सवादको भ्रष्टीकरण गरेको तर क्रान्तिकारीहरूले कार्यदिशा, कार्यक्रम र कार्ययोजनामा विकास गरेर माक्र्सवादको विकास गर्दै प्रयोगको दिशामा अघि बढेको प्रवक्ता सुदर्शनले बताए ।


क्रान्तिकारी योद्धा चे ग्वेभाराको गतिविधि नै क्रान्ति होइन भन्ने उक्ति स्मरण गराउँदै प्रवक्ता सुदर्शनले पार्टीलाई जनतासम्म लग्ने, जनतालाई पार्टी र क्रान्तिप्रति आकर्षित गर्ने काम क्रान्तिकारीहरूको रहेको प्रस्ट पारे । माओले भनेझैँ क्रान्ति सम्पन्न गर्न प्रौढ, युवा र किशोर तीनै उमेरसमूहको लामबद्धता आवश्यक रहेको भन्दै प्रवक्ता सुदर्शनले क्रान्तिका लागि वस्तुगत अवस्था तयार रहेको र आत्मगत अवस्था पूर्ण रूपमा तयार गर्न क्रान्तिकारी पार्टीबीच एकता र ध्रुवीकरण आवश्यक रहेको बताए ।
क्रान्तिकारी शक्तिबीचको एकताले क्रान्तिकारीहरूको शक्तिशाली टिम बन्ने भएकाले पार्टी एकताको एक मात्र उद्देश्य नेपालमा क्रान्ति सम्पन्न गर्नु रहेको प्रवक्ता सुदर्शनको भनाइ थियो । पार्टी एकताले वस्तुगत अवस्थालाई आत्मगत अवस्थामा रूपान्तरण गर्ने निष्कर्ष निकाल्दै नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच एकता सम्पन्न भएको प्रवक्ता सुदर्शनले बताए ।


पार्टी कार्यालय सदस्य दीपकले पार्टी एकता घोषणाको तयारी र दुई पार्टीको संयुक्त अधिवेशनका बारेमा जानकारी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :